गैंडा गणक टिममा सात महिला, ‘गैंडा गन्न हिँडेपछि फर्केर आउने ग्यारेन्टी हुँदैन’

२०७२, वैशाख १२ गते चितवन राष्ट्रिय निकुञ्जको घना जंगलमा एक सिंगे गैंडा गणना हुँदै थियो, अचानक हात्तीहरूले नौलो व्यवहार देखाउन थाले। अनुभवी माउतेहरूले हात्तीलाई ठाउँको ठाउँ सुताए। तर कौशिला मोक्तान चढेको हात्ती सुत्न नमानी दौडियो।

केहीबेरमा मात्रै माउते, गणकहरूले चाल पाए- भूकम्प गएको रहेछ। सौराहा सेक्टर अन्तर्गत सुनाचुरी पोष्टमा गेम स्काउट पदमा कार्यरत कौशिला मोक्तान गैंडा गणक थिइन्। गैंडा गन्न उनीहरू हात्ती चढेर जान्थे।

कौशिला चढेको हात्ती नियन्त्रणमा लिन त्यहाँ रहेका अन्य हात्ती र कर्मचारीलाई हम्मे-हम्मे भयो। अन्य हात्तीहरूले घेरा हालेर बल्ल–बल्ल त्यसलाई नियन्त्रणमा लिए। धन्न हात्ती अन्धाधुन्द दौडिँदा उनको घाँटीमा जेलिएका वनजंगलका लहरा संयोगले फुत्किए।

गैंडा गन्न जाँदा आएको भूकम्पपछि जंगलबाट बाहिर निस्कन सकस भएको त्यो बेलाका गणकहरू बताउँछन्। पाँच वर्ष अघि पहिलो पटक गैंडा गन्न जाँदा त्यस्तो घटना व्योहोरेकी कौशिलाको मनमा चिन्ताले डेरा जमाइरहेको छ।

‘त्यतिखेर अहिले जति कुराहरू पनि थाहा थिएन, अकस्मात भूकम्प आउँदा हात्ती पनि आत्तियो, म त झनै आत्तिएँ,’ उनले सुनाइन्, ‘धन्न बाँचेर फर्किएँ। अहिले सम्झँदा दोश्रो जन्म लिएको जस्तो लाग्छ।’

२०६९ सालदेखि चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कौशिला सोमबार पुनः गैंडा गन्न जान हात्ती चढ्ने तयारी गर्दै थिइन्।

उनलाई त्यो हात्ती चढेर पर्सा राष्ट्रिय निकुञ्जको जंगल भित्र जानु थियो। ‘हात्ती चढेर जान जति सजिलो छ त्यति सजिलो काम गर्न छैन, जंगल छिरेपछि फर्केर आउँछौं, आउँदैनौं ग्यारेन्टी हुँदैन,’ उनले भनिन्, ‘तै पनि आफ्नो काम त हामीले गर्नैपर्छ।’

उनका अनुसार गणना गर्दा गणकका लागि निश्चित ब्लक तोकिन्छ। तोकिएको क्षेत्र नसकिँदासम्म फर्कन पाइँदैन।

‘राती १०–११ पनि बज्न सक्छ, त्यो अवस्थामा अलि गाह्रो र जोखिम हुन्छ,’ उनले सुनाइन्। लामो समयसम्म हात्ती चढेर गणनाको काम गर्दा महिला र पुरूष दुवैलाई उस्तै खाले समस्या पर्ने कौशिला बताउँछिन्। घरपालुवा भए पनि हात्तीको पूर्णरूपमा भर मान्न नसकिने उनको अनुभव छ।

‘घरपालुवा नै भए पनि तिनले जनावरको व्यवहार त देखाएकै हुन्छन्, सबैले भनेको टेर्दैनन्, कतिपयले त माउतेले भनेको पनि टेर्दैनन्, लानुपर्ने ठाउँमा लानै सकिँदैन,’ कौशिला भन्छिन्, ‘आदेश नटेरेर रूख उप्काउने, चढेका मान्छेलाई झारेर भाग्ने पनि गर्छन्।’

जंगली हात्ती, बाघलगायतका जनावर नजिक आए भने जोखिम हुने उले बताइन्। उनका अनुसार जंगलभित्र हराउने सम्भावना पनि उत्तिकै हुन्छ। झाडीमा पसेपछि ट्रयाक बिर्सिन सकिन्छ, साथी छलिन सक्छन्।

