क्लब व्यवसायी भन्छन्- दैनिक १५ लाखसम्म घाटा भइरहेको छ

कारोना महामारीको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको सबभन्दा बढी प्रभाव उद्योग-व्यवसायमा परेको छ। एकातिर व्यवसायीको लगानी जोखिममा छ, अर्कातिर त्यसमा आश्रित कमर्चारी बिचल्ली परेका छन्।

विगत एक वर्षभन्दा बढीदेखि दैनिक नोक्सान बेहोर्ने व्यवसायीमध्ये एक हुन् ठमेलस्थित फरेनहाइट क्लबका सञ्चालक टंकप्रसाद पुरी। क्लब बढी चल्ने मौसममै बन्द हुँदा दैनिक दसदेखि पन्ध्र लाख रूपैयाँ घाटा भइरहेको उनी बताउँछन्।

‘अंग्रेजी र नेपाली नयाँ वर्ष, प्रेम दिवस भनेको रात्रि व्यवसायीका लागि दसैं जस्तै हो। डिसेम्बरदेखि नै बन्द हुँदा हामीलाई धेरै नोक्सान भयो,’ उनले भने, ‘लगानी नै जोखिममा पर्ने भइसक्यो।’

पुरीका अनुसार सामान्य अवस्थामा पुसदेखि वैशाखसम्म दैनिक पच्चीसदेखि तीस लाखको कारोबार हुन्थ्यो। ‘अफ डे’ मा पनि दिनमै तीन-चार लाख र शुक्रबार वा बिदाका दिन सात-आठ लाखको कारोबार हुने उनले बताए। तर पछिल्लो समय क्लब ठप्प भएपछि नोक्सान मात्र भइरहेको उनी बताउँछन्।

यसले व्यवसायीलाई मर्कामा पारेको छ नै, क्लबमा आश्रित एक सय बीस कर्मचारीको रोजीरोटी पनि गुमेको उनले बताए। क्लब बन्द भएपछि उनीहरूले दुई-तीन जना सुरक्षा गार्डबाहेक सबैलाई बेतलबी बिदामा राखेका छन्।

‘कर्मचारीको तलबमा मात्रै महिनामा तीस लाख खर्च हुन्छ। कम्पनी चलेको समय ठिकै हुन्छ, बन्द हुँदा त सबैलाई पैसा दिनै गाह्रो भयो,’ उनले भने, ‘कसैले हामीलाई पैसा दिनुस्, पछि काम गरेर तिर्छौं भन्नेलाई दियौं। कोही आर्थिक स्थिति कमजोर भएकालाई खाद्यान्न सहयोग गर्‍यौं। तर सबैलाई तलब दिन सकेका छैनौं।’

२०७६ चैतदेखि लगभग बन्द रहेका क्लबको भविष्यबारे पुरी चिन्तित सुनिन्छन्। त्यो बेला कोरोना विस्तारै फैलिँदै जाँदा पनि मान्छेहरू क्लब जान छाडेका थिएनन्। तर बाहिरको अवस्था भयावह देखेपछि लकडाउन हुनुभन्दा एक साताअघि नै ठमेलका रात्रिकालीन व्यवसाय बन्द भए।

‘जिल्ला प्रशासन कार्यालयबाट चिठी आएपछि लकडाउनको एक साताअघि नै बन्द गरेका थियौं,’ पुरीले भने। सुरूमा लकडाउन एक साता होला भन्दै फुर्सद पाएकामा उनी ढुक्कै थिए। विस्तारै थपिँदै करिब तीन महिना लकडाउन भयो। क्लब लगायत अन्य व्यवसाय २०७७, मंसिरमा मात्र खुले।

त्यो बेला राति ९ बजेसम्म मात्र खोल्न दिइँदा उनीहरूले पन्ध्र-बीस जना कर्मचारी राखेर क्लब चलाए। ‘सुरूको महिनामै पचास लाख आम्दानी भयो। पछि सरकारले विस्तारै एघार बजे र एक बजेसम्म खोल्न दियो। हामीले पूरै कर्मचारी राखेर काम गरेका थियौं,’ उनले भने।

लकडाउनपछि क्लब खोल्दा पहिलेभन्दा बढी आम्दानी भएको उनी बताउँछन्, ‘लामो समय बन्द हुँदा मान्छेलाई दिक्क लागेको थियो होला। खुलेपछि त चौबीसै घन्टा खोल्न दिएभन्दा बढी कारोबार भयो।’

तर चार महिना नबित्दै कोरोनाको दोस्रो लहरले बन्द गराइदियो। उनका अनुसार क्लबको भाडा मासिक पाँच लाख रूपैयाँ छ। गत लकडाउनमा ३५ प्रतिशत भाडा छुट पाएकाले सहजै भयो। पहिलेको आम्दानी जोगाएर राखेकाले लकडाउनमा क्लब व्यवस्थापन गर्न ऋण भने लिन नपरेको उनले बताए।

