‘सरकारले पाँच वटा ट्यांकर उपलब्ध गराए नेपालभरि अक्सिजन अभाव नहुने ग्यारेन्टी दिन्छु’

अहिले नेपालले चरम अक्सिजन अभाव झेलिरहेको छ। उपत्यकाका ११ वटा अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाइसकेका छन्।

सरकारले नै माग अनुसार अक्सिजन पुर्‍याउन नसकिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकामा करिब १० हजार मात्र आपूर्ति गर्न सकिएको बताएको छ। अक्सिजन हाहाकार हुन थालेपछि मन्त्रालयले अस्पताललाई कति सिलिण्डर पाउने भनेर कोटा तोकिदिएको छ। र त्यसको समन्वय सिसिएमसीले गर्ने भनिएको छ।

तर अस्पतालहरूले सरकारले तोकिदिएको कोटाले विरामीको उपचार गर्न नपुग्ने बताएका छन्। दैनिक चार सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले जम्मा सय वटा मात्र दिने भन्दै विरामीको उपचार गर्न नसकिने अस्पताल सञ्चालकहरूको भनाइ छ।

अहिलेको अक्सिजन माग उद्योगहरूले समेत थेग्न सकेको छैन। चौबीसै घण्टा उद्योग चलाए पनि अस्पतालको मागअनुसार अक्सिजन दिन नसकिएको उद्योगीहरू बताउँछन्। कतिले अक्सिजन सिलिण्डर अभावले समस्या उत्पन्न भएको बताए पनि उद्योगीले भने उत्पादन नै कम भएकाले समस्या देखिएको दाबी गरेका छन्।

school
‘अक्सिजन सिलिण्डरमा कुनै समस्या छैन, उत्पादनकै समस्या हो,’ शंकर ग्यासका सञ्चालक शंकर अग्रवालले सेतोपाटीसँग भने। शंकर ग्यास नेपालकै सबभन्दा ठूलो ग्यास उत्पादक कम्पनी हो। भारतबाट लिक्विड अक्सिजन आयात गरेर अस्पतालहरूलाई वितरण गर्ने शंकर ग्यास मात्रै हो।

अग्रवालले सिलिण्डर भए पनि उत्पादन कम हुनाले मागअनुसार सिलिण्डर भर्न नसकिएको बताए। त्यसैले अहिले भइरहेको अक्सिजन अभावको एक मात्र हल भनेको उत्पादन नै बढाउनु रहेको अग्रवाल दाबी गर्छन्।

‘अहिले उत्पादन बढाउने भनेको लिक्विड अक्सिजनबाटै हो। लिक्विड म जति पनि ल्याइदिन्छु तर सरकारले ट्यांकर उपलब्ध गराउनुपर्‍यो,’ उनले भने।

अग्रवालले आफूसँग दुइटा मात्र लिक्विड अक्सिजन बोक्ने ट्यांकर भएको भन्दै थप पाँच वटा ट्यांकर सरकारले उपलब्ध गराए अहिले भएको अक्सिजनको समस्या हल हुने दाबी गरे। ‘सरकारले हामीलाई पाँच वटा ट्यांकर उपलब्ध गरायो भने नेपालभरि अक्सिजन अभाव हुँदैन भन्ने म ग्यारेन्टी दिन्छु,’ उनले भने।

अग्रवालका अनुसार एउटा ट्यांकरले ल्याएको लिक्विड अक्सिजनले १५ सय सिलिण्डर भर्न पुग्छ। त्यो हिसाबले सात वटा ट्यांकर भयो भने आफूले मात्र १० हजार बढी सिलिण्डर बराबरको अक्सिजन आपूर्ति गर्नसक्ने उनको भनाइ छ। हुन पनि मन्त्रालयले नै दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा १० हजार आपूर्ति गर्न सकिएको बताएको छ। यदि शंकर एक्लैले करिब १० हजार अक्सिजन सिलिण्डर आपूर्ति गर्न सके लगभग समस्या हल हुने अनुमान लगाउन सकिन्छ।

तर अहिलेको अवस्थामा ट्यांकर जुटाउन भने त्यति सहज छैन। भारतमा पनि ट्यांकरकै अभाव रहेको भन्दै अग्रवाल भन्छन्, ‘भारतसँग पनि कुरा गरेका हौं, तर मानेको छैन। आजै मात्र चिनियाँ कन्सुलरसँग पनि कुरा गरेर जसरी पनि दुइटा ट्यांकर मिलाइदिनुस् भनेको छु तर खोइ के हुन्छ हेरौं।’

