चिनियाँ राजदूत र आफूलाई जोडेर अशिष्ट सामग्री प्रसारण गर्ने जी-न्यूजलाई प्रधानमन्त्रीले किन रोजे?

छ महिनाअघि एक भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भनिएको एउटा वार्ता सार्वजनिक गर्‍यो।

‘यान्छी कफी लिनुहुन्छ?’

‘म पनि त्यस्तै सोचिरहेकी थिएँ। साँच्चै भन्दा नेपालमा तपाईंजस्तो विद्वान र समझदार नेता अरू छैन।’

‘धन्यवाद यान्छी। म तपाईंका लागि जेसुकै गर्न सक्छु। तपाईं एकचोटि भनेर त हेर्नुस्।’

‘मैले मजाक गरेको होइन, म साँच्चै तपाईंको बारेमा सोच्छु। त्यसो त तपाईंलाई सत्तामा बलियोसँग टिकाउने एउटा प्लान मसँग छ।’

‘म तपाईंको हरेक कुरा मान्न तयार छु। के हामी यो बातचितलाई अझै अगाडि बढाउन सक्छौं? मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौं?’

‘हा हा हा, म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ताकि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस्।’

यो वार्तामा प्रयोग भएका एक–एक शब्द कपोलकल्पित छन्। यसलाई यहाँ प्रकाशन गरेकामा हामी सुरूमै माफी माग्न चाहन्छौं। तर, संवाद लेख्नु र भिडिओ प्रकाशन गर्नु जरूरी भयो। किनकि, नेपाल र नेपालका प्रधानमन्त्रीबारे यस्तो अमर्यादित, अशिष्ट र एउटा जिम्मेवार मिडियाले कल्पना पनि गर्न नसक्ने तुच्छ सामग्री प्रसारण गर्ने भारतीय च्यानल अरू कोही होइन, त्यही जी–न्यूज हो, जसलाई स्वयं प्रधानमन्त्री ओलीले सरकारी निवासमा बोलाएर लामो अन्तर्वार्ता दिए।

भारतीय समयअनुसार सोमबार राति ९ बजेको ‘प्राइम टाइम’ मा दुई मिडियाले प्रधानमन्त्री ओलीको रेकर्डेड अन्तर्वार्ता एकै समय प्रसारण गरेका थिए। ओलीले जी–न्यूजका प्रधान–सम्पादक सुधीर चौधरीलाई हिन्दी भाषामा अन्तर्वार्ता दिए, जुन ४० मिनेटभन्दा लामो थियो। त्यस्तै, अंग्रेजी भाषाको डब्लुआइओएन (पूरा नामः वर्ल्ड इज वन न्यूज) का कार्यकारी सम्पादक पालकी शर्मासँग उनले अंग्रेजीमा कुराकानी गरे।

फरक भाषाका यी दुई च्यानल एउटै कम्पनीका हुन्। दुवैको वेबसाइटमा जी मिडिया कर्पोरेसन लिमिटेड (एसेल वर्ल्ड कम्पनी) द्वारा सञ्चालित भनी उल्लेख छ। डब्लुआइओएनको प्रधान–सम्पादकमा पनि सुधीर चौधरीकै नाम छ। सुधीर आफैंले हरियो चिनो लागेको आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट यसको पुष्टि गरेका छन्, जसमा उनले आफ्नो नामको पछाडि लेखेका छन्ः प्रधान–सम्पादक (जी न्यूज, जी बिजनेस, डब्लुआइओएन)।

प्रधानमन्त्रीले अन्तर्वार्तामा के भने भन्ने कुराले पक्कै महत्व राख्छ, त्यतिकै महत्व र अर्थ कुन सञ्चारमाध्यमसँग बोलेका हुन् भन्नेले राख्छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेयता भारतसँग ओलीको सम्बन्ध चिस्सिएको छ। यस्तो बेला संसद विघटन गरी मध्यावधि चुनावको तयारीमा देश दौडाहा गरिरहेका ओलीले सीमासम्बन्धी तिनै पेचिला विषयमा आफ्नो उत्तर दिन भारतको जुन मिडिया छाने, त्यो कस्तो मिडिया हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।

