नेपालमा असारसम्ममा तीन लाख व्यक्तिमा कोरोना संक्रमण देखा पर्नसक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड-१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ।

मन्त्रालयले कोभिड–१९ को ‘यूके भेरियन्ट’को संक्रमण दर उच्च भएको र नेपालमा अहिले ‘यूके भेरियन्ट’ देखा परेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन्।

उनका अनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ।

सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए।

उनले भने, ‘असारसम्ममा करिब-करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ। ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरू हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ। हस्पिटलभित्र आउनुपर्ने ६० हजार बिरामीमध्ये ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०/१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ।

त्यो हिसाबले हामी तयारी गर्नुपर्छ। यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेड चलाएका छौं। केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेका छौं, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौं। यो बीचमा हामी करिब ५ सय जति आइसियु बेड थप्यौं, करिब ४ सय जति भेन्टिलेटर थप गर्न सकेको छौं र त्योभन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं।’

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित बिरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए।

उनले भने, ‘पछिल्लो हामीले दुई तीनवटा हस्पिटलहरूको टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दाखेरी बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरू जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिन भित्र बिरामीहरू मरिरहेको अवस्था देखिन्छ। यति छिटो संक्रमण बढिराखेको छ।’

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरू चार पाँच जनामा सार्न सक्ने भए पनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको छ। जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ। जसमा पिसिआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.), एन्टिजेन किट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढीकरण, आई.सी.यु., एच.डी.यु., तथा अन्य औषधि उपकरणहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापहरूको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

त्यस्तै, खोप कार्यक्रम र एच.डी.यु.को लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

चालू वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २७.५४ प्रतिशत अर्थात् १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँमात्रै खर्च भएको छ।

आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ प्राप्त भए अनुसार कार्यक्रम तयार गरिएको सचिव अर्यालले बताए।

यस्तै, कोभिड व्यवस्थापनबाहेक थप २९ अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने पनि बताए।

उनले भने, ‘कोभिडको व्यवस्थापनबाहेक हामीलाई थप २९ अर्ब ८० करोड रुपैयाँ चाहिन्छ भनेको हो। सिलिङ्गमा चाहिँ ६२ अर्बको सिलिङ्ग हामीलाई दिनुभएको छ भने हामीकोमा आउट अफ सिलिङ्ग २९ अर्ब ८० करोड चाहिन्छ भनेको हो। कोभिडको पहिलो चरणमा १४ अर्ब खोपसहित साउनसम्म खोप किन्न सकिन्छ कि भन्ने हिसाबले बढी राखेको हो र असोजसम्मको कोभिडको संक्रमण रेट अफ ट्रान्समिसनको आधारमा प्रोजेक्सन गर्नुपर्ने हुन्छ।’

सचिव अर्यालले कुल जनसंख्याको ७२ प्रतिशतमा कोभिड–१९ विरूद्धको खोप लागाउने योजना बनाएको पनि बताए।

त्यस अनुसार २ करोड १५ लाख मानिसलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दर सहित करिब ५ करोड खोप आवश्यक पर्ने बताए।

सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको बताए।

यस्तै, देशभर रहेको १४ हजार खोप केन्द्रबाट दैनिक ६ लाख मानिसहरूलाई खोप लगाउन सक्ने क्षमता रहेको पनि सचिव अर्यालले बताए।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…