‘दाहाल-नेपाल समूहलाई सडकमा राखेर निर्वाचनमा जान खोजे अर्को द्वन्द्व हुन्छ : सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई सडकमा राखेर निर्वाचनमा जान खोजिए मुलुक अर्को राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले नेकपा र नेकपाको चुनाव चिह्न सूर्यलाई फ्रिज गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै निर्वाचन आयोगमा दर्ता भएको एमाले लिई चुनावमा जान खोजेको पनि बताए । यसो गर्दा दाहाल–नेपाल समूहले निर्वाचनमा भाग नलिने र त्यसले नयाँ द्वन्द्वतर्फ मुलुक धकेलिने चिन्ता उनले प्रकट गरे ।

सिटौलाले लोकतन्त्र र संविधानवादको रक्षाका लागि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको औपचारिक निर्णय लिनुपर्ने धारणा राखेका थिए । ‘पुस ५ गते पार्टीले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्छ । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेपछि त्यसलाई सच्याउने भनेको पुनःस्थापना नै हो,’ उनले भने, ‘हामी लोकतन्त्र र संविधानको रक्षाका लागि उभिएनौं र भोलि लोकतन्त्र संकटमा पर्‍यो भने त्यो कलंकको भारी कांग्रेसले पनि बोक्नुपर्ने हुन्छ, नेतृत्वले विचार गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले निष्पक्ष निर्वाचन गर्छन् भन्नेमा विश्वस्त नरहेको भन्दै उनले थपे, ‘संविधान, लोकतन्त्र र शान्ति प्रक्रियालाई बचाउन प्रतिनिधिसभा पुनःस्थापना नै विकल्प हो ।’ उनले यसो भन्दा सभापति शेरबहादुर देउवाले पटकपटक विचाराधीन मुद्दा भएकाले पुनःस्थापनाका विषयमा बोल्न नहुने बताइरहेका थिए ।

‘प्रधानमन्त्रीले अदालतमा विचाराधीन रहेको अफताब आलमको मुद्दामा बोल्न मिल्ने, हामीले अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउनुपर्छ भनेर बोल्न नमिल्ने ?’ सभापतिलाई उनको जवाफ थियो । सिटौलाले प्रदेश १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मत हाल्नुपर्ने बताएका थिए । ओली नेतृत्वको नेकपालाई प्रदेश सरकारमा पनि साथ दिन नसकिने उनको भनाइ थियो ।

अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचनका बारेमा पनि पार्टीले धारणा राख्न नहुने बताए । सभापति देउवाले सोमबार बुटवलमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले विचाराधीन मुद्दामा निर्वाचनको पक्षमा पार्टीले दृष्टिकोण बनाउन नहुने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘कोर्टको निर्णय आउनुअघि निर्वाचनका बारेमा पार्टीले अर्ली धारणा किन बनाउने ?’ सिंहको भनाइ थियो, ‘कांग्रेस चुनावको पक्षमा छ भनेर कोर्टलाई किन सन्देश दिने ?’

बैठकले केन्द्रीय महाधिवेशन आगामी भदौ ७–१० गते नै हुने गरी बुधबारको बैठकमा प्रस्तुत कार्यतालिकालाई सामान्य परिमार्जन गरेर अनुमोदन गरेको छ । जसअनुसार वडाको असार ५, गाउँ र नगरपालिकाको असार ७, प्रदेश निर्वाचन क्षेत्रको साउन १, प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाको साउन ३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको साउन ६, प्रदेश अधिवेशन साउन १० र ११ गते तोकिएका छन् ।

यसैबीच, पार्टी क्रियाशील सदस्यता छानबिन समितिमा केन्द्रीय सदस्य रमेश लेखकलाई संयोजक बनाइएको छ । सदस्यता वितरण, नवीकरण, विवादित सदस्यको छानबिनलगायत सबै कामको टुंगो लगाउन केन्द्रीय कार्यसमितिले बिहीबारदेखि समितिलाई जिम्मा दिएको छ ।

पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण नवीकरण र वितरणमा ढिलाइ हुँदै आएको छ । समितिमा आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरी सदस्य छन् । क्रियाशील सदस्यताको सम्पूर्ण विवाद टुंगाएर प्रतिवेदन केन्द्रीय सभापतिलाई बुझाउन बैठकले जेठ १७ सम्मको मिति तोकेको छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…