युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम ली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ देखि निरन्तर शीर्षमै छ ।

विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ । तर यदि युरोपेली च्याम्पियनसीप वा २०२२ को विश्वकप जित्न नसके पनि उसको टिमका अन्तर्राष्ट्रिय सुपरस्टारहरूलाई देखेर सबै ठाउँका फुटबल प्रशासकहरूले ईर्ष्या नै गर्नेछन् ।

निराशाको खाडलमा पुगेपछि बेल्जियमको यो यात्रा सुरु भएको थियो । सन् २००० को युरोपियन च्याम्पियनसिप आयोजना गरेको बेल्जियमको खुसी त्यतिबेला पीडामा परिणत भयो, जब उनीहरू प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । किङ बाउडोविन रङ्गशालामा प्रतियोगिताको उद्घाटनमा हजारौँ सेतो बेलुन उडाइएको थियो । नौ दिनपछि त्यही रङ्गशालाभित्र पानीका फोकाहरू झरे ।

ब्रसेल्सका त्यस साँझ हाकन सुकरले दुई गोल गरेपछि टर्कीले बेल्जियमलाई २–० ले हरायो । पहिलो गोल गोलकिपर फिलिप डी वाइल्डीको गल्तीका कारण भएको थियो । यस घटनापछि बेल्जियन फुटबल सङ्घका वरिष्ठ व्यक्तित्वहरू आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जरा र हाँगाबारे समीक्षा गर्न बाध्य बने ।

यो समय मिचेल साब्लोन राष्ट्रिय टोलीका प्राविधिक निर्देशक थिए । उनका अनुसार प्रतियोगिताको आयोजना निकै सफल रह्यो । तर मैदानभित्रको नतिजा ‘खेलाडीका लागि राम्रो थिएन । क्लबका लागि राम्रो थिएन । राष्ट्रिय टिमका लागि राम्रो थिएन,’ उनले भने, ‘यो साँच्चै निरश थियो ।’

युरो २००० दुईवटा टिमका लागि टर्निङ प्वाइन्ट बनेर आएको थियो । जर्मनी पनि समूह चरणबाटै बाहिरिएको थियो । इङ्ल्यान्डसँग पनि पराजित भयो । त्यसपछि उनीहरूले आफ्नो फुटबल दर्शनको समीक्षा गरे । त्यो पुनर्जन्म थियो, जसले १४ वर्षपछि विश्वकप फुटबल ल्याइदियो । बेल्जियम पनि यस्तै परिवर्तनबाट गुज्रँदै थियो ।

साब्लनले आफ्नो देशमा फुटबलका लागि नयाँ भिजन पहिचान गर्न धेरै समय खेर फालेनन् । ‘हामीले शनिबार र आइतबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यसका लागि गृहकार्य ग¥यौँ । हामीले सेतो कागजको टुक्राबाट यसको थालनी ग¥यौँ र पूरै कुरा शुरुवातबाट विकास ग¥यौँ ।’

सुधारको कुनै मौका बाँकी राखिएन । युवा खेलाडीहरूको अनुसन्धानमा सहयोग गर्न चारवटा विश्वविद्यालयहरूलाई यस परियोजनामा परिचालन गरिएको थियो । उनीहरूले फाइभ ए साइडदेखि एट–ए–साइड गेमबाट पनि युवा खेलाडीहरू खोज्न थाले ।

अनुसन्धान विस्तृत थियो । उदाहरणका लागि खेलाडीले उत्कृष्ट खेल्ने समय हो भन्ने पनि पहिल्यै निर्क्यौल गरिएको हुन्छ, जस्तो बालकहरूका लागि आइतबार बिहान ९ बजे उत्कृष्ट समय हुनसक्छ । यी विश्वविद्यालयहरूले १५ सयवटा युथ गेमको तथ्याङ्कलाई सङ्कलन गरे । त्यसपछि फुटबल खेलका ७० वटा क्लबहरूसँग सहकार्य गरे । अनि क्लबहरूमा झन्डै १ वर्ष लगाएर यी तथ्याङ्कहरूलाई १ सय २० पल्ट प्रस्तुत गरे ।

परम्परागत र कडा रक्षापङ्क्तिसहितको ४–४–२ फर्म्याटको साटो थप लचिलो र आक्रामक ४–३–३ फरम्याट लागू गरियो । यो फर्म्याटले खेलाडीहरूलाई बलप्रति थप जिम्मेवारी हुन बाध्य बनायो ।

