परीक्षा हलबाट बाबुकाे श’वयात्रा हेरेकी रीता, जसले फर्काइन् आमालाई रंगीन कपडामा

रीता केसीले सानैमा आफू भोलि के बन्ने भन्ने करिअर म्यापिङ गरिसकेकी थिइन् । उनी गायिका बन्ने सपना बुनेर अगाडि बढिरहेकी थिइन् । तर, समाज रीताले जे सपना बनाएकी थिइन्, त्यसलाई सपना मान्न तयार थिएन । गीत गाएर हिँड्नेहरुलाई त यो समाजले नयाँ नाम जुराइदिन्थ्यो– गाइने ।

गीत गाउँछु भन्नेलाई होच्याएर गाइने भन्ने यो समाजमा रीताका बाबु चाहिँ छोरीको सपना साकार पार्नुपर्छ भन्ने ठान्थे । बाबुको साथ एउटा छोरीलाई कति शक्तिशाली हुँदो रहेछ भने रीताले समाजसँग लड्न सुरु गरिन्, बाबुको काँधमा आफ्ना सपना राखिदिइन् ।

काँधमा छोरीको फरक बाटोको त्यो सपना लिएर रीताका बाबुले त्यसलाई मलजल गरिरहे । रीतालाई भनिरहे– तिमी नयाँ बाटोमा हिँड्न खोजेकी छौ, हिँड्न नछोड ।

बाबुले निर्धक्क भएर रीतालाई आफ्नो बाटोमा लाग्न दिइरहेकाले पनि हुनुपर्छ, रीताको आँट र विश्वास ह्वात्तै बढ्यो । हो, त्यति बेला रीतालाई बाबुले भनेका कुरा के हुन् भन्ने ठ्याक्कै थाहा हुँदो रहेनछ । अहिले उनले बुझेकी छिन्, उनी भाग्यमानी छोरी रहिछिन् ।

‘मेरो बाबुले मेरो सपना बुझ्नु भएको रहेछ, त्यति बेलै,’ रीताले भनिन्, ‘मेरो सपनाको गोरेटो बलियो गरेर बाबुले पो अगाडि बढाइदिनु भएको रहेछ ।’ आफूले देखेको सपनामा रीताले पाइला चाल्दै अगाडि बढिन् । त्यो सपनामा उनले खुसी देख्न थालेकी थिइन् । दुर्भाग्य, अहिले बाबुले रीताको यो खुसी देख्न पाएनन्, आफ्नो काँधमा छोरीको सपना बोकेका उनले छोरीको अनुहारको मुस्कानलाई आत्मसात् गर्न पाएनन् ।

उनको देहान्त भयो । त्यसपछि रीताको जीवनमा अनेक यु टर्न आए, खुसी र दुःखका श्रृङ्खलाहरु आए । तर, उनका बाबुले त्यसलाई देख्न पाएनन्, त्यसलाई आत्मसात् गर्न पाएनन् ।

बाबुको देहान्त हुँदा रीता आठ कक्षामा पढ्थिन् । जुन दिन बाबुको निधन भयो, रीता परीक्षाहलमा थिइन् ।

‘बुवाको शव यात्रा सुरु भएको थियो, म परीक्षा हलमा थिएँ,’ रीताले लामो सास तानिन्, ‘मलाई थाहा छैन, त्यति बेला मैले आफूलाई कसरी सम्हालेँ, अहिले सम्झँदा पनि आश्चर्य लाग्छ ।’

बुवा गुमाएकी रीतालाई गुरुहरुले सम्हाले, बाबुको जस्तै माया दिए ।

बाबु हुँदासम्म रीतालाई थाहा थिएन, उनको सपनामा बाबुले कसरी साथ दिएका छन् । तर, जब उनको निधन भयो, त्यसपछि बल्ल रीतालाई महसुस भयो– उनलाई बाबुले कति ठूलो साथ दिएका रैछन् ।

त्यसैले रीता अहिले आफ्नो संगीतको प्रेरणा, आइडल र आइकन सबै आफ्ना बाबुलाई मान्छिन् ।

‘त्यो बेला बाबुले मलाई हौसला नदिएको भए आज म कहाँ हुन्थेँ भन्ने थाहा छैन,’ रीताले सम्झिइन्, ‘बाबुले मैले गाउँदा गाइने नभनेकाले नै आज म यो बाटोमा हिँडिरहेकी छु ।’