जी-न्यूज र यही पत्रकार टिम हो, जसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएपछि ओली चिनियाँ राजदूत यान्छीको ‘प्रेमजाल’ मा परेको भन्दै १७ मिनेट लामो बुलेटिन देखाएको थियो। ‘ओलीकी इश्कियाँ’ नाम दिइएको उक्त बुलेटिनमा जी–न्यूजले शिष्टताको सामान्य सीमासमेत नाघ्दै ओली चिनियाँ राजदूतसँगको ‘प्रेम सम्बन्ध’ का कारण प्रायोजित रूपले भारतविरुद्ध लागेको आरोप लगाएको थियो।

उक्त बुलेटिनमा जी–न्यूजका कार्यक्रम प्रस्तोता ओली र चिनियाँ राजदूत यान्छीको सम्बन्धबारे भन्छिन्, ‘बुजुर्ग प्रधानमन्त्री खड्गप्रसाद ओली इस उम्रमे दिल दे बैठे।’

यति मात्र होइन, उनी चिनियाँ राजदूतलाई नेपालसँग मिलेर भारतविरुद्ध षड्यन्त्र गरिरहेकी ‘जासुस’ को संज्ञा दिन्छिन्। ‘विषकन्या’ भन्नसमेत पछि पर्दिनन्। विषकन्याको अर्थ यस्तो महिला, जसले आफ्नो अभीष्ट पूरा गर्न पुरूषलाई मोहजालमा पार्छ। अर्थात्, चिनियाँ राजदूतले ओलीलाई ‘हनी ट्रयाप’ मा पारेर भारतविरुद्ध उक्साइरहेकी छन् भन्ने जी–न्यूजको आरोप थियो।

यान्छीको राजनीतिक तथा सामाजिक सक्रियता र उनी विभिन्न कार्यक्रममा सहभागी हुनुलाई पनि जी–न्यूजले चीनको षड्यन्त्रका रूपमा प्रस्तुत गरेको थियो। कार्यक्रम प्रस्तोता भन्छन्– ‘चीनसँग ओलीका केही व्यक्तिगत फोटा र भिडिओ छन्, जसको बलमा उनी ओलीलाई नचाइरहेका छन्।’

ओली र यान्छीबीच भएको भनिएको उक्त वार्तामा यस्तो पनि सुनिन्छः

‘मिस्टर ओली, केही पाउन केही गुमाउनुपर्छ। यदि भारतसँग तपाईंको सम्बन्ध बिग्रियो भने चीनको आँखामा पर्नुहुन्छ।’

‘त्यो कसरी? चीन भारतको अगाडि नेपाललाई किन प्राथमिकता देला?’

‘त्यो तपाईं मेरो जिम्मा छाड्दिनू। जस्तो म भन्छु, त्यस्तै गर्दै जानू।’

‘हस्, त्यसै पनि मैले तपाईंसँग बाचा गरिसकेँ।’

‘नेपाल भारतलाई जवाफ दिन सक्षम छ भनेर उसलाई देखाउनुछ। तीन इलाकामा तपाईं आफ्नो दाबी गर्नुस्। बाँकी चीनको साथ त छँदैछ।’

‘ठिक छ, म तपाईंको सबै कुरा मान्छु। चीन साथ भए हामीलाई भारतको खाँचो छैन।’

यस्तो कपोलकल्पित र अमर्यादित आरोप कुनै पनि लोकतान्त्रिक मुलुकको मिडियाले अर्को मुलुकको सरकार प्रमुखलाई लगाउन सक्दैन। एउटा मित्रराष्ट्रको राजदूतसँग प्रधानमन्त्रीको अमर्यादित र काल्पनिक कथा बुनेर अक्षम्य सामग्री प्रसारण गर्ने र नेपाल र चीन दुवै मुलुकको एकसाथ मानमर्दन गर्ने जी-न्यूजलाई प्रधानमन्त्री ओलीले यति चाँडै कसरी खतमाफ दिए? किन यति चाँडै बालुवाटारमा उनीहरूका लागि रातो कार्पेट ओछ्याउन उनी तयार भए?