यो महत्त्वाकाङ्क्षी योजना थियो । फरक शैलीको यो फुटबल कार्यक्रम बेल्जियमका लागि दबाबको भारी नभएर सहयोग सिद्ध भइदियो । केवल दुई दर्जन व्यावसायिक फुटबल क्लब रहेको देशमा एउटै लयमा गाउन सबैलाई केही सहज थियो । किनकि यो देशले कुनै ठूलो उपलब्धि हासिल गरेको थिएन, जसकारण तत्कालै लगानी फिर्ता गर्नुपर्ने दबाब कम थियो र प्रयासका लागि धेरै स्वतन्त्रता थियो ।

देशका सबै क्लबलाई यो योजनाअन्तर्गत ल्याइयो । त्यहाँ केही समस्याहरू भने थिए । तर यो योजनालाई कायम राखिनेछ र सबै ठीक हुनेछ भन्ने विश्वास साब्लोनलाई थियो । ‘मलाई याद छ, हामी यस्तो सुधारपछि पहिलो पटक फ्रान्सको यु–१७ टोलीसँग भिडेका थियौँ र ७–१ ले हार्यौँ । त्यतिबेला धेरै प्रतिक्रियाहरू आए । तर अर्को वर्ष त्यही उमेर समूहमा हामीले फ्रान्सलाई दबाबमा राख्यौँ र खेल जित्यौँ,’ साब्लोनले भने, ‘यसले समय लियो । तर मेरो बुझाइमा गाह्रो कुरा भनेकै सुधारको यो यात्रा थाल्ने भनेर निर्णय लिनु थियो ।

यस समय वरपर युवा खेलाडी रोमेलु लुकाकु, इडेन हाजार्ड र केभिड डी ब्रुयाले क्रमशः ८, १० र १० वर्षका थिए । उनीहरूलाई कसैले त्यतिबेला चिनेका थिएनन् तर यी खेलाडी र यस पुस्ताका अन्य खेलाडीहरूले चाँडै करियरको त्यस्तो उडान भर्नेवाला थिए, जसले विश्व फुटबलमै तहल्का मच्चाउने थियो ।

रोमेलु लुकाकु अहिले विश्वकै शक्तिशाली फरवार्डमध्ये एक हुन् । यी खतरनाक फिनिसरले भर्खरै इन्टर मिलानलाई इटलीमा लिग च्याम्पियन बनाउन सहयोग गरे ।

लुकाकुमा कहिल्यै आत्मविश्वास र सफलताको भोकको कमी भएन । १६ वर्षको उमेरमै उनलाई बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्नसक्छु भन्ने लाग्थ्यो । यसले पनि उनी कति आत्मविश्वासी छन् भन्ने देखाउँछ ।

१७ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय डेब्यु गरे । र, अहिले उनी बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । बेल्जियमको टोलीमा पारिवारिक माहोल छ । खेलाडीहरू निकै पहिलेदेखि चिनजानमा छन् । लुकाकुले ११ वा १२ वर्षको उमेरदेखि नै आफ्ना टोलीका केही खेलाडीहरूलाई चिनेका हुन् । अहिले अन्तर्राष्ट्रिय खेल भइरहँदा उनीहरू आफ्नो विगतबारे पनि स्मरण गर्छन् । ‘हामी सबै एकसाथ टेबलमा बसेर कसको युवा टोली उत्कृष्ट थियो र कुन टोलीले धेरै गोल गरेको थियो भनेर बहस गर्छौं । यो निकै आनन्ददायक छ,’ लुकाकुले भने ।

‘हामी एकअर्कालाई लामो समयदेखि चिन्दछौँ । उदाहरणका लागि, मैले १२ वा १३ वर्षकै उमेरमा लुकाकुविरुद्ध खेलेको थिएँ । हामी निकै निकट साथीहरू हौँ,’ गोलकिपर थियावट कोर्टवाले भने, ‘जब हामी ब्राजिलमा आफ्नो पहिलो विश्वकपका लागि गएका थियौँ । त्यतिबेला एक महिनासम्म यी खेलाडी कसरी मिलेर बस्नसक्छन् भन्ने पनि कसलाई लागेको थियो । के त्यहाँ झगडा हुनेछ ? खेलाडीहरूबीच समस्या हुनेछ ? यस्ता आशङ्का पनि भए । तर हामीले मिले खेल्याँै किनकि हामी एकअर्काका मिल्ने साथी थियौँ । त्यसैले मैदानभित्र फुटबल होइन, मैदानबाहिर गल्फ, तास र प्ले स्टेसन पनि मिलेरै खेल्यौँ ।’

