चोक-चोकमा कंक्रिटका सजावट : भएको गुलमोरको बोट काटेर कंक्रिटको जुनार

काठमाडौं । शहरलाई सजाउन र बस्न योग्य बनाउन रूखबिरुवाको हरियाली अनिवार्य शर्त हो । तर, नेपालमा नगरोन्मुख गाउँ र शहरहरूका खुला क्षेत्रमा पनि कंक्रिट र फाइबरका संरचना ठड्याउने चलन बढेको छ । चोक र पार्कहरूमा रूखबिरुवा रोप्नेभन्दा कंक्रिट र फाइबरका झिल्के संरचना ठड्याउने ‘ट्रेन्ड’ नै चलेको छ ।

खुला पार्क बनाउन नसके पनि सडक छेउ र चोकहरूमा हरियाली प्रवद्र्धन गर्नुपर्ने बेला रोपेर हुर्काउन वा अन्यत्रबाट ल्याएर सार्न सकिने रूखबिरुवाहरूका समेत कंक्रिटका नमूना उभ्याउने क्रम बढ्दो छ । ‘पर्यटकीय गतिविधि बढाउन’ भइरहेको यस्तो लगानीले ‘कंक्रिटको जंगल’ बन्दै गरेका शहरहरूमा वातावरणीय तथा पर्यावरणीय क्षति थपिंदैछ ।

चोक र पार्कहरूको पहिचान र सुन्दरताका लागि रूखबिरुवा रोप्नुको साटो सिमेन्टका रूख र फलफूलका प्रतिमा बनाउने फेसन देशभर फैलँदो छ ।

वातावरणविद् भूषण तुलाधर यस्तो ‘ट्रेन्ड’बाट सीमित लाभ र असीमित हानि हुने बताउँछन् । पछिल्ला दिनमा चोकहरू सुन्दर बनाउन अप्राकृतिक किसिमको सौन्दर्यको सहारा लिने चलन देखिएको बताउँदै उनी भन्छन्, ‘शहर सुन्दर बनाउन प्राकृतिक वातावरणीय पद्धतिको साटो कंक्रिट र फाइबरको प्रयोग बढ्नु चिन्ताको विषय हो ।’

शहरभित्र हरियाली हुँदा प्रदूषण नियन्त्रणसहित मानव स्वास्थ्यलाई अनेक लाभ पुग्छ भन्ने नबुझेर यस्तो भएको उनको बुझाइ छ । गाउँ, बस्ती र शहरका खुला स्थानलाई प्राकृतिक सौन्दर्यकरण गर्ने चेतना, प्रतिबद्धता र सीपको अभाव देखिएको वातावरणविद् तुलाधर बताउँछन् ।

चोक र पार्कहरूको पहिचान र सुन्दरताका लागि रूखबिरुवा रोप्नुको साटो सिमेन्टका रूख र फलफूलका प्रतिमा बनाउने फेसन मेचीदेखि महाकालीसम्मै फैलँदो छ । सरकारी निकाय र स्थानीय तहले नै चोक, पार्कमा कंक्रिट र फाइबरका महँगा नमूना राखेर ‘पर्यटन प्रवर्द्धन’ गरिरहेका छन् ।

पूर्वदेखि पश्चिमसम्मको ‘फेसन’

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको संखुवासभाको मुडे बजारमा ठडिएको कंक्रिटको चाँपको रूख बनाउन मुडे नगरपालिकाले ३२ लाख रुपैयाँ खर्चिएको छ । चोकमा ठडिएको चाँपको रूखले न गर्मीमा छहारी दिन्छ न त हरियाली, केवल पर्यावरण बिगार्न सघाउँछ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको सखुवागाछी चोकमा सखुवा नै नभएको भन्दै वडा कार्यालयले तीन वर्षअघि फाइबरको सखुवा उमार्‍यो । त्यसमा चित्त नबुझाएका स्थानीय युवाले फाइबरको सखुवा छेउमै सखुवाको बिरुवा रोपेर हुर्काउँदैछन् ।

