ग्यासलाई विद्युतीय चुल्होले विस्थापित गर्न कति सम्भव ? प्रतियुनिट १३ रुपैयाँ तिर्दा ग्यासभन्दा महँगो

नेपाल विद्युत् प्राधिकरणले केही वर्षदेखि भान्सामा एलपी ग्यासको साटो विद्युतीय चुल्हो प्रयोग गर्न सुझाइरहेको छ । विद्युत् उत्पादन बढिरहेको, उत्पादित ऊर्जा खपतभन्दा बढी भएको र व्यापार घाटा कम गर्न आवश्यक रहेको भन्दै सरकारले पनि यस्तो आग्रह गरिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरिरहेकी छिन् । हिजो (मंगलबार) पनि उनले एक कार्यक्रममा घरायसी उपभोगमा २० युनिटसम्म बिजुली निःशुल्क गरेकाले अब एलपी ग्यासभन्दा विद्युतीय चुल्हो प्रयोग सस्तो पर्ने बताइन् ।

बोल्न सहज, भोग्न सकस 

विद्युत् आपूर्तिमा अवरोध, महसुल शुल्क दर र अन्य व्यवहारिक–आर्थिक अवरोधले सरकारको यो आग्रह सहजै कार्यान्वयन हुने अवस्था छैन । यसमा सबैभन्दा ठूलो चुनौती नियमित विद्युत् आपूर्ति नहुनु नै हो । विद्युत् प्राधिकरणले हरेक दिन विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने सूचना निकाल्ने गरेको छ ।

काठमाडौँ उपत्यकामै बिना सूचना पटक–पटक बिजुली जाने समस्या हल भएको छैन । बल्लतल्ल विद्युतीकरण भएका ग्रामिण भेगमा त बिजुली गएपछि कहिलेसम्म आइपुग्छ भन्ने पत्तो नै हुँदैन । टाउकोमाथि बल्ब झुण्डिएको हुन्छ । तर, बिजुली नआउँदा टुकी र सिट्ठा बालेर साँझ बिहान झेल्नुपर्ने स्थिति छ । काठमाडौँमै विद्युतीय चुल्हो प्रयोग गरिरहेकाहरू खाना पकाउँदा पकाउँदै बिजुली गएपछि भोकभोकै काममा निस्कनुपर्ने अवस्था छ ।

वितरण प्रणालीमा व्यापक सुधार आवश्यक भए पनि प्राधिकरणले अहिलेसम्म यो काम सम्पन्न गर्न सकेको छैन । तर, विभागीय ऊर्जा मन्त्रालय र प्राधिकरणका पदाधिकारीहरू विद्युतीय चुल्हो बाल्न विज्ञापन नै गरिरहेका छन् ।

ग्यास सस्तो कि विद्युतीय चुल्हो ?

केही वर्षअघि नेपालमा इन्डक्सन चुल्हो प्रयोगबारे अध्ययन भएको थियो । त्यतिखेर आधा किलो चामल इन्डक्सन चुल्हो र ग्यास चुल्हो दुवैमा पकाइएको थियो । ग्यास चुल्हो भन्दा इन्डक्सन चुल्होमा खाना चाँडै पाकेको थियो ।

तर, खानाका आधारभूत परिकार दिनहुँ विद्युतीय चुल्होमा पकाउँदा आर्थिक–व्यवहारिक हिसाबले लागतमैत्री भने देखिएन । हाल कायम विद्युत्को प्रतियुनिट मूल्यलाई आधार मान्दा इन्डक्सन चुल्होमा खाना पकाउँदा झनै महँगो पर्ने देखियो । विद्युत्को मूल्य घटेको अवस्थामा मात्रै विद्युतीय चुल्होमा खाना पकाउँदा लागतमैत्री हुने देखिएको थियो ।

यस्तो छ हिसाब

अहिले काठमाडौँ उपत्यकामा ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्दा प्रतियुनिट १३ रुपैयाँ तिर्नुपर्छ । २५१ युनिटदेखि ४०० युनिटसम्म खपत गर्दा प्रतियुनिट १२ रुपैयाँ तिर्नुपर्छ । उपत्यकाका अधिकांश घरायसी ग्राहकले १ ५१ युनिटदेखि २५० युनिटसम्म विद्युत् खपत गर्छन् । यति विद्युत् खपत गर्दा प्रतियुनिट ११ रुपैयाँका दरले महसुल तिर्नुपर्छ ।

पहिलेको तुलनामा लोडसेडिङ कम भएकाले विद्युुत खपतदर अहिले झनै बढेको छ । पानीको मोटर, वासिङ मेसिन, हिटर आदि प्रयोग हुने घरमा ४०० युनिटभन्दा बढी पनि विद्युत् खपत हुन्छ र प्रतियुनिट १३ रुपैयाँ तिर्नुपर्छ । अर्थात, ग्राहकले प्रतियुनिट बिजुली खपत गर्दा मूल्य पनि बढी तिर्नुपर्छ । काठमाडौंमा अधिकांश परिवार सिंगो घरमा नभई कोठा लिएर बस्ने गर्छन् । घरबेटीले भाडामा बस्नेबाट प्राधिकरणले तोकेभन्दा पनि बढी महसुल उठाइरहेका छन् । यसको न नियमन भएको छ, न घरबेटी सुध्रिएका छन् ।

