जलवायुसम्बन्धी शिखर सम्मेलनमा सबै देश बोलाउने अमेरिकाले नेपाललाई किन बोलाएन ?

काठमाडौं । अप्रिल २२ र २३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् ।

बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण हुने छ ।

ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने छन् ।

तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् ।

जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । त्यस हिसाबले नेपाल प्राथमिकतामा पर्नु पर्ने हो तर किन परेन भन्ने प्रश्न उत्पन्न भएको छ ।

सो शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको सम्बन्धमा सोधिएको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची आलेनले अहिले हुन लागेको सम्मेलन कोप–२६ भन्दा अगाडि हुन लागेका विभिन्न कार्यक्रमहरुमध्ये एक भएको बताइन् ।

‘हामी जलवायु परिवर्तनका मुद्दामा नेपालसँग सहकार्य गर्न तयार छौं । नेपालले गर्ने सगरमाथा संवादमा हामी सहभागी हुने छौ,’ उनले भनिन्, ‘हामीलाई थाहा छ जलवायु परिवर्तनको विषयमा नेपालले नेतृत्व लिएको छ र हाम्रो साझा भविश्यका लागि हामी मिलेर काम गर्न चाहन्छौं ।’

ह्वाइट हाउसले सो सम्मेलनमा सहभागी हुने ४० वटा देशका प्रतिनिधिहरुको नाम नै सार्वजनिक गरेको छ तर त्यसमा नेपाल परेको छैन । यस अगाडि नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीले नेपालले गर्न लागेको सगरमाथा संवादका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

यसका साथै जलवायु सम्बन्धी अन्य क्षेत्रमा समेत मिलेर काम गर्न तयार रहेको राजदूतले नेपाली नेताहरुलाई बताएका थिए । विशेषतः हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न अमेरिका नेपालसँग मिलेर काम गर्न तयार रहेको अमेरिकी राजदूतले बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडनले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय गरेका छन् । उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि विश्वभर विभिन्न परियोजनाहरु समेत अगाडि बढाएका छन् ।

यस अगाडिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट हात झिकेका थिए । त्यसपछि यो मुद्दामा विश्वव्यापी नेतृत्व नै खड्किएको थियो ।

नोभेम्बर महिनामा हुन लागेको कोप–२६ को पूर्वसन्ध्यामा हुन लागेको विश्वका नेताहरुको सो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । नेपालले पनि कोप–२६ भन्दा अगाडि नै सगरमाथा संवाद आयोजना गर्ने विषयमा छलफल अगाडि बढाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विश्वका नेताहरुको सो सम्मेलनमा जलवायु परिवर्तनको विषयमा बलियो नेतृत्व लिएका मुलुक, जलवायु परिवर्तनको हिसाबले एकदमै संवेदनशील अबस्थामा रहेका मुलुकहरु र जलवायु परिवर्तनको असर कम गर्न नयाँ कदम चालेका मुलुकहरुलाई आमन्त्रण गरिएको छ ।

केही व्यापारी र नागरिक समाजका व्यक्तिहरु समेत सो सम्मेलनमा सहभागी हुने छन् । यतिवेला विश्वको ध्यान विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्नेमा छ । अमेरिकाले गर्न लागेको सम्मेलन र कोप–२६ को मूल उद्देश्य पनि यही हो ।

सो सम्मेलनमा अमेरिकाले सन् २०३० सम्म प्राप्त गर्ने कार्बन उत्सर्जन सम्बन्धी नयाँ लक्ष्यको समेत घोषणा गर्नेछ । शिखर सम्मेलनमा सहभागी हुन पठाएको निम्तोमा अमेरिकी राष्ट्रपति जो बाइडनले सरकार र राष्ट्र प्रमुखलाई आ–आफ्नो मुलुकको लक्ष्य प्रस्तुत गर्न आग्रह गरेका छन् । अनलाइनखबरबाट 

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…