एउटै अस्ट्रिचको मूल्य ६० हजार, १९ बिघा जमिनमा ५ हजार दुई अस्ट्रिच, एक अर्ब बढीको लगानी

नेपालीका लागि अनौठो चरा ‘अस्ट्रिच’ पहिलोपटक भित्र्याएर ठूलो कृषि व्यवसाय गर्ने व्यक्ति हुनुहुन्छ बुटवलका सीपी शर्मा । कसैले सम्भावना नदेखेको र हात नहालेको व्यवसाय सुरु गर्न उक्त चरालाई उहाँले अस्ट्रेलिया र अमेरिकाबाट नेपाल भित्र्याउनुभएको हो । रुसमा अध्ययन गर्न जानुभएका उहाँ उतैबाट युक्रेनको भ्रमणमा जाँदा त्यो चरालाई पहिलोपटक देखेको बताउनुहुन्छ । त्यही समयदेखि यसलाई नेपालमा भित्र्याएर व्यावसायिक पालन गर्ने उहाँमा हुटहुटी चल्यो । बिल्कुल नौलो व्यवसायमा झन्डै एक अर्ब लगानीको जोखिम मोलेर सन्तुष्टि लिइरहेका शर्मासँग अस्ट्रिच कथा र कोरोना प्रभावबारे केन्द्रित रहेर गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक दीपक ज्ञवालीले गर्नुभएको पृथक् वार्ता :

तपाईं कोरोना सङ्क्रमण भएर पनि मुक्त हुुनुभएछ । बधाई छ ! अनि तपाइका अस्ट्रिचलाई चाहिँ कस्तो छ ?

धन्यवाद ! म सङ्क्रमणको धेरै दिनपछि निको भएँ । अहिले पूर्ण स्वस्थ भएको छु । मेरा चरा पनि स्वस्थ्य छन् तर कोरोनाकै कारण तीमध्ये धेरै बूढा भए । ती बूढा हुँदा म भने चौपट भएँ ।

भन्नाले ?

कोरोना त्रासपछिको यो अवधिमा अस्ट्रिचको मासु बिक्ने ठाउँ नै भएन । जसका कारण काट्ने उमेर पुगेका चरा काट्न सकिएन । काट्ने उमेर पुगेका झन्डै तीन हजार चरा बूढा भए । ती स्वस्थ त छन् तर मेरो खर्च बढिरहेको छ ।

किन खर्च बढ्छ र ?

लौ… यो झन्डै एक वर्षमा तिनले कति दाना खाए ? एउटाले मात्रै एक दिनमा दुई सय रुपियाँको दाना खान्छ । अरू कुराको हिसाब नगरौँ, तीन हजार बूढा चराले मात्रै वर्षमा कति रुपियाँको दाना खाए होलान् ? अर्को कुरा, काट्ने उमेर पुगेका चरा जति वर्ष पाले पनि मासु खासै बढ्दैन । मासु चाहिँ स्वस्थ नै हुन्छ । एउटा चरा मात्र पनि डेढ सय किलोको हुन्छ । भन्नुस् त त्यत्रा चरा नबिकेपछि के भयो होला ?

भनेपछि कोरोना कहरमा तपाईंको व्यवसाय पनि अति प्रभावित भयो ?

किन नहुनु नि ? धेरै प्रभावित भयो । हाम्रो पर्यटन केन्द्रित कृषि व्यवसाय हो । अस्ट्रिचको मासु बढी बिक्री हुने भनेकै पर्यटकीय क्षेत्र, ठूला होटल, विवाह, भोजभतेर र उत्सव हुन् । ती सबै ठप्प भएपछि कहाँबाट मासु खपत हुनु ?

अब त केही सुधार भएको होला ?

सुधार हुन थालेको छ तर पुरानै लयमा फर्किन त धेरै वर्ष कुर्नुपर्छ ।

कति पर्छ यो चराको मासुलाई प्रतिकिलो ?

फरकफरक मूल्य तोकेका छौँ । जस्तै, खुद्रा, हाडसहितकोलाई किलोको एक हजार ४५०, हाडबिनाको एक हजार ९५० र विशेष प्रकृतिको मासु खासगरी स्टार होटल र विशेष पर्यटकीय क्षेत्रका लागि दुई हजार ५०० मा बिक्री गर्दै आएका छौँ ।

अनि कसैले जिउँदै, सिङ्गै किन्न चाह्यो भने ?