सखुवागाछी चोकका युवामा जस्तो सचेतना भइदिएको भए दैलेखको गुराँस गाउँपालिकाको पार्कमा अहिले गुराँसका बिरुवा हुर्किरहेका हुने थिए । तर, नगरपालिकाले त्यहाँ आफ्नो पहिचान बढाउन भन्दै भ्यूटावर सिमेन्टको गुराँस उमारेको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि ‘आफ्नो पहिचान उठाउन’ वसन्तपुर बजारमा कंक्रिटको गुराँस फुलाएको छ । वसन्तपुर बजार गुराँसको राजधानी भन्ने पहिचान बनाएको ‘तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पर्छ । लालीगुराँस नगरपालिकाले लसुनेमा कंक्रिटकै लसुन राखेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टारको पुष्पलाल चोकमा पर्यटकीय आकर्षण बढाउन भन्दै फाउन्टेसनसहितको पार्क बनाएर कंक्रिटको बेल फलाइएको छ । यसमा प्रदेश सांसद विमल कार्कीको संसदीय विकास कोषको २० लाख र स्थानीयको ५ लाख जनश्रमदान लगानी भएको छ ।

पूर्वी नेपालमा आफ्नो ठाउँको पहिचान र मुख्य उत्पादनका आधारमा चोक तथा पार्कहरूमा सिमेन्टका तरकारी, फलफूल र अन्य चिज बनाइएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले जितपुर बजारमा कंक्रिटको रुद्राक्ष बनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रको उत्पादनलाई पर्यटनसँग जोड्ने भन्दै ८ लाख खर्चमा यो काम गरेको हो ।

धनकुटा बजारमा कंक्रिटको एभोकाडो, कागतेमा कंक्रिटको कागती, सिंधुवामा कंक्रिटको काउली, छिन्ताङ शहीदभूमि गाउँपालिकामा सिमेन्टकै सुन्तलाका रूखहरू उमारिएका छन् । धनकुटाको हिले बजारको मुख्य चोकमा सिमेन्टको तोङ्वा बनाइएको छ ।

सिन्धलीको सदरमुकाम सिन्धुलीमाढीमा त भएको गुलमोरको बोट काटेर कंक्रिटको जुनार बनाइएको छ ।

२०६२/६३ को जनआदोलन सफल भएको दिन पारेर रोपिएको गुलमोर फूलको बोट हुर्किसकेको थियो । त्यसको वरिपरि बस्न मिल्ने चौतारो समेत बनाइएको थियो । तर त्यो रुखलाई उखेलेर अहिले कंक्रिटको जुनार ठड्याइएको छ ।

ठूलो लगानी भएका यस्ता संरचनाहरू धूलोले ढाकिने गरेका छन् । सरसफाइ, रंगरोगन र संरक्षण नपुगेका यी संरचना भविष्यमा सम्पदाका रूपमा रहिरहने अवस्था देखिंदैन ।

शहरी पूर्वाधारविज्ञ किशोर थापा चोक र पार्कहरूमा सिमेन्टका वनस्पति राख्ने कामलाई बुद्धिमत्तापूर्ण मान्दैनन् । ‘पर्यटन नै प्रवर्द्धन गर्ने हो भने धेरै खालका प्रतिमा रहने गरी छुट्टै पार्क बनाए हुन्छ’ शहरी विकास मन्त्रालयमा सचिव रहिसकेका उनी भन्छन्, ‘तर चोक–चौतारोहरूमा शीतल दिने विभिन्न प्रकारका रूख नै रोप्नुपर्छ ।’

खुला स्थानमा धमाधम कंक्रिटका संरचना राख्नेहरूले कलात्मक पक्ष र टिकाउपनमा पनि ध्यान नदिएको देखिने थापा बताउँछन् । उनी भन्छन्, ‘धेरै ठाउँमा रूखबिरुवा वा फलको भद्दा प्रतिरूप ठड्याएको देखिन्छ ।’

