साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित, फाइनल पुग्ने नेपालको सम्भावना भने कायमै

माले, माल्दिभ्स — पूर्णतः रक्षात्मक रणनीति लिएर खेल्नुको बेफाइदा यही हुने गर्छ, खेलको अन्त्यमा गोल खाएपछि आफैं दबाबमा आउने गर्छ । साफ च्याम्पियनसिप २०२१ मा नेपालले भारतको सामना गर्दा यस्तै भयो । नेपालले पूर्णतः रक्षात्मक रणनीति अपनाएर गोल गर्नमा कुनै रुचि देखाएन र बल रोक्नमै खुसी देखिएको थियो । यस्तोमा सुनील क्षेत्रीले खेल सकिन आठ मिनेट अगाडि निर्णायक गोल गरे । उनले नजिकको दूरीबाट भलीमा गोल गरेका हुन् ।

यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै शीर्षस्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ । अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछन् । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।

एक गोल खान अगाडिसम्म नेपालले आफ्ना लगभग सबै खेलाडीलाई रक्षामा उतारेको थियो । अचेल विश्व फुटबलमा यसलाई ‘पार्किङ द बस’ भन्ने गरिन्छ । नेपालको प्रदर्शन ठ्याक्कै यस्तै थियो । तर सुनीलले अन्तिम समयमा गोल गर्दै नेपालको पर्खाललाई तोडेका थिए ।

अन्तिम निर्णयका लागि नेपालले लिग चरणको अन्तिम दिनको आफ्नो खेलसम्म कुर्नुपर्नेछ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म फाइनलको यात्रा तय गर्न सकेको छैन ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलपछि भने, ‘हामीले रणनीतिक हिसाबमै ठिकै खेलेका हौं, खालि त्यो गोलले बिगारेको हो । खेलाडी कसैलाई दोष नदिनु, दोष मेरै हो, प्रतियोगिता हाम्रा लागि अझै सकिएको छैन, बंगलादेशविरुद्ध हामी चाहेको नतिजा निकाल्न खेल्नेछौं ।’ भारतका प्रशिक्षक इगोर स्टिमेकले टोलीले आवश्यक तीन अंक प्राप्त गरेको जनाउँदै भने, ‘सुनील दक्षिण एसियाकै उत्कृष्ट खेलाडी हुन्, त्यसमा कुनै शंका छैन ।’ भारतीय राष्ट्रिय टोलीबाट सुनीलको यो ७७ औं गोल हो ।

सन् १९९३ देखि दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता सुरु भएको मान्ने हो भने नेपाल २८ वर्षदेखि फाइनल प्रवेशको प्रतीक्षामा थियो । यो जितले भारतीय टिम र प्रशिक्षक इगोर स्टिमेकलाई ठूलो राहत दिएको छ ।

भारतीय टिम सम्हालेयता स्टिमेकका लागि यो चौथो जित मात्र हो । यो जितका बावजुत भारतको पनि फाइनल यात्रा निश्चित हुन सकेको छैन र उसले फाइनल प्रवेशका लागि माल्दिभ्सविरुद्धको खेलमा निश्चित जित निकाल्नुपर्नेछ । खेलको १८ औं मिनेटमा सुनील क्षेत्रीले नेपालको पेनाल्टी एरियामा दबाब सिर्जना गरे पनि त्यो निर्णायक प्रतिफल निस्केन ।

लगत्तै कर्नरमा सुनीलको हेड प्रहार पोस्टको माथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा भारतका मनवीर सिंहले नेपालको पोस्टनजिकबाट मौका पाए पनि त्यसको फाइदा उठाउन सकेनन् । भारतले ५५ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिर फ्रिकिक पाएको थियो, तर त्यसमा ब्रेन्डेन फर्नान्डेजको प्रहार बाहिरिएको थियो ।

लगत्तै मनवीर सिंहले नजिकको दूरीबाट गरेको हेडलाई नेपाली गोलरक्षक किरण लिम्बूले बहादुरीपूर्वक बचाउ गरे । सुनीलको गोल भने नेपालका लागि अप्रत्याशित जस्तै रह्यो र त्यस गोलपछि नेपाली खेलाडीले कुनै प्रतिक्रियासमेत दिन सकेनन । नेपालले अन्त्यतिर भारतमाथि केही दबाब सिर्जना गर्न खोजे पनि त्यो पर्याप्त रहेन । नेपालका लागि अब प्रतियोगितामा कायम रहन बंगलादेशविरुद्धको खेल नै निर्णायक सावित भएको छ ।

श्रीलंका आत्मविश्वास लिएर घर फर्कंदै

साफ च्याम्पियनसिप २०२१ मा श्रीलंका सबैभन्दा कम आँकिएको टिम थियो, लिग तालिकाले भन्छ, यो सही नै थियो । श्रीलंका प्रतियोगितामा सबै चार खेल खेल्ने पहिलो टिम बनेको छ, त्यो पनि लगातार । अन्त्यमा उसको एकै अंक मात्र रह्यो र पाँच टिममध्ये सबैभन्दा पुछारमा रह्यो । तर अंक तालिकाले मात्र सबथोक भन्दैन, श्रीलंका पुछारमा रहेर घर त फर्कंदै छ, तर सबैभन्दा ठूलो टिममा आत्मविश्वास फर्केको छ ।

