खाडी र युरोप जाने नेपालीको मन एउटै हुनुपर्ने होइन र ?

कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्।

कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र?

एकदिन समाचार हेर्दै जाँदा चासो लाग्यो बाहिरी मिडियाले नेपालमा कोरोनाको भयावह बारेमा समाचार कत्तिको छापेका, भिडिओ बनाएका रहेछन् हेर्नुपर्यो भनेर युट्युबमा खोजेँ। सुरुमै एउटा भिडिओ आयो, त्यो अमेरिकाको एउटा समाचार च्यानल रहेछ।

सुरुमै एंकरले पढ्दा नेबरिङ कन्ट्री अफ इन्डिया भनेर पढ्यो। त्यसबाटै मलाई चित्त बुझेन। नेपाललाई भारतसँग जोडेर किन चिनाउनु? नेपाल आफैँ सार्वभौम देश हो। आफ्नै अस्तित्वमा बाँचेको देश हो। विदेशीले २/४ पटक सहयोग गर्दैमा दास बनाउनु पर्ने होर भनेको?

आफैँलाई प्रश्न गरेँ, अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता पनि याद आयो- ‘म मेरो घरको राजा झुपडी नै भएपनि’ भन्ने। हो त, हामी नेपालीको आफ्नै पहिचान छ, आफ्नै स्वाभिमान छ, मुलुक गरिब भयो भन्दैमा उसको अस्तित्व नहुने होर?

हेर्दाहेर्दै के-के सोच आयो। त्यो रिपोर्ट करिब ३ मिनेटको थियो। रिपोर्टमा विज्ञ र जानकारहरुको पनि बाइट राखिएको थियो। त्यहीँ क्रममा एकजना नेपालीको पनि बाइट आयो। खुसी लाग्यो अब त यिनले नेपालको समस्या मिडियामा प्रष्ट राख्छन् होला, सहयोगको लागि अपिल पनि गर्छन् होला भन्ने।

सुरुमा एंकरले उनलाई नेपालको अवस्थाबारे सोधे, उनले हाल यस्तो छ, उस्तो छ भनेर संक्रमित, मृत्युदर सबैको बेलिविस्तार लगाए। फेरि उनलाई एंकरले यो अवस्था आउनुमा लापरबाही कस्को देखिन्छ भनेर सोधे। उनी त्यसपछि त मकै पट्किएको जस्तो गरी चिच्याउन थाले।

नेताहरुलाई ठूलो स्वरमा गाली पो दिन थाले। एकछिनमै भने- ‘हाम्रो प्रधानमन्त्री खत्तम छन्, उनी नागरिकलाई अम्बाको पात खाउँ भन्छन्, बेसार पानी खाउँ भन्छन्। आफू अनावश्यक राजनीति गरेर बस्छन्, नागरिकको वास्ता गर्दैनन्, नागरिकहरु पनि उत्तिकै लापरबाही गर्छन्। अन्य राजनीतिक दलका मानिसहरुलाई त झन् वास्तै छैन, यो गरिब देशहरुको समस्या नै यहीँ हो।’

उनले नेपाल र नेपालीको गालीका लागि १००० शब्द खर्चिँदा पनि उनीहरुलाई विपत्तिबाट सघाउन सबै विश्व समुदायमाझ अपिल गर्दछु भन्ने एक शब्द कतै उल्लेख गरेनन्।

मलाई असाध्यै नराम्रो लाग्यो। ती अन्तवार्ता दिने व्यक्ति अमेरिकन बनिसकेका रहेछन्। अमेरिकामा केही समयअघि डाक्टरको कोर्स सक्याएर खोई के मेडिकल फाउन्डेसन भन्नेको अध्यक्ष रहेछन्। खैर, उनी अमेरिकामा पुगे होलान्, ठूलो मान्छे बने होलान्, धेरे जाने होलान् बुझे होलान्। उनी जेसुकै बनून्, त्यो उनको कुरा हो।