भारतमा विश्वसनीयता कमाएका एकसेएक मिडिया र पत्रकार छन्। तर त्यति झूटो र अमर्यादित समाचार प्रसारण गरेर नेपाल र भारतमै पनि आफ्नो विश्वसनीयता गुमाएको मिडियालाई प्रधानमन्त्री ओलीले किन रोजे? त्यो मिडियामार्फत् प्रसारित प्रधानमन्त्री ओलीको अन्तर्वार्ता भारतमै कति विश्वसनीयताका साथ हेरियो होला? आवश्यक ठाने यी पेचिला प्रश्नको जवाफ प्रधानमन्त्री र उनको टिमले देलान्।

जी–न्यूजले प्रसारण गरेको उक्त सामग्रीलाई लिएर त्यति बेला व्यापक विरोध भएको थियो। सर्वसाधारणको दबाबपछि नेपाली केबल टिभी सञ्चालकहरूले जी–न्यूजसहित अन्य भारतीय समाचार च्यानलहरूको प्रसारण पनि बन्द गरिदिए। केबल अपरेटरहरूको यो निर्णयलाई धेरैले धन्यवाद दिए। सामाजिक सञ्जालमा स्वागत भयो।

त्यति बेला जी–न्यूजको गलत समाचारका कारण सबै भारतीय सञ्चारमाध्यममा रोक लगाउनु अर्को गलत कदम भएको टिप्पणी पनि गरिएको थियो। एउटा भारतीय च्यानलले अमर्यादित सामग्री प्रसारण गर्नेबित्तिकै सबै बन्द गरेर हामी अनावश्यक रूपले तरंगित भएको कतिपयले प्रतिक्रिया दिएका थिए। (हेर्नुहोस्: ‘जी न्युज’ले गलत गर्‍यो, सबै भारतीय समाचार च्यानल बन्द गरेर हामीले ठीक गर्‍यौं?)

पक्ष–विपक्षको यस्तो तर्क–बितर्कबीच केबल अपरेटरहरूको निर्णयलाई सरकारले भने स्वागत गरेको थियो।

असार २६ गते शुक्रबार दिउँसो केबल अपरेटरहरूको प्रतिनिधिमण्डलले तत्कालीन सञ्चारमन्त्री युवराज खतिवडालाई भेटेको थियो। खतिवडाले ‘जथाभाबी सामग्री प्रसारण गर्ने भारतीय मिडियामाथि रोक लगाएकामा अपरेटरहरूलाई धन्यवाद दिएको’ बैठकमा सहभागीले बताएका थिए। त्यसै दिन साँझ सरकारले विज्ञप्ति नै निकालेर केबल अपरेटरहरूलाई औपचारिक धन्यवाद दियो।

प्रेस काउन्सिल नेपालले पनि ‘भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरूद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको’ भन्दै आपत्ति जनाएको थियो। काउन्सिलका तत्कालीन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर चासो राखेको बताएका थिए।

जी–न्यूजले प्रसारण गरेको सामग्रीको मात्र होइन, त्यति बेला सुधीर चौधरीले नेपालविरुद्ध गरेको ट्वीटलाई लिएर पनि विरोध भएको थियो।

कार्यक्रम प्रसारणपछि जब नेपालीहरूले सामाजिक सञ्जालमा विरोध गरे, तब जी–न्यूजका यिनै प्रधान–सम्पादक चौधरीले नेपालविरुद्ध अमर्यादित ट्वीट गरेका थिए। उनले लेखेका थिए, ‘नेपालीहरू भारतीय समाचार वाचकहरूसँगै डराएकाले अब सेनाको जरूरी छैन।’

चौधरीको यो ट्वीटलाई लिएर नेपाल र भारतमै पनि आलोचना भयो। त्यसपछि उनले उक्त ट्वीट हटाए र आफूबाट गल्ती भएको भनेर अर्को ट्वीट लेखे, ‘मेरो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमै पनि धेरैजसो मान्छेले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुनसक्छ मैले समाचारहरू आएपछि आवेशमा प्रतिक्रिया दिएँ हुँला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन। त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु।’

