आगामी ८० वर्षमा चीनको जनसंख्या आधा घट्ने

इटालीमा प्रसूति कक्षहरू बन्द हुँदैछन्। चीनको उत्तरपूर्वी क्षेत्रका सहरहरू सुनसान देखिँदैछन्। दक्षिण कोरियाका विश्वविद्यालयले पर्याप्त विद्यार्थी पाउनै छाडे र जर्मनीमा दसौं हजार भौतिक संरचना भत्काएर सार्वजनिक पार्क बनाइँदैछ।

यस्ता दृश्यले विश्वको जनसंख्या घट्दै गएको संकेत गर्छ। यति मात्र होइन, यसले मानव इतिहास यस्तो भविष्यतर्फ बढेको संकेत पनि गर्छ, जहाँ शिशुको पहिलो जन्मदिनमा मैनबत्ती फुक्दै, केक काट्दै, ‘ह्याप्पी बर्थडे टू यू, मे द गड ब्लेस यू’ भनेर गीत गाउँदै उत्सव मनाइएका दृश्य विरलै देखिने छन्। बरू त्यसको ठाउँमा आर्यघाट र शमशानतिर मान्छेको अन्तिम संस्कार गरिएका दृश्य आम हुँदै जानेछन्।

सहरका गल्लीमा मान्छेसँग मान्छेका कुम ठोक्किन कम हुनेछ, बरू त्यसको ठाउँमा सहरका भव्य–भव्य घरहरू पनि रित्ता हुँदै जानेछन्।

हुन त केही देशमा जनसंख्या बढ्दै गएको पनि देखिन्छ। खासगरी अफ्रिकी मुलुकहरूको जनसंख्या वृद्धिदर निरन्तर उकालो लाग्दैछ। यसबाहेक अरू धेरै देशको जनसंख्या वृद्धिदर हेर्ने हो भने यो शताब्दीको अन्त्यसम्म वा सम्भवतः त्योभन्दा धेरै अगाडि नै विश्व जनसंख्या पहिलोपटक स्थायी रूपले घट्दो अवस्थामा पुग्नेछ।

एक हिसाबले भन्दा पृथ्वीमा मानव भार कम हुनु भनेको सीमित स्रोतसाधनको अधिकतम लुछाचुँडी कम हुनु हो। प्रकृतिको अधिकतम दोहन र जलवायु परिवर्तनका असर कम हुनु हो। महिलामाथिको घरायसी भार पनि कम हुनु हो।

तर, यसका केही नराम्रा पक्ष पनि छन्।

पछिल्ला दशकहरूमा चीन र अमेरिकाको जनसंख्या वृद्धिदर सुस्त छ। यसले यी दुवै देशको आर्थिक तथा सामाजिक व्यवस्थापनमा दुरगामी असर पार्न सक्छ। जनसंख्या वृद्धि जति कम हुँदै गयो, श्रम बजारमा नयाँ जनशक्तिको प्रवेश उति घट्दै जानेछ।

त्यसमाथि यही समय स्वास्थ्य क्षेत्रको तीव्र विकासले मान्छेको औसत आयु बढ्दैछ। यसले कालान्तरमा अर्थतन्त्र गतिशील बनाउने सिर्जनशील र परिश्रमी नयाँ पुस्ताको दाँजोमा आफ्नो पेसाबाट निवृत्त भइसकेका पुराना वृद्ध पुस्ताको संख्या बढ्नेछ। थोरैको कमाइबाट धेरैको भरणपोषण गर्नुपर्नेछ।

एकछिनलाई तपाईं यस्तो देशको कल्पना गर्नुस् त, जहाँ हरेक व्यक्तिको उमेर ७० वर्ष वा त्योभन्दा बढी छ। त्यस्तो देशमा सरकारले आफ्ना कार्यक्रम कसरी सञ्चालन गर्ला? आफ्ना वृद्ध जनसंख्याको स्वास्थोपचार र जीविका निम्ति स्रोत कहाँबाट जुटाउला?

