नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि गर्न सक्दैनौं : राजनाथ सिंह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका छन् ।

भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले ज्ञवाली फर्केकै दिन त्यस्तो धारणा राखेका हुन् । ‘नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न सकिँदैन,’ जनस्तरमा प्रगाढ सम्बन्ध भए पनि सरकारसँग त छैन नि भन्ने प्रश्नमा उनको जवाफ थियो ।मन्त्री ज्ञवाली गत साता परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त बैठकका लागि दिल्ली आएका थिए ।

दिल्लीमा रहँदा नेपाली पक्षले मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास गरे पनि सफल भएन । मोदीले भेट नदिएको भन्दै नेपालमा भारतको चर्को विरोध भइरहेको छ ।तर, ज्ञवालीले दिल्ली फर्किनुअघि सिंहसँग भने भेटेका थिए ।

ज्ञवाली र सिंहको भेटलाई दुवै पक्षले सौहार्दपूर्ण भएको बताएको थियो । सिंहलाई नेपाल मामिलाका जानकारका रूपमा समेत लिइन्छ ।सिंहले नेपाल छिमेकी मात्र नभएर भाइ पनि भएकाले नेपालले भारतका बारेमा जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने सोमबारको अन्तर्वार्तामा बताएका छन् ।

‘नेपालसँग धेरै नै प्रगाढ सांस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र नभएर भाइ पनि हो । त्यसैले नेपालले हाम्रोबारेमा जे टिप्पणी गरे पनि म कुनै पनि प्रतिकूल टिप्पणी गर्न सक्दिनँ,’ उनले भनेका छन् ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको हो । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।

नेपालमा चर्को विरोध भएपछि उनले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताएका थिए । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका थिए । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बन्न पुगेको हो ।

रक्षामन्त्री सिंहले गत वैशाखमा पनि दाजुभाइका बीचका कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको र त्यसलाई संवादबाट हल गर्न सकिनेसमेत जिकिर गरेका थिए । त्यसैगरी उनले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताएका थिए ।

आइतबारको अन्तर्वार्तामा उनले दाजुभाइको प्रसंग पुनः दोहोर्‍याएका छन् । मन्त्री सिंहले दाजुभाइमा अविश्वास सिर्जना भयो भने पनि त्यसलाई बातचितबाट समाधान गर्न सकिने पनि भनेका छन् ।हाम्रो भाइ केही विषयलाई लिएर रिसाउँछ वा कुनै अविश्वास पैदा हुन्छ भने पनि ऊसँग बसेर बातचित गरेर सम्झाउँछौं, मनाउँछौं र उसलाई माया दिन्छौं किनभने ऊ हाम्रो परिवार हो,’ उनले भने ।

दाजुभाइको सम्बन्ध भनिए पनि केही समययता चीनसँग मिलेर भारतका सम्बन्धमा नकारात्मक टिप्पणी आइरहेका छन् नि ? भन्ने प्रश्नमा मन्त्री सिंहले त्यस्ता टिप्पणी जनताबाट नभएर केही नेताहरूबाट गरिएको बताए । ‘कसैले भन्यो होला । तर, भाइभाइबीचमा जग्गाका लागि झगडा भयो भन्दैमा एकअर्कालाई गोली त चलाउँदैनन् ।

त्यसैले समस्या छ भने बसेर समाधान निकाल्न सकिन्छ,’ नेपालका प्रधानमन्त्रीले समेत विरोध गरेका छन् त भन्ने प्रश्नमा उनको जवाफ थियो ।साथै उनले दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएको बिर्सन नहुने पनि बताएका छन् । ‘हामी यो रोटीबेटीको सम्बन्धलाई कहिल्यै टुट्न दिन्नौं,’ उनले अन्तर्वार्तामा भनेका छन् । त्यसैगरी उनले नेपालसँग सांस्कृतिक, सामाजिक मात्र नभएर विविध प्रकारको सम्बन्ध भएको समेत जिकिर गरेका छन् ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…