‘जी–न्यूज’ ले शिष्टताको सीमा नाघेकोमा भारतमै पनि धेरैको विमति थिएन। यही दबाबले जी–न्यूज माफी माग्न बाध्य भएको थियो। उसले ‘नेपालका प्रधानमन्त्रीबारे त्रुटिवश कार्यक्रम प्रसारित भएको र त्यसले नेपाली जनताको भावनामा ठेस पुगेकोमा हामी दुःख व्यक्त गर्दछौं’ भनेर टिभीमै सूचना प्रकाशन गरेको थियो।

छ महिनाअघि भारतको जुन मिडियाले ‘चीनको समर्थन पाएर भारतसँग निहुँ खोजेको’ भन्दै ओलीको खेदो खनेको थियो, आज त्यही मिडियाले ओलीको भनाइ बिनासम्पादन प्रसारण गरेको छ। आफैंले रचेको मध्यावधि निर्वाचनमा जान खुट्टा उचालिरहेका ओलीलाई आफ्नो राजनीतिक करिअरको यस्तो संवेदनशील घडीमा ‘राष्ट्रवादी’ अभिव्यक्ति दिने अन्तर्राष्ट्रिय मञ्च दिएको छ।

अन्तर्वार्ताको शैलीले पनि प्रश्न जन्माएको छ। एकै संस्थाका हिन्दी र अंग्रेजीभाषी दुई भारतीय पत्रकारले ओलीलाई सोधेका धेरैजसो प्रश्न समान छन्। हिन्दीमा लेखेर अंग्रेजीमा अनुवाद गरेजस्तो वा अंग्रेजीमा लेखेर हिन्दीमा अनुवाद गरेजस्तो। प्रश्न सोध्ने र ओलीका लामा–लामा जवाफ बीचमा नकाटी धैर्यपूर्वक सुन्ने शैली पनि दुवैको उस्तै देखिन्छ।

यहाँ शैलीको कुरा किन महत्वपूर्ण छ भने, जुन ढंगमा ओलीको अन्तर्वार्ता लिइयो र जसरी उनलाई हतार नगरी आफ्नो कुरा भन्ने मौका दिइयो, त्यो भारतमा पछिल्लो समय हुर्किएको मिडिया शैलीभन्दा बिल्कुलै फरक छ। जी–न्यूजको शैली त यो हुँदै होइन, जसले पाहुनालाई स्टुडियोमा डाकेर उनीहरूको कुरा सुन्ने होइन, धेरैजसो आफ्नै कुरा सुनाएर पठाउँछ।

प्रधानमन्त्रीको अन्तर्वार्तामाथि प्रश्न उठ्नुको अर्को कारण भारतीय पत्रकारितामा जी–न्यूजले समातेको धार पनि हो।

भारतमा पछिल्लो समय ‘गोदी मिडिया’ भन्ने शब्दावली लोकप्रिय छ। खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा यो शब्दावली हिट भएको हो। मोदी सरकार र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को चरम भक्तिगान गाउने र कंग्रेस लगायत विपक्षीहरूको मानमर्दन गर्ने मिडियाहरूलाई भारतभित्रै ‘गोदी मिडिया’ भनेर आलोचना गरिन्छ।

गोदी भनेको हिन्दी शब्द हो, जसको अर्थ हुन्छ– काख। अर्थात्, मोदी सरकारको काखमा बसेर प्रचूर आर्थिक लाभ लिँदै पुल्पुलिएका मिडिया, जसले सरकारको काम–कारबाहीलाई आलोचनात्मक ढंगबाट हेर्दैन, बरू विपक्षीहरूका सानोभन्दा सानो गल्ती–कमजोरीलाई ‘तिलको पहाड’ बनाउँछ।

