नेपालकै यस्तो ठाउँ, जहाँका नागरिकलाई नेपालभन्दा भारत प्यारो लाग्छ, नेपाली हौं भन्ने समेत थाहा छैन

धनगढी : कैलालीको कैलारी गाउँपालिका( ७ को मोहना नदीपारि एउटा नेपाली वस्ती छ, हौसलपुर। सो गाउँका नागरिकलाई नेपालभन्दा भारत प्यारो लाग्छ। किनकी उनीहरुको पहुँच नेपालभन्दा भारतमै बढी छ।

हौसलपुरमा २८ घरधुरी छन्। तर सबै घरधुरी पूर्ण रुपमा भारतमै निर्भर छन्। हौसलपुर गाउँ भारतको दुदुवा नेसनल पार्कसँगै जोडिएको छ।

मोहनापारिको करिब ४०र५० हेक्टर क्षेत्रफलमा रहेको यो थारु बस्ती वर्षौंदेखि गुमनामजस्तै छ। जहाँका नागरिकको नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै सीमित छ। केवल नागरिकता बनाउनका लागि मात्रै उनीहरु जिल्ला सदरमुकाम धनगढी पुग्छन्।

‘नेपाली हौं’ भन्ने समेत जानकारी छैन

रहनसहन भेषभूषा सबै भारतसँगै मिल्छ। गाउँका कतिपयलाई ‘नेपाली हौं’ भन्ने पनि जानकारी छैन। हौसलपुर वर्षौंदेखि राज्यको उपेक्षामा छ, सरकारी सेवासुविधाविहीन छ। गाउँको जनसंख्या चार सयभन्दा बढी छ। विद्यालय, खानेपानी, स्वास्थ्य संस्था, बिजुलीलगायत राज्यबाट पाउने कुनै पनि सुविधा उनीहरुले पाएका छैनन्।

डेढ सयभन्दा बढी बालबालिका सीमापारिको विद्यालयमा पढ्छन्। आफ्नो देशबारे उनीहरूलाई केही जानकारी नै छैन। कक्षा ९ मा पढ्ने नीता चौधरी आफूले वडा कार्यालयसमेत नदेखेको बताउँछिन्। गाउँका कुनै पनि बालबालिकालाई नेपाली भाषा बोल्न आउँदैन। ‘मोहनापारि जाने काम पर्दैन,’ नीताले हिन्दीमै भनिन्, ‘वर्षातका बेला जान सकिँदैन, अरू बेला पनि खासै जाने काम पर्दैन।’

मोहना नदीमा पुल बनाएपछि मात्रै नेपालसँगको सम्बन्ध जोडिने स्थानीय कालुराम डगौरा बताउँछन्। पाँच दशकअघि मात्रै बसेको यो बस्तीलाई नेपालको नक्सामा जंगल जनाइएको छ। सीमामा बस्ने नेपालीको अस्तित्व नेपाल सरकारको उपस्थिति देखिन आवश्यक रहेको डगौराको भनाइ छ। उनी भन्छन्, ‘गाउँको लालपुर्जा दिनुपर्‍यो। स्कुल, स्वास्थ्यचौकी, सीमा प्रहरीचौकी राख्नुपर्‍यो।’

उनीहरूको गाउँदेखि सहरसम्मको सम्बन्ध भारतसँग छ। त्यसैले उनीहरूले चलाउने सवारी साधनदेखि खेत जोत्ने ट्याक्टरसम्म भारतीय नम्बर प्लेटका छन्। उत्पादन भएको अनाज बिक्री र दैनिक उपभोग्य वस्तुको किनमेल पनि भारतीय बजारमै हुन्छ। सबै कामका लागि भारतकै निर्भर रहेका उनीहरु नेपाल सरकारको उपस्थितिसँगै नदीमा पुल र पक्की सडक बनिदिए देशप्रतिको माया बढ्ने बताउँछन्।

बालबालिका भारतीय विद्यालयमा, भारतकै राष्ट्रियगान

​हौसलपुरका बालबालिकाको प्रारम्भिक शिक्षा नै भारतको बेलापरसुवाको सरस्वती शिक्षा मन्दिरमा हुने स्थानीय बताउँछन्। त्यहाँ शिशुदेखि ८ कक्षासम्म ४५ जना विद्यार्थी पढ्न जान्छन्। विद्यार्थीहरु भारतकै विद्यालयमा पढ्ने हुँदा उनीहरुमा मायामोहसमेत भारतकै बढी हुने कन्हैयालाल डगौराले बताए।

उनीहरुलाई नेपाली राष्ट्रिय गान आउँदैन तर भारतको राष्ट्रिय गान सबैले गाउन सक्छन्। ‘भारतको राष्ट्रिय गान स्कुले बालबालिकालाई कठस्थ छ,’ कन्हैयालाल भन्छन्, ‘भारतको इतिहास र भूगोलको ज्ञान भएका बालबालिकालाई नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन।’ हौसलपुरका किशोरकिशोरी हाइस्कुल र उच्च शिक्षाका लागि पनि भारतीय बजार जान्छन्। लखिमपुरको गान्धी इन्टर कलेजमा हौसलपुरका २०/२५ विद्यार्थी पढ्दैछन्।

गाउँ अन्धकारमै

बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा पोष्ट केही नभएको यो गाउँ अन्धकारमै छ। तीनतिरबाट नदीले घेरेकाले वारपार गर्न झोलुंगे पुल बने बस्तीको सम्बन्ध नेपालसँग जोडिन सक्ने स्थानीय कुलप्रसाद चौधरीको भनाइ छ। उनी भन्छन्, ‘यी गाउँ नेताको भोट बैंकजस्ता मात्र भए। यहाँको वास्तविक समस्या समाधानतर्फ नेताहरुले चासो दिएनन्।’

उनका अनुसार ०४९ को स्थानीय निर्वाचनमा हौसलपुरवासीले पहिलोपटक मतदान गरेका थिए। ‘तत्कालीन हसुलिया गाउँ विकास समितिको वडा नं। ४ अन्तर्गत यो गाउँ परेको थियो,’ उनी भन्छन्, ‘पहिलोपटक वडाध्यक्षका उम्मेदवार सरकारी कर्मचारी लिएर मतदाता नामवली संकलन गर्न आएका थिए। त्यसको केही समयपछिको निर्वाचनमा यहाँका करिब ५०/६० जनाले भोट हाल्यौँ।’ उनका अनुसार बस्तीका धेरैको नागरिकता पनि त्यसपछि मात्र बनेको हो।

अहिले भने गाउँमा विकासका कामहरु सुरु भएको छ। केही वर्ष अघिसम्म सरकारी निकायको कुनै उपस्थिति नभएको हौसलपुरमा जनप्रतिनिधि आइसकेपछि विकासका कामहरु सुरु भएका छन्।

केही महिनाअघि मात्रै गाउँमा बिजुली पुगेको छ। स्थानीय तहबाट उपलब्ध हुने सेवामा नागरिकहरुको पहुँच बढाउन हरेक किसिमले प्रयास भइरहेको जनप्रतिनिधिहरु दावी गर्छन्।

कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमल प्रसाद चौधरीले आफू निर्वाचित भएपछि गाउँमा बिजुली पुगेको सुनाए। उनले भने, ‘यो गाउँ अस्तिसम्म अन्धकार थियो। निर्वाचित भएर हामी आइसकेपछि पहिलो काम यहाँ सोलार बत्ती वितरण गर्‍यौँ।’

त्यसपछि प्रदेशसभाका माननीय, गाउँपालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधिको पहलमा यहाँ बिजुली बाल्न सकेका हौँ। वडाध्यक्ष चौधरीका अनुसार खानेपानी, कृषि अनुदानलगायत विकास निर्माणका कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ। नेपाली भाषा पढाउन गाउँपालिकाले बजेट विनियोजन गरेको र हाल भाषा पढाइसमेत सुरु भइसकेको उनले बताए। साभार : थाहाखबर 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…