अक्सिजन उत्पादन पर्याप्त छ, ओसार्ने सिलिन्डर छैनन्

महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा जम्मा ७ सय शैया छन्। त्यसमध्ये १२० बेड कोभिड उपचारका लागि तयार छन्।

तीमध्ये २० वटा भेन्टिलेटर र १२ वटा आइसियू बेड छन्।

सामान्यत:, दम, निमोनिया भएका तथा अपरेसन गरेका व्यक्तिलाई प्रतिमिनेट दुईदेखि बढीमा चार लिटर अक्सिजन दिए पुग्छ।

तर, कोभिड भएर आइसियू वा भेन्टिलेटरमा बिरामी राख्नु परे प्रतिमिनेट ५०-६० लिटरसम्म अक्सिजन दिनुपर्ने हुन्छ।

शिक्षण अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्ले भन्छन्, ‘अहिलेको जस्तो संख्या बढ्यो भने अक्सिजनको अभाव चर्किन्छ।’

तीन वटा प्लान्ट चलाइरहेको शिक्षण अस्पतालको एउटा प्लान्ट बन्द छ। बन्द भएको प्लान्टले एक हजार लिटर प्रतिमिनेट अक्सिजन दिन्थ्यो।

त्यो प्लान्ट बनाउन फ्रान्सबाट उपकरण ल्याउनु पर्ने देखिएको छ। कोरोना महामारीका बेला त्यो सम्भव नरहेको काफ्लेले बताए।

शिक्षण अस्पतालमा रहेका पाँच-पाँच सय लिटर प्रतिमिनेट दिने अरू दुई प्लान्टले अहिले शिक्षण अस्पतालकै माग धान्दैन।

त्यसैले,बाहिरबाट अक्सिजन सिलिन्डर किनेर ल्याउनु परिरहेको हो।

शनिबार टिचिङमा दुई सय वटा परीक्षण गरिएकोमा ७२ जनामा पोजेटिभ देखिएको छ। अर्थात्, पहिले दुई-तीन प्रतिशत संख्या पोजेटिभ आउने गरेकोमा अहिले ३० प्रतिशतसम्म पोजेटिभ आइरहेको छ।

‘अहिलेको संक्रमण दर उच्च छ, यही अवस्था रहे हामीलाई अक्सिजनको हाहाकार पर्न सक्छ,’ काफ्लेले भने।

त्यो अवस्था नआओस् भन्नका लागि टिचिङ अस्पतालले अक्सिजनको बुलेट-बुलेट नै ल्याएर राख्ने तयारी गरिरहेको छ।

‘छोटो समयको टेन्डर गरेर साता-दस दिनभित्रै अक्सिजन बुलेट ल्याउने हाम्रो योजना छ,’ काफ्लेले भने।

अक्सिजन प्लान्ट भएकै ठूलो अस्पताल टिचिङमा यो अवस्था रहँदा अन्यत्र समस्या नहुने कुनै छैन।

टेकु अस्पतालमा कोभिडका ७० शैया छन्। उसको आफ्नो प्लान्टले अहिलेसम्म धानिरहेको त्यहाँका प्रमुख सागरराज भण्डारी बताउँछन्।

नेपाली सेनाको ८० शैयाको कोभिड अस्पताल छ। आफ्नै प्लान्ट चलाइरहेको उसलाई यतिले पुगिरहेको छ।

‘हाम्रो अक्सिजन प्लान्टले हाम्रो मागमात्रै धानिरहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालय स्रोतले भन्यो।

काठमाडौंमा आठ वटा अक्सिजन उत्पादक उद्योग छन्।

तीमध्ये सबैभन्दा बढी बालाजुको शंकर ग्यासले अक्सिजन उत्पादन गरिरहेको छ। शंकर ग्यासले दैनिक १३ सय सिलिन्डर अस्पतालमा पठाइरहेको छ।

उसले गंगालाल, ट्रमा, टेकु, मेडिकेयर, मनमोहन, बिएन्डबी, ग्लोबल अस्पतालमा अक्सिजन पठाउँछ।

