दमक नगरपालिकाले घर भत्काइदिएपछि सुकुम्बासीको बिजोग, खुला आकाशमुनि वास

दमक । ७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलकी धनमाया विश्वकर्मा शनिबार राति सुत्ने तरखरमा थिइन् । उनका लागि ओत लाग्ने छानो आकाश र सुत्नका लागि धरतीको डसना थियो । खुला आकाश उनको वासस्थान बनेको दुई दिन भयो ।

बिहीबार उनको परिवार हाँसीखुसी सुतेको थियो । शुक्रबार बिहान दमक नगरपालिकाको डोजरले घर भत्काइदिएपछि उनी घरविहीन छिन् । सुकुम्बासी बस्तीमा घर बनाएर बसेको २० वर्षपछि उनी सडकमा आइपुगिन् ।

सुकुम्बासी बस्तीमा रहेको छाप्रोमा नगरपालिकाले डोजर चलायो । डोजरले उनीहरूको परिवार मात्र चिल्लबिल्ल बनाएन, नगरपालिकाले लुगाफाटा र पकाउने सबै सामग्री लगिदियो । ‘भएको सबै लगिदियो । त्यसैले त आकाशलाई छानो बनाएर सुतेको छु । म्याट ओछ्याएर निदाउने कोसिस गर्दै छु,’ शनिबार राति ९ बजे नयाँ पत्रिकासँग धनमायाले भनिन्, ‘पकाएर खान भाँडाकुँडा लगिदियो । छिमेकीले दुई छाक त ल्याएर खुवाए । अब के खाने ?’

धनमायाका श्रीमान् गत वर्ष बिते । परिवार चलाउने जिम्मा उनकै काँधमा छ । उनी मुटुकी रोगी हुन् । केही समयअघि मात्र शल्यक्रिया गरेकी उनको चिकित्सकका अनुसार ‘आराम’को समय हो ।

तर, बस्ने आधार नै नगरपालिकाले उठाइदियो । घर भत्काएर टिन र भाटा छरपस्ट छन् । धनमाया शनिबार दिनभर टोलाइन् । उनको दिमागमा एउटै प्रश्न छ– अब के गर्ने ?

घरमा रहेका दराज, खाट सबै फालिदिएका छन्, सुरक्षाकर्मीले । ‘विधुवा भत्ता थापेको आठ हजार थियो । त्यो बाकस पनि पुलिसले लगेर गए,’ उनी भन्छिन्, ‘त्यो पैसा कहाँ लगे होलान् ?’

पञ्चमुखी टोलमा नगरपालिकाले शनिबार सात घर भत्कायो र घरभित्र भएका सबै सामान लगिदियो । लत्ताकपडा, ओड्ने–ओछ्याउने, भएका खाद्यसामग्री सबै लगिदियो । उनीहरू अहिले एकसरो लुगामा मात्र छन् । ‘लगाएको लुगा मात्र छ । यो पनि घर भत्काउन नदिन खोज्दा च्यातिएको छ,’ सुकुम्बासी बलबहादुर विश्वकर्माले गुनासो गरे, ‘अरू कहाँ लग्यो–लग्यो थाहा छैन । पानी खान कल पनि राखिदिएनन्, सबै उखालिदियो ।’

दुई दशकदेखि यहाँ बसेका सुकुम्बासीलाई नगरपालिकाले विकल्प नै नदिई घर भत्काइदियो । ‘कहीँ केही छैन कहाँ जाने त ? त्रिपाल टाँगेर बस्न पैसा छैन,’ सुकुम्बासी बालकुमार राई भन्छन्, ‘नगरपालिकाले हामीलाई हेप्यो । सुकुम्बासीलाई जे गरे पनि हुन्छ भन्ने सोच्यो ।’

हाटखोला क्षेत्रका १५ घर सुकुम्बासीलाई हट्न नगरपालिकाले उर्दी जारी गरेको थियो । तर, पञ्चमुखीका सुकुम्बासीलाई जानकारी पनि थिएन । हाटखोलाका सुकुम्बासीले आफ्नो व्यवस्था मिलाएर दशकौँ बिताएको घर छाडेर हिँडे । त्यही घरमा नगरले डोजर चलायो । तर, पञ्चमुखीका सुकुम्बासीले घर भत्कँदै छ भन्ने सुइँकोसमेत पाएका थिएनन् । खाना खाने वेलामा आएको सयौँको संख्याको प्रहरीसहितको डोजरले खान खान नदिई धमाधम घर भत्कायो ।