कसैले सोखका लागि एकाध किन्न चाहन्छ भने एउटाको ६० हजार पर्छ । व्यावसायिक पालनका लागि किन्ने हो भने ४० हजार । यस्तो मूल्य चल्लाको हो ।

किनेका छन् त कसैले ?

किन नकिन्नु ? लकडाउनअघि त राम्रै बिक्री हुन्थ्यो जिउँदो पनि । हामीबाटै बिक्री भएर अहिलेसम्म देशका झन्डै ५० ठाउँमा पुगेका छन् यी चरा ।

कति छन् तपाईंको फार्ममा ?

अहिले पाँच हजार दुई सयवटा छन् । मैले अघि नै भनिसकेँ, तीमध्ये तीन हजारवटा पहिले नै काटिसक्नुपर्ने थिए ।

त्यति धेरैलाई पाल्ने जग्गा चाहिँ कति छ नि ?

अहिले १९ बिघा क्षेत्रफलमा चरालाई पालिएको छ । त्यो जग्गा कम्पनीको हो । केही जग्गा भाडामा पनि छ ।

कति भयो अहिलेसम्म लगानी ?

एक अर्ब भन्दा बढी रुपियाँ । प्रालि हो, दुई जना छौँ ।

तपाईं त अस्ट्रिचलाई नेपालमा भित्र्याउने पहिलो मान्छे । किन यस्तो जोखिम मोल्नुभएको ?

हो, यो चरा मैले नै नेपाल भित्र्याएको हुँ । फरक क्षेत्रमा लगानी गरेर फरक आनन्दसाथ निर्यातको सम्भावना र सफल हुने देखेर यस्तो सुरुवात गरेको हुँ ।

कहिले ? कहाँबाट ? कति भित्र्याउनुभयो सुरुमा ?

२०६५ सालमा अमेरिका र अस्ट्रेलियाबाट । सुरुमा एक हजार ५०० अण्डा र एक हजार चरा ल्याएका थियौँ ।

कहाँ देख्नुभएको थियो पहिलोपटक ?

युक्रेनमा पहिलोपटक देखेको हुँ सन् १९९२ तिर । त्यतिबेला म रुसमा अध्ययन गर्थें । त्यतैबाट भ्रमणका सिलसिलामा जाँदा देखेपछि यी चराबारे धेरै सोच्न थालेँ । नेपालमा पालनको सम्भावनाबारे अध्ययन गरेँ ।

यसको ठूलो विशेषता के हो ?

यसका विशेषता धेरै छन् । यो गाडीभन्दा छिटो दौडिन सक्छ तर हामीले यहाँ यसको प्रयोजन यसका शरीरका अङ्गहरूको प्रयोग र बिक्री वितरण हो । जस्तै, मासु, अण्डा, प्वाँख, छाला, हाडलगायतका अङ्गबाट बहुमूल्य सामग्री पनि बनाउन सकिन्छ । हामीले त्यस्ता सामग्री निर्माण गर्दै पनि आएका छौँ । जसप्रति देश विदेशमा निकै माग र आकर्षण छ ।

कस्तो छ दैनिकी ?

म हरपल प्यारा चरासँगै हुन्छु । तिनीहरूको स्याहारसुसार र उनीहरूसँगै हुँदा अति आनन्द लाग्छ । साहै्रै रमाइलो लाग्छ, मनमा शान्ति हुन्छ ।

कृषि क्षेत्रको अझ उन्नति र प्रवद्र्धनका लागि के गर्नुपर्ला ?

पछिल्लोपटक केही सकारात्मक अभ्यास सुरु भएका छन् । समीक्षा गर्दा के पाउँछु भने मैले गाडी ७ देखि ८ प्रतिशत ब्याज दरको ऋणमा पाउँछु तर कृषि फार्मका लागि १२ प्रतिशत ब्याज तिर्नुपर्छ । नयाँ नीतिका लागि बहस जरुरी छ । मलाई लाग्छ, नगद अनुदान गलत हो । बरु सुविधामा जोड दिनुपर्छ । जस्तो, कृृृषि उपकरण, लगानीमा ब्याज दर, उत्पादित वस्तुको बजार प्रवद्र्धनलगायत । व्यावसयिक कृषिलाई जोड दिने हो भने जमिनको हदबन्दीबारे पनि समीक्षा हुनुपर्छ ।

कतिलाई रोजगारी दिनुभएको छ ?

प्रत्यक्ष २५६ जनाले रोजगारी पाउनुभएको छ, अप्रत्यक्ष त झन् धेरैले ।

मंसिर २८, २०७७ गोरखापत्र अनलाइनमा प्रकाशित समाचार 

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…