भारतको दादागिरी कायमै : पत्राचार गरे पनि अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम

काठमाडौँ। नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो ।

गत पुसमै महाकालीको धार बदलिने गरी काम थाल्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले रोक्न भन्दै पत्राचार गरेको थियो । त्यसको बेवास्ता गर्दै भारतले करिब एक सय २० मिटर लामो तटबन्ध निर्माण गरिसकेको छ । अझै करिब २०–२५ मिटरमा जग राख्ने काम भइरहेको छ । महाकालीको धार नेपालतर्फ फर्काएर संरचना निर्माण गरिरहेकाले बर्खामा बाढी र कटानको जोखिम बढेको छ ।

महाकाली पारिको नेपाली भूमिमै भारतले तटबन्ध बनाउन सुरु गरेपछि पुस २५/२६ गते नापी विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । तर परराष्ट्रले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । नेपालको कति क्षेत्रफलमा भारतले तटबन्ध बनाएको भन्नेबारे स्थलगत अध्ययन गर्न आएको टोलीको नापी विभाग प्रमुख दयानन्द जोशीले नेतृत्व गरेका थिए । ‘हामीले स्थलगत अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाइसक्यौं,’ उनले भने, ‘त्यसबारे बुझ्न परे उतै सोध्नुस् ।’

परराष्ट्र प्रवक्ता सेवा लम्सालले भने नापीको उक्त प्रतिवेदनबारे जानकारी नै नभएको बताइन् । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यसबारे अहिले कुनै जानकारी प्राप्त नभएको बताए । ‘महाकालीमा तटबन्धका कुरा तीन महिनाअघिकै हुनुपर्छ’ मन्त्री ज्ञवालीले भने, ‘हिजोआजकै कुरा हो भने मन्त्रालयमा थप अपडेट लिएर मात्र भन्न सक्छु ।’

‘२०७० को बाढीअघि नदी बग्ने क्षेत्रबारे स्थानीयसँग बुझ्दा र नापी कार्यालयमा रहेको नक्सा हेर्दा भारतले करिब २५–३० मिटर वरसम्मको नेपाली भूभागमा तटबन्ध निर्माण गरेको देखिन्छ,’ महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले भने । दार्चुलाका महाकाली छेउका स्थानीयले पनि नदीले धार परिवर्तन गर्दा नेपालको भूभाग भारततिर गएको बताए । गल्फैका स्थानीय लोकमणि ठगुन्नाका अनुसार नदी किनारमा गाउँलेले खेल्ने पूरै भाग हाल नदीपारि गइसकेको छ । भू–संरक्षण कार्यालय र त्यसको वरपट्टिको भाग नदीपारि सरेको छ ।

२०७० असारको बाढीपछि नेपालले महाकाली किनारमा पक्की तटबन्ध निर्माण गर्दा अन्तर्राष्ट्रिय मान्यताअनुसार काम सुरु गरेको थियो । भारतले भने एकलौटी रूपमा काम अघि बढाएको स्थानीयको गुनासो छ । विगतमा पनि भारतले महाकाली किनारमा नदीको धार परिवर्तन हुने गरी संरचना राखेकाले सदरमुकाम क्षेत्रमा नेपालतिर बढी क्षति भएको नेपाली अधिकारीहरूको बुझाइ छ ।

तत्कालीन समयमा स्थानीयले त्यसको विरोध गरे पनि भारतले अटेर गरी ‘स्कर्ड’ (किनारामा नदीको पानी रोक्ने संरचना) निर्माण गरेको घाटबजारका बासिन्दा जयभानसिंह बडालले बताए । ती ‘स्कर्ड’ ले गर्दा बँगाबगड र पुलघाट क्षेत्रमा महाकाली बाढीले क्षति पुर्‍याएको छ । अहिले अस्पताल पारिपट्टि नदीको धार परिवर्तन गरेर भारतले तटबन्ध बनाइरहेको छ ।

उक्त क्षेत्रमा दिनहुँजसो एक्स्काभेटरले नदी छेउमै पुगेर पानीलाई नेपालतर्फ फर्काएर तटबन्धको जग खनिरहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । उक्त संरचनाबारे भारतमै गएर कस्तो प्रविधि र मोडलको तटबन्ध निर्माण भइरहेको हो भन्नेबारे नेपाल पक्षले अहिलेसम्म बुझ्न सकेको छैन । नजिकै नेपालबाटै हेरेर ‘पीसीसी मोडल’ मा बाँध राखिरहेको भन्न सकिने महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले बताए । ‘हाम्रोतर्फ नदी किनारबाट ५–७ मिटरभित्र तटबन्ध निर्माण गरी भारतले नदीको धार नै परिवर्तन गरिरहेको छ,’ उनले भने, ‘अहिले नदीमा पानी कम छ, वर्षात्मा पानीको मात्रा अधिक हुँदा यसले हाम्रोतर्फ तटबन्ध सुरक्षाका लागि बनाएको संरचनामा क्षति गर्न सक्ने सम्भावना धेरै छ ।’

सीमामा बसेर हेर्दा एकलौटी रूपमा भारतले मिचेको दृश्यले ‘बडा बिजोग लागेको’ नेपाली अधिकारीहरू बताउँछन् । रोक्न भनेर प्रशासनदेखि मन्त्रालयबाट भारतलाई पत्राचार गरे पनि फिल्डमा हेर्दा केही पहल नभएकोमा उनीहरू दुःखी छन् । ‘नेपाल–भारतको ज्वाइन्ट स्टेडिङ टेक्निकल कमिटीले भारतसितको सीमा निर्धारण गरिसकेको छ, त्यसैका आधारमा सीमामा संरचना निर्माण हुनुपर्ने हो, यहाँ त त्यो हुन सकेको छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय सीमा नदीको वारिपारि नेपाल–भारतको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन् ।

अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने नेपाली अधिकारीहरूको भनाइ छ । यसरी नै संरचना निर्माण भए हाम्रोतिर बनेको संरचनामा क्षति हुने सम्भावना रहेको स्थानीय एवं सेवानिवृत्त पूर्वसिनियर इन्जिनियर महेन्द्रप्रसाद बडूले बताए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…