तर, अमेरिका पुग्दैमा यहीँ माटोमा जन्मेर गएको व्यक्तिले त्यत्ति धेरै निकृष्ट बोली किन बोले नेपालको बारेमा हँ? म आफैँलाई प्रश्न गरिरहेँ, छोराछोरीले आफ्नै आमाको मृत्यु हेरेर गिज्याँइरहेको जस्तो अनुभूति भयो।

ती जो भएपनि मैले भेटेको भएँ तिनलाई म सिधैँ भन्थेँ होला- तिमी ठूलो देशमा पुगेर ठूलो मान्छे बनेछौँ। कृपया मेरो देश, मेरा देशका नागरिकहरुबारे विदेशीहरुको मिडियामा गएर निकृष्ट अभिव्यक्ति नदेऊ, बरु मेरो नेपालबारे चासो नराख।

जे छ ठिक छ, मानिस र राष्ट्रको स्वाभिमान पैसा र आर्थिक उन्नतिमा मात्रै जोडिदैँन हरेकको स्वाभिमान र इज्जत पैसाभन्दा प्यारो हुन्छ। इज्जत त आफ्नै भूमिलाई गर्न सकेनौँ। तसर्थ तिमीलाई बेइज्जत गर्ने अधिकार पनि छैन, तिमी अमेरिकन बनिसक्यौ मेरो देशलाई निचो देखाउने अभिव्यक्ति दिने तिम्रो कुनै अधिकार छैन।

हो, कराउँदै यिनै कुरा भन्न मन थियो। तर, उसलाई भेट्न सम्भव पनि त थिएँन र पनि मन भने कता-कता चिसो भइरह्यो। साँच्चै मानिसको लागि अस्तित्वभन्दा ठूलो केही पनि रहेनछ भन्ने पनि लागिरह्यो।

विदेशी टेलिभिजनमा त्यसरी नेपालको बारेमा आलोचना गर्ने ती पूर्व नेपाली त प्रतिनिधि पात्र मात्रै थिए, दोश्रो वेभको कोरोना सुरु भएपछि अमेरिका पुगेर आफूलाई स्वर्ग नै पुगेको अनुभव गरिरहेका अर्का नेपालीको पनि स्टाटस त्यस्तै आयो। जबकि उनले नेपालको नागरिकता त्यागेको पनि ५ वर्ष पुगिसकेको थियो।

त्यतिमात्रै होइन, नेपालजस्तो देशमा कोही बस्छ भन्दै भएजत्ति सम्पत्ति बेचेर बा-आमालाई समेत जर्बजस्ती लगेर नेपाल नर्फकने प्रण गरेका थिए। त्यहीँ व्यक्तिले नेपालका नेताहरुकै कारण यो अवस्था आएको भन्दै प्रधानमन्त्रीलाई खुब गाली गरिरहेका थिएँ, अन्य नेताहरुलाई पनि।

अनि नेपालीहरु असभ्य भए रे, नियम पालना गर्दैनन् रे, के रे कसो रे। अरे हिजो यहीँ माटोमा हुर्किएर, बढेर, यहीँ माटोबाट बनेको रगत बोकेर अमेरिका पुग्दैमा यति घृणा नेपालसँग किन? नेपालमा फर्किनै नहुने? सबै नेपाली चुतिया हुन् भन्नुपर्ने।

ल एउटा सम्भ्रान्तशाली देशमै जन्मिएको नागरिकले त भन्यौ, हेला गर्यो होला रे भन्नु। तर, हिजो यहीँ गुन्द्रुक ढिडो खाएर, खेती बारी जोतर गएकाहरुको त्यो खालको फुर्ती साँच्चै नसुहाउने र अशोभनीय लाग्ने रहेछ। कोरोना महामारीमा मात्रै होइन, उनी अरुबेला पनि जत्तिबेलै नेपाल र नेपालीको आलोचना गरिरहेका हुन्थेँ अझ विशेष नेताहरुको।