शंकरबाहेक काठमाडौंमा अन्य आठ वटा साना-ठूला अक्सिजन ग्यास उत्पादक उद्योग छन्। यिनीहरूले पाँच सयदेखि हजार सय सिलिन्डरसम्म दैनिक उत्पादन गर्न सक्छन्।

सगरमाथा अक्सिजन ग्यास उद्योगका अनुसार अहिले सात सय सिलिन्डर दैनिक अस्पतालमा गइरहेका छन्। माग ८-९ सयको छ तर सिलिन्डर छैनन्।

अहिले धेरैजसो अक्सिजन उद्योगले क्षमताभन्दा कम उत्पादन गरिरहेका छन्। औसतमा उद्योगले ३३ प्रतिशत क्षमता बराबरमात्र अक्सिन उत्पादन गरिरहेको शंकर ग्यासका सञ्चालनक शंकर अग्रवालले बताए।

‘उद्योगमा बिजुली गइरहने समस्याले अक्सिजन उत्पादनमा केही चुनौती देखिएको छ। बिजुली निरन्तर दिने हो भने अक्सिन उत्पादनमा केही समस्य हुन्छ। अभाव पनि हुन्न,’ अग्रवालले भने, ‘मूल समस्या नै अक्सिन ओसार्ने सिलिन्डरको छ। सरकारले त्यसको व्यवस्था गर्नुपर्‍यो।’

अहिले भारतमा पनि अक्सिजन सिलिन्डरको अभाव छ। भारत सरकारले पनि अरू देशबाट सिलिन्डर ल्याउन खोजिरहेको छ। सिलिन्डरको व्यवस्थापन कसरी गर्ने भन्नेनै अहिलेको मुख्य चुनौती हो।

सरकारले यो समस्या समाधान गर्न चीनबाट सिलिन्डर ल्याउन खोजिरहेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार सिलिन्डर अभाव टार्न सरकारले काम गरिरहेको बताएका छन्।

‘सिलिन्डर अभाव नै छ, अक्सिजन पनि भनेअनुसार दिन सकिरहेका छैनौं,’ सगरमाथा ग्यासका एक प्रतिनिधिले भने, ‘सिलिन्डर रोटेसन गराउन गाह्रो छ।’

पहिले दोब्बरमात्र भएकोमा अहिले अस्पतालहरूले तेब्बर अक्सिजन सिलिन्डर मागिरहेका छन्।

हालकै स्थितिमा अक्सिजनको माग बढिरहेको सन्दर्भमा संक्रमण दर बढ्दै गए अक्सिजन पाउन मुस्किल हुने ती प्रतिनिधिले बताए।

कान्तिपुर अक्सिजनले दैनिक एक हजार हारहारी सिलिन्डर अक्सिजन उत्पादन क्षमता हो। उसले ७० प्रतिशत अस्पतालमा पठाउँछ।

अहिले ६-७ सय सिलिन्डर अक्सिजन बजारमा गइरहेको छ। कान्तिपुर अक्सिजनका मेनेजर कुमार चुँडाल भन्छन्,‘पूर्ण क्षमतामा सञ्चालन गरे पनि सिलिन्डर कम भएका कारण माग धान्न गाह्रो पर्ने देखिन्छ।’

हिमाल अक्सिजनले दैनिक ५-६ सय सिलिन्डर ग्यास उत्पादन गरिरहेको छ। उसले न्युरोलगायत पाँच वटा अस्पतालमा सिलिन्डर पठाउँछ।

दुई सिफ्टमै उद्योग चलाउँदा अहिले पुगिरहेको हिमाल अक्सिजनका मेनेजर मिलन महर्जनले बताए। मागअनुसार उत्पादन क्षमता बढाइने उनले बताए। तर,उद्योगसँग सिलिन्डर कम छन्। अहिले ठूलो सिलिन्डर मात्र बजारमा गइरहेको महर्जनले बताए।

‘साना सिलिन्डर मानिसहरूले घरमा राखेका छन्, त्यसैले सिलिन्डरको अभाव छ,’ उनले भने।

काठमाडौंमा सानाठूला गरे अरू सीता, हाम्रो, सोपान, अक्सिटेकलगायत उद्योग छन्।

हाम्रो अक्सिजनको फ्याक्ट्री नुवाकोटमा छ। उसले काठमाडौंमा बिपी स्मृतिमा मात्र सिलिन्डर पठाउँछ।

