मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका छन् । झट्ट हेर्दा भोकाएर निकै थकित भएजस्ता देखिन्छन् ।

ज्ञानेन्द्र मेलम्ची बजारका पुराना व्यापारीमध्येका एक हुन् । बजारमा उनको परिवारले खाद्यान्न स्टोरको व्यवसाय गर्दै आएको थियो । एक साताअघि मात्र करिब तीन सय बोरा चामल, चिउरा, आटालगायत खाद्यान्न गोदाममा भण्डारण गरेका थिए उनले ।

मंगलबार साँझको बाढीले उनले पाँचवटा सटरभित्र राखेका सम्पूर्ण खाद्यान्न नष्ट गर्‍यो । सुन्दा अनौठो लाग्छ, मेलम्चीकै ठूलो खाद्यान्न गोदामका मालिकसँग अहिले खाने चामल छैन । पकाउने सामल छैन ।

‘भान्सामा जहिले चाहियो त्यहीबेला मात्र दाल–चामल लाने गर्थ्यौं’ श्रेष्ठले भने, ‘बाढीले गर्दा व्यापार त सधैंलाई सकियो, एकमुठी खाने अन्नसमेत बचेन !’

बाढी आएको मंगलबार साँझ श्रीमती र छोरासहित उनी बजारदेखि माथि डाँडामा रहेको इन्द्रावती माध्यमिक विद्यालयमा बास बसे । के हुने हो भन्ने सन्त्रासमै उनीहरूको त्यो रात बित्यो । रातभरि टर्च बाल्दै पसल भएको ठाउँतिर हेरिरहे ।

भोलिपल्ट बिहान पसल भएको ठाउँसम्म खानेकुरा लिन गए उनी । तर मूल सडकभरि जमेको लेदो पानीले गर्दा सटरसम्म पुग्न सकेनन् ।

‘दुई दिनसम्म गोदाम भएको ठाउँमा आउनै सकिएन । आज घाम लागेर पानी सुक्न थालेपछि मात्र आएको हुँ’, भुइँमा बसेर बचेका खुद्रा सामान मिलाउँदै ज्ञानेन्द्रले बताए ।

तीन दिनदेखि ज्ञानेन्द्रको परिवारलाई भात–भान्साको कुनै परवाह छैन । भाडाको घरमा सञ्चालन गरेको गोदाम सम्पूर्ण रुपमा काम नलाग्ने भएसँगै परिवार विछिप्त भयो । अहिले अरूले नै राहतमा दिएको चाउचाउ, रोटी खाएर गोदाम सफा गर्न व्यस्त छन् उनीहरू ।

‘खुद्रा सामान बिग्रँदा त केही थिएन तर चामल र चिउरा सखाप भएको देख्दा मन थाम्न सकेनौं’, ज्ञानेन्द्र भिजेको ठूलो चिउराको बोरालाई लौरोले घोचेर देखाउँदै भने ।

कुराकानीका क्रममा उनी अर्का एक स्थानीय वृद्धसँग भक्कानिए । स्थानीय ज्येष्ठ नागरिक भीमप्रसाद दंगाल पनि खानेकुरा नासिएकोमा निकै दुःखमनाउ गर्दै थिए । दंगाल अन्न नष्ट हुनु निकै ठूलो अनिष्टको संकेत भएको बताउँदै ज्ञानेन्द्रलाई सान्त्वना दिँदै थिए ।

‘यत्रो गोदामका मालिकसँग आज आफैंले खाने सामल–तुमल छैन !’ भन्दै दंगाल अपशोच मान्दै थिए ।

ज्ञानेन्द्रका छोरा बालुवा थुप्रिएको गोदामबाट कोकाकोला, स्प्राइट र बियरका बोतल निकाल्न व्यस्त थिए । उनलाई स्थानीय केही युवाले सघाइरहेका थिए ।

भोको पेटमा हिलो पानीले ढाडिएका चिउरा र चामलका बोरा बाहिर निकालिरहेका उनीहरु एक–अर्का सँग बोलिरहेका थिएनन् । तर काम गर्दागर्दै घामले खरो भएपछि उनीहरूले गोदामको हिलोबाट निकालेको स्प्राइट पखालेर खान थाले ।

‘जसोतसो ज्यान बच्यो, अब जे खाएर भएपनि काम गर्न थाल्नुपर्छ’, चाउचाउ र स्प्राइट खाँदै २३ वर्षीय स्थानीय युवा बताइरहेका थिए । एकैछिनको विश्रामपछि उनीहरू साबेल र कोदालोले बालुवा खन्दै पुनः सटर फुटाउँदै सामान निकाल्न व्यस्त भए ।

५० लाखको खाद्यान्न नष्ट

ज्ञानेन्द्रका अनुसार उनको मुख्य व्यवसाय नै खाद्यान्न गोदाम हो । वरपरका खुद्रा पसलेलाई समेत उनले नै होलसेलमा सामान उपलब्ध गराउँथे । रोपाइँको समय आएकाले अरुबेला भन्दा दोब्बर खाद्यान्न मगाएर भण्डारण गरेको उनी सुनाउँछन् ।

तर आफैंलाई खानसमेत नपुग्ने गरी व्यापार डुबेकाले सम्हालिन नसक्ने स्थितिमा पुगेको छ ज्ञानेन्द्र र उनको परिवार । ज्ञानेन्द्रका अनुसार पाँचवटा कोठाको भौतिक सामान तथा खाद्यान गरी ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

२०७२ को भूकम्पले पुरानो घर भत्किएपछि यो परिवार पसल भएकै घरमा बस्दै आएको थियो ।

छोरा रमेशका अनुसार खाद्यान्नसँगै कुकिज, कुरमुरे, बियर, पेय पदार्थलगायत सामग्री पनि बाढीले पुरेको छ । चाउचाउ, बिस्कुटजस्ता सुख्खा खानेकुरा पनि हिलोले परेर ओसिइसकेको थियो ।

हिलो पखालेर सामान फिर्ता गर्न सकिन्छ कि भनेर उनी स्थानीय युवासँगै गोदाम खन्न व्यस्त थिए । बिक्री कक्षमा पनि पानी जमेकाले सबै सामानको बिल र खाता भिजेर चिन्न नसकिने भएको थियो ।

‘सामानको बिल र पसलका कागजपत्र पनि सबै बिगारेको छ’ हिलैहिलोको दलदलबाट उनले भने, ‘अब सप्लायर्ससँग कसरी हिसाब मिलाउने हो केही थाहा छैन !’

ज्ञानेन्द्रमात्र होइन स्थानीय एक दर्जन खुद्रा खाद्यान्न पसलमा समेत इन्द्रवती र मेलम्चीको बाढीले क्षति पुर्‍याएको छ । गेगर हिलो मिसिएको पानीले गर्दा पसलका अधिकांश सामान नष्ट भएका छन् । साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…