यसमा सुधीर चौधरीको ‘जी–न्यूज’ सहित अरनव गोश्वामीको ‘द रिपब्लिक’ टिभी र आजतकसमेत अग्रपंक्तिमा आउँछन्। हुन त सयौं वर्षको इतिहास बोकेका चर्चित पत्रपत्रिकाले पनि मोदीको आलोचना विरलै गर्छन्, तर यी टेलिभिजन च्यानल भने मोदी सरकारको बाटो सहज बनाउन प्रोपोगान्डाको हदमै ओर्लिने गर्छन्। मोदी सत्ताले आफ्नो स्वार्थमा यिनलाई प्रयोग गर्ने गरेको भन्दै तिखो आलोचना हुने गरेको छ।

यस्तै रवैयाका कारण केही समययता भारतमा विपक्षीहरूबाट भएका राजनीतिक गतिविधि तथा नागरिक समाजबाट भएका केही महत्वपूर्ण आन्दोलनमा जी–न्यूज लगायत यस्ता मिडियालाई वर्जित गरिँदै आएको छ।

यसका थुप्रै उदाहरण छन्।

एक वर्षअघि नागरिकता संशोधन कानुनको विरोधमा भारतको राजधानी नयाँदिल्ली आन्दोलित थियो। मुस्लिम समुदायलाई आफ्नै देशभित्र अनागरिक बनाउने उद्देश्यले उक्त कानुन ल्याइएको भन्दै नयाँदिल्लीको नागरिक समाज सडकमा ओर्लिएको थियो। महिना तथा केटाकेटीसमेत सडकमै रातभरि पाल टाँगेर धर्ना दिन्थे। त्यो समय जी–न्यूज, रिपब्लिकजस्ता मिडियाले उक्त आन्दोलनको बदख्वाइँ गर्न कुनै कसर छाडेका थिएनन्। त्यसमा साम्प्रदायिक रंग भर्नुका साथै विदेशीबाट परिचालित आन्दोलनको संज्ञासमेत दिएका थिए। उनीहरूमाथि मुस्लिम समुदायप्रति असहिष्णु रहेको आरोप पनि लाग्दै आएको छ।

त्यो माहोलमा जहाँ एनडिटिभीका पत्रकार रवीशकुमार आन्दोलनकारीहरूलाई भेटेर अन्तरंग कुराकानी गर्दै थिए, जी–न्यूजका सुधीर चौधरीलाई भने आन्दोलनस्थलमै प्रवेश गर्न दिइएको थिएन। आन्दोलनकारीहरूले ‘हामीलाई गोदी मिडियासँग कुरा गर्नु छैन’ भन्दै उनलाई फर्काइदिएका थिए।

अहिले पनि नयाँदिल्लीमा किसान आन्दोलन चर्किएको छ। पञ्जाबका किसान ट्रक र ट्रयाक्टरमा सवार भएर आन्दोलन गर्दैछन्। आन्दोलन लामो समय तन्किने अवस्था देखेर उनीहरूले खानपिन व्यवस्था गर्न सामूहिक लंगर चलाएका छन्। यसपालि पनि रवीशकुमार लगायत पत्रकारले आफ्नो ‘प्राइम टाइम’ कार्यक्रममा विभिन्न कोणबाट किसानका माग र समस्या उठाइरहेका छन्। जी–न्यूजका चौधरी भने यसपालि पनि किसानको खेदो खन्दै छन्।

चौधरीले आफ्नो कार्यक्रममा किसानहरूको प्रदर्शनलाई सन् असी दशकमा भारतको पञ्जाबमा चर्किएको ‘खालिस्तानी आन्दोलन’ सँग जोडेका छन्। यही आन्दोलन क्रममा अमृतसरको स्वर्ण मन्दिरभित्र भारतीय सेना ट्यांक लिएर पसेको थियो। यसैको प्रतिक्रियास्वरुप पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै शिख बडिगार्डले हत्या गरेका थिए।

सरकारसँग आफ्नो माग राख्न राजधानी आएका किसानलाई यस्तो हिंसात्मक अतीत जोडिएको ‘खालिस्तानी’ को संज्ञा दिनु भनेको उनीहरूलाई आतंकवादी मान्नुसरह हो। चौधरीको यो अभिव्यक्तिलाई लिएर भारतभित्रै आलोचना भइरहेको छ।

नयाँदिल्लीमा जारी किसान आन्दोलन विपक्षी दलहरूबाट परिचालित भएको टिप्पणी पनि उनले गरेका छन्। उनी आफ्नो कार्यक्रममा भन्छन्– ‘गरिब किसानहरू यतिको ठूलो संख्यामा दिल्लीमा बसेर कसरी आन्दोलन गर्न सक्छन्? यतिका मान्छेलाई खानाको प्रबन्ध गर्ने पैसा कहाँबाट आयो? अंग्रेजीमा वक्तव्य निकाल्न र मिडिया परिचालन गर्न उनीहरूले कसरी जाने?’

