बाँकेको अवस्था भयावह, भएन कन्ट्याक्ट ट्रेसिङ

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–९ का ६० वर्षीय कोरोना संक्रमित बमबहादुर खत्रीले शनिबार राति झुन्डिएर आत्महत्या गरे। ३ वैशाखमा कोरोना पोजिटिभ भएका खत्री होम आइसोलेसनमा बसेका थिए।

कोहलपुर–२ का ४१ वर्षका एक पुरुष ८ वैशाखमा कोरोना संक्रमित भएर होम आइसोलेसनमै बसेका थिए। श्वास–प्रश्वासमा समस्या भएपछि भेरी अस्पताल नेपालगन्जमा ल्याउँदै गर्दा आइतबार बिहान ९ः१५ बजे आइसोलेसनभित्र पस्न नपाउँदै उनको निधन भयो। आइतबार दिउँसो ३ बजेतिर भेरी अस्पतालमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्दै थियो।

अस्पतालको कोभिड विशेष आइसोलेसन बाहिर कोहलपुरकै अर्का मृतक र एक तलामाथि आइसोलेसनको बरन्डामा बर्दियाको गुलरिया नगरपालिकाका सन्तोषी टोलका अर्का व्यक्तिको शव व्यवस्थापनको तयारी चल्दै थियो। अघिल्लो दिन मात्र एक तत्कालीन संविधानसभा सदस्यसहित ६ संक्रमितले ज्यान गुमाएका थिए।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना सम्पर्क व्यक्ति तेज वलीले वैशाखको १२ दिनमा बाँकेमा ३५ जनाले कोरोनाबाट ज्यान गुमाएको बताए। आइतबार मात्रै चार पुरुष र चार महिलाको निधन भएको छ। जिल्लामा कुल संक्रमित ७ हजार १ सय रहेकोमा वैशाखमा मात्र ३ हजार २ सय ४६ जना थपिएका हुन्। जिल्लाका सबै प्रयोगशालामा कोरोना परीक्षण गराउनेको घुइँचो छ।

भेरी अस्पतालको इमर्जेन्सीभन्दा उत्तरतिर स्वाब संकलन गर्ने स्थानमा दिउँसो अबेरसम्म भीड थियो। अस्पतालको क्लिनिकमा बिहान ज्वरो नापेका व्यक्तिको निःशुल्क कोरोना परीक्षण गरिन्छ भने अन्य व्यक्तिले एक हजार शुल्क तिर्नुपर्छ। भेरीमा साँझ ५ बजे स्वाब संकलन हुन्छ। जिल्लामा ९८ बिरामी सिकिस्त अवस्थामा छन्। ११ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ।

भएन कन्ट्याक्ट ट्रेसिङ

कोरोना संक्रमण चैतदेखि बढ्न थाले पनि विगतमा आफैंले अवलम्बन गरेका प्रयास बिर्सँदै गएको देखिन्छ। विगतमा कोरोना पोजेटिभ आउँदा अनिवार्य कन्ट्याक्ट ट्रेसिङ हुन्थ्यो तर पछिल्लो समय हुनै छोड्यो। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले लक्षण भएका व्यक्तिको भने कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताए।

विगतमा अनिवार्य गरिएको कन्ट्याक्ट ट्रेसिङ व्यक्तिले चाहेमा मात्र हुन थाल्यो। अस्पतालका आइसोलेसन भरिन थालेपछि भने अधिकांशलाई होम आइसोलेसनमा पठाउन थालियो। शनिबारसम्म २ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेकोमा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ९ सय ८० छ। दोस्रो चरणको कोरोना संक्रमणदर ७० प्रतिशतभन्दा बढी हुने जनस्वास्थ्य विज्ञले बताइरहँदा होम आइसोलेसनलाई व्यवस्थित गरिएन। सरकारले होम आइसोलेसनको व्यवस्था गरे पनि मापदण्ड नपुग्ने र लापरवाही हुन्छ भनेर जिल्लामा बस्न दिइएको थिएन। बरु आधा दर्जनभन्दा बढी होटललाई ‘पेड आइसोलेसन’ बनाएर स्वास्थ्यकर्मीले नियमित जाँच र निगरानी गरेका थिए। तर, अहिले त्यो व्यवस्था पनि कार्यान्वयन हुन सकेको छैन।

होम आइसोलेसनमा बसेका संक्रमितले परिवारका सदस्यमा कोरोना सारेका छन्। सिंगो परिवार नै संक्रमित भएका छन्। धेरैको कोरोना परीक्षणसमेत नगरेका धेरै उदाहरण छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले होम आइसोलेसनलाई व्यवस्थित गर्ने काम स्थानीय तहका वडाको भएको बताए। ‘आफ्नो ज्यानको सुरक्षा गर्न संक्रमित र तिनका परिवार सचेत हुँदै स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ’, गेलालले भने, ‘हामीले पनि होम आइसोलेसन व्यवस्थित गर्ने तयारी गरेका छौं।’ विगतमा कोरोना संक्रमण नियन्त्रणमा बाँके देशमै उदाहरणी बनेको थियो। तर, आफैंले गरेको सफल अभ्यास कार्यान्वयन नगर्दा अहिले क्षति ब्यहोर्नुपरेको स्वास्थ्यकर्मीहरू नै बताउँछन्।

भेरीमै भार तर सहयोग भएन

पुसदेखि नै भेरी अस्पतालको कोरोना विशेष अस्पताल एक मात्र केन्द्र भयो। यसको विकल्प सोचिएन। विगतमा प्रदेश र केन्द्र सरकारले आर्थिक र जनशक्तिमा सहयोग गरे पनि त्यसको निरन्तरता भएन। भेरीमा कोरोना विशेष अस्पताल बनाउन जिल्लाका सबै स्थानीय तह, जिल्ला समन्वय समिति र संघ–संस्थाले सहयोग गरेका थिए। पछिल्लो समय त्यो सहयोगको अभाव भयो। अहिले जनशक्ति पर्याप्त नभएपछि केन्द्र सरकारसँग गुहार माग्नुपरेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले सरकारसँग मेडिकल टिम माग गरेको छ।

बाँके कोरोना हटस्पट बनेको बेलामा स्वास्थ्य मन्त्रालयले १० जना चिकित्सक पठाएको थियो। भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जनशक्ति अभाव भएको बताए। ‘केही समयका लागि मात्र भए पनि मेडिकल टिम हुने हो भने बिरामीलाई तत्कालै उपचार गर्न सम्भव हुने थियो’, श्रेष्ठले भने।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…