‘हामी धेरैलाई धेरै समयदेखि चिन्छौँ । तपार्इंले वर्षौंदेखि चिनिरहेका साथीहरूको समूहमा खेल्नु निकै सहज हुन्छ ।’

बेल्जियमको अहिलेको टोलीमा रहेका मुख्य खेलाडीहरू निकै अनुभवी छन् । ९ जनाले देशका लागि ८० वा त्यसभन्दा धेरै खेल खेलेका छन् । चार जनाले १ सय २ भन्दा धेरै खेल खेलेका छन् । त्यस्तै, लुकाकु र डी ब्रुयानले विश्वका उत्कृष्ट १० खेलाडीमा पर्छन् ।

हरेक पोजिसनमा यति धेरै अनुभवी खेलाडीहरू पाउनु असामान्य उपलब्धि रहेको प्रशिक्षक रोबर्टो मार्टिनेजको भनाइ छ । मार्चमा उनले भनेका थिए, ‘मैले प्रशिक्षण सम्हालेयताका पछिल्ला ५२ खेलमा हामीले प्रत्येक खेलमा ३ को औसतमा गोलहरू गरेका छौँ । अन्तर्राष्ट्रिय फुटबलमा यस्तो स्थिरता तपाईंले हत्तपत्त पाउनुहुन्न ।’

बेल्जियमको अर्को विशेषता विविधता पनि हो । सांस्कृतिक र धार्मिक विविधतालाई मिसाउँदा राम्रो नतिजा निस्कन्छ भन्ने पनि बेल्जियमले देखाएको छ । ‘धेरै खेलाडीहरू कङ्गोली मूलका छन्,’ लुकाकुले भने । लुकाकुका बाबु पनि तत्कालीन जैरी (अहिलेको कङ्गो) राष्ट्रिय फुटबल टिमका सदस्य थिए । उनले थपे, ‘केही खेलाडीहरू स्पेनिस र केही मोरक्कन मूलका छन् । यसले देखाउँछ कि तपाईंले मिलेर काम गर्नुभयो भने तपाईं कुन नश्लको भन्ने विषयले अर्थ राख्दैन ।’

‘हामी अनौठो देश हौँ,’ कोर्टवाले भने, ‘हामीसँग डच बोल्ने भाग, फ्रेन्च बोल्ने भाग र जर्मन बोल्ने भाग छ । तर मलाई लाग्छ यो विविधताले नै बेल्जियमलाई राम्रो बनाएको छ ।

यस्तो सानो देशको प्रगतिमा तीनवटा भाषा भारी हुनुपर्ने भए पनि बेल्जियमका हकमा यही नै शक्ति बनेको छ । २०१६ देखि टोलीको प्रशिक्षक रहेका मार्टिनेज भन्छन्, ‘सायद हाम्रो मुख्य हतियार नै हाम्रो ड्रेसिङ रुम हो । यहाँ तपाईंले फरक विचार, फरक समाधान पाउनुहुन्छ ।’

मार्टिनेज स्पेनिस हुन् । तर आफ्नो क्षितिजलाई विस्तार गर्नुको फाइदा उनले सानै उमेरदेखि महसुस गरेका छन् । उनले आफ्नो व्यावसायिक करियरको लामो समय बेलायतमा व्यथित गरे । त्यसपछि स्कटिस श्रीमतीसँग बेल्जियम सरे । उनको बुझाइमा बेल्जियमका खेलाडीहरू विश्वभर छरिएका छन् र त्यो अनुभव लिएर उनीहरू घर फर्किएका छन् ।

‘१५ वा २० वर्षअघि बेल्जियमबाहिर झन्डै कसैले खेल्दैन थिए भने हुन्छ,’ कोर्टवाले भने, ‘अहिले हाम्रो टोलीका झन्डै सबै खेलाडी विश्वका ठूला क्लबबाट खेल्छन् ।’

कोर्टवासँग एथलेटिको म्याड्रिड र रियल म्याड्रिड दुवै टोलीबाट ठूला प्रतियोगिता जितेको अनुभव छ । अहिले उनी रियलमा छन् । यसअघि चेल्सीबाट पनि उनले दुई पटक प्रिमियर लिग जितेका थिए ।

डी ब्रुयानेले म्यानचेस्टर सिटीबाट धेरै उपाधि जितिसकेका छन् र विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा पर्छन् । हाजार्डले तीनवटा देशमा घरेलु लिग जितिसकेका छन् र चेल्सीबाट दुई पटक युरोपा लिग जितेका छन् । चेल्सी, एभर्टन, म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका लुकाकु अहिले इटलीको च्याम्पियन इन्टरका महत्त्वपूर्ण खेलाडी हुन् ।

