चिनियाँ टोलीको नेपाल भ्रमण असफल : चारदिने भ्रमणको निष्कर्ष ‘सोचेझैँ नेकपा रैनछ’

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यचौको टोलीको चारदिने नेपाल भ्रमणले अपेक्षित सफलता हात पारेन ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँगको संवाद अपेक्षित सकारात्मक भएन । राष्ट्रपति भण्डारीसँग पनि चिनियाँ टोलीको संवाद नकारात्मक नै भयो । चिनियाँ टोलीको बुझाइ राष्ट्रपतिको पहलले संसद् पुनर्स्थापनामा सहयोग पुग्न सक्छ भन्ने थियो । त्यसैले राष्ट्रपतिले चाहेमा संकटमोचन हुन सक्छ भन्ने अनुमानसहित चिनियाँ टोली संवादमा जुटेको थियो ।

प्रतिनिधिसभा विघटनलगत्तै चिनियाँ राजदूत र होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसम्मलाई भेट गरेकी थिइन् । तर, प्रधानमन्त्री ओलीले राजूदत होउलाई भेटका लागि समय दिएनन् । राजदूतलाई भेट नै नदिएका कारण प्रधानमन्त्री ओलीसँग चिनियाँ टोली खुसी थिएन, त्यस कारण ओलीसँग संवाद सकारात्मक नभएको बालुवाटारनिकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गुओ नेतृत्वको टोलीसँग भेट्न रुचि राखेका थिएनन् । विदेश सल्लाहकार डा. राजन भट्टराईको पहलले मात्रै भेट भएको बताइएको छ । भेटमा भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणेदेखि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको भेटसम्मका प्रश्न चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग राखेकाे थियो ।

स्रोतले भन्यो, ‘भारतीय गुप्त भेटघाट, एमसीसीप्रति ओलीको अडान र बीआरआई परियोजना कार्यान्वयनमा ओलीले गरेको ढिलाइमाथि गुओ नेतृत्वको टोलीले प्रश्न उठाएको थियो ।’

केही कडा शैलीमा प्रस्तुत भएका चिनियाँ टोलीसँग जवाफ दिनेभन्दा पनि शिष्टाचार भेटमै टुंगो लगाउने मनसायमा रहेका ओलीले चिनियाँ टोलीसँग थप कुनै कुरा नगरेको पनि बालुवाटारनिकट स्रोतको दाबी छ ।

तर, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट अपेक्षित आशा नपाएको चिनियाँ टोलीको संवाद प्रचण्डसँग मात्रै केही सकारात्मक भएको थियो । स्रोतका अनुसार प्रचण्डसँगको संवादपछि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट भएको हो ।

चिनियाँ टोली काठमाडौं ओर्लिंदासम्म देउवासँगको भेट कन्फर्म सूचीमा थिएन । वामदेव गौतमसँग झण्डै आधा घण्टाको भेट पनि सदाझैँ राम्रो भएन । अझ, चिनियाँ टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग त भेट नै गरेन । खासमा चिनियाँ टाेलीकाे भेट परराष्ट्रको नोटिसमा पनि रहेन ।

सोचेझैँ रै’नछ नेकपा

चिनियाँ प्रतिनिधिले चार दिनमा निकालेकाे निष्कर्ष हो– नेकपा सोचेझैँ रै’नछ । भारत र अमेरिकी प्रभावमै संसद् विघटन भएको बुझाइसहित काठमाडौं ओर्लिएको चिनियाँ टोली विगत दुई वर्षको संगतकै कारण नेकपाको विभाजन मिलाप गराउन सकिन्छ भन्ने विश्लेषणमा थियो । तर, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग तिक्ततापूर्ण संवादले नेकपा तत्काल जोडिने सम्भावना नरहेको निष्कर्षमा पुगेको छ ।

चिनियाँ टोलीसँग भेट गरेका नेकपाका एक नेताले शिलापत्रसँगको संवादमा चीन नेकपा मिलाउन नसकिने निष्कर्षसहित फर्केको बताउँछन् । ती नेताले भने, ‘चीनले मिल्नुहोस्, एकीकृत नेकपालाई नै चीनले हेर्न चाहेको र सीपीसीको सहयोग पनि त्यसरी हुने बताएका थिए तर ओलीको जिद्दी शैलीबाट आजित भएका उनीहरू तत्काल मिल्न नसक्ने निष्कर्षमा पुगेका हुन् ।

बीआरआई परियोजना कार्यान्वयनमा ओली सरकारले गरेको ढिलाइ र अमेरिकी सहयोग एमसीसी संसद्‌बाट अनुमोदन गराउने हतारोले प्रधानमन्त्री ओली चीनप्रति नकारात्मक रहेको निष्कर्ष निकालेको पनि ती नेताको भनाइ छ । ती नेताले भने, ‘ओलीप्रति ठ्याक्कै शब्दमा त केही भनेनन् तर दीर्घकालीन विकास योजनामा असर पर्ने र स्थिर सरकारको कुरा उठाएर सांकेतिक असन्तुष्टि जनाएका थिए ।’

स्रोतका अनुसार चीन ओलीपछि बन्ने सरकार आफूअनुकूल बनाउने प्रयासमा भने जुटेकाे छ । त्यही कारण कांग्रेससँग सम्बन्ध सुधारको प्रयास चिनियाँ टोलीले गरेकाे हाे ।

हुम्लाको सीमा विवादको मुद्दाले कांग्रेससँग चीनको सम्बन्ध बढ्ता नै तिक्त बनेको थियो । त्यही कारण पटक-पटक बीपी कोइरालाको प्रंशसा गरेर चिनियाँ टोलीले सभापति देउवालाई विश्वासमा लिने प्रयास गरेकाे थियाे ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…