भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय सरकारका खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झा।

मन्त्री नियुक्त भएको तीन सातापछि गृहजिल्ला आएका झालाई लिन कार्यकर्ताहरू गाडीको लाइन लगाएर पुगेका थिए । रौतहट–बारा सीमाको धन्सार पुलबाट भारतीय नम्बर प्लेटका भाडाका गाडी लाइन लगाएर उनलाई गौरस्थित होटल सिया प्यालेससम्म पुर्‍याए । त्यहाँ गाडी पार्किङ गर्न हम्मेहम्मे पर्‍यो ।

जारी निषेधाज्ञाको बेवास्ता गर्दै सयौं गाडीको लाइनसँगै बाटोमा कार्यकर्ता र शुभचिन्तकले स्वागतसमेत गरे । गौरस्थित होटल सिया प्यालेसमा मंगलबार दिउँसो स्वागत कार्यक्रम सकिन नपाउँदै सर्वोच्च अदालतले गत जेठ २१ र २९ मा भएको मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गरेको खबर आयो ।

स्वागत कार्यक्रममै उक्त खबर सुनेका कतिपय कार्यकर्ताले पत्याएनन् । धेरैले संघीय राजधानी काठमाडौंमा रहेका नेता, कार्यकर्ता र आफन्तलाई फोन गरे । यकिन भएलगत्तै पदमुक्त मन्त्री झा कार्यक्रम छोट्याएर तत्कालै राजधानी फर्किए । आउँदा सयौंको लावालस्कर लागेका उनका कार्यकर्ता मन्त्री पदमुक्त भएपछि एकएक गरेर फर्किएका थिए ।

कार्यक्रमस्थलबाट फर्कने बेलामा झाको लस्करमा सुरक्षाकर्मीको स्कर्टिङबाहेक अरू गाडी थिएनन् । ‘कार्यक्रम नसकिँदै सर्वोच्चले पदमुक्तको आदेश दिएको हल्ला आयो,’ कार्यक्रममा सहभागी जसपा कार्यकर्ता सरोज यादवले भने, ‘एकैछिन त के गर्ने कसो गर्ने भयो ।’

नियुक्ति बदर भएका २० मन्त्रीमध्ये झा जनता समाजवादी पार्टीको ठाकुर समूहका हुन् । जसपा केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका मेयर अजय गुप्ताले मंगलबार स्वागत कार्यक्रम सकिन लाग्दा मन्त्री पदमुक्त भएको खबर आएको सुनाए । झाको स्वागतमा गाडीहरूको भीड बोलाएर नभई कार्यकर्ताहरू स्वस्फूर्त आएको उनले दाबी गरे ।

मन्त्री भएर आएका नेताको स्वागतका लागि रौतहटमा भारतीय गाडी मगाएरसमेत प्रदर्शन गर्ने ‘परम्परा’ जस्तै छ । बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव मन्त्रीको नभई पावरको पछि लागेर मानिसहरू स्वागतमा जाने गरेको बताउँछन् । झा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रौतहट १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पटकपटक मन्त्री भइसकेका छन् ।

प्रदेश २ मा राज्यमन्त्री रहेकी उनकी श्रीमती डिम्पल झालाई मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि राज्यमन्त्रीबाट हटाएका थिए । मंगलबार दिउँसो पदमुक्त नहुँदै मन्त्री झालाई गरुडा नगरपालिकामा कालोझन्डा देखाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा समेत लिएको थियो ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, अपहरणकाे मुद्दा दायर गर्छु : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…