यो एक्काइसौं शताब्दीको अन्त्यसम्ममा संसारले सामना गर्नुपर्ने नयाँ चुनौती हो। यसअघि बीसौं शताब्दीले अर्कै चुनौती लिएर आएको थियो।

सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, जुन सय वर्षपछि सन् २००० सम्म आइपुग्दा छ अर्ब पुग्यो। विश्व जनसंख्यामा इतिहासकै सबभन्दा तीव्र वृद्धि यही सय वर्षको बीचमा भएको देखिन्छ। यही अवधिमा मान्छेको औसत आयु बढ्यो, बाल मृत्युदर घट्यो।

उप–सहारा क्षेत्रीय अफ्रिकी मुलुकहरूमा औसत चार–पाँच जना बच्चा जन्माउने चलन अहिले पनि छँदैछ। चीन, अमेरिका लगायत संसारका धेरै विकसित तथा आर्थिक रूपले उदीयमान राष्ट्रहरू भने बच्चा जन्माउने मामिलामा शिथिल बन्दै गएका छन्।

खासगरी ती देशमा महिलाहरू शिक्षित हुँदै गएका छन् र घरको चारघेराबाट बाहिर निस्केर समाजको जिम्मेवारी वहन गर्ने हैसियतमा पुगेका छन्। परिवार नियोजनका साधनको उपलब्धता बढेको छ। कति सन्तान जन्माउने र कति वर्ष अन्तरमा जन्माउने भन्ने महिलाहरूले आफ्नो विवेकमा निधो गर्न थालेका छन्। परिवारमा उनीहरूको निर्णय सुनिन थालेको छ। त्यसैले कामकाजी महिलाहरू एकातिर ढिलो र अर्कातिर कम सन्तान जन्माउँछन्।

तपाईंहरूलाई ताज्जुब लाग्ला, यो शताब्दीको अन्त्यसम्म उप–सहारा अफ्रिकी मुलुक नाइजेरियाको जनसंख्या चीनको भन्दा बढी हुनसक्छ। अहिले नाइजेरियाको जनसंख्या बीस करोडभन्दा बढी छ भने चीनको करिब एक अर्ब ४१ करोड छ। त्यस्तै, तीव्र आर्थिक वृद्धि गर्दै आएका भारत र मेक्सिकोजस्ता देशमा पनि जन्मदर घट्दै प्रतिपरिवार २.१ सन्तानमा सीमित भएको छ।

कुनै पनि देशको जनसांख्यिक बनोटमा ठूलो परिवर्तन आउन दशकौं लाग्छ। तर, जब परिवर्तन सुरू हुन्छ, त्यसको गति तीव्र हुन्छ। चाहे त्यो वृद्धि होस् या गिरावट। भन्नुको मतलब, जसरी पछिल्लो सय वर्षमा विश्व जनसंख्याले चार अर्ब ४० करोडको वृद्धि देख्यो, त्यसरी नै आगामी सय वर्षमा यसको गिरावटको दर त्यस्तै तीव्र हुनेछ।

यसलाई हामी सजिलोसँग यसरी बुझौं।

आज हामी कम सन्तान जन्माइरहेका छौं, भोलिका दिनमा सन्तान जन्माउन योग्य जनसंख्या स्वतः कम हुनेछ। त्यति बेला उनीहरूले जन्माउने सन्तानको संख्या स्वाभाविक रूपले आफ्ना आमाबाबुको भन्दा कम हुनेछ। आज भारत र मेक्सिकोमा प्रतिपरिवार २.१ सन्तान जन्मिँदै छन् भने भोलि ती सन्तानले निश्चय नै योभन्दा कम बच्चा पाउने छन्।

अहिले दर्जनौं देशमा यस्तो अवस्था देखापर्न थालिसकेको छ।

अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता देशमा एउटा दम्पतीले औसत १.५ देखि २ जना सन्तान जन्माउँछन्। दक्षिण कोरियामा सन् २०१९ को जन्मदर हेर्दा प्रतिपरिवार ०.९२ मा झरेको छ। भन्नुको मतलब, त्यहाँ एक महिला बराबर एक सन्तान पनि छैन। यो विकसित देशहरूकै सबभन्दा कम हो।

पछिल्ला ५९ महिनायता दक्षिण कोरियामा जन्मिने बच्चाको संख्या प्रत्येक महिना क्रमिक रूपले घट्दै गएको छ।

एकातिर जन्मदर घट्नु र अर्कातिर तीव्र औद्योगिकीकरणले बढीभन्दा बढी मान्छेलाई गाउँबाट ठूला सहरतिर धकेलेको छ। दक्षिण कोरियाकै कुरा गर्ने हो भने, राजधानी सोलजस्ता महानगरहरू लगातार फैलिँदैछन्। त्यहाँका पूर्वाधार र आवास योजनामा उच्च दबाब सिर्जना भएको छ। जबकि, क्षेत्रीय स्तरका सहरहरूमा बसोबास पातलिँदैछ। स्कुल–कलेजहरू बन्द हुँदैछन्। केटाकेटी खेल्ने मैदान र पार्कहरू घाँसेझाडीले भरिन थालेका छन्।

