टोपबहादुरको टिप्पणी : कुलमानहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन्, कति साथी मर्ने हुन् !

२१ पुस, काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमगित (अन्डरग्राउन्डिङ) गरेर ठीक गरिँदैछैन ।’

आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले यो काम ‘खतरनाक’ भएको दोहोर्‍याए । मन्त्री रायमाझीले भने, ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’

काठमाडौंमा प्रधानमन्त्री केपी ओलीले नै उदघाटन गरेको भूमिगत तार बिछ्याउने योजनामाथि टिप्पणी गर्दै मन्त्री रायमाझीले भने, ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ । अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले ।’

विदेशमा चाहिँ खानेपानी बिजुली, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै सुरुङमा राख्ने र बिगि्रएको संकेत पाएपछि गाडी गएर मर्मत गर्नेखालको करिडोर बनाउने गरिएको रायमाझीले बताए ।

गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरुलाई सुन्दर र व्यवस्थित बनाउन सुरु गरिएको उद्घोष गर्दै तार भूमिगत गर्ने परियोजना उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक एडीबीको ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र तार भूमिगत गरिरहेकोे छ ।

ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन मात्रै बाँकी छ । पोखराको लेकसाइड र भरतपुरको नारायणगढ क्षेत्रमा पनि काम थाल्न टेन्डर गर्ने तयारी हुँदैछ । अरु विभिन्न १७ वटा शहरमा यसका लागि अध्ययन चल्दैछ । यही बेला नयाँ ऊर्जामन्त्री रायमाझीले यो परियोजनालाई अघि नबढाउने संकेत दिएका छन् ।

हितेन्द्र पनि रायमाझीकै लाइनमा

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री रायमाझीले नै तार भूमिगत गर्ने काम खतरनाक भनेपछि प्राधिकरणको वर्तमान नेतृत्व समेत त्यसमा सही थाप्दैछ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य मन्त्री रायमाझीले भनेजस्तै तार भूमिगत गर्दा शहरमा जोखिम बढ्ने बताउँछन् ।

शाक्यका अनुसार यदि भविष्यमा कुनै कामका लागि पर्याप्त सूचना नलिई सडक खनियो भने त्यसले मान्छेको ज्यानै लिने वा अन्य विद्युतीय दुर्घटना हुने जोखिम देखिएको उनको भनाइ छ ।

‘केही दिनअघि हामीले नै काम गर्दागर्दै ‘चपली क्षेत्रमा पुरानो भूमिगत लाइन जल्न पुग्यो,’ उनले भने,’त्यो घटनाले तार भूमिगत गर्दा जोखिम छ भन्ने देखाएको छ ।’

तार बिछ्याउनुअघि गरिने जीपीएस एक्स-रेले जमिनभित्रका पानीका पाइप, ढल, टेलिफोनका तार भए/नभएको देखाउने प्राधिकरणको भनाइ छ । तर, चपलीमा त्यस्तो प्रविधिले नै काम नगरेको पाइएकाले दुर्घटनाको जोखिम रहने पुष्टि भएको शाक्यको तर्क छ । ‘सँधै प्रविधिले सही ढंगले काम गर्दैन, त्यस्तोबेलामा दुर्घटना टार्न सकिँदैन,’ शाक्य भन्छन् ।

तार भूमिगत गर्न आधुनिक प्रविधि प्रयोग गरिए पनि भविष्यमा निर्माणका सडकमा काम गर्दा प्रविधिले सडकमुनिका पूर्वाधारबारे पर्याप्त सूचनाहरु दिन नसक्ने जोखिम देखिएको शाक्यको भनाइ छ । ‘यस्तो जोखिम सडक खन्दा मात्रै हुने हो, तारकै कारण सडकमाथि हिँड्ने मानिस र सवारी साधनलाई जोखिम भने हुँदैन,’ उनले भने, ‘तारबारे पर्याप्त सूचना नलिई खन्ने काम भयो भने दुर्घटनाको जोखिम छ ।’

त्यसका लागि प्राधिकरणले पनि तार बिछ्याइएको रुटबारे पर्याप्त र स्पष्ट अभिलेख र सूचनाहरु राख्नुपर्ने देखिएको शाक्यले बताए । ती सूचना सम्बन्धित नगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, सडक विभाग, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायकहरुलाई पनि दिनुपर्ने शाक्य बताउँछन् ।

काम अघि बढिसकेका बाहेकका क्षेत्रमा अब तार भूमिगत गर्ने काममा सुरक्षाको पक्षलाई ध्यान दिएर मात्रै परियोजनाबारे निर्णय गरिने शाक्यले बताए ।

प्राविधिक भन्छन्- ज्ञानको अभाव

प्राधिकरणका काबिल इन्जिनियरहरु मन्त्रालय र प्राधिकरणको वर्तमान नेतृत्वमा रहेकाहरुले तार भूमिगत गर्ने काम जोखिमयुक्त भनेर निकालेको निष्कर्षलाई ‘ज्ञानको अभाव’को संज्ञा दिएका छन् ।