बाँकी सबै नुवाकोटमै खपत हुने गरेको मेनेजर विनोद पाण्डे बताउँछन्।

अहिले उसले ७ सय सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ। उसको पूर्ण क्षमता ८ सय सिलिन्डर हो।

बजारमा दुई खालका अक्सिजन सिलिन्डर पाइन्छन्- एउटा ठूलो र अर्को सानो।

सानो आकारको अक्सिजन १० लिटर र ठूलो ४७ लिटर क्षमताको हुन्छ। सानोले करिब ८ घन्टासम्म अक्सिजन दिन्छ। ठूलो सिलिन्डरले २४ घन्टासम्म दिन्छ।

टिचिङका निर्देशक काफ्लेको भनाइलाई मान्ने हो शिक्षण अस्पतालमै भर्ना हुने अक्सिजन वा भेन्टिलेटर बेडको एउटा बिरामीलाई प्रतिमिनेट ५०-६० लिटर अक्सिजन दिनुपर्ने हुन्छ।

प्रतिमिनेट ५० का दरले एक जनालाई एक घन्टाको तीन हजार लिटर अक्सिजन आवश्यक पर्छ। यो भनेको ४७ लिटर क्षमताको ठूलो सिलिन्डर ६३ वटा हो।

‘त्यसकारण अहिले जनचेतना नै ठूलो कुरा हो, आइसियू या भेन्टिलेटरमा राख्नु नपरोस् भनेर मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्नु नै कोरोनाबाट जोगिनु हो,’ निर्देशक काफ्लेले भने।

अहिले सरकारले दैनिक १० हजार पिसिआर परीक्षण गरिरहेको छ। त्यसमा दैनिक २५ सय संक्रमित देखिइरहेका छन्।

सरकारले २० हजार परीक्षण गर्न सके दैनिक ५ हजार संक्रमित हुन सक्छन्।

अहिले परीक्षण गरेकामध्ये पाँच प्रतिशतलाई आइसियू/भेन्टिलेटर चाहिने आँकलन स्वास्थ्य मन्त्रालयको छ।

मन्त्रालयले पिसिआर परीक्षणमात्रै २५ हजार र एन्टिजेनबाट अरू २५ हजारको परीक्षण गरेर दैनिक ५० हजार परीक्षण गर्न सकिने जनाएको छ।

दैनिक ५० हजारको परीक्षण गरियो भने १० हजार संक्रमित देखिन सक्छन्। त्यसको ५ प्रतिशत ५ सयलाई आइसियू/भेन्टिलेटर चाहिन्छ।

आइसियू र भेन्टिलेटर जति बिरामी पुगे अधिक मात्रामा अक्सिजन खर्च हुने देखिन्छ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेर अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ। नेपालमा त्यो स्थिति नआउला भनेर ढुक्क हुने अवस्था छैन।

‘अहिलेसम्म त पुगिरहेको छ, तर सिलिन्डर अपुग छ, रोटेसनमा आउँदैनन्,’ शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवाल भन्छन्, ‘हामीले पहिलेदेखि सिलिन्डर बढाउनु पर्छ भनेर माग गरिरहेका हौं। पछि अप्ठ्यारो पर्छ भनेर मैले एक वर्षदेखि भनेको हुँ। समयमा समस्या समाधान गर्ने काम भएन। ’

उनका अनुसार सिलिन्डर खरिदमा भन्सार, अन्तशुक र मूल्य अभिवृद्धि कर बढी नै रहेकाले त्यसलाई सहजीकरण गर्न सरकारसँग माग गरिएको हो। सिलिन्डर आयातमा १५ प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत अन्तशुल्क छ। जुन चर्को रहेको व्यवसायीको दाबी छ।

पोहोर साल नै उद्योगीले यो कुरा राख्दा सरकारले केही चासो देखाएन। अहिले भारतमा सिलिन्डर हाहाकार छन्। नेपालमा भारतीय बजारबाट सिलिन्डर आउँथे।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…