यहाँनेर कुन चुल्हो चलाउँदा सस्तो भन्ने बुझ्न विद्युतीय र ग्याँस चुल्होबीचको लागत अन्तर केलाउनुपर्ने हुन्छ । अहिले खाना पकाउने एक सिलिन्डर एलपी ग्यासको मूल्य १४५० रुपैयाँ पर्छ । सिलिण्डरमा १४ दशमलब २ किलोग्राम ग्यास हुन्छ ।

१४ दशमलब २ किलोग्राम भएको ग्याँसलाई प्रयोग गरी खाना पकाउँदा आउने शक्ति वा तापलाई आधार मान्ने हो भने इन्धनबाट तापमा रूपान्तरण हुँदा करिब ६० प्रतिशत मात्रै ताप दिने गर्छ । अध्यननअनुसार ग्याँस चुल्होमा एक लिटर पानी तताउने हो भने ५ मिनेट ३६ सेकेन्ड लाग्छ । इन्डक्सन चुल्होमा तताउँदा भने २ मिनेट ५८ सेकेण्डदेखि ४ मिनेट ४ मिनेटसम्म लाग्छ । पानी तात्ने समय चुल्होको गुुणस्तरमा पनि निर्भर गर्छ ।

एउटा सिलिन्डरले एक महिनासम्म खाना पकाउन पुग्ने हिसाब निकाल्दा १४ सय ५० रुपैयाँ खर्च हुन्छ । इन्डक्सन चुल्हो प्रयोग गर्दा यस्तो हिसाब १३४२ रुपैयाँ निस्कन्छ । प्रतियुनिट ११ रुपैयाँ तिर्दा यो हिसाब हुन आउँछ । प्रतियुनिट मूल्य १३ रुपैयाँ तिर्दा १५८६ रुपैयाँ ९१ पैसा पुग्छ, जुन ग्यासभन्दा महँगो हो । अधिकांश परिवारले एक सिलिण्डर ग्यास कम्तिमा दुई महिनासम्म खाना पकाउन पु¥याउँछन् । यो हिसाबले ग्यासबाट खाना पकाउँदा आधाभन्दा सस्तो पर्छ ।

इन्डक्सन चुल्हो बाल्न पूर्वाधार नै अभाव

नेपाल विद्युत् प्राधिकरणको अहिलेकै संरचनाले काठमाडौँ उपत्यकामा इन्डक्सनको प्रयोग सम्भव छैन । किनभने इन्डक्सन प्रयोगका लागि आवश्यक पूर्वाधार प्राधिकरणसँग छैन । त्यहाँबाहेक ग्राहकको घरमा भएको विद्युत् पूर्वाधारले पनि इन्डक्सन चुल्हो प्रयोगलाई थेग्न सक्ने अवस्था छैन ।

विद्युतीय चुल्हो प्रयोग बढाउने हो भने गार्हस्थ विद्युत् जडान क्षमता पनि बढाउनुपर्छ । अहिले ग्रामीण भूभागका अधिकांश स्थानमा ५ एम्पीएरको एमसीबी राखिएको छ । जबकि एउटा इन्डक्सन मात्रै प्रयोग गर्दा पनि त्यसले करिब ५ एम्पिएर विद्युत् खपत गर्छ । चुल्हो तताउँदा अन्य विद्युतीय उपकरण चलाउन नसकिने अवस्था निम्तिन्छ । ५ एम्पिएरको एमसीबीले विद्युतीय चुुल्हो धान्नै सक्दैन ।

शहरी क्षेत्रका अधिकांश पुराना घरमा पनि १५ एम्पिएरको मात्रै एमसीबी राखिएको हुन्छ । तर एउटा मात्रै बर्नर भएको इन्डक्सनका लागि पनि करिब १५ एम्पिएरको एमसीबी चाहिन्छ । किनभने उक्त इन्डक्सनले १२०० देखि १८०० वाटसम्म विद्युत् खपत गर्छ । यदि एउटाभन्दा बढी बर्नर भएको इन्डक्सन प्रयोग गर्ने हो भने त्यसले विद्युत् खपतसमेत बढाउँछ । त्यसका लागि ५० एम्पिएरसम्मको एमसीबी आवश्यक हुन्छ । अन्य विद्युतीय उपकरणको पनि प्रयोग भइरहेका कारण इन्डक्सन चुल्होको मात्रै क्षमता हेरेर हुँदैन । त्यसैले १५ एम्पिएर क्षमता भएको घरमा एउटा मात्रै बर्नर भएको एउटा इन्डक्सन चुल्हो चलाउन सम्भव देखिन्छ ।

