चीनमा नेपाली कलाकारले बनाएको चित्र निकै प्रसिद्ध, दस लाख डलर पाउँदा पनि बेचेनन चिनियाँले

चीनमा नेपाली कलाकारले बनाएको एउटा चित्र निकै प्रसिद्ध छ। जसरी मोनालिसाको चित्रको नक्कल उतारेर मान्छेहरूले सजाउँछन्, त्यसरी नै त्यसको नक्कल उतारेर आफ्नो घर, मोबाइल अनि ल्यापटपका स्क्रिनहरू मान्छेले सजाएका छन्।

एक जनाले त दस लाख डलर (करिब एघार करोड रूपैयाँ) बराबरमा त्यो चित्र किन्छु भनेछन्। तर पनि किन्न पाएनन्।

भाषा र भूगोलको दुरी कलामार्फत् कम बनाइदिएको त्यस चित्रका सर्जक हुन्, राजप्रकाश तुलाधर। र, त्यो चित्र हो, ‘ग्रीन तारा’ जसलाई नेपालीमा आर्य तारा भनिन्छ।

आर्य तारा भन्नासाथ हरियो अनुहार र ज्यान भएकी, एक हातमा निलो र अर्कोमा रातो फूल समाउने भगवान हुन्। आर्य ताराको आँखाले एकदम मायालु दृष्टिले हेरेको हुन्छ भन्ने दर्शनशास्त्र छ।

उनको एउटा खुट्टा माथि र एउटा तल हुन्छ। आर्य ताराले हरेक जीवलाई आफ्नो सन्तानसरह स्याहार गर्छिन् भन्ने मान्यता छ। बोधिसत्वहरू जस्तोसुकै समयमा आर्य तारा मद्दतका लागि पुग्छिन् भन्ने विश्वास राख्छन्। त्यसैले उनको बसाइ मुद्रा एक खुट्टा उठ्न सहज हुने शैलीमा तयार पारिने चित्रकारहरू बताउँछन्।

आर्य तारा तिब्बत र मंगोलियामा समेत संरक्षक देवीका रूपमा पूजनीय छन्। ती देवीले कुनै रोग, कष्ट भएमा पन्छाइदिने, केही कुराको डर भए हटाइदिने, कुनै पनि विपत कटाइदिने विश्वास छ।

‘हामी चित्रकारले चित्र बनाउँदा त्यसको आइकोनोग्राफी बिगार्नु हुँदैन। तर यसमा शैली भने अलिकति मोडिफाइ गरेको थिएँ,’ चित्रकार राजप्रकाशले सेतोपाटीसँग भने।

चित्रको पृष्ठभूमिमा पनि उनले ध्यान पुर्‍याएको देखिन्छ। निलो आकाश एकदम शान्त छ, जसमा पूर्णिमाको चन्द्रले शितलता थपेको छ। मुनि पानीमा पनि त्यही शितलता प्रतिबिम्बित छ। केही फूलहरू छन्, कुनै फूलिसकेका, कुनै कोपिला।

‘यो चित्र हेर्दा मान्छेलाई आनन्द, खुसी अनि शितलता आओस् भन्ने हिसाबले बनाएको थिएँ। सायद, मान्छेलाई त्यही कुराले छोयो,’ उनले भने, ‘त्योबेला मैले यो चित्र प्रसिद्ध हुन्छ भन्ने सोचेर बनाएको थिइनँ। कलाकारका रूपमा मेरो दिमागमा जे आयो, त्यही बनाएँ।’

यो चित्र राजप्रकाशले सन् २०१३ सालमा बनाएका हुन्। उनले नेपालकै एक व्यापारीलाई बेचेका थिए। व्यापारीमार्फत यो चित्र चीन, बेइजिङका एक व्यक्तिसम्म पुग्यो। ती चिनियाँ नेपाली पौभाः मन पराउँथे। चित्र संकलन गर्थे।

ती संकलक बेइजिङकै महोत्सवहरूमा चित्र एवं हस्तकला किन्न पुगिरहेका हुन्थे। एकदिन उनले महोत्सवमा नेपाली कलाहरू देखे। उनलाई लागेछ– यस्तो राम्रो कला सिर्जना हुने ठाउँमा त पुग्नैपर्छ।

त्यही सोचले उनी घुम्दै नेपाल आए। ठमेलतिर घुमे। यहाँ चिनजानका व्यापारीसँग उनले विभिन्न चित्र किने। अन्तिममा उनको आँखा एउटा पौभाः चित्रमा अडियो। त्यो राजप्रकाशको त्यही आर्य तारा थियो।

‘मैले सुरूमा व्यापारीलाई एक लाखमा बेचेको थिएँ। पछि चिनियाँले कतिमा किने, थाहा भएन,’ राजप्रकाशले भने।

त्यो चित्र किनेर लगेका चिनियाँ संकलकले सन् २०१४ मा चीनमै प्रदर्शनी गरे। चित्र संकलकले आफ्ना निजी संकलनमा रहेका चित्र घरमा आफू र आफन्तमै सीमित भएपछि धेरैसामु पुर्‍याउन र महत्व बढाउन प्रदर्शनी गरेका थिए।