सोलबाहिर जनसंख्या यति पातलो भइसक्यो, धेरै ठाउँमा गर्भवतीहरूलाई प्रसूति सेवा पाउन मुश्किल छ। विश्वविद्यालयहरूलाई पर्याप्त विद्यार्थी पाउन मुश्किल छ। दक्षिण कोरियामा १८ वर्षका युवाको संख्या सन् १९९२ मा नौ लाख थियो भने अहिले पाँच लाखमा झरेको छ। विद्यार्थी आकर्षित गर्न कतिपय स्कुलले छात्रवृत्ति दिन थालेका छन्। कतिपयले आइफोन उपहार दिन्छन्।

जन्मदर बढाउन त्यहाँको सरकारले शिशु भत्ताका साथै प्रसूति सेवा र गर्भवतीहरूको उपचारमा अनुदान दिन सुरू गरेको छ। स्वास्थ्य अधिकारीहरूले नवजात शिशुहरूलाई लुगाफाटो र खेलौना उपहार दिन्छन्। सरकारले सयौंको संख्यामा किन्डरगार्टेन र दिवा शिशु स्याहार केन्द्रहरू खोलेको छ। सोलमा प्रत्येक सार्वजनिक बस र सब-वेमा गर्भवतीहरूका लागि गुलाबी रङका सिट रिजर्भ गरिएका छन्।

यसको नतिजा भने उत्साहजनक छैन। सरकारले पछिल्ला १५ वर्षमा महिलाहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न १७८ अर्ब अमेरिकी डलर खर्च गरे पनि खासै प्रगति नभएको दक्षिण कोरियाका उपप्रधानमन्त्री होङ नाम–कीले यसै महिना स्वीकार गरेका छन्। धेरै परिवारमा कम सन्तान जन्माउने जुन प्रवृत्ति देखिँदैछ, त्यसले सांस्कृतिक र स्थायी रूप लिँदैछ।

‘मेरो हजुरआमा र हजुरबुबाका छ सन्तान र मेरो आमाबुबाका पाँच सन्तान थिए। उनीहरूको पुस्तालाई धेरै बच्चा जन्माउनुपर्छ भन्ने विश्वास थियो,’ ३८ वर्षीय किम मी–क्युङले भने, ‘मेरो एउटा मात्र बच्चा छ। नयाँ पुस्तामा धेरै बच्चा जन्माउनु सही होइन रहेछ भन्ने धारणा विकास भएको छ।’

यो अवस्था दक्षिण कोरियाको मात्र होइन। यहाँबाट हजारौं किलोमिटर पर इटालीका नयाँ पुस्ताको धारणा पनि उस्तै छ, परिवेश फरक भए पनि।

दक्षिण इटालीको सानो सहर क्याप्राकोटामा १८ औं शताब्दीको ढुंगेघरमा रातो अक्षरले लेखिएको छ– होम अफ स्कुल किन्डरगार्टेन। तर, यो घरमा अचेल केटाकेटीको किलकारी सुनिँदैन। त्यसको ठाउँ बिरामीहरूको सुस्केराले लिएको छ, किनकि यो घर नर्सिङ होममा परिणत भएको छ। यहाँका स्थानीय आफ्नो रातिको खाना एउटा पुरानो थिएटरमा खान्छन्।

‘कुनै बेला यो ठाउँमा थुप्रै परिवार बस्थे, उनीहरूका थुप्रै सन्तान थिए,’ स्थानीय ९३ वर्षीय कन्केटा डी’एन्ड्रयूले भने, ‘अहिले परिवार कम छन्, केटाकेटी त छँदै छैनन्।’

उनी आफैं पनि कुनै बेला यहाँको स्कुलमा शिक्षक थिए। अहिले नर्सिङ होमका स्थायी पाहुना बनेका छन्।

केही वर्षयता क्याप्राकोटाको जनसांख्यिक संरचनामा नाटकीय परिवर्तन आएको छ। पहिले पाँच हजार मान्छे बसोबास गर्थे, अहिले आठ सय मात्र छन्। सहरका धेरै पसल बन्द भइसके। स्थानीय फुटबल प्रतियोगिता आयोजकलाई एउटा टिम बनाउन पनि मुश्किल छ।