अन्नपात पनि नगरपालिकाले लगिदिएपछि उनीहरू साँझ–बिहान कसरी छाक टार्ने भन्ने समस्यामा छन् । ‘कसैले त्रिपाल दिए पनि त्यहीँ सुत्थ्यौँ,’ बलबहादुर भन्छन्, ‘खानालाई एक गेडो चामल छैन । अहिलेसम्म त छिमेकीले दिएका छन् । उनीहरूले पनि सधैँ त दिन सक्दैनन् ।’

छिमेकीले केही चामल र दाल दिएका छन् । उनीहरूले च्यातिएको त्रिपाल टाँगेर खाना पकाउने ठाउँ बनाएका छन् । घरविहीन बनेका सात परिवार सामूहिक खाना खान्छन् । खुला आकाशमुनि सुत्नुपरेको हैन अब कसरी जीवन चलाउने भन्ने चिन्ताले रातभर निदाउन दिँदैन । ‘निदाइन्छ कि भनेर आँखा चिम्लन्छु । तर, रातभर निद्रा आउँदैन,’ सुकुम्बासी राम सम्बाहाम्फे भन्छन्, ‘केटाकेटीको भविष्यको चिन्ताले सताउँछ । भएको घर भत्कायो अब कसरी घर बनाउने भन्ने चिन्ता उस्तै छ ।’

खुला आकाशमुनि सुत्दाका उनीहरूका पीडा धेरै छन् । ‘रातभर लामखुट्टेले टोकेर सुत्न सकिँदैन,’ विमला विश्वकर्मा भन्छिन्, ‘त्योभन्दा पनि पीरले निद्रै लाग्दैन । यहाँ हाम्रो घर मात्र भत्किएन, भविष्य पनि भत्कियो ।’ सातै घरका सुकुम्बासी एकै ठाउँ सुत्छन् । उनीहरूले महिला एकतिर र पुरुष अर्कोतिर सुत्ने व्यवस्था मिलाएका छन् । ‘हाम्रो सुताइ त यस्तै छ । खुला आकाशमुनि सुतेका छौँ । ओड्ने र ओछ्याउने केही छैन,’ विमला भन्छिन्, ‘धन्न ! साना केटाकेटीलाई छिमेकीले सुत्ने ठाउँ दिएका छन् । कति दिन अर्काले सहयोग गर्छन् ?’

शनिबार राति भत्किएको टोलछेउको सडकको पेटीमा एक युवा घोत्लिरहेको देखिए । उनले आफ्नो परिचय दिए– मनीष बराइली । घर कहाँ ? उनको उत्तर थियो– घर कहाँ भनौँ, नगरपालिकाले भत्काइदियो । उज्यालोमा आउनुहोला ठाउँ देखाइदिन्छु ।’ मनीष मात्र होइन हाटखोलाका १५ र पञ्चमुखी टोलका सात परिवारको हालत यस्तै छ ।

सुकुम्बासीलाई उठीवास लगाएर दमक नगरपालिकाले त्यहाँ सपिङ कम्प्लेक्स बनाउँदै छ । हाटखोलामा ४० करोडको साततले सपिङ कम्प्लेक्स बनाउने डिपिआर तयार भएको छ । पञ्चमुखी टोलमा पनि सपिङ कम्प्लेक्स नै बनाउने निश्चित भएको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली बताउँछन् ।

यो नगर प्रधानमन्त्री केपी ओलीको गृहनगर हो । नगरका मेयर पनि साइनोले उनका भतिजा हुन् । उनले केही निर्णय गर्नुपर्दा प्रधानमन्त्री ओलीसँग परामर्श गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले १६ फागुनमा सुकुम्बासीका लागि सरकारले काम गरेको दाबी गरेका थिए । घर नभएका सुकुम्बासीलाई घर दिएर सरकारले घरविहीन हुन नदिएको दाबी गरेका थिए । तर, उनकै गृहनगरका सुकुम्बासीको भएको घर पनि भत्काएर नगरपालिकाले प्रधानमन्त्री ओलीको उद्घोषको धज्जी उडाएको छ । नयाँ पत्रिका

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…