श्रीलंकाली टिम टाउको निहुर्‍याएर घर फर्कनुपर्ने छैन, उसको शिर उँचो नै रहनेछ । श्रीलंकाली प्रशिक्षक आमिर एल्गिच पनि मान्छन्, टिमको प्रदर्शनले देखाएको छ, दक्षिण एसियाली फुटबलमा श्रीलंका कतै हराएको छैन, हराएको भए पनि फेरि फर्केको छ । र, अब श्रीलंकाले दक्षिण एसियाली फुटबलमा बलियो उपस्थिति पनि जनाउने छ । एल्गिच भन्छन्, ‘अहिले मालेमा खेलेको टिम पूर्णतः पहिलो रोजाइको थिएन । केही प्रमुख खेलाडी विशेष कारणले माले आएनन् ।’

कुरा यत्तिकैमा सकिन्न, श्रीलंकाली राष्ट्रिय टिमबाट खेल्न अहिले युरोपमा खेलिरहेका ६ खेलाडी तयार छन्, अहिलेकै टिममा पनि तीन जना यस्तै खेलाडी छन् । त्यसैले प्रशिक्षक एल्गिच मान्छन्, ‘जति बेला यी सबै खेलाडी टिमका लागि उपलब्ध हुनेछन्, त्यति बेला हाम्रो चुनौती पक्कै पनि बलियो हुनेछ ।’ उनले अहिलेसम्मको यात्राका लागि पनि सबै खेलाडी र त्यहाँको फुटबल संघले कडा मिहिनेत गरेको मान्छन् । उनी भन्छन्, ‘धेरै तथ्यमा हामी अन्य दक्षिण एसियाली टिमभन्दा पछाडि छौं, तर अहिले जे जति खेल्यौं, त्यसमा धेरै गुनासो छैन ।’

पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित श्रीलंकाले नेपाललाई कडा चुनौती तेर्स्याए पनि नतिजा ३–२ ले सुम्पन्न बाध्य भएको थियो । हाल फिफा विश्व वरीयतामा २ सय ५ औं स्थानमा रहेको श्रीलंकाले अर्को खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । श्रीलंका यही खेललाई लिएर सबैभन्दा सन्तुष्ट थियो ।

माल्दिभ्सको दोस्रो जित

यता मैदानमा भने आइतबारको पहिलो खेलमा माल्दिभ्सले श्रीलंकालाई १–० ले हरायो र आफ्नो स्थिति बलियो बनायो । लगातार दोस्रो जितेपछि आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको ६ अंक भएको छ । आफ्नो पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सले त्यसयता बंगलादेश र श्रीलंकालाई हराएको हो । माल्दिभ्सका लागि एक मात्र गोल कप्तान अलि अस्फाकले छैटौं मिनेटमा गरे । उनले उत्कृष्ट हेड गर्दै निर्णायक गोल गरेका हुन् ।

एक गोलले अगाडि रहेको माल्दिभ्सले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखे पनि दोस्रो हाफमा श्रीलंकाले बलियो पुनरागमन रचेको थियो । यसक्रममा श्रीलंकाले केही उत्कृष्ट देखिने आक्रमण बुनेको थियो । तर ती निर्णायक भने सावित हुन सकेनन् । आफ्नो अन्तिम खेलअगाडि नै प्रतियोगिताको फाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको श्रीलंका भने एकै अंकमा सीमित रह्यो । प्रशिक्षक एल्गिचले माने, ‘अबका दिन श्रीलंकाली फुटबलका लागि राम्रो हुने विश्वास छ ।’

घरेलु प्रशिक्षक उत्साहित

जितपछि माल्दिभ्सका प्रशिक्षक अलि सुजेन भने स्वाभाविक रूपमा खुसी देखिए र उनले लगातार दोस्रो जितका कारण आफ्नो टिम सही दिशामा रहेको दाबी गरे । नेपालविरुद्धको पहिलो खेल गुमाएपछि माल्दिभ्स दबाबमा आएको थियो तर लगातार दुई जितले टिम लयमा देखिएको छ । प्रशिक्षक सुजेनले भने, ‘दोस्रो जितपछि हामी खुसी छौं, किनभने यसले हामीलाई प्रतियोगितामा कायम रहन मद्दत गरेको छ । आजको खेल हाम्रा लागि सजिलो पनि रहेन ।’

उनले भने, ‘तर हाम्रो लक्ष्य भनेको तीन अंक बटुल्ने नै थियो र हामी त्यसलाई प्राप्त गर्न सफल रह्यौं । यो नै हाम्रा लागि उपलब्धि हो । आज हाम्रा सबै खेलाडीले आफ्नो भूमिकाअनुसार खेले । यो खेलले पक्कै पनि हाम्रा खेलाडीलाई आत्मविश्वास दिएको हुनुपर्छ । अब हाम्रो अन्तिम खेल भारतविरुद्ध हुनेछ र त्यसअगाडि आज प्राप्त जितले हामीलाई मद्दत गर्नेछ । टिममा अझै केही कमजोरी छन्, त्यसमा पनि सुधार ल्याउन आवश्यक छ ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…