सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५ वर्षका बालबालिका बढी पीडित

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर)

पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् ।

पोखराको हेम्जा फेदीका ७ वर्षीय विशेष गौतमको गत सोमबार एक्कासि दाहिने आँखा रातो भयो । नानीमा खत पनि देखियो । तुरुन्तै हिमालय आँखा अस्पतालमा लगियो । चिकित्सकले उनलार्ई ‘सापु’ भएको बताए । एक/दुई दिनअघि मात्रै सेतो पुतली घरमा देखिएको बाबु शिवले बताए । त्यस्तै पोखरा–११ फूलबारीका ११ वर्षीय युवा हाङराइको पनि सोमबार आँखा दुख्यो । रातो हुँदै आयो । उनको आँखामा पनि सापु भएको छ । तर घरमा पुतली भने नदेखेको आमा ताराले बताइन् ।

बागलुङको ताराखोला–५ हिलेका ७ वर्षका दिनेश पुनको एक आँखामा पनि सापु देखिएपछि ५ दिनदेखि अस्पतालमा छन् । अहिले भने उनको आँखा ठीक हुँदै गएको छ । दुईपटक अप्रेसन भयो । पछिल्लो एक महिनामा मात्रै कास्कीका २० सहित विभिन्न जिल्लाका गरी ३४ जना सापुका बिरामी हिमालय आँखा अस्पतालमा आएका छन् ।

कतिपय काठमाडौं वा अन्यत्र पनि गएकाले संख्या बढी हुन सक्छ । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा रहेको उक्त रोगको अधिकांश स्रोत सेतो पुतली रहेको छ । २०३२ (सन् १९७५) मा पहिलोपटक पोखराको लामाचौरमा आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले यो रोग पत्ता लगाएका थिए । त्यतिबेलादेखि नै यसलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको थियो । सापु गण्डकी प्रदेशमै बढी देखिएको छ ।

उपाध्यायका अनुसार ७० प्रतिशत सापु सेतो पुतलीको कारण हुने गरेको छ । बाँकी ३० प्रतिशतमा के कारणले हुन्छ भन्ने यकिन छैन । ‘सेतो पुतलीको रोकथाम गरी त्यसबाट बच्ने उपाय नै ठूलो हो,’ उनले भने, ‘पछिल्लो समय एक/दुईवटा केस अन्य पुतलीबाट पनि भएको आएका छन् ।’

मध्यपहाडी भेगमा बढी र अन्यत्र आक्कलझुक्कल रूपमा देखिएको उक्त रोग नेपालबाहेक अरू देशमा कुनै पनि रिपोर्ट नरहेको उनले बताए । विशेषगरी नेपाली क्यालेन्डरको जोर र अंग्रेजीको बिजोर वर्षमा अगस्ट, सेप्टेम्बर र अक्टोबरमा सेतो पुतली र सापु बढी देखिने गरेको छ । अहिलेसम्म १५ सय बिरामी चिकित्सकको सम्पर्कमा आइसकेका छन् । तर विश्व स्वास्थ्य संगठन र नेपालका चिकित्सकले भने यस्ता बिरामी १५ हजार जति रहेको अनुमान गरेका छन् ।

हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले १५ जनामा सेतो पुतलीको झुस परेको तर सापु नभएको केस पनि आएको बताइन् । ‘भाइरस, ब्याक्टेरिया वा अरू कुन कारणले यस्तो हुन्छ भन्ने यकिन छैन,’ उनले भनिन्, ‘तत्कालै उपचार गरेमा निको हुन्छ भन्ने सचेतना फैलाउनु आवश्यक छ ।’ गण्डकीमा मात्र देखिएको सापु यसपटक भने भैरहवा र गुल्मीमा पनि भेटिएका छन् ।

हिमालय आँखा अस्पतालका अनुसार बुधबारसम्म ३४ सापुका बिरामी अस्पताल आएका छन् । तीमध्ये १५ जना अस्पतालमा भर्ना भएर उपचार गराए । बुधबारसम्म १० बालबालिका र वयस्कसमेत अस्पतालमा भर्ना भएर उपचाररत छन । ५ जनाको क्रिटिकल केस छ । विशेषगरी ५ देखि १५ वर्षभित्रका बालबालिका बढी पीडित छन् ।

सापुको लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तर उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टिमा कमी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिप जम्छ । ‘यसको उपचार भनेकै जतिसक्दो छिटो पिप निकाल्नु हो,’ श्रेष्ठले भनिन्, ‘४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले प्रदेशमा सेतो पुतली र सापु बढेकाले यसविरुद्ध सचेतना अभियान चलाइएको बताए । म्याग्दीमा सेतो पुतलीको आतंकसँगै झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्र बेनीमा उपचारका लागि आउने बढेका छन् । भदौ १३ पछि कम्तीमा १० जना सेतो पुतलीको झुसले संक्रमीत भएका छन् ।

उनीहरूमध्ये बेनी अस्पतालबाट ४, नेत्र ज्याति संघ आँखा उपचार केन्द्रबाट ४ गरी ८ जनालाई पोखरा रेफर गरिएको थियो । २ जनाको बेनीमै उपचार भइरहेको छ । ‘चारै जनाको आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका थिए । आँखा सुक्खा भइसकेकोले पोखरा रेफर गरेका हौं,’ नेत्रज्योति संघ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले भने ।

पर्वत सदरमुकाम कुश्मा बजार र ग्रामीण क्षेत्रमा पनि भदौ पहिलो सातादेखि सेतो पुतलीको आतंक छ । साँझ बत्ती बाल्ने समयमा देखा पर्ने पुतलीको बाक्लो झुन्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् । यसको झुसका कारण हालसम्म पर्वत अस्पतालको आँखा उपचार केन्द्रमा ३ जना बिरामी आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपकरण अभाव

हिमालय आँखा अस्पतालमा आँखामा पिप भए/नभएको पत्ता लगाउने अल्ट्रासाउन्ड (बि स्क्यान) मेसिन पुरानो हुँदा उपचारमा समस्या भएको छ । ‘मेसिन पुरानो भएकाले बेलाबेलामा बिग्रने गर्छ,’ मेडिकल डाइरेक्टर डा.इलियाले भनिन्, ‘मर्मत गरी चलाइएको छ । समयमै काम हुन सकेको छैन ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…