हो, आज सम्झिँदा रीतालाई बाबुको त्यो सपना र हात डोर्याइले निकै ठूलो हौसला दिन्छ । तर, त्यति बेला बाबुको निधन पछि रीताकी आमाको अवस्था झन् झन् खराब हुँदै गयो । आमाको अवस्था देखेर रीता कयौँपटक भक्कानो छोडेर रोइन् । भक्कानो छुट्दा छुट्दै पनि रीतालाई थाहा थियो, उनी खुसी भए आमाको पनि खुसी फर्किन्छ ।

त्यसैले हरेक पाइलामा बाबुको अभाव खड्किँदा पनि रीता खुसी हुन खोज्थिन्, आमाका लागि ।

‘आमालाई दुःख हुन्छ भनेर त्यति बेला आँसु लुकाउँथे, अनुहारमा खुसी मात्र देखाउँथे,’ रीताले भनिन्, ‘हो, त्यति बेला देखि नै हो, मैले आँसु लुकाएर खुसी हुन जानेको ।’

एकातिर दुःखहरुको ओइरो लागिरहेको थियो । अर्कोतिर, रीताले आफ्नो बाटोलाई अगाडि बढाइरहेकी पनि थिइन् । बाबुको निधनको दुई वर्षमा नै रीताले घर छोड्ने भइन्, उनले काठमाडौंको यात्रा तय गर्ने भइन् ।

एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि रीता काठमाडौं आएकी थिइन् । काठमाडौंमा दिदीसँग उनी शंखमूल बस्न थालिन् । आरआर क्याम्पसमा पढ्न थालिन् ।

आफ्नो सपनालाई थप बलियो बनाउन सक्ने आत्मविश्वास रीतालाई काठमाडौंमा मिलिरहेको थियो । तर, सुखका साथ होइन । काठमाडौंमा पनि उनले बारम्बार दुःखहरुलाई आफ्नो साहरा बनाउँदै अगाडि बढेकी थिइन् । दिदीसँग कोठामा त बस्थिन् उनी तर संघर्ष के हो त्यही समयमा राम्रोसँग बुझ्न थालेकी थिइन् ।

‘दिदीले कलेज जाँदा वा फर्किँदा एक पटकलाई मात्र पुग्ने गाडी भाडा दिनुहुन्थ्यो,’ रीताले सम्झिइन्, ‘आउँदा हिँड्दै कलेजबाट कोठासम्म फर्किन्थे, भोकले निकै सताएको हुन्थ्यो, तिर्खा लागेको हुन्थ्यो ।’

यी दुःख र संघर्षका साथ रीता अगाडि बढिरहेकी थिइन् । अनि सँगसँगै गीतसंगीतलाई पनि अगाडि बढाइरहेकी थिइन् ।

भनिन्छ नि, सबैको जीवनमा एक दिन आउँछ । हो, रीताको जीवनमा पनि अब विस्तारै त्यो दिन आउन थालेको थियो ।

रीताले केही फिल्मका गीतहरु गउन पाइन्, त्यसबाट थोरैतिनो भए पनि कमाउन पाइन् । यो त एउटा पाटो भयो । रीताले आमाको जीवनमा ल्याएको परिवर्तन चाहिँ साँच्चिकै उल्लेख्य छ ।

बाबुको निधन भएपछि रीताकी आमाले सेतो कपडा मात्र लगाउने निधो गरेकी थिइन् । सेतो कपडामा आमालाई देख्दा निकै दुखी हुन्थिन्, रीता । आफूले काठमाडौंमा टेक्ने आड बनाएपछि रीताले आमालाई काठमाडौं ल्याइन् । आमाको मन थोरै परिवर्तन गरिन् ।

आफू विदेशमा कार्यक्रम गर्न जाँदा रीताले आमालाई सँगै लगिन् । त्यहाँको परिवेशमा आमालाई घुलमिल गराइन् ।

अनि आमालाई सेतो कपडा छाडेर फेरि रातोमै फर्काइन्, रीताले । आमाको जीवनमा रीताले ल्याएको यो परिवर्तन यो समाजका लागि एउटा कोसेढुंगा हो, परिवर्तनको संवाहक ।

रीतासँग जीवनका अनेक पहेलूहरु छन्, अप्स एन्ड डाउन्स भोगेकी छिन् रीताले । कार्यालयमा केही दिनअघि आउँदा उनले आफ्नो मनमा गाँठो परेर रहेका दुःखका पोयोहरु फुकाइन्, खुसीका झङ्कारहरुलाई थप बढाइन् ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…