‘जस्तो ठाउँ पनि हिँड्नुपर्ने हुन्छ। हात्ती त फसेर लड्न सक्छ, मान्छेको त के भर भयो र,’ उनले भनिन्, ‘आफ्नो सुरक्षा आफैले गर्नुपर्छ, कतिखेर के हुन्छ भन्ने भर नै हुँदैन।’

हात्ती चढ्दा त्यसमाथि राखिएको गद्धामा बलियोसँग बाँधिएको डोरीलाई गणकले समात्छन्। ‘त्यसलाई कुनै हालतमा छोड्न हुँदैन, आफ्नो सुरक्षा आफैले गर्दै अघि बढ्ने हो,’ उनी भन्छिन्। खतरालाई मध्यनजर गर्दै सुरक्षाका लागि हात्तीमा सवार हुनेहरूको जीवन बिमा गरिएको हुन्छ।गणकहरूसँग वाकीटकी सेट हुन्छ।

यसको माध्यमबाट उनीहरूले करिब २०० मिटरको दूरीमा रहेका साथीहरूसँग सम्पर्क गर्न सक्छन्। यसबाहेक सञ्चारको सुविधा त्यहाँ हुँदैन। त्यसैले टिमबाट अलग हुनै हुन्न।

‘सकेसम्म समन्वय गर्दै अघि बढ्ने गर्छौं,’ कौशिलाले भनिन्। गैंडा गन्ने गणकका लागि राष्ट्रिय निकुञ्जले जंगलमै खानाको व्यवस्था गर्दिन्छ। प्रत्येक हात्तीका माउते र गणकका लागि एक/एक जना व्यक्तिको व्यवस्था मिलाइएको छ।

कौशिलासँग यसपटक वन विज्ञान विषय पढ्दै गरेकी आस्था पौडेल पनि गैंडा गन्न जाँदै छिन्। ‘पहिलो पटक जाँदै छु हेरौं कस्तो हुन्छ,’ उनले भनिन्, ‘गैंडा गणनामा सहभागी हुन पाउँदा उत्साहित छु।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार यस पटकको गैंडा गणनामा कौशिला र आस्थासहित ७ जना महिलाहरु सहभागी छन्।

रेञ्जर पदमा कार्यरत सविता थापा, किना केसी र स्मृती लामा, सिनियर गेम स्काउट प्रतिमा चौधरी र वन विज्ञान संकायकी विद्यार्थी आरती पौडेल गैंडा गणनामा खटिएका छन्।

अघिल्लो पटकको गणनामा कौशिलासहित ४ जना महिला सहभागी थिए। निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचनाअधिकारी रहेका पर्यावरणविद् हरिभद्र आचार्यले जीव माथि बसेर घण्टौंसम्म गणनामा सहभागी हुनु सानो कुरो नरहेको बताए।

‘यस्तोबेला बाघसँग जम्का भेट हुन सक्छ, त्यस्तै अरू जनावरसँग भेट भएर खतरा हुनसक्छ,’ उनी भन्छन्, ‘हामीले यी कुराहरूमा सकेसम्म सावधानी अपनाउँदै गणना गर्ने गरेका छौं।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गणनाक्रममा असहज, जोखिम नहोस् भनेर सहभागी सबैका लागि तालिम दिइएको बताए।

‘निकुञ्जमा कार्यरत कर्मचारीका दुःख त धेरै छन्। कहिलेकाहीँ चौबिसै घण्टा पनि काम गर्नुपर्ने आवस्था आउँछ,’ उनी भन्छन्, ‘उनीहरू जस्तोसुकै जोखिम मोलेर काम गर्न तयार छन् तर सरकारले उनीहरुको मनोबल बढाउन सकिरहेको छैन।’

उनले अन्य निजामति सेवामा भन्दा बढी दुःख हुने भएपनि सेवा सुविधा समान हुने गरेको गुनासो गरे। ‘यसो हुँदा यहाँको दुःख छाडेर अन्य कार्यालयको सुख खोज्नेको संख्या बढ्दैछ,’ उनले भने, ‘छिटो–छिटो सरूवा मागेर अन्यत्र जान खोज्नेक्रम बढेको छ।’

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…