नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक पुग्यो नेपाली सुरक्षा गस्ती

राजन रावत

हुम्ला, साउन २७ गते । नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।

उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो । सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो ।

सीमा स्तम्भ अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो । तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो ।

अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उहाँले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताउनुभयो । हिउँले १०/११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो ।

अब ४ नम्बर स्तम्भ बाँकी

डीएसपी भण्डारीले आफ्नो टोलीले एउटा लक्ष्य पूरा गरेर हेडक्वाटर फर्केको बताउँदै अब हुम्ला खण्डमा पर्ने ४ नम्बर सीमा स्तम्भको पहिचान गर्न बाँकी रहेको बताउनुभयो । केही समयअघि सीमा सुरक्षा चौकी हिल्साको टोली ४ नम्बर सीमा स्तम्भको अनुगमन गर्न निस्केको भए पनि हिउँ नपग्लेका कारण सफल नभएको बताउनुभयो ।

अझै एक पटक उक्त स्तम्भको ठाउँ पहिचानका लागि हिल्साकै सुरक्षाकर्मी खटिने उहाँले बताउनुभयो । यो काम आगामी भदौ महिनाभित्र गर्न नसके अन्य महिनामा सीमा स्तम्भको पहिचान तथा अनुगमन गर्न सम्भव नहुने उहाँले बताउनुभयो ।

हुम्ला खण्डमा पर्ने नेपाल–चीनका सीमा स्तम्भहरूमा ३ देखि १२ नम्बरका १५ वटा सीमा स्तम्भ रहेका छन् । ४ नम्बरबाहेक बाँकी १४ वटै स्तम्भमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनुभयो । किटदेखि हिल्सा क्षेत्रमा पर्ने ५ देखि ९ नम्बरका सीमा स्तम्भहरू १ र २ गरी १० वटा रहेका छन् । बाँकी १० देखि १२ नम्बर सीमा स्तम्भहरू हिल्साको टाकुले भञ्ज्याङदेखि लिमीको लाप्चा क्षेत्रमा रहेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…