मन्त्री रायमाझीले भनेजस्तो ‘युटिलिटी करिडोर’ शहरभित्रका पुराना र साँघुरा सडकमा सम्भव नहुने अधिकारीहरुको भनाइ छ । शहर बाहिरका र नयाँ बनेका सडकहरुमा भने त्यस्तो सुरुङसहितको संरचना बनाउन सकिने उनीहरु बताउँछन् ।

नयाँ मन्त्रीलाई भूमिगत तारबारे ज्ञान नहुनु स्वाभाविक भए पनि प्राधिकरणको कार्यकारी प्रमुख भइसकेका व्यक्तिमा पनि ‘अधकल्चो ज्ञान’ छचल्किनुले राम्रो संकेत नगरेको प्राधिकरणका एक वरिष्ठ अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले काठमाडौं उपत्यकाभरि नै मुख्य सडकका ११ केभी क्षमता लाइनमात्रै भूमिगत गर्न थालिएको हो । जबकि एक दशकअघि नै टेकुदेखि सिंहदरबारसम्मको ६६ केभीको करिब ६ किलोमिटर लाइन भूमिगत गरिएको छ ।

‘जोखिम हुने भए त त्यही ६६ केभीको लाइनमा परेर कति मान्छे मरिसक्नुपर्ने हो,’ ती अधिकारी भन्छन्, ‘चपली-महाराजगञ्जसहितका छोटा-छोटा दूरीका धेरै लाइनहरु पनि यसअघि नै भूमिगत गरिएका हुन्, आक्कल-झुक्कल प्राविधिक समस्या आउनेबाहेक कतै पनि दुर्घटना भएको रेकर्ड छैन ।’

तार भूमिगत गर्ने आयोजनाका अधिकारीहरु पनि भविष्यमा दुर्घटना नहोस् भने सुरक्षाका विभिन्न पूर्वसावधानीहरु अपनाइएको बताउँछन् । उनीहरुका अनुसार सडकभन्दा डेढदेखि २ मिटर तल मात्रै तार गाडिएको छ । ठाउँ-ठाउँमा अर्थिङहरु गरिएका छन् । उच्चस्तरीय ‘कभर’सहितको बिजुलीको केबुललाई उच्च चाप थेग्ने प्लाष्टिकको पाइपभित्र हालेर मात्रै बिछ्याइँदैछ ।

तार रहेकोभन्दा माथिल्लो भागमा पहेँलो रङको ‘इन्डिकेटर टेप’ पनि बिछ्याइएको छ । जुन रातमै सडक खन्दा पनि सहजै देखिन्छ । ठाउँ-ठाउँमा सडकभित्रै ‘इन्फरमेसन पिल्लर’हरु राखेर ‘यसभन्दा मुनि विद्युतको तार छ’ भन्ने सूचनाहरु लेखिएका छन् ।

‘तार बिछ्याइने सडकको जीआईएस म्यापिङ पनि गर्दैछौं, जसमा कुन सडकको कुन भागमा के-के युटिलिटी छन् भनेर स्पष्ट देखाइने छ,’ आयोजना एक अधिकारी भन्छन्, ‘हामीसँग पनि कुन सडकको कुन भागमा कति भित्र विद्युतको तार छन् भन्ने डाटाहरु छन् ।’

सडकमा अब निर्माणको काम गर्दा बिजुलीको तारबारे सबै पक्षले स्वाभाविकरुपमा चासो र जानकारी राख्ने र कतै लापरवाही ढंगले खन्ने काम भए पनि तारभन्दामाथि राखिएका सूचक र सुरक्षा उपकरणले दुर्घटना हुन रोक्ने ती अधिकारीको दाबी छ ।

‘यो परियोजना भारतको बनारस लगायतका शहरमा यही काम गरेका परामर्शदाताले हेरिरहेका छन्,’ ती अधिकारी भन्छन्, ‘मान्छे मार्ने गरी काम गर्न लागिएको हो भने एडीबीले अर्बौंको लगानी किन गथ्र्यो होला ?’

कुलमान भन्छन्-फाइदै फाइदा छ

तार भूमिगत गर्ने कामको थालनी गरेका विद्युत प्राधिकरण पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ तार भूमिगगत गर्ने काम नेपालका लागि नौलो भए पनि विश्वभर नै प्रयोगमा आइसकेको बताउँछन् । पोलमा टाँगिने तारभन्दा भूमिगत गरिने तार सयौं गुणा बढी सुरक्षित हुने उनको भनाइ छ ।

‘ओभरहेड तार नै खसेर मान्छे मरेका उदाहरण प्रशस्तै छन्,’ उनी भन्छन्, ‘विद्युतीय दुर्घटनाको सुरक्षाका हिसावले सबैभन्दा सुरक्षित उपाय तार भूमिगत गर्नु नै हो ।’

