भुटानले सुरु गर्यो भारत–भुटान सीमामा काँडे तारबार

जयगाउँ । भारत — केही वर्षअघिसम्म भारत–भुटान व्यापार, आवागमन र पर्यटकीय चहलपहलको नाका फुन्चोलिङ यतिखेर सुनसानप्रायः देखिन्छ । द्विदेशीय सुरक्षालाई कडाइ गर्ने र अवैध गतिविधिमा निगरानी राख्ने भन्दै भारतको जयगाउँ सीमावर्ती भुटानको फुन्चोलिङ नाका ठप्प पारिएको हो ।

कोभिड–१९ को संक्रमण र बढ्दो स्वास्थ्य संकट देखाउँदै तत्कालको स्थितिमा यो नाका बन्द गरिए पनि एकैसाथ फुन्चोलिङबाट १२ किलोमिटर मात्र वर रहेको पासाखा द्विदेशीय नाकालाई व्यवस्थित गर्ने र यही बिन्दुमा ठूलो स्वरूपमा भारत–भुटानको सीमामा पर्खाल लगाउने कामसमेत अघि बढिरहेको छ ।

भुटानका विदेशमन्त्री डा. टान्डी दोर्जीले कोभिड संक्रमणको अन्त्य नभईकन भारत–भुटानको प्रमुख व्यापारिक एवं पर्यटकीय नाका फुन्चोलिङ खुला हुन नसक्ने भनेर यसैसाता मात्र थिम्पुमा बताएका छन् ।

‘विगतमा फुन्चोलिङ–जयगाउँका बासिन्दा जुनै बेलामा पनि एकअर्को बस्तीमा आवतजावत गर्न र किनमेलमा वारपार गर्न सक्ने सहज स्थिति थियो नै,’ भुटानबाटै विस्थापित भएर सन् १९९२ यता जयगाउँ बसोबास गर्दै आएका पत्रकार तिलक कटुवालले भने, ‘अहिले दुई सीमावर्ती बस्तीमा वारपार गर्ने साना वा ठूला बाटा बन्द गरिएको छ । सीमावर्ती पर्खालमा रहेका सबै ससाना ढोकाहरू पनि स्थायी रूपमा बन्द गरिएको छ ।’

विशेषतः ९० को दशकमा भुटानमा ल्होत्साम्पा (नेपालीभाषी) माथि जातीय सफाया र अत्याचारको क्रम सुरु भएलगत्तै शरणार्थी बनाइएका १ लाखभन्दा बढी भुटानी यही फुन्चोलिङ नाका हुँदै देश निकालामा परेका थिए । पछिल्ला वर्षमा भुटानमा रहेका आफन्तजन भेट्न पूर्वी नेपालका शरणार्थी क्याम्पहरूबाट फुन्चोलिङ नाका हुँदै भुटान जाने गरेका थिए ।

तर, यही क्रम पनि दुई वर्षयता बन्द छ । फुन्चोलिङमा कोरोना संक्रमणको अत्यास देखाउँदै सबै प्रकारका चहलपहलमा बन्देज लगाइए पनि यही बिन्दुबाट पासाखा नाकामा पर्ने एसियन राजमार्गको भारत–भुटान सम्पर्क बिन्दुसम्मैको दशगजा क्षेत्रमा भुटानले पक्की पर्खाल लगाउने काम यतिखेर जारी छ । ‘हामी दिनहुँ २५ भन्दा बढी कामदार यहाँ खटिएका छौं, पासाखामा बन्दै गरेको छोटी भन्सारसम्मै यो पर्खाल लाग्ने जनाइएको छ,’ पर्खाल बनाउने काममा खटिएका एक नेपालीभाषीले भने, ‘अरू के, किन र कुन कारणले यहाँ काम भइरहेको छ, हामीलाई जानकारी छैन ।’

तर स्थानीय जानकारका अनुसार, भारत–भुटानको झन्डै ७ सय किलोमिटर लामो बोर्डरमध्ये सहरहरू जोडिने सबै सीमावर्ती बिन्दुमा यसैगरी ठूला पर्खाल लगाइने भएको छ । साम्ची, सुखा, गेलेफु, सामेजोङ्खरसहितका सहर जोडिने भारत–भुटानका सीमावर्ती बिन्दुमा समेत पर्खालहरू निर्माण हुने क्रम जारी छ । फुन्चोलिङदेखि पासाखा बिन्दुसम्मका द्विदेशीय ६९–७४ पिलरका माझ तत्काल पर्खाल निर्माण गरिँदै छ ।

जयगाउँ–फुन्चोलिङबीचको दशगजामा पनि भुटानी पर्खालतिर लहरै सीसी क्यामेरा र निगरानीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बेलुका ७ बजे चकमन्न भइसक्ने जयागाउँमा आउने जोकोही पर्यटक वा आगन्तुकका बारे स्थानीय होटल वा बासिन्दाले ‘रेकर्ड’ राखेको हुनुपर्ने तथा रातमा कुनै पनि बेला प्रहरी चेकजाँच हुन सक्ने सुरक्षाको कडाइ प्रबन्ध गरिएको छ । ‘फुन्चोलिङ–जयगाउँ अहिले झन्डै मृत–सहरका रूपमा चिनिन थालेको छ,’ स्थानीय जयगाउँ समाज कल्याण संघका सभापतिसमेत रहेका पत्रकार कटुवालले भने, ‘यहाँबाट कतिपय व्यापार–व्यवसायका परिवार विस्थापित हुन थालिसकेका छन् ।’

उसो त, फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती बिन्दु पासाखा क्षेत्रमा मात्रै भुटानले ५० भन्दा बढी ठूला उद्योग सञ्चालनमा ल्याइसकेको छ । त्यहाँबाट सिमेन्ट, क्लिंकर, जस्तापाता, निर्माण सामग्रीको उत्पादन–पैठारी हुन थालिसकेको छ । भारत–भुटान–बंगलादेश जोड्ने एसियन हाइवेको एउटा बिन्दुसमेत पासाखा रहेकाले भुटान छिर्ने सबै प्रकारका ढुवानी सेवाका गाडीहरू यहींबाटै प्रवेश गराइने र जयगाउँलाई ट्राफिक, आवागमनको भीडबाट मुक्त गराइने भनेर स्थानीय निकायले जनाउ दिइसकेको छ ।

पश्चिम बंगालको दलसिंहपारा हुँदै भुटान जाने सडक र बंगलादेशको मोंग्ला पोर्ट र फूलबारी–बंगलाबन्ध नाकाबाट भारत जोड्ने एसियन राजमार्गको सम्पर्क बिन्दुसमेत ‘पासाखा’ बनेको छ ।

यसरी पासाखालाई बाहिरी विश्वमा जोड्ने सम्पर्क नाकाका रूपमा विस्तारित गर्ने क्रममा पुरानो फुन्चोलिङ बस्ती तथा आवागमन नाकालाई पछि पार्ने गरी फुन्चोलिङ–जयगाउँ फेदीमा बहने तुर्सा खोलाको बगरको झन्डै १ सय एकड जमिनमा अहिले अत्याधुनिक सहर निर्माण हुने क्रममा छ । एसियाली विकास बैंकको लगानीमा निर्माणाधीन मलेसियन शैली र शिल्पीको यो सहरको नाम ‘न्यु फुन्चोलिङ’ दिइएको छ ।

एसियाली राजमार्गकै विकास र नेपालको पूर्वी नाका काँकडभिट्टासमेत जोडिइसकेको छ । राजमार्गमा जोडिने पहुँचको ४ लेनको सडक नेपालतर्फ पनि तयार भइसकेको छ । यो सडकसँग जोडिने मेची पुल (७९० मिटर) निर्माणमा एसियाली विकास बैंकको सहयोग थियो ।

एसियाली राजमार्गको पहुँच र उपयोग व्यवस्थित हुन सकेमा नेपाली सामान सिधै भारत, भुटान, बंगलादेश, थाइल्यान्ड, म्यानमारसम्मको अन्तर्राष्ट्रिय बजारमा जान सक्ने सम्भावना रहेको स्थानीय व्यवसायी उमेश दाहालले बताए । तर, यही राजमार्ग हुँदै भारतबाट कुनै सामग्री भुटान जाँदा त्यही सामानमा कर सहुलियत हुन्छ, तर नेपाल आउँदा भने कर यथावत् रहने विभेद भने उस्तै छँदै छ । नेपालमा महेन्द्र र अरनिको हाइवे गरेर एसियन राजमार्गमा १३ सय २१ किलोमिटर सडक सञ्जाल जोडिएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…