त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो ।
उपाधि समारोहमा सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा रहेका थिए ।
ओलीले फाइनलको बल हस्तान्तरण गरेका थिए । ओलीले सुरुमै खेलाडीसँग परिचय गरेका थिए । प्रधानमन्त्री ओलीले पुरै फाइनल हेरेका थिए । उक्त फाइनल समारोहमा सबै फुटबल खेलाडीले सामुहिक तस्विर खिचाउनेक्रममा ‘केपि बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए ।
विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो ।बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबलबाट विराजले लिए सन्यास
नेपाली फुटबलका सफल कप्तान विराज महर्जनले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै महर्जनलेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्।
बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका महर्जनले घरेलु दर्शकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने स्पष्ट पारेका छन्।
नेपाल र बंगलादेशबीचको खेल सकिएपछि उनलाई काँधमा बोकेर राष्ट्रिय टिमका अरु सदस्यले दशरथ रंगशाला परिक्रमा गराएका थिए। महर्जनलाई दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाइदिएका थिए।