केपी ओलीको सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं : नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारालई बढारेर मुलुकमा कानुनी राजको स्थापना गर्न अपिल गरेका छन्।

मंगलबार दिउँसो सामाजिक सञ्जालमा अपिल जारी गर्दै नेपालले ओली समूहले आफूहरूलाई गरेको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको बताएका छन्।

उनले आफूले पार्टी एकतालाई कायम राख्न सकेजति प्रयास गरे पनि ओलीले प्रतिशोध साँधेको बताए। ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेको पनि बताएका छन्।

यस्तो छ नेपालको अपिलको पूर्ण पाठ:

कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरून् भन्ने चाहन्छन्। तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरूको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे।

त्यसपछि सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको मागविपरीत एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो। जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दुबाट सुरू गरेर कथित कारबाही र निस्कासनमा आएर पूरा भएको छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन्।

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेका छन्। कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दु:खद् पक्ष हो। ओली सरकारको हर्कत र विवादित पक्ष तपाईं हामीबीच छर्लङ्ग नै छन्।

ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो। निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाले राज गरे। यसविरूद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो। अहिले ओली गुटले गरेको कथित कारबाही वा निष्काशन त्यसैको प्रतिरूप हो। उक्त कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु।

यसबीचमा मैले व्यक्तिगत रूपमा र सामूहिक रूपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ। ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्‍याए भनेर आवाजलाई आम जनसमुदाय र नेता कार्यकर्ताबीच राखें। पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें। तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझाव मनन गरेनन्, वास्ता गरेनन् बरू प्रतिशोध साँध्ने काम मात्र गरे। त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरूप काम नहुँदा निराशा बढ्यो। जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरूपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन। हजारौंको ज्यान जाने अवस्था बन्यो। सिंगो जनताप्रति योभन्दा ठूलो अपराध अरू हुन सक्दैन।

आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ। त्यसैले अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ। अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ। ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…