राजप्रकाश पनि उक्त प्रदर्शनीमा पुगेका थिए। उनको चित्रको खुबै चर्चा भयो। एक व्यक्ति त त्यो चित्र हेर्न दैनिकजसो पुग्थे। चित्रधनीसँग कुराकानी पनि गर्थे। ती व्यक्ति र चित्र धनी चिनियाँ भाषामा बोल्थे। बोली नबुझ्ने भएकाले राजप्रकाश त्यहीँ भए पनि त्यति चासो दिन्थेनन्।

पछि एकजनाले उनलाई सुनाएछन्, ‘तपाईंले बनाउनुभएको चित्रलाई एक मिलियन डलर दिन्छुभन्दा पनि चित्रधनीले बेच्नुभएन नि।’

राजप्रकाशले त्यो चित्र बेचिसकेका थिए, अब कति भाउमा बिक्छ वा बिक्दैनमा सरोकार थिएन। बरू चित्रलाई यति धेरै माया गर्ने मान्छेसँगै रहँदा उनी दंग परे।

एक वर्षमै आफूले एक लाखमा बेचेको चित्रको मूल्यांकन दस लाख डलर भएर चीनमा प्रसिद्ध भइसकेको थियो। मान्छेहरूले त्यसलाई यतिसम्म मन पराए, एक चिनियाँले आफ्नो घरलाई नै डिस्प्ले जस्तो बनाएर सिसै-सिसाको घर त्यही चित्रले सजाए।

सामान्यतयाः आफूले बनाइसकेका चित्र कलाकारले बारम्बार बनाउँदैनन्। राजप्रकाशले भने उक्त चित्र दुई वर्षअघि फेरि बनाए, तिनै चिनियाँ संकलकको अनुरोधमा।

आफ्नो निजी संकलन भएकाले ती चिनियाँले त्यो चित्र एक कोठाको भित्तामा सजाएका छन् जसलाई उनी दैनिक हेर्छन्। जब त्यो प्रदर्शनीमा लगिन्छ, त्यो भित्ता खाली हुन्छ।

‘उनलाई त्यो भित्ता खाली गर्न मनलागेन भनेर अर्को चित्र बनाइदिन अनुरोध गरे। त्यसैले मैले बनाएँ,’ राजप्रकाशले भने, ‘चित्र हेर्दा उस्तै लाग्ला, तर नक्कल भएकाले धेरै फरक हो।’

यी दुई चित्र नियालेर हेर्दा थाहा हुन्छ, पहिलेको अलि हल्का रङमा बनेको छ भने पछिको गाढा हरियो।

आफ्नो चित्रलाई विदेशीले यति महत्व दिइरहँदा नेपालमा भने कलालाई त्यति महत्व नदिएको ठान्छन् राजप्रकाश।

नजिकको हेला टाढाको मेला भन्ने हाम्रो उखानै छ नि,’ उनले भने, ‘जबसम्म विदेशीले त्यसलाई हेर्दैनन्, राम्रो हो भन्दैनन्, तबसम्म हामी त्यसलाई महत्व दिन्नौं। हामीसँग भएको कुराको महत्व पनि विदेशीले आएर बताइदिनुपर्छ।’

उनले चित्र यात्रा सुरू गर्दादेखि नै यो अनुभव भोगेका हुन्। अर्का प्रसिद्ध पौभाः कलाकार समुद्रमान श्रेष्ठ र उनी मिल्ने साथी भएकाले एकअर्काको चित्र बेच्न सँगै हिँड्थे। उनको घर नरदेवीमा थियो, समुद्रको रक्तकालीमा। जसको चित्र सकिए पनि बोकेर उनीहरू ठमेलतिर लम्किन्थे।

तर किन्नेले चित्रको महत्व बुझ्थेनन्। उनीहरूले दुई हजार मूल्य राखे भने दुई सय दिन्छु भन्थे।

‘त्यो चलन त अहिले पनि छ,’ उनले भने, ‘जबसम्म मान्छेको नाम चल्दैन र चिनिँदैन, हाम्रो समाजमा मान्छेलाई होच्याउने प्रवृत्ति कायमै छ।’

४५ वर्षीय राजप्रकाशको जन्मथलो नरदेवी भएकाले ठाउँ र त्यहाँ हुने सांस्कृतिक गतिविधिले नै उनलाई कलातर्फ अकर्षित गरेको हो। त्यसमाथि उनको पारिवारिक पृष्ठभूमि संस्कृतिले भिजेको छ। जात्रापर्वहरू त भइहाले, बाजादेखि गुठी पूजामा पनि उनको परिवार सामेल हुन्छन्।

चित्र बनाउनुबाहेक राजप्रकाश बाजाका गुरू पनि हुन्। गुँला पर्वका समयमा उनको समूह स्वयम्भूसम्मै बाजा बजाउँदै पुग्छन्, नरदेवीको देवीनाचमा टोलटोलमा नाच लिएर पुग्छन्। कला होस् या बाजाबाट, उनी संस्कृतिसँग जोडिइरहेका हुन्छन्।