यहाँबाट आधा घन्टा दुरीको अर्को सहर एग्नोनेमा प्रसूति कक्ष बन्द भएको एक दशक नाघिसक्यो, किनभने यहाँ वर्षमा पाँच सय बच्चा पनि जन्मदैन। इटालीमा वार्षिक न्यूनतम पाँच सय केटाकेटी जन्मने ठाउँमा सरकारी प्रसूति कक्ष खोल्ने नियम छ। यो वर्षको तथ्यांक हेर्ने हो भने एग्नोनेमा जम्मा छ सय बच्चा जन्मे।

‘बच्चा रोएको आवाज सुन्नु नै दुर्लभ भइसक्यो, कहिलेकाहीँ त्यस्तो आवाज सुनिँदा संगीत सुनेझैं लाग्छ,’ पहिले प्रसूति सेवामा संलग्न र अहिले वृद्ध बिरामीहरूको स्याहार गर्दै आएकी नर्स एनरिका सिउलोले भनिन्, ‘यो ठाउँमा चारैतिर शून्यता र रित्तोपना मात्र छ।’

इटालीको जन्मदर संकटबारे गत शुक्रबार आयोजित एक सम्मेलनमा पोप फ्रान्सिसले जनसांख्यिक परिवर्तनलाई ‘चिसो र अन्धकार’ समयका रूपमा चित्रण गरेका थिए।

इटालीजस्ता धेरै देश आफ्नो जनसांख्यिक परिवर्तन चित्रण गर्न यस्तै कुनै विम्बको खोजीमा छन्।

वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले गत वर्ष ‘द ल्यान्सेट’ नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टअनुसार सन् २१०० सम्म संसारका १९५ देशमध्ये १८३ वटा देशको जन्मदर यति कम हुनेछ, त्यसले नयाँ सन्तानको अभिभावक संख्या प्रतिस्थापन गर्न पनि पुग्दैन। भन्नुको मतलब, एक दम्पतीले आफूहरूको संख्या बराबर अर्थात् दुई जना बच्चाबच्ची पनि जन्माउने छैनन्।

उक्त रिपोर्टले खासगरी चीनको जनसंख्यामा तीव्र गिरावट आउने प्रक्षेपण गरेको छ। सन् २१०० सम्म चीनको जनसंख्या अहिलेको एक अर्ब ४१ करोडबाट झन्डै आधा ७३ करोडमा झर्ने आकलन गरिएको छ।

त्यस्तो भयो भने चीनको जनसंख्या बनोट ठ्याक्कै उल्टो हुनेछ। अहिले युवा कामदारहरूको जनसंख्या धेरै छ, जसले थोरै संख्याका सेवानिवृत्त पुस्तालाई भरणपोषण गर्दै आएको छ। जबकि, अबको ८० वर्षमा जनसंख्याको ठूलो हिस्सा ८५ वर्ष उमेरको पुस्ताले ढाक्नेछ भने १८ वर्ष उमेरको युवा जनशक्ति थोरै हुनेछ।

यो परिवर्तनको सानो झलक चीनको उत्तरपूर्वी क्षेत्रमा अहिले नै देख्न पाइन्छ। त्यहाँको जनसंख्या पछिल्लो एक दशकमा १.२ प्रतिशत घटेको गत मंगलबार सार्वजनिक जनगणना तथ्यांकले देखाएको छ।

सन् २०१६ मा हेइलोङजियाङ प्रान्तको निवृत्तिभरण कोष रित्तिएको थियो। चीनमा सेवानिवृत्तहरूलाई यही कोषबाट पेन्सन दिइँदै आएको छ। सेवानिवृत्त जनसंख्या बढेर निवृत्तिभरण कोष नै रित्तिने अवस्था आएको चीनमा पहिलोपटक हो।

उता, हेगाङ प्रान्त ‘भूताहा सहर’ मा परिणत भएको छ। सन् २०१० यता यहाँको जनसंख्या झन्डै १० प्रतिशत रित्तिएको छ। यसले घरको लागत यति कम छ, मान्छेहरू त्यसलाई काउलीको दामसँग तुलना गर्छन्।

जनसंख्या गिरावटको असर झेलिरहेका धेरै देशले यो परिवर्तनलाई आत्मसात् गर्न थालेका छन्।