घिसिङका अनुसार शहरी क्षेत्रमा बढ्दो बिजुलीको माग धान्न पनि यही प्रविधिमा जानैपर्ने अवस्था छ । अब शहरभित्र ठूला क्षमताको ओभरहेड लाइन विस्तार गर्न नसकिने भन्दै उनले संसारले नै लामो समयदेखि अभ्यास गरिसकेको प्रविधिमा नेपालले बल्ल पाइला चालेको बताए । शहरहरुमा वर्षै साल बिजुलीको माग बढिरहेकाले त्यसलाई धान्न मुआब्जा बाँडेर वा सडकमाथि ठूलो क्षमताको ओभरहेड लाइन बनाउन नसकिने उनको तर्क छ ।

‘विद्युत सेवालाई विश्वसनीय बनाउन पनि यो काम अत्यावश्यक छ,’ उनी भन्छन्, ‘तार भूमिगत भएपछि सामान्य हावाहुरीमा पनि लाइन काटिने समस्या हट्छ, सर्ट सर्किट र तारमा धुलो जमेर लाइनमा इन्सुलेसन अवरोधको समस्या पनि सकिन्छ ।’

घिसिङका अनुसार काठमाडौंमा एउटा क्षेत्रको सबस्टेसनमा समस्या आउँदा अर्को क्षेत्रबाट लाइन दिन सकिने गरी भूमिगत प्रणालीबाटै ‘रिङमेन’ सिस्टम पनि तयार गरिँदैछ । यसले निरन्तर बिजुली आपूर्ति गर्न प्राधिकरणलाई सहयोग पुग्छ । उनका अनुसार तार भूमिगत भएपछि विद्युत चोरी र प्राविधिक चुहावट पनि घट्छ । तार जमिनभित्र हुने भएकाले चोरीको सम्भावना लगभग समाप्त हुन्छ ।

‘तार भूमिगत गर्नुको अर्को मुख्य कुरा त शहरलाई सुन्दर बनाउने पनि हो,’ घिसिङले भने, ‘त्यसैकारण हामीले बिजुलीको तारसँगै अप्टिकल फाइबर पनि राखेका छौं, यसले इन्टरनेट सेवा प्रदायकलाई पनि फाइदा पुग्छ, शहर पनि तारको कुरुप जालोबाट मुक्त हुन्छ ।’

प्राधिकरणकै प्राविधिक छक्क !

ऊर्जामन्त्री एवं प्राधिकरण नेतृत्व तार भूमिगत गर्न नहुने पक्षमा लाग्दा प्राधिकरणको प्रसारण निर्देशनालयका अधिकारीहरु पनि अच्चम्मित छन् । काठमाडौंभित्र ओभरहेड प्रसारणलाइन बनाउन नसकिने निष्कर्ष निकालेर १३२ केभीको लाइन शहरभित्र भूमिगत गरेरै छिराउने योजना तयार रहेको निर्देशनालयका एक अधिकारी बताउँछन् ।

मातातीर्थबाट हरिसिद्धी जाने प्रसारणलाइन बनाउन खोकना क्षेत्रका स्थानीयबासीले २० वर्षदेखि अवरोध गरिरहेका छन् । त्यसैले अब ललितपुरबाट भक्तपुरसम्म नै १३२ केभीको लाइन अन्डरग्राउन्ड गर्ने तयारी पनि गरिँदैछ ।

मातातीर्थबाट बागमतीको किनार हुँदै चोभारसम्म बिजुली ल्याउने र त्यहाँ नयाँ सबस्टेसन बनाउने योजना पनि छ । चोभारबाट टेकुसम्म लाइन ल्याएपछि टेकुबाट पनि तार भूमिगत गरेर विभिन्न नदी कारिडोरमार्फत काठमाडौं शहरभित्र छिराउने गृहकार्य भइरहेको छ ।

प्राधिकरणका एक अधिकारी भन्छन्, ‘यो काम भएन भने अबको १० वर्षपछि अहिलेको प्रणालीले काठमाडौंको माग धान्न सक्दैन, मन्त्रालय र प्राधिकरणको वर्तमान नेतृत्वले बुझ्नुपर्छ कि तार भूमिगत गर्ने परियोजना महत्वपूर्ण देखिएकाले नै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र एडीबीले चासोका साथ लिएर सहयोग गरिरहेको छ ।’

तार भूमिगत गर्ने काममा सहजीकरण गर्न अहिले ऊर्जा सचिव दिनेश घिमिरेकै अध्यक्षतामा समन्वय समिति पनि छ । ‘सबैलाई चाहिएको तार भूमिगत गर्ने परियोजना दुई जनालाई किन नचाहिएको हो भन्ने बुझ्न कठिन भयो’ प्रसारण निर्देशनालयका अधिकारी भन्छन्, ‘न काम रोकेर आफू निकटको ठेकेदारलाई चुले निम्तो दिन खोजेको हो कि ?’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…