काठमाडौंमा पनि उस्तै

वर–पीपललगायत वृक्षहरू हुर्काउनुपर्ने सार्वजनिक स्थलहरूमा वातावरण प्रतिकूल हुने कंक्रिटका अनेक संरचना ठड्याउने प्रवृत्ति राजधानी शहरमा पनि उस्तै छ । थोरै खर्चमा सजिलै ढकमक्क जलकमल फुलाउन सकिने कमलपोखरीमा फाइबरको ‘ठूलो कमल’ राख्ने तरखर हुँदैछ ।

काठमाडौं उपत्यकाका उद्यानहरूमा रूखबिरुवा रोप्नेभन्दा सिमेन्ट छाप्ने र कंक्रिटका फलैंचा राख्ने होड छ । सिमेन्ट पोतेर सुन्दर बनाउने लहडले शंखमूल पार्कदेखि बालाजु उद्यानसम्मलाई विरुप पारेको छ ।

सम्पदाविद्हरूको दबाबपछि पुरातत्व विभागले पार्कको कंक्रिट संरचना भत्काउन र ‘कृपालु उद्यान’ भन्ने नाम फेरेर ‘वनकाली’ राख्न दिएको निर्देशनलाई कोषले कार्यान्वयन गरेको छैन ।पशुपति क्षेत्र विकास कोष पनि यही बाटोमा छ । वनकाली वनभित्र भारतका ‘कृपालुजी महाराज’का नामको पार्क बनाउन कोषले अनुमति दिएको छ । सिमेन्ट, फलामजस्ता सामग्रीको भरमार प्रयोग भइरहेको यो पार्कले वनकालीको पौराणिक महत्व घटाउने सम्पदाविद्हरूको भनाइ छ ।

पीपल छोडेर सिमेन्ट घातक

शहरी पूर्वाधारविज्ञ किशोर थापा पौराणिक स्थलमा पनि कृत्रिम चमकधमकलाई महत्व दिनु विल्कुलै गलत हुने बताउँछन् ।

वातावरणविद्हरू कंक्रिट संस्कृति यसरी नै मौलाए अब नयाँ शहरहरूमा हरियाली नभेटिने अवस्था आउने जोखिम देख्छन् । वातावरणविद् भूषण तुलाधरका अनुसार रूख–बिरुवा र पोखरी भनेको शहरको पर्यावरणको हिस्सा हुन् । यसमा कंक्रिट बढाउँदै लगे वायु प्रदूषणदेखि भूमिगत जलभण्डारणसम्ममा समस्या बढ्छ ।

चोकमा सिमेन्टको रूख उमारेर अनि पोखरीमा फाइबरको फूल फुलाएर केही लाभ नहुने बताउँदै उनी भन्छन्, ‘त्यसले शहरको इकोसिस्टमलाई गर्ने हानिको जिम्मेवार को हुने अनि त्यसको क्षतिपूर्ति कसरी गर्ने ? अहिल्यै सोच्नुपर्छ ।’

पूर्वाधारका विज्ञहरू शहरलाई स्वच्छ र सुन्दर बनाउने हो भने प्रशस्त रूख–बिरुवा हुर्काउनुपर्ने बताउँछन् । बाँकी रहेका थोरै खुला स्थानमा पनि कंक्रिट र फाइबर रोप्दै गए शहरहरू मान्छे बस्न लायक नरहने उनीहरूको भनाइ छ ।

शहरी पूर्वाधारविद् किशोर थापा शहरका बचेखुचेका सार्वजनिक स्थलहरूलाई ताजा हावा लिन सकिने स्थल बनाउनुपर्नेमा जोड दिन्छन् । ‘कंक्रिटको रूखले त तातो हावालाई पनि अझ तातो र विषाक्त बनाउँछ’ उनी भन्छन्, ‘वर–पीपलको साटो सिमेन्टको रूख रोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ ।’

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…