दक्षिण कोरियाले आफ्ना विश्वविद्यालयहरूलाई एकअर्कासँग गाभिन प्रोत्साहित गरिरहेको छ। जापानमा शिशुहरूले लगाउने डाइपरको तुलनामा वृद्धहरूले लगाउने डाइपरको बिक्री बढेको छ। जापानले सहरको जन्मदर र जनसंख्याका आधारमा नगरपालिकाहरू समायोजन गर्न सुरू गरेको छ। त्यस्तै, स्वीडेनका केही सहरले स्कुलमा खर्च हुने बजेट र अन्य स्रोतसाधनलाई वृद्ध स्याहार केन्द्रमा सारेको छ।

यस्ता धेरैजसो देशमा वृद्ध जनसंख्यालाई आफ्नो काम जारी राख्न आग्रह गरिएको छ। उदाहरणका लागि, जर्मनीमा पहिले सेवानिवृत्त हुने उमेर ६७ वर्ष थियो, अहिले बढाएर ६९ पुर्‍याइएको छ।

जर्मनीमा अन्य परिवर्तन सँगसँगै सहरहरू पनि संकुचित हुँदै गएका छन्। सन् २००२ यता त्यहाँका विभिन्न आवासीय क्षेत्रबाट करिब तीन लाख ३३ हजार घर रित्तो भएर भत्काइएका छन्।

जर्मन सरकारले जनसंख्या बढाउने कोशिस पनि गरिरहेको छ। शिशु स्याहार केन्द्रहरूको स्थापनादेखि आमाबाबु दुवैलाई तलबसहित प्रसूति विदा दिइन्छ। यसले जर्मनीको जन्मदर सन् २००६ को १.३ बाट बढेर १.५४ पुगेको छ। जर्मनीको सहर लाइपजिकमा कुनै बेला जनसंख्या घटेको थियो। अहिले फेरि बढ्न थालेको छ।

जनसंख्याविद्हरूले भने जनसंख्या घट्नुलाई चुनौतीका रूपमा लिन नपर्ने बताएका छन्।

उनीहरूका अनुसार, धेरै महिलाले थोरै बच्चा जन्माइरहेका छन् किनभने उनीहरू त्यसैमा सन्तुष्ट छन्। थोरै जनसंख्याका कारण कामदारहरूले राम्रो तलब–पारिश्रमिक पाउने अवस्था आउँछ। यसले समाजको आर्थिक तथा सामाजिक स्थिति बढी सन्तुलित हुनेछ। वातावरणमा कार्बन उत्सर्जन घट्नुका साथै मान्छेको जीवनस्तर पनि बढ्नेछ।

तर, अहिलेसम्मको अवस्था हेर्दा जनसंख्या घट्दै गएका देशमा कामदारहरूको तलब–पारिश्रमिक बढेको निकै कम देखिन्छ। थोरै जनसंख्याले वातावरण प्रदूषणमा कम चाप पारेको वा उनीहरूको जीवनस्तर उकासिँदै गएका उदाहरण पनि कमै छन्।

धेरै जनसंख्याविद्हरू अहिलेको अवस्थालाई भविष्यका इतिहासकारले संक्रमणकालका रूपमा हेर्ने बताउँछन्। अहिलेको पुस्ताले यो संसारलाई बढीभन्दा बढी बस्नलायक वा बाँच्नलायक बनाउन सक्छ कि सक्दैन भन्ने कुरा भविष्यको पुस्ताले फर्केर हेर्नेछ र मूल्यांकन गर्नेछ।

कतिपय देशमा युवा पुस्ता बढी सन्तान जन्माउन इच्छुक रहे पनि जीवनयापनका कठिनाइले उनीहरू त्यसो गर्न प्रोत्साहित नभएको विभिन्न सर्वेक्षणहरूले देखाएका छन्।

एना पारोलिनी यसका एक प्रतिनिधि पात्र हुन्।

उनले राम्रो रोजगारको खोजीमा उत्तरी इटालीको गृहनगर छाडेकी थिइन्। ३७ वर्षीया एना अहिले मिलानमा आफ्ना प्रेमीसँग बस्छिन्। उनलाई बच्चा जन्माउने इच्छा छ, तर आफ्नो कम तलबका कारण उनले इच्छा थाती राखेकी छन्।

एनाको मासिक तलब दुई हजार युरोभन्दा कम छ। यति पैसाले परिवार बढाउन नसकिने उनी बताउँछिन्।

‘समस्या पर्दा सहयोग गर्ने यहाँ कोही छैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा बच्चा जन्माउने कुरा म सोच्न पनि सक्दिनँ।’

(न्यूयोर्क टाइम्समा प्रकाशित स्टोरीको भावानुवाद)

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…