सन् २०१८ अगस्टदेखि खुलेको फरेनहाइट क्लबमा एघार जनाले साढे दस करोड रूपैयाँ लगानी गरेका छन्। तर लामो समय क्लब बन्द हुँदा यहाँका सरसामान बिग्रिएको पुरी बताउँछन्। क्लबमा फेसन सो, फिल्म सुटिङ पनि गरिने हुँदा त्यसै अनुरूप उपकरण राखिएको उनले बताए।

‘प्रयोगमा आइरहेका सामान लामो समय नचलाएपछि बिग्रिए,’ उनले भने, ‘महँगा सामान बनाउनै २५-३० लाख लागेको थियो। अब फेरि उसैगरी बन्द भए क्लब चलाउन ऋण लिनुपर्छ।’

उपकरणहरू बिग्रिने समस्या दरबारमार्गस्थित प्लाटिनम क्लबले पनि भोग्नपरेको छ। प्लाटिनमका सञ्चालक नितेश शाहीका अनुसार २०७६, माघमा मात्र खुलेको क्लबका कति सामान चलाउनै नपाई बिग्रेका छन्।

‘परीक्षणकालका रूपमा चलिरहेका थियौं, दुई महिनामै बन्द गर्नुपर्‍यो,’ शाहीले भने। क्लबमा पाँच जनाले करिब बीस करोड लगानी गरेका छन्। सञ्चालन गर्न नपाउँदा लगानी बढ्दै गएको उनी बताउँछन्।

‘दस महिना बन्द गरेर खोल्दा बिग्रिएका सामान बनाउन र सरसफाइमा करिब छ करोड खर्च भयो। गत फागुनदेखि खोलेका थियौं, तीन महिनामै बन्द गर्नुपर्‍यो। कोभिडले कारोबार चौपट पार्‍यो। त्यहीँमाथि हामी नयाँ।’

गत लकडाउनमा भाडा आधा छुट पाउँदा केही राहत मिले पनि अहिले के हुने हो भन्ने चिन्ताले उनलाई सताएको छ। उनका अनुसार क्लबका ९५ जना कर्मचारीलाई अहिले बेतलबी बिदामा राखिएको छ। उनले भने, ‘कर्मचारीलाई हामी न तलब दिन सक्छौं न काम।’

आर्थिक स्थिति कमजोर भएकालाई भने खाद्यान्न तथा केही पैसा सहयोग गरिएको उनले बताए।

ठमेलमा भर्खरै बनेको क्लब १०–एक्स त झन् निषेधाज्ञाका कारण औपचारिक रूपमा सञ्चालनमा पनि आउन पाएन। गत वैशाख ११ गतेदेखि सञ्चालनमा आउने तयारी गरेको क्लबमा पाँच जनाले करिब पन्ध्र करोड लगानी गरेका छन्। भनेका बेलामा सञ्चालन गर्न नपाउँदा लगानी बढ्दै गएको क्लबका सञ्चालक नवराज लामिछानेले बताए।

‘काम गर्न पाएको भए महिनामा पन्ध्र लाखसम्म आम्दानी हुन्थ्यो। दुई-तीन वर्षमा सावाँ उठाउँथ्यौं होला,’ उनले भने, ‘अब त भन्नै सकिँदैन।’

कर्मचारी नियुक्त नगरिसकेकाले केही सहज भने भएको उनी बताउँछन्। तर बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ।

लामो समय यसरी बन्द गर्दा गरिखाने नागरिक र देश, दुवैको अर्थतन्त्र खस्किने उनी बताउँछन्। त्यसैले खोप व्यवस्थापन गरेर भए पनि बजार खोल्नुपर्ने उनको भनाइ छ। त्यस्तै महामारीको चपेटामा परेका उद्योगी-व्यवसायीलाई ब्याज छुट दिन र निषेधाज्ञा खुलेपछि अन्य उद्योग-व्यवसायसँगै रात्रिकालीन व्यवसाय पनि खोल्ने अनुमति दिन उनले आग्रह गरे।

काठमाडौं उपत्यकामा मात्र डान्स बार, दोहोरी साँझ, डिस्को, लाउन्ज बार गरी पाँच सय बढी रात्रिकालीन व्यवसाय छन्। त्यसमा करिब बीस हजारले प्रत्यक्ष रोजगारी पाएको रात्रिकालिन व्यवसाय संघका अध्यक्ष दावा लामाले जानकारी दिए। व्यवसाय बन्द हुँदा सबभन्दा बढी मारमा कर्मचारीहरू परेको उनी बताउँछन्।

‘व्यवसायीलाई सहुलियत दरको ऋण र आर्थिक स्थिति कमजोर भएका कर्मचारीलाई सरकारले राहत दिए हुन्थ्यो,’ उनले भने।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…