आन्दोलन गर्दागर्दै पिसाब फेर्न निस्केका चौधरी फ्याट्टै मन्त्रीको सपथ खाएर फर्किए

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रवार बिहान काठमाडौंको माइतीघर मण्डलामा नेकपाका नेता कार्यकर्ता भेला हुँदै थिए। संसद् ज्युँदै छ भन्ने सन्देश दिन नेता कार्यकर्ताहरूले प्रदर्शनको तयारी गरिरहेका थिए। माइतीघर मण्डलाबाट शक्ति प्रदर्शनसहित निर्वाचन आयोगसम्म पुग्ने नेकपाको तयारी थियो।

त्यसैको तयारीमा नेता कार्यकर्ताहरू व्यस्त थिए। प्रदर्शनमा आफ्नो शक्ति देखाउन सबै नेताहरू लागिपरेका थिए। उक्त प्रदर्शनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहितका नेताहरू सहभागी हुँदै थिए। आफ्नो पक्ष वैधानिक हो भन्ने पुष्टि गर्न पार्टी नेतृत्व देखि केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।

सकेसम्म सबै केन्द्रीय सदस्यहरूलाई प्रदर्शनमा सहभागी गराए आफ्नो पक्षमा बहुमत रहेको देखाउने प्रयास नेकपाको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेर पार्टीको अध्यक्षबाट निष्कासन गरिएको थियो। ओलीले संसद्को पूर्ण कार्यकाल पुरा हुनुअघि प्रतिनिधि सभा विघटन गरेका थिए। सोही विषयमा ओलीलाई कारबाही गरिएको थियो।

विकास र समृद्धिका लागि सरकार गठन गर्न नेकपालाई बहुमत दिएर जनताले पठाएका थिए। संसदमा दुई तिहाइको शक्ति हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिएपछि नेताहरू प्रधानमन्त्री ओली प्रति आक्रोशित थिए। ओलीको यस कार्यले पार्टी अघोषित विभाजनसमेत भएको थियो। ओलीको यस कदमको कडा प्रतिवाद गर्ने उद्देश्यसहित शुक्रवार नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका थिए।

यसरी सडकमा पुग्ने मध्येका एक थिए नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी। ओलीको कदमपछि चौधरी पनि आक्रोशित थिए। ओलीको प्रतिगामी कदमले लामो संघर्षपछि प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्नेमा उनी चिन्तित थिए। चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर पनि हुन।

यस अर्थमा पनि उनलाई पछिल्ला राजनीतिक उपलब्धिको माया पनि थियो। ओलीले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेपछि फेरि अस्थिर राजनीतिक वातावरण बन्ने र आफ्नो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने डर उनमा हुनु पनि स्वाभाविक थियो। अप्रत्याशित घटनाक्रमबाट लामो समय युद्धमा संघर्ष गरेका व्यक्तिहरु बढी चिन्तित थिए। चौधरी पनि यही मनोभावनाका साथ शुक्रवार बिहान प्रदर्शनका लागि माइतीघर मण्डलामा उत्रिए।

त्यहाँ उनी लामो समय संघर्षको मैदानमा सहकार्य गरेका मित्रहरूसँग सडकमै छलफलमा थिए। उनी पछिल्ला घटनाक्रमबाट गम्भिर बनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानमाथिको ‘कु’ भएकोले प्रदर्शनलाई सशक्त बनाउनु पर्ने चौधरीको भनाई थियो। ओली सरकारमा रहे राजनीतिक उपलब्धिहरू धरापमा पर्ने भएकोले उनी विरुद्ध आन्दोलन सशक्त बनाउनु पर्नेमा चौधरीले जोड दिइरहेको त्यतिबेला उनीसँग रहेका एक नेताले बताए।

चौधरीले प्रदर्शनमा आम नेता कार्यकर्ताको उपस्थितिलाई लिएर असन्तुष्टि जनाएका थिए। उनले प्रदर्शनलाई सशक्त बनाउन थप नेता कार्यकर्तालाई सडकमा उतार्नु पर्ने भनिरहेका थिए। उक्त दिन उनीसँगै रहेका एक नेताले भने, ‘प्रदर्शनमा उपस्थिति पुगेन। यस्तो अवस्थामