त्यसपछि ऊ कहिल्यै भेटिएन

केएम निष्ठुरी

आजको साँझ किन किन मलाइ निकै उदास लागेको छ । दुर पहाडमा सुर्यका रस्मीले मलिन मुस्कान छोड्दै गएका छन् । बिहान कोमल बालक भएर धर्तिको स्पर्स गरेका सुर्यका रस्मिहरु मैले यादै नगर्दै बुढेसकालमा प्रवेश गरिसकेछन । दिनभर निस्प्रवाह आफ्नै सुसेधन्दामा ब्यस्त रहेको म साँझ पख खै किन निरास भए मलाइ नै एकिन छैन ।

दशैँ आएर पनि नेटो काटिसक्यो । खै किन हो कुन्नि सधैंको भन्दा अलि खल्लो भयो यसपालिको दशैं । कोरोना भाइरसको सन्त्रासका कारण विश्व नै हल्लिएको छ । यसैको कारण पनि होला दशैंको रसस्वाधन सधैं जस्तै गरि गर्न सकिएन । यो त मेरो मात्र नभएर विश्वका सबैजसो मानव जातिको साझा चिन्ताको सवाल थियो । त्यसैले म मात्र निरास हुने कुरै भएन । म निरास भएर पनि यसको परिणाममा कुनै प्रभाव पर्ने कुरा पनि भएन ।

साँझ अझै छिप्पिएर गइरहेको छ । म चोभारको गल्छितिर हेरिरहेको छु । उसको निश्चल मुहार मेरो मानसपटलमा दौडिरहेको छ । चोभार डाँडाबाट चारैतिर नियाल्दा वरपरका पहाडहरु पनि म जस्तै निरास छन् आज ।

अलि केहि टाढा देखिने धौलागिरी हिमाल पनि फिस्स निरास मुस्कान छाडेको छ । खै किन प्रकृति नै म जस्तै निरास छन् । काठमाडौं सहरका कुरै नगरौं । लाग्छ मलाइ यो सहरका मान्छे मात्र होइन माटो ,ढुंगा र निर्जीव भवनहरुपनि उस्तै स्वार्थी छन् ।

सम्झन्छु मेरो पहाड आहा ! कोषौ टाढाका मानिसहरु भेटिए पनि कति आत्मियता । चिनजान नै नभएको मानिस किन नभेटियोस परिचय गरेपछि नजिकैको जस्तो विश्वास र आत्मियता हुने । त्यो विश्वास र आत्मियता मैले काठमाडौंमा भेट्न सकेको छैन । मेरा जिजुबुबा भन्नुहुन्थ्यो साँझ पख घरमा आएका पाहुना भनेका भगवान हुन् त्यसैले यी पाहुनालाई हामीले भगवान जस्तै मान्नुपर्छ । जिजुबुबाको यसै अर्ति र संस्कार पाएकी मेरी आमा पाहुना संग त्यस्तै ब्याबहार गर्नुहुन्थ्यो ।

मलाई पनि मेरा जिजुबुबाको अर्ति र आमाको संस्कारले त्यस्तै प्रभाव पारेको थियो ।
शैशवकाल पार गरेर हुर्कदै थिए म । मेरो पहाडमा तत्कालिन युद्धले चरम उत्कर्ष पाइरहेको थियो । देश परिवर्तन गर्ने नारामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरु युद्धमा होमिएका थिए ।

मेरा पनि प्राय आफन्तहरु युद्ध मै थिए । परिवर्तनका लागि भन्दै युद्धमा होमिएका कतिपय आफन्तलाई गुमाएको पीडा सम्झिदा अझैं पनि हृदय चर्किन्छ । अनि म पनि केहि दिन शिरमा रातो फेटा बाँधेर हिडेको याद ताजै छ । म सानै उमेरमा युद्ध प्रति चासो देखाएको देखेर छोरी बिग्रिन्छे भनेर बा ले शहर झर्नु भयो । अनि शहरमै पढाइ सुरुवात भयो ।

शहर झरेको झन्डै ५ बर्ष पछिको एउटा यस्तै दशैंको बेला म दशैं बिदामा दशैं मनाउन घरतिर जाने निधो गरे । अनि टिकट लिन बसपार्क पुगे । दशैं मान्न राजधानीबाट घर जानेको घुइचोका कारण बसपार्कमा खुट्टा टेक्ने समेत ठाउँ थिएन । धेरै समयको प्रतीक्षा पछी एक जना दाइको सहयोगमा मैले रुकुमका लागि टिकट प्राप्त गरे । म संगै एउटा साथी पनि थिइ । हामी टिकट लिएको तेश्रो दिन रुकुम तर्फ प्रस्तान गर्ने भयौं । मनमा एक प्रकारको उत्साह छाएको थियो । आफ्नो ठाउँको त सबै सबै कुराको उस्तै माया लाग्छ । आहा ! बाआमाको न्यानो माया । साथीभाइ संगको आत्मीय पल । मेला-पात, दशैं-तिहार, देउसी-भैलो , रुद्री-कथा , गुहाला लगायतका सबै प्रिय पलहरु मेरो मानसपटलमा घुमिरहेका थिए ।

तेश्रो दिन सुरुभयो घर तर्फको यात्रा । झन्डै २२/२३ घन्टाको मोटर यात्रा पछी पुगियो बांगेलाखुरी बजार । त्यस रात त्यहि बास भयो । अर्कोदिन घर तर्फ प्रस्तान गर्नु थियो । अलि तर्किएर लगातार दिनभर जसो हिडेपछि साझ पख घर पुगिने आश हुन्थ्यो । त्यस दिन बांगेलाखुरीबाट घर तर्फ जाँदैगर्दा संयौंको संख्यामा यात्रुहरु थिए । तिनीहरुकै बिचमा थिए म पनि ।

घर पुग्दा शहरबाट के-के न बोक्न मन लाग्ने । मेरो झोला गह्रौं थियो । मलाई आफै झोला बोकेर घर सम्म पुग्न निकै कठिनाइ हुने महसुस मैले गरिसकेको थिए । त्यतिकैमा एकजना दाइले मलाइ बोलाउनुभयो । कहाँबाट आएको नानु ? मैले भने काठमाडौं ! झोला गरुङ्गो जस्तो छ म बोक्दिम ? मैले बाहिर असहजता प्रस्तुत गरेपनि हृदयले भनेको थियो झोला देल । एकैछिन पछिको मौनता पछी उसले मेरो झोला बोकिदियो । म निकै खुसि भए ।

उसको नाम सोध्ने कुरै भएन म एकोहोरो दाइको पछी लागेर हिडीरहे । कारण थियो झोला । ऊ पनि काठमाडौं मै पढ्ने भन्ने कुरा मैले उहाँकै प्रस्तुतीबाट थाहा पाए । तर नाम, ठेगाना सोध्ने मलाइ कुनै रहर जागेन । सानै उमेर देखि अलि फरक स्वाभावकी म झोला कै लागि मात्र दिनभर ती उसको पछी हिडिरहे । म आफ्नो गाउँमा पुगेपछि उसलाई पानी पिएर जान आग्रह गरे तर उसले साँझ पर्न लागेकाले आफु जाने कुरा बतायो अनि टाढैबाट घर सम्म चिनेर उ आफ्नो बाटो लाग्यो ।

साँझ घरमा पुगेपछि खाना खाएर सुत्ने तरखर गर्दा मलाइ उसको यादले झस्काउन थाल्यो । अग्लो कदको, गहुँगोरो सलक्क परेको जिउडाल, हाँस्दा हिमाल झैँ निश्चल देखिने दन्त लहर । सबै सबैको याद आउन थाल्यो । मेरो झोला दिनभर बोकिरहदा उसलाई पनि त गाह्रो भयो होला । तर बिनाकुनै हिचकिचाहट ऊ हिडीरहयो ।

झोलाको सुरमा दिनभर उसको पछी हिडेको म ऊ गैसकेपछि उसको कल्पनामा पो उसको पछी कुद्न थाले । त्यतिखेरको जमाना न कुनै फोन सम्पर्क न अन्य कुनै सम्पर्कका माध्ययम । चिठीपत्र आदान प्रदान गर्ने हो भने पनि ठेगाना नै सोधिएन ।

दोश्रो दिन मैले आमालाई मेरो सबै बेलिबिस्तार सुनाए । आमाले बाटोमा हिड्दा भेटिएका बटुवालाई सम्झिन आवश्यक नभएको बताउनुभयो ।
तर मेरो मन पटक्कै मानेन । ऊ आमाले भने जस्तै एउटा बटुवा मात्र थिएन । ऊ त सगरमाथा जस्तै अटल हृदय भएको एक पुरुष थियो । जो अर्काको दुखमा दुखि हुन र खुसीमा रमाउन जान्दथ्यो । मेरो मनको मझेरीमा बास बस्ने आँटेको उसलाई मैले बरोबर कल्पना गर्न थाले । उसको चेहरा मेरो मानसपटलमा घुमीरहेपनि उसको थर ठेगाना मैले अहिले सम्म पनि पत्ता लगाउन सकेको छैन ।

तर अहिले यस्तै दशैंको माहोलमा खै किन मलाई उसको कल्पना बरोबर आइदियो । घर फर्कन मन मान्दै मान्दैन । पारी दुर पहाडको फेदीमा रहेको नाकबेली बाटोमा आँखाले भ्याए सम्म एकटकले हेरिरहेको छु । अहँ ऊ कतै देखिन्न । ऊ मात्र नभएर ऊ हो कि भन्ने कालो धब्बा समेत कतै देखिदैन । म निरास भएर उसलाई कुरिरहे । तर पत्तो छैन खै ऊ कुन बाटो हिड्ने गर्छ आजकाल ?

म किशोर अवस्थामा हुँदै हृदयमा पसेको उ त्यसपछि कहिल्यै फर्किएन । तर अनायासै आज मेरो मन उसलाई किन पर्खीरहेछ म बेखबर छु । बिल्कुलै बेखबर ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…