बोरुसिया डर्टमुन्डका डिफेन्डर टोबी एल्डरवाइरेल्ड, बेनफिकाका जान भर्टोङहेङ र डर्टमुन्डकै थोमस मुनियर पनि चिनाइराख्नुपर्ने खेलाडी होइनन् । लेस्टर सिटीका मिडफिल्डर युरी टिलिम्यान्स, डर्टमुन्डबाट खेल्ने इडेनका भाइ थोर्गान हाजार्ड तथा फरवार्डहरू नापोलीका ड्राइस मर्टिन्स र गत सिजन क्रिस्टल प्यालेसबाट ऋणमा खेलेको चेल्सी मिची बात्सुइ पनि निकै उत्कृष्ट लयमा छन् ।

बेल्जियमको व्यावसायिक फुटबलको पिरामिडले केवल २ वटा लिग प्रणाली र २६ वटा टिमलाई धान्नसक्छ । यी खेलाडीहरू त्यहीँबाट उत्पादन हुन्छन् । त्यसपछि विश्वका ठूला क्लबको रोजाइमा पर्ने गरेका छन् । विविधतामा हुर्किएका यी खेलाडीहरूलाई अन्यत्र देशमा गएर त्यहाँको वातावरणमा घुलमिल हुन पनि अफ्ठ्यारो हुँदैन । ‘जब मार्क बिल्मोटस् २०१२ देखि २०१६ सम्म प्रशिक्षक थिए, तब उनले डच र कहिलेकाहीँ फ्रेन्चमा बोल्थेँ,’ लुकाकुले भने, ‘अहिले रोबर्टो मार्टिनेजसँग सबैले इङ्लिसमा बोल्छन् । तर हामी एकआपसमा भने फ्रेन्च र डचमै बोल्छौँ ।’

‘चार वा पाँच वर्षको उमेरमै भाषाहरू सिक्न यहाँ समस्या छैन । मैले तीन वा चारवटा भाषा बोल्ने बच्चाहरू धेरै देखेको छु । मलाई लाग्छ यो बेल्जियमका फुटबलरहरूको ठूलो शक्ति हो । यो सांस्कृतिक अवरोध हो भन्ने मलाई लाग्दैन ।’

जब बेल्जियमको नयाँ योजनाका आर्किटेक्टहरू यसलाई कार्यान्वयन गर्दै थिए, तब छोटो समय केही पीडा हुनेछ भन्ने उनीहरूलाई थाहा थियो । २००५ देखि २००७ को अवधिमा उनीहरू फिफा वरियतामा १६ औँ स्थानबाट झरेर ७१औँ स्थान पुगे । २००४ देखि २०१२ सम्म उनीहरू कुनै पनि ठूला प्रतियोगितामा छनोट हुन सकेनन् । यस अवधिमा दुई विश्वकप र तीनवटा युरोपेली च्याम्पियनसिप बेल्जियमले गुमायो । अर्थात् जति सोचिएको थियो त्योभन्दा पनि धेरै पीडा बेल्जियमले पायो ।

तर अहिले मार्टिनेजसँग हरेक पोजिसनका लागि तीन उत्कृष्ट खेलाडी छन् । उनीहरूसँग आत्मनिर्भर हुने मोडल पनि छन् । जसअन्तर्गत अहिले राष्ट्रिय टिममा रहेका खलाडीहरूले यूईएफएको प्रशिक्षण कोर्स पनि गरिरहेका छन् । आफ्नो खेलाडी जीवनको अन्त्यपछि उनीहरूले बेल्जियम फर्किएर नयाँ पुस्ता विकास गर्न सघाउने अपेक्षा गरिएको छ ।

२४ वर्षका युरी टिलम्यान्सलाई टोलीको उदयीमान खेलाडीका रूपमा लिन सकिन्छ । उनले एफए कपको फाइनलमा यसै सिजन लेस्टर सिटीका लागि निकै उत्कृष्ट गोल गरेका थिए । यी खेलाडीसँग २०१८ को विश्वकपसहित टोलीका लागि झन्डै ४० खेल खेलेको अनुभव छ । ‘हरेक खेल जित्ने कोसिस गर्ने र नयाँ युवाहरूमा जित्न सकिन्छ भनेर सन्देश दिने योजना हो,’ टिलिम्यान्सले भने, ‘यस्तो सन्देश युवा खेलाडीहरूमा फैलाउँदा हामीले विजयी मानसिकतालाई कायम राख्न सक्छौँ र सफलता निर्माण गर्छांै भन्ने मलाई लाग्छ ।’