चौधरीको यस्तो अभिव्यक्तिलाई भारतभित्र कतिपय पत्रकारले ‘हलुका’ र ‘हास्यास्पद’ भनी टिप्पणी गरेका छन्। उनको भनाइ किसान भन्नेबित्तिकै खान नपाउने गरिब, निमुखा नै हुन्छन् भन्ने पुरातन मानसिकताको उपज हो भन्ने टिप्पणीकर्ताको भनाइ छ। जबकि, पञ्जाबले कृषि क्षेत्रमा गरेको प्रगतिका कारण त्यहाँका थुप्रै किसान सम्पन्न भएका छन्। उनीहरूले आफ्नो केटाकेटीलाई राम्रो विश्वविद्यालयमा पढाउन थालेका छन्। चौधरीले पञ्जाबका किसानको आर्थिक यथार्थबाट आँखा चिम्लेर मनगढन्ते टिप्पणी गरे भन्ने कतिपयको आरोप छ।

चौधरीको अतीत पनि विवादास्पद छ। उनी सन् २०१२ मा कंग्रेसका पूर्व सांसद तथा उद्योगपति नवीन जिन्दलसँग सय करोड भारू जबरजस्ती उठाउन खोजेको आरोपमा पक्राउ परेको भारतीय अखबारहरूले लेखेका छन्। ‘द इकोनोमिक टाइम्स’ का अनुसार जिन्दल स्टिल एन्ड पावरका अध्यक्ष नवीन जिन्दलले त्यति बेला एउटा टेप सार्वजनिक गरेका थिए, जसमा सुधीरले पैसा माग्दै गरेको सुनिएको थियो।

नेपालसँग जोडिएका वा नजोडिएका यी सबै पृष्ठभूमि बिर्सेर प्रधानमन्त्री ओलीले अहिलेको संवेदनशील समयमा आफ्नो अन्तर्वार्ता लिन योग्य पात्र उनैलाई ठाने।

उनले यो पनि बिर्से, ‘गोदी मिडिया’ भनी आरोपित जी–न्यूज सामान्यतया भारतीय संस्थापन पक्षको हित हुने सामग्री मात्र प्रसारण गर्छ। यो कुरा हामीले भनेको होइन। जी–न्यूजजस्ता मिडिया विपक्षीका एजेन्डा बेवास्ता गर्छन् र मोदीको राष्ट्रवादी धारको वकालत गर्छन् भनेर विभिन्न भारतीय वेबसाइट र ब्लगहरूमा प्रशस्तै आलोचना पढ्न पाइन्छ।

नेपाल लगायत अन्तर्राष्ट्रिय मामिलामा पनि यी मिडियाले मोदीको राष्ट्रवादी धारकै पक्ष लिने हो। उनीहरूले मोदीको स्वार्थ र इसारामै काम गर्छन्। प्रधानमन्त्री ओली चीनको समर्थन पाएर भारतसँग टाढिएका हुन् भन्ने राजनीतिक ‘न्यारेटिभ’ बनाउने पनि यिनै मिडिया हुन्।

नेपालका प्रधानमन्त्रीले चाहने हो भने भारतमा अन्तर्वार्ता दिन कैयन प्रतिष्ठित सञ्चारमाध्यमका विकल्प उपलब्ध छन्। आफ्नै र मुलुकको मर्यादाका लागि पनि प्रधानमन्त्री ओलीले जी-न्यूजलाई पन्छाउन सक्थे, पन्छाउनुपर्थ्यो।

तर दुर्भाग्य, उनले त्यसैलाई छाने। साभार : सेतोपाटी 

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…