अग्रवालकै कुरा अनुसार तत्काल भारतबाट ट्यांकर पाउन सहज छैन। अहिलेको अवस्थामा भारत आफैं भयावह स्थितिसँग जुधिरहेको छ। अक्सिजन अभावका कारण त्यहाँ दैनिक हजारौं विरामीको ज्यान गुमाइरहेका छन्। यस्तो अवस्थामा भारतबाट ट्यांकर पाउने सम्भावना निकै कम हुन्छ। अग्रवाल पनि सरकारले पहल गरे बरू चीनबाट आउन सहज हुने बताउँछन्। तर त्यसको लागि सरकारले नै पहलकदमी लिनुपर्ने उनको भनाइ छ।

अग्रवाल भन्छन्, ‘ट्यांकर चीनबाट ल्याउन सकिन्छ। बरू कति पैसा लाग्छ म तिर्न तयार छु।’

उनले यसबारे आफूले पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि कुरा गरेको जनाए। उनले चीनबाट ट्यांकर आइपुग्न सात दिन लाग्ने भन्दै यदि सम्भव भए कार्गो जहाजबाट पनि ल्याउन सकिने जनाए।

‘फेरि नेपालमा त्यत्रो जहाज अवतरण गर्नसक्छ कि सक्दैन भनेर चाहिँ बुझ्नुपर्छ। तर भारतमा त जहाजबाटै एक ठाउँबाट अर्को ठाउँ पुर्‍याइरहेको छ,’ उनले भने।

यदि चीनबाट ट्यांकर ल्याउन सकिए लिक्विड अक्सिजन भने भारतबाट सहजै ल्याउन सकिने अग्रवाल बताउँछन्। उनले भारतबाट लिक्विड अक्सिजन ल्याउन कुनै समस्या नरहेको भन्दै अहिले मुख्य समस्या नै ट्यांकरको भएको बताए। भारतबाट लिक्विड अक्सिजन भरेर ३६ घण्टामा नेपाल ल्याउन सकिने उनको भनाइ छ।

तर त्यसरी ल्याइएको ट्यांकरबाट सोझै सिलिण्डरमा अक्सिजन भर्न मिल्दैन। त्यो ट्यांकरमा भएको अक्सिजन यहाँ ल्याएर अर्को लिक्विड ट्यांकमा खन्याउनुपर्छ। उक्त ट्यांक उपत्यकामा टेकु अस्पताल र ट्रमा सेन्टरमा मात्र छ। ती दुवै अस्पतालको ट्यांकमा शंकर ग्यासले नै अक्सिजन भर्दै आएको छ। आजै मात्र एउटा ट्यांकर आइपुग्ने र त्यो टेकु र ट्रमाको ट्यांकमा खन्याइने अग्रवालले बताए।

उनले आफूसँग भएका तीन वटा गरी हाल ६ ठाउँमा त्यस्ता ट्यांक रहेको भन्दै त्यसमा समस्या नहुने जनाए।

‘टेकु अस्पताल, ट्रमा र लर्ड बुद्ध मेडिकल कलेजमा एक-एक वटा ट्यांक छ। बाँकी बालाजु, नारायणगढ र भैरहवामा एक-एक वटा गरी तीन वटा मेरै ट्यांक छन्,’ अग्रवालले भने।

उनले यदि थप ट्यांकर आए तत्काल काठमाडौंस्थित टिचिङ अस्पताल, नेपालगञ्जस्थित भेरी अस्पताल र धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा लिक्विड ट्यांक जडान गर्न सकिने जनाए। उनले दुइटा मात्र ट्यांकर हुँदा अहिले टेकु र ट्रमालाई नै पुर्‍याउन गाह्रो भएको सुनाए।

‘पहिले टेकुमा एकपटक भरेपछि १५ दिन पुग्थ्यो तर अहिले तीन दिन मात्र पुग्छ। आज आइपुग्ने पनि दुबै अस्पताललाई आधा आधा दिन्छौं,’ अग्रवालले भने।

उनले जतिसक्दो चाँडो ट्यांकर ल्याएर लिक्विड अक्सिजन ओसारे मात्र वर्तमान समस्या हल हुने दोहोर्‍याए। अहिलेको उत्पादनले अस्पतालको माग धान्न नसकिने भन्दै अग्रवालले भने, ‘रातभरि सुत्न पाएको छैन। कहिले गृह सचिव, कहिले सिडिओ, कहिले अस्पतालका निर्देशकको फोन आउँछ। राति १२ बजे पनि फोन आउँछ।’

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…