बेल्जियमको सफलताको कथा दुर्लभ हुनसक्छ । तर कुनै देशले फुटबलमा ‘गोल्डेन जेनेरेसन’को अनुभव गरेको यो पहिलो अवसर होइन । स्पेनको गोल्डेन जेनेरेसनले २००८–२०१२ को युरोकप तथा २०१० को विश्वकप जित्यो । फ्रान्सले १९९८ को विश्वकप तथा युरो २००० जित्यो । रुई कोस्टा र लुइस फिगोको पोर्चुगल उपाधि जित्न असफल रह्यो । तर क्रिस्टियानो रोनाल्डोले २०१६ मा उपाधि दिलाए । तर माइकल ओवेन, डेभिड बेकह्याम र स्टेभेन जेरार्डको इङ्लिस गोल्डेन जेनेरेसन कहिल्यै कुनै प्रतियोगिताको फाइनलमा पुगेन ।

२०१८ को रुस विश्वकपमा बेल्जियम उपाधि नजिक थियो । अन्तिम १६ मा जापानविरुद्धको थ्रिलिङ खेलमा अन्त्यतिर उसले आक्रमण थालेको थियो । २–० ले पछि परेको अवस्था उल्ट्याउँदै बेल्जियमले ३–२ को जित निकाल्दा एक कमेन्टेटर चिच्याएका थिए, ‘के तपाईं यो विश्वास गर्नुहुन्छ ?’

ब्राजिलविरुद्धको क्वाटरफाइनलमा लुकाकुलाई ट्याङ्कसँग नै तुलना गरिएको थियो । उनले नै डी ब्रुयानेलाई निर्णायक गोलको अवसर मिलाइदिए । कोर्टवाले पनि शृङ्खलाबद्ध रूपमा उत्कृष्ट बचाउहरू गरे । बेल्जियम सेमिफाइनलमा पुग्यो । तर त्यहाँ फ्रान्ससँग १–० ले पराजित भएपछि उसको उपाधि यात्रा टुङ्गियो ।

यसका बाबजुद इङ्ल्यान्डलाई हराएर उसले तेस्रो स्थान हासिल ग¥यो । बेल्जियमका खेलाडीहरू घर फर्किएपछि ब्रसेल्समा उनीहरूलाई भव्य सम्मान गरियो ।

खचाखच ग्रोट मार्कट (भव्य दरबार) अगाडि टोलीले खुसी मनाइरहँदा देशको विविधता पनि झल्किएको थियो । अर्कोपटक, घाँटीमा च्याम्पियनको मेडल झुन्ड्याएर खेलाडीहरू यहाँ उभिन चाहन्छन् ।

गोलकिपर कोर्टवालाई यो वसन्त कठिन हुनेछ भन्ने थाहा छ । ‘फुटबल फुटबल नै हो । यो अपेक्षित हुन्न । तपाईंले जर्मनी, स्पेन, इटली, हल्यान्ड, इङ्ल्यान्डलाई बिर्सनुहुन्न, साना देशहरूले पनि दुःख दिनसक्छन् । तर अहिले भने केही सफलता हासिल गर्नेमा आशावादी छौँ । हामीसँग साँच्चै महत्त्वाकाङ्क्षी टोली छ र हामी उपाधिका लागि भिड्दैछौँ ।’

अहिले वा निकट भविष्यमा सफलता हात लाग्छ भन्नेमा कोर्टवा विश्वस्त छन् । ‘यदि हामीले यो उपलब्धि हासिल गरेनौँ भने पनि आगामी वर्षहरूमा नयाँ पुस्ता आउनेछ किनकि बेल्जियममा नयाँ प्रतिभा उत्पादनका लागि कडा मेहिनेत भइरहेको छ ।’

बल हान्न सुरु गरेदेखि नै खेलाडीहरूले सफलताकै सपना देखिरहेका छन् र लुकाकुलाई यो जसरी पनि सफल हुनुपर्छ भन्न थाहा छ । ‘यदि हामीले आफूलाई राम्ररी तयार ग¥यौँ । यदि राम्रो प्रदर्शन ग¥यौँ भने हामीलाई कसैले रोक्न सक्दैन,’ उनले भने ।

सीएनएन बाट अन्वेषण अधिकारीद्वारा अनुवाद (साभार रातोपाटीबाट)

 

 

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, अपहरणकाे मुद्दा दायर गर्छु : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…