यस्ता छन् ओली सरकारले ल्याएका लोकप्रिय १० बजेट कार्यक्रम

ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता हासिल गर्न खोजेको देखिन्छ ।

अर्थमन्त्री पौडेलले बाचन गरेको बजेटका यी हुन् लोकप्रिय बुँदा :

१. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ। अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पुर्‍याइएको जानकारी दिएका हुन्। उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको बताए। सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ छुट्याइएको जानकारी उनले दिए।

२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत हुने बताए । ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने पौडेलको भनाइ छ ।

४. तरकारी, दूध र माछा मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

५. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

सरकारले आगामी आर्थिक वर्षमा विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा दिने भएको छ । सरकाले जम्मा एक प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम कार्ड पनि निःशुल्क दिने व्यवस्था आगामी आवदेखि हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

६. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

७. सबै नागरिकलाइ निशुल्क खोप 

सरकारले बजेटमार्फत सबै नागरिकलाई कोभिड–१९ विरुद्ध निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेको छ । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।

८.  स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने 

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्न सरकारले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु २५ लाख सम्म बिउ पूँजी कर्जा उपलब्ध गराउने भएको छ ।

बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप व्यवसायको दर्ता नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिएको छ । यसका लागि रु एक अर्बको च्यालेन्ज फन्ड स्थापना पनि गरिएको पौडेलले बताए ।

९. विवादित गरिबी निवारण कोष खारेज

विवादमा रहँदै आएको गरिवी निवारण कोष खारेजी हुने भएको छ। यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्। कोषको मातहत रहेको १९ अर्ब कोषलाई सहकारीकै सुरूआती पुँजीमा रुपान्तरण गरिने उनले बताए।

१०. अब हरेक स्थानीय तहमा दमकल, डढेलो नियन्त्रणमा हेलिकप्टरबाट पानी

हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । अर्थमन्त्री पौडेलले विपद् उद्धार तथा व्यवस्थापनका लागि हरेक प्रदेशमा बहुउपयोगी रोबोटिक फायर फाइटिङ, अत्याधुनिक फायर ब्रिगेड, मल्टिसिटर एम्बुलेन्स र उद्धारका लागि गाडी तयारी अवस्थामा राखिने पनि बताएका छन् ।

डढेलो नियन्त्रणका लागि नेपाली सेनाको व्यवस्थापनमा परिचालित हुने गरी पानी खन्याउने बकेटसहितको हेलिकोप्टर तयारी अवस्थामा राखिने पनि उनले उल्लेख गरेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…