एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’ बने

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्।

विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफासँग मिल्दोजुल्दो भएको स्मिथले बताएका छन्।

युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्यपूर्वको व्यापारिक केन्द्र बनेको छ।

बुर्ज खालिफाको डिजाइन अनुसार होटल, कार्यालयदेखि अन्य व्यवसायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ।

बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी कामदार मध्ये कयौं नेपाली पनि थिए।

पोखराबाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोदकुमार विक पनि एक हुन्। एसएलसी फेल भएर उनी विदेश हानिएका थिए। अहिले विश्वबजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।

पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भारतीय प्रहरीमा जागिरे बुवा र पोखरामा घरजग्गा भएकाले कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता उनलाई थिएन।

एसएलसी फेल भएपछि साथी सर्कलले डोर्‍याएर उनलाई दुबई पुर्‍याएका थिए। पोखराको शितल मौसममा हुर्किएका विनोद जब युएईको विमानस्थलमा ओर्लिए, त्यतिबेलै छिटै घर फर्केर पढाइलाई निरन्तता दिने कसम खाए।

‘विमान स्थलमा ओर्लिएपछि त्यहाँको गर्मीमा टिक्छु भन्ने सोच्नै सकिनँ। ६ महिनामै फर्कन्छु र पढ्छु भनेर मनमनै वाचा गरेँ,’ विनोद भन्छन् ।

त्यतिबेला के कामको लागि जाने भन्ने नै थिएन। दलाललाई पासपोर्ट बुझाएपछि उसैले भिसा मिलाउने र पैसा बुझाएपछि विदेश जान पाइन्थ्यो। त्यसरी नै विनोद दुबई पुगेका थिए। दुबईमा उनले बिसिक्स कम्पनीमा पूर्वनिर्धारित लेबरको काम गरे।

काममा जोतिएका विनोदको इमान र लगन कम्पनीले रूचायो। उनलाई सर्भे टिमभको हेल्पर बनायो। कम्पनीका मालिक डग हायसले विनोदलाई नियालिरहेका थिए। मन पराएका रहेछन्।

यता विनोदलाई निर्माण कम्पनीमा बाहिर ५० डिग्रीसम्म चर्को घामको गर्मी उनलाई खपिसक्नु थिएन।

एक दिन मालिकलाई घर फर्केर पढाइ अघि बढाउन चाहेको कुरा बताए। दुबईमै रहेका विनोदका मामा रणबहादुर विकले पनि उनलाई भेटेर घर फर्केर पढ्न भनेका थिए। यही बेला मालिकले १ महिना काम गर, तिम्रो पदोन्नती र तलब बढाइदिन्छु भनेर विनोदलाई थामे।

नभन्दै १ महिनापछि उनको पदोन्नती भयो, प्रोफेसनल सर्भे हेल्परमा। तलब पनि बढ्यो। विनोदले काम गर्ने बिसिक्स कम्पनीले विश्वकै अग्लो टावर बुर्ज खालिफा बनाउने ठेक्का लिएको थियो। बिसिक्ससँगै सामसुङ र अरब टेकले यो टावर बनाउन संयुक्त रूपमा काम गर्दै थिए।

पदोन्नती पाएका विनोदलाई कम्पनीले बुर्ज खालिफामा पठायो। सन् २००५ देखि २००१० सम्म उनले त्यहीँ काम गरे।

कम्पनीले सन् २००८ मा त बुर्ज खालिफाको १ सय १२ तलादेखि १२० तला सम्मको भुईं हेर्ने जिम्मा नै विनोदलाई दियो। यतिबेला उनलाई फेरी पदोन्नती गरेर कम्पनीले ‘असिस्टेन्ट ल्याण्ड सर्भेयर’ बनायो।

बुर्ज खालिफामा विनोदले झैं लेबरदेखि अन्य पदमा काम गर्ने अरू पनि नेपाली थिए। विनोद भने छिटो छिटो पदोन्नती हुँदै गए।लेबरबाट काम थालेर सर्भेयर बने।

जब सन् २०१० मा बुर्ज खालिफा बनाएर सकियो, दुवईका राजाले रातीको समयमा उद्घाटन गरेका थिए। त्यतिबेला उनी त्यहीँ थिए।