सानो छँदा उनका आँखा मन्दिरका कला, भगवानका अनुहार, आँखा, तिनले लगाउने गरगहनामा बढी पुग्थे। त्यसलाई घर आएर उनी कागजमा उतार्थे। कक्षामा शिक्षकहरूले पढाइरहँदा विभिन्न आकृति कोरेर बस्थे। पढाइभन्दा चित्रमा रूचि र घुम्दै हिँड्ने भएपछि शिक्षक र परिवारको गाली–कुटाइ खाइरहे। तर चित्र बनाउन छाडेनन्।

पछि प्रख्यात पौभाः चित्रकारहरू प्रेममान चित्रकार, दीपक जोशी लगायतले खोलेको परम्परागत कलाकार संघसँग जोडिए। भगवानबारे अध्ययन गरेरै चित्र कोर्न थाले।

‘त्यहाँ भगवानका रङ संयोजन, आइकोनोग्राफी, इतिहास लगायत कुरा सिकियो,’ उनले भने, ‘त्यसपछि हामीले आफ्नै शैलीहरू बनाउन थाल्यौं।’

उनले थप भने, ‘धेरैले चित्रहरू नक्कल गरेर बनाउँथे। व्यावसायिक भएपछि हाम्रो कलाकार समूहले पुरानै धारमा बसेर नयाँ शैलीका चित्र बनाउने सल्लाह गर्‍यौं र बनाउन थाल्यौं। सधैं एकैनास चित्र देखिरहेका मान्छेले अलिकति फरकपन देखे, मन पनि पराए।’

आर्य तारा यही परिवर्तित शैलीमा बनेको चित्र हो।

राजप्रकाशले अहिलेसम्म बढीमा १५ लाखसम्म आफ्नो चित्र बेचेका छन्। त्यो चित्र यमराज र उनकी बहिनीको कथामा आधारित थियो।

त्यस्तै, ‘चन्द्रमहारोसन’ नामक चित्र एक बेलायतीले किनेर अमेरिकाको रूबिन म्युजियम पुर्‍याएका छन्। दस लाख डलरमा पनि आर्य तारा चित्र नबेचेका चिनियाँ संकलकले त खोजीखोजी राजप्रकाशका अन्य चित्र पनि संकलन गरिरहेका उनी बताउँछन्।

राजप्रकाशका चित्रले झैं कलाले चीन र नेपालको सम्बन्ध जोडेको लामो समयअघिदेखि हो। जसरी अहिले नेपालका व्यापारिक इलाकामा चिनियाँ भाषा चल्तीमा छ, अरनिको पालातिर चीनमा हाम्रो संस्कृति पनि विस्तार भएको थियो।

त्यहाँ हाम्रो कला सामग्री त पुगे नै, मठ–मन्दिर अनि किताबमा समेत हाम्रो रञ्जना, प्रचलित लगायत लिपिहरू देव अक्षर भन्दै लेखिनेक्रम बढ्यो।

‘पहिले हामी संस्कृतिमा धेरै माथि थियौं। समयअनुसार तल हुँदै गयौं,’ राजप्रकाश भन्छन्, ‘हाम्रा वेद, पुराण लगायत ग्रन्थ पहिले एक जातमा मात्र सीमित हुँदा अर्कोले सिक्ने मौका पाएन। त्यहाँभित्रको ज्ञान लिने कुरा सीमित भएपछि विस्तारै हराउँदै गयो। हामी तल पर्दै गयौं।’

राजप्रकाशको धारणामा एउटा मूर्ति, एउटा पेन्टिङ भनेको एउटा सिंगो वृत्तचित्र हो। त्यसलाई जति हामीले बेवास्ता गर्दै गएका छौं, विदेशीहरूले खोजीखोजी माया गरिरहेका छन्। त्यसभित्रको ज्ञानको महत्व बुझेकाले सिक्न भनेर उनीहरू पैसा खर्चेर नेपाल आउँछन्। हामी भने पैसा कमाउन विदेश पुग्छौं।

‘हामीसँग भएका कुरा गुम्न लागेपछि बल्ल झस्किएका छौं र संरक्षणमा लागेका छौं,’ राजप्रकाशले भने।

पछिल्लो समय उनी कुर्कुल्ला देवी र पद्मसम्भवको ‘वाक–काय–चित’ अर्थात् बोली–दिमाग–मनसँग जोडिएको चित्र बनाइरहेका छन्। तर जसरी आर्य ताराले आफूलाई चिनायो, अन्य चित्रलाई भने लामै समय लाग्ने उनले ठानेका छन्।

के उनलाई अहिले त्यो प्रसिद्ध चित्र आफूसँगै भइदिएजस्तो हुन्न?

‘खासै त्यस्तो हुन्न। आफूसँग भएको भए मेरो कोठामै सीमित हुन्थ्यो। बाहिर पुगेरै त यसले प्रतिष्ठा पाएको हो,’ उनले भने, ‘अब त्यसको जति नै मूल्य तोकिए पनि त्यो आफैंमा अमूल्य भइसकेको छ।’

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…