सहरी क्षेत्रको घर नयाँ हो र त्यहाँ ३० एम्पिएरको एमसीबी उपलब्ध गराइएको छ भने उक्त घरमा एकै पटक दुईवटासम्म इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्छ । तर एमसीबी वा एम्पिएरको क्षमता मात्रै बढेर पनि पुग्दैन, घरभित्रको वायरिङ कुन गुणस्तर वा क्षमताको छ भनेर पनि बुझ्नुपर्छ । यदि घरमा सानो तार प्रयोग गरी विद्युत्को लाइन बनाइएको छ वा १५ एम्पिएरसम्मका लागि मात्रै विद्युत् प्रवाह हुने तार प्रयोग गरिएको छ भने त्यस्तो घरमा इन्डक्सन चुल्हो बाल्न सम्भव छैन । किनभने पावर सकेटदेखि घरभित्रको वायरिङको लागि आवश्यक तार पनि त्यही गुणस्तरको हुनु आवश्यक छ ।

सामान्यताः सहरीक्षेत्रको एउटा घरमा कम्तीमा २ वटा भान्सा रहेको हुन्छ । त्यसकारण पनि कम्तीमा दुईवटा भान्सा प्रयोग गर्ने हुनाले २ वटा भान्सामा इन्डक्सन राख्ने हो भने त्यही अनुसारको संरचना आवश्यक हुन्छ र विद्युत् प्रवाह क्षमता पनि त्यही अनुसारको हुनु आवश्यक छ । तर काठमाडौँ लगायत सहरी क्षेत्रको अधिकांश घरहरू १५ एम्पिएर क्षमताका विद्युत् र त्यही अनुसारको तार प्रयोग गरिएकाले तत्कालै इन्डक्सन चुल्हो प्रयोग गरी खाना पकाउन सम्भव छैन ।

तार र ट्रान्सफर्मरको विजोग

अहिले विद्युत् प्राधिकरणले तयार पारेको पूर्वाधार पनि इन्डक्सन चुल्होका लागि उपयुक्त छैन । केही वर्षदेखि संरचनामा सुधार गरेपनि कतिपय स्थानमा बढी विद्युत् खपत हुने साँझ बिहानको समयमा लोड धान्न नसकेर प्राधिकरणले विभिन्न स्थानको बत्ती काटिदिने गरेको छ । खासमा विद्युत् नभएर भन्दा पनि ट्रान्सफर्मर तथा तारको क्षमताले नभ्याउँदा यस्तो स्थिति निम्तिएको हो ।

प्राधिकरणले केही वर्षयता ट्रान्सफर्मर र तार परिवर्तन त गरिरहेको छ । तर, काठमाडौँ उपत्यकामै यो कामले पूर्णता पाउन निकै समय लाग्ने देखिन्छ । अन्तरनिकाय समन्वय प्रभावकारी नहुँदा प्राधिकरणले तोकेकै समयमा काम सम्पन्न गर्न सकिरहेको छैन ।

ग्यास सिलिन्डर विस्थापित गर्नेगरी आम उपभोक्ता विद्युतीय चुल्हो प्रयोगमा लागे भने जताततै ट्रान्सफर्मर जल्न थाल्नेछ । साथै, प्रसारणलाइनको क्षमतालाई पनि हेर्नुपर्ने हुन्छ ।

उपभोक्तालाई शुरू लागत अत्यधिक

ग्यास चुल्हो विस्थापित गर्न विद्युतीय चुल्हो प्रयोगतर्फ जाँदा उपभोक्ताले शुरूमा अधिक लागत ब्यहोर्नुपर्ने हुन्छ । घरमा विद्युतीय पूर्वाधारदेखि चुल्हो र सोहीअनुसार खाना बनाउने भाँडाकुँडाको पनि नयाँ सेट नै खरिद गर्नुपर्ने हुन्छ । विद्युतीय चुल्होले चलनचल्तीका सबै भाँडाकुँडालाई तताउन सक्दैन । इन्फ्रारेड बाहेक अन्य चुल्होमा भुुटेर पकाउनुपर्ने कतिपय खानेकुरा तयार गर्न पनि सम्भव हुँदैन ।

सबै पक्षमा ध्यान दिए सम्भव

विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्नसक्दा भने देशलाई निकै फाइदा हुने निश्चित छ । पछिल्लो समयमा माथिल्लो तामाकोशी लगायत ठूला आयोजना बनेसँगै ३२६१६ मेगावाट÷प्रतिघण्टा बिजुली केन्द्रीय प्रणालीमा छ । ११३ मेगावाट÷प्रतिघण्टा बिजुली भारतबाट आयात भएको छ भने १२०१ मेगावाट÷प्रतिघण्टा बिजुली भारततर्फ निर्यात गरिएको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालले ३६ अर्ब १५ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको थियो । यस हिसाबले देशको अर्थतन्त्रको ठूलो हिस्सा ग्यास खरिदमा खर्च भइरहेको छ ।

यस्तो अवस्था अन्त्य गर्न पर्याप्त बिजुली उत्पादन, पूर्वाधार संरचना विस्तार र स्तरोन्नती र महसुल छुट दिन आवश्यक छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…