मतदान गर्न जानेबेला अचानक बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस पो भएछु : सांसद शाही

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका हुन् ।

त्यस्तै शाहीले पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहको जनाएका हुन् ।उनले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘मेरो आफ्नै भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ विज्ञप्तीमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा बुधबार उनी संसद्‍मा अनुपस्थित भए । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद शाही मोबाइल ‘स्विच अफ’ गरी सम्पर्कविहीन भएपछि खैलाबैला मच्चिएको थियो ।

बुधबार नै जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसदको अवस्था अज्ञात रहेकोले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद सचिवालयमा निवेदन दिएकी थिइन् । सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगित गरेका थिए । सम्पर्कविहीन भएका सांसद शाही एक्कासी पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको पत्ता लाग्यो ।

यसैबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश घटनाको यथार्थ ‘रिपोर्ट’ ल्याउने बताएका छन् । बिहीबार कान्तिपुरसँगको छोटो कुराकानीमा केसीले गण्डकी प्रदेशको घटनाबारे बुझ्न केन्द्रबाट नेताहरु गएको बताए ।

जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको बताएका छन् ।

सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि पौडेलको छ । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए ।

खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलको भनाइ छ । उनले भने, ‘किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल,किर्ते जालसाजी खेल,अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलको भनाइ छ ।

‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसद्मा पर्दाफास भएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ‘आईसीयू’मा भर्ना भएका थिए । मंगलबारसम्म सकुशल रहेका शाही म विभाजन हुनुअघि अस्पतालको आईसीयूमा भेटिनु शंकास्पद देखिएको छ ।

राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै शाहीलाई चरक अस्पतालको आईसीयूमा राखिएको छ । राष्ट्रिय जनमोर्चाले पनि सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…