गौतमवुद्ध रंगशाला : उधारो ९ करोड नाघ्यो, महायज्ञमा कबोल गर्नेहरुले अझै रकम दिएनन्

१५ माघ, चितवन । रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा पुग्दा सीताराम कट्टेल ‘धुर्मस’को मुहारमा पहिलाको जस्तो चमक देखिँदैन ।

रंगशाला निर्माणको नेतृत्व गरिरहेका धुर्मसलाई पछिल्ला दिनमा आर्थिक संकटले निकै सताउन थालेको छ । रंगशाला निर्माणमा बजेटको अभाव हुँदा न उनले सोचे जसरी कामलाई अघि बढाउन सकेका छन्, न रकमको जोहो हुने निश्चित स्रोत छ । बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेको छ । उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था छ ।

‘विहान उठेदेखि राति सुत्ने बेलासम्म आपूर्तिकर्ताको फोन आउँछ’ धुर्मस भन्छन् ‘उहाँहरुलाई गाह्रो छ, एकैठाँउमा रकम थुप्रिदा उहाँहरुलाई पनि समस्या भएकै छ ।’ धुर्मुसका अनुसार एउटै व्यवसायीको साढे तीन करोड रुपैयाँ उधारो तिर्नु छ ।

धुर्मस सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार रंगशाला निर्माणका क्रममा खरिद गरेको सामानको उधारो मात्र ९ करोड ३३ लाख पुगिसकेको छ । रंगशाला निर्माणमा खटिएका मजदुरलाई रकम दिन गाह्रो हुन थालेको छ ।

दसै‌, तिहार र छठमा कामदारलाई ज्याला दिने रकम नभएपछि सहकारीबाट ऋण लिनु परेको फाउन्डेसनका अध्यक्ष धुर्मुस दुखेसो पोख्छन् । उनका अनुसार चितवनको समृद्धि सहकारीबाट ३० लाख र काठमाडौंको जेष्ट आइडोलोजी सहकारीबाट ६० लाख रुपैयाँ ऋण लिइएको छ ।

रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संख्या घटाउन थालिएको छ । पहिले ३१३ जनासम्म कामदार थिए, अहिले १६१ जनामा झरेको छ ।

धुर्मुसलाई रंगशालाको काम छिटो सकेर कलाकारितामा फर्किन पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । तर अवस्था भने आर्थिक अभावकै कारण रंगशाला निर्माणमा ढिलाइ हुन थालेको छ । जनस्तरबाट स्वःस्फूत उठ्ने अपेक्षा गरिएको रकम र सहयोग कोरोना भाइरस (कोभिड–१९) का कारणले उठ्न सकेको छैन ।

गत बर्ष माघ–फागुनसम्म दैनिक ७/८ लाख रुपैयाँ सहयोग उठ्यो । रंगशाला निर्माणस्थल हेर्न पुग्ने, सहयोग गर्नेहरुको संख्या उल्लेख्य हुन्थ्यो, त्यो देख्दा धुर्मस खुसी हुन्थ्थे । तर अहिले अवस्था फेरिएको छ । धुर्मस भन्छन्, ‘टाढाटाढाबाट सहयोगी मनहरु बस रिर्जभ गरेर सहयोग गर्ने आउँथे, अहिले सुनसान जस्तै छ ।’

फाउण्डेसनका अनुसार रंंगशाला निर्माण सुरु गरेयता ३९ करोड ३ लाख ४ सय ९९ रुपैयाँ खर्च भइसकेको छ । आम्दानी भने ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ मात्र छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन गत बर्ष माघ १९ देखि २६ सम्म लगाइएको महायज्ञमा ६९ करोड रकम घोषणा भयो । त्यो रकम आएको भए पनि आहिले आर्थिक संकट हुने थिएन ।

फउण्डेसनका अनुसार कबोल गरिएको ६९ करोडमध्ये ८ करोड ८४ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ मात्रै प्राप्त भएको छ । जिन्सी सहयोगलाई नगदमा रूपान्तरण गरिएको एक करोड ३ लाख २३ हजार ६२८ रुपैयाँ मात्रै प्राप्त छ । ‘महायज्ञबाट ६९ करोड हामीले पाइसक्यौं भन्ने आम जनतालाई परेको छ’ धुर्मस भन्छन्, ‘तर हामीले नगद र जिन्सी गरी करिब १० करोड रुपैयाँ मात्र पाएका छौं ।’

घोषणा गरेको रकम नदिनेमा सांसददेखि ठेकदारसम्म

रंगशाला निर्माणका लागि सहयोग जुटाउन महायज्ञ गर्ने धान्याचल समितिको स्मारिकामा उल्लेख भएअनुसार महायज्ञमा गएर बोल्ने तर बर्षदिनसम्म रकम नदिनेमा सरकारी निकायका प्रमुख, सांसद र ठेकदारसम्म छन् । महायज्ञकै जिम्मेवारी लिएकाहरुले समेत अहिलेसम्म रकम दिएका छैनन् ।

बागमती प्रदेश सरकार ३० करोड, भरतपुर महानगरपालिका १२ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँँ, गैंडाकोट नगरपालिका र एलपी ग्याँस उद्योगले १/१ करोड, जिल्ला समन्वय समिति महासंघले ७७ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले ५५ लाख, माडी नगरपालिकाले ३० लाख, कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५५५ रुपैयाँ र नेपाल पोल्ट्री महासंघले कबोल गरेको २० लाख रुपैयाँ दिन बाँकी छ ।

त्ननगर नगरपालिकाले ७ लाख र राप्ती नगरपालिकाले ४ लाख दिन बाँकी छ । प्रदेश सभाका सांसद मिलनबाबु श्रेष्ठ २ लाख १ हजार रुपैयाँ, सांसद गीता वाग्लेले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, राष्ट्रियसभा सांसद कोमल ओलीले ५५ हजार ५ सय ५५ रुपैयाँ, सांसद बालराम पौडेलले ५५ हजार ५ सय ५५ रुपैयाँ, सांसद उमेश श्रेष्ठले ११ लाख ५१ हजार, सांसद अन्जनी श्रेष्ठले ५१ हजार, सांसद रिना गुरुङले ५० हजार दिन बाँकी छ ।

यस्तै ठेकदार शारदाप्रसाद अधिकारीले ५ लाख ५५ हजार ५ सय, नेकपा वागमती प्रदेश अध्यक्ष नारायण दाहालले २ लाख ५ हजार, उद्योग संघ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडीले २ लाख, पुरानो मेडिकल कलेज भरतपुरका प्रमुख भीप्रसाद नटराजले २० लाख रुपैयाँ दिन बाँकी छ ।

घोषणा गरेको सहयोग जुटाउन फाउण्डेशन र तत्कालिन महायज्ञ मूल आयोजक समितिका सदस्य लागेका छन् । फाउण्डेशनका लेखा प्रमुख तिमिल्सिना भन्छन्, ‘कतिपयलाई फोन गर्दा त कबुल नै बिर्सिसकेको समेत पाइयो ।’

रंगशालाको लागत करिव ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । फाउण्डेसनका अनुसार हालसम्म जनस्तरबाट ७ करोड ३४ लाख ८४ हजार रकम सहयोग प्राप्त भएको छ ।

यस्तै भरतपुर महानगरपालिकाले ८ करोड, बागमती प्रदेश सरकारले ३ करोड, हेटौंडा उपमहानगरपालिकाले ३० लाख, इच्छाकामना गाउँपालिका, चितवनले ११ लाख ११ हजार, रत्ननगर नगरपालिकाले ९ लाख ८५ हजार र राप्ती नगरपालिले ५ लाख रकम सहयोग गरेको छ ।

कहाँ पुग्यो त काम ?

रंगशालाको मैदानले आकार लिइसकेको छ । प्याराफिट ए र बी निर्माण भइरहेको छ । दुबैतर्फ २८६ पिल्लर उठेका छन् भने पर्खाल लगाउन काम भइरहेको छ ।

प्याराफिटको जमिनमा धेरै समय र खर्च लागेको धुर्मस बताउँछन् । उनका अनुसार माथिमाथि पिल्लर र प्याराफिटको काम बाँकी छ । ‘खर्च कम लाग्ने र काम देखिने बेला भएको छ, तर यहीबेला आर्थिक समस्या पर्‍यो’ धुमुर्स भन्छन् ।

 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…