म पनि मान्छु कि हाम्रा नेताहरु, हाम्रो सरकारले राम्रो काम खासै गर्न सकेको छैन। तर यसो भन्दैमा देशका लागि कुनै योगदान नगरी नेपाललाई तिरस्कार गरेर हिँडेकाहरुले जे पनि बोल्न छुट छ भन्ने होइन। यस्ता प्रवृत्तिबारे चर्चा गरिरहँदा मलाई कतै पढेको एउटा कथाको याद आयो।

कुनै एक ठाउँमा एउटा दुखी मान्छे माग्दै बसिरहेको थियो। विचरा अशक्त मान्छे विकल्प पनि के थियो होला र उसँग! धेरै धनीहरुको आवतजावत हुने ठाउँमा ऊ बस्ने गर्थ्यो। त्यही क्रममा एउटा धनी मानिस उसको नजिकबाट गयो।

उसले हात पसार्यो तर त्यस धनीले घृणापूर्वक रुखो स्वरमा भन्यो- काम गरेर खाने, मागेर होइन! त्यसपछि उक्त गरिबले नम्र स्वरमा भन्यो, ‘तपाईले पैसा त दिनु भएन, कमसेकम मिठो बोली त दिनुस्।’

हो, उक्त कथा जस्तै आफूले त केही सहयोग नगर्ने, कसैलाई आह्वान पनि नगर्ने अनि उल्टै देशलाई निचो हो भनेर सामाजिक सञ्जालबाट अनेक नकारात्मक टिप्पणी गर्ने पूर्व नेपालीहरु धेरै भेटिन्छन्। तर, उनीहरु देशलाई यस्तो पीडा भइरहँदा, कोरोनाले दिनहुँ सयौँ मानिस मरिरहँदा अक्सिजन पठाउनतिर खासै ध्यान दिदैँनन्।

आलोचनात्मक टिप्पणी गरिएका ती फेसबुकका पोस्टमा सहयोगमा लागि अपिल गरेको भए त मानिसहरुको ध्यान आकर्षण हुन्थ्यो होला नि, अक्सिजन नपाएर मर्नेहरुको संख्यामा कमी आउँथ्यो होला। तर, त्यसप्रति उनीहरुको खासै ध्यान पुगेको देखिदैँन।

बरु, खाडीमा पुगेका नेपालीहरु दिनहुँ नेपालको लागि प्रार्थना गरिरहेका पोस्ट हाल्छन्। उनीहरु सहयोगका लागि अपिल समेत गरिरहेका छन्। अझ कतिपय खाडी मुलुकमा गएका श्रमिकहरुले त आफ्नो गाँस कटाएरै भएपनि अक्सिजन र स्वास्थ्य सामाग्री पठाइरहेका छन्।

देश त खाडी जाने र युरोपियन देश जाने दुवैको हो तर दुवैको मन बराबरी किन नदुखेको होला है? तर, फेरि माथि उल्लेखित गरिएको विषयको अर्थ अष्ट्रेलिया, अमेरिका हुने नेपालीहरुले कुनै सहयोग गरेनन्, वास्तै गरेनन् भन्ने पनि होइन। केहीले नेपालका लागि ठूलो प्रार्थना गरेका छन्, सहयोग जु्टाएर पठाएका छन्, हालखबर बुझिरहेका छन्।

तर अधिंकाश भने सामाजिक सञ्जाल र मिडिया मार्फत नेपालबारेको भ्रम मात्रै फैल्याइरहेका छन्। आपतमा सहयोगका लागि प्रयास गर्नुका सट्टा नेता, व्यवस्था र नागरिकलाई गाली गरेर मात्रै बसिरहेका छन्।

तसर्थ, सहयोग गर्ने सबै विदेशिएका नेपालीहरुको कदम प्रशंसायोग्य छ, तर युरोप, अमेरिका पुग्दैमा नेपाल र नेपालीलाई निच देखाउने गरी गाली गर्न कोही नेपालीलाई पनि छुट छैन। ठिक छ, यदि सहयोग गर्न सक्नु हुन्न भने, स्वास्थ्यलाभको कामना त गर्न सक्नु हुन्छ नि।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…