संसारको अग्लो टावर बुर्ज खालिफामा कंक्रिटको मात्रै २ सय ६५ तला छ। स्टिलसमेत गरेर यसको उचाइ ८ सय २८ मिटर अग्लो छ।

असिस्टेन्ट ल्याण्ड सर्भेयर बनेका विनोदलाई कम्पनीले बुर्ज खालिफाको काम सकिए पछि पनि जागिरबाट निकालेन। उल्टै अरू देशमा काम गर्न खटायो। उनका बोस डग हायसले भारतको मुम्बईमा ‘सेकेण्ड बुर्ज खालिफा’ बनाउने टिममा उनलाई राख्ने भनेका थिए।

मुम्बईमा १४५ तले टावर बनाउने योजनाका साथ बोससँगै उनीपनि मुम्बई आएका थिए। जब टावर बनाउन जमिनको काम सुरू गरे, यसका मालिकहरूबीच विवाद भयो। मुम्बईमा बनाउने भनेको त्यो योजना असफल भयो।

विनोदलाई उनका बोसले काम दिन सकेनन्। उनले अर्को कम्पनी सामसुङ सिएनटी इञ्जिनियरिङमा सर्भे इञ्जिनियरकै रूपमा जागिर लगाइदिए। उक्त कम्पनीले मुम्बईमै ८५ तले र ५५ तले २ वटा टावर बनाउने ठेक्का लिएको थियो। त्यहीबेला उनले भारतको खुला विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरे।

खुला विश्वविद्यालयमा अध्ययन फर्म भर्दा उनले आफूलाई नेपालमा एसएलसी फेल नै भनेका थिए । तर उनले बुर्ज खालिफा बनाउँदा पाएको सर्टिफिकेट र अन्य कम्पनीको सिफारिसले काम चल्यो। उनले पढ्न पाए।

सन् २०१५ मा २ वटै भवन बने, मुम्बईको काम पनि सकियो। यी दुई भवन बनाउँदा उनलाई कम्पनीले फेरि पदोन्नती गरेर सर्भे इञ्जिनियर बनाइसकेको थियो।

यता पहिले काम गरेको कम्पनि बिसिक्स कम्पनीका मालिक डग हायस निरन्तर उनको सम्पर्कमै थिए। मुम्बईको काम सकिएपछि उनलाई अर्को टावर बनाउने काममा डग हायसले काजकिस्तान खटाए।

सन् २०१५ मा काजकिस्तान पुगेर विनोद अरब टेक कम्पनीमा इञ्जिनियरका रूपमा काम गरे। दुवईको ५० डिग्री सेल्सियसमा काम गरेर भारत आएका विनोद अब चिसोमा काम गर्नुपर्ने भयो, काजकिस्तानको तापक्रम माइनस ४५ डिग्री थियो।

काजकिस्तानमा ८५ तले भवन बनाउनुपर्ने। चिसोका कारण हिटर नभइ बस्नै नसकिने हुन्थ्यो। ‘पाँच मिनेट बाहिर बसेर फोन गर्न सक्ने अवस्था थिएन, काममा खटिन पनि चिसोले दिएन,’ विनोदले भने ।

काजकिस्तानमा काम गर्दा कामदार धेरै थिए। चिसोले गर्दा १५ मिनेट काम गर्ने त्यसपछि हिटरमा गएर बस्ने गर्दथे। गर्मी याममा पनि १० डिग्रीभन्दा बढी तापक्रम नपुगेको उनी सम्झन्छन्। उनले त्यो चिसो खप्न सकेनन्।

व्यापारिक केन्द्र बनाउन उक्त भवन बनाएको उनी बताउँछन्। अहिले पनि उक्त भवनको काम सकिएको छैन। त्यहाँ मासिक ३ हजार डलर तलब र बस्न खानका लागि ९ सय डलर अतिरिक्त भत्ता थियो, उनको। यत्तिका कमाई हुँदा पनि चिसो खप्न नसकेकै कारण ९ महिनामै उनले काजकिस्तानको जागिर छाडिदिए।

अमेरिका जान काजकिस्तानबाटै पासपोर्टमा भिसा लगाए। भिसा मात्र लगाएर के गर्नु? उनले काम गर्न नपाउने भए। पछि अमेरिका गएनन्, बरू नेपाल फर्किए।

दुवईमा काम गर्दाका बोस डग हायस उनको सम्पर्कमै थिए। विनोदलाई मन पराएका बोसले अर्को जागिरको अफर गरे। मलेसियामा विश्वकै दोस्रो अग्लो टावर बनाउन थालिएको रहेछ। उनले त्यहीं काम पाए।

सन् २०१६ देखि अहिले पनि उनी मलेसियामै छन्। बुर्ज खालिफा पछि विश्वकै दोस्रो अग्लो टावरका रूपमा बनिरहेको यो टावर १ सय १८ तलाको छ। यही बर्षभित्र सक्ने गरी काम भइरहेको विनोद बताउँछन्।

लेबर भिसामा दुवई पुगेका विनोदसँग औपचारिक शिक्षा पढाउने विश्वविद्यालयका सर्टिफिकेट त छैनन्, तर विश्वका अग्ला र ठूला कम्पनीमा इञ्जिनियरिङको काम गरेको अनुभव छ। कम्पनीहरूले दिएका सर्टिफिकेट र प्रशंसा पत्रहरू छन्।

घरछुट्टीमा पोखरा आएर गत साता मात्रै मलेसिया फर्केका विनोद अहिले काममा खटिसकेका छन्। ‘विदेशमा मैले यति धेरै दु:ख गरें कि, सबै विदेशले सिकायो,’ विनोद भन्छन्, ‘मेरो दु:ख बोसले बुझिदियो, अहिलेसम्म साथ छाडेका छैनन्।’

दुबईमा दैनिक १२ घण्टा काम गरेर खाना खाँदा पनि अध्यन गरेर बस्ने र भोलि गर्नुपर्ने कामको तयारी आजै गरेको देखेर बोस छक्क परेको उनी सम्झन्छन्।

२०१६ मा घर आउँदा उनले नेपालको सडकमा पनि केही समय काम गर्न पाएका थिए। बेनीबाट मुस्ताङ जाने सडकको बेनीदेखि गलेश्वरसम्मको सडक सर्भेमा उनले काम गरेको बताए। सरकारी निकायमा काम गर्न उनलाई सर्टिफिकेट चाहिन्छ। ठेकेदारको आग्रहपछि कम्पनीको इञ्जिनियरका रूपमा काम गरेको उनले बताए।

मलेसियामा अहिले बनाइरहेको टावरको सिनियर ल्याण्ड सर्भेयर बनेर उनले मातहतमा ६ जना सर्भेयर र हेल्पर गरी १८ जना छन्।

टावर बनाउँदा सुरूमा ३ सय जना उनी जस्तै प्राविधिक थिए भने दिन र रात गरी दुई सिफ्टमा ५ हजार जनाले काम गर्थे। अहिले टावरको काम सकिन लाग्दा कामदार र प्राविधिक आधा कटौती भइसकेको उनले बताए।

यस्ता ठूला आयोजनाहरू बनाउँदा सबैभन्दा जिम्मेवार इञ्जिनियर हुनुपर्ने रहेछ भन्ने उनले थाहा पाएका छन्।

‘ठेकेदारले त जसरी पनि छिटो काम सक्न खोज्छ। इञ्जिनियरले साइट नहेरी सही गर्न हुँदैन। डिजाइनअनुसार बनेको छ कि छैन, धेरै जिम्मा इञ्जिनियरकै हुन्छ,’ उनले भने।

नेपालमा आउँदा विनोदको शैक्षिक योग्यता एसएलसी फेल हो। तर आफ्नो कार्यक्षेत्रमा उनी विश्वविद्यालयमा पढेर आएका ईन्जिनियरभन्दा आफूलाई कम ठान्दैनन्।

‘एउटै काममा लामो समय काम गर्दा धेरै अनुभव हुँदो रहेछ, पढ्न पनि नपर्ने,’ उनले भने, ‘इञ्जिनियरिङबाहेक मैले अरू काम नै रोजिनँ।’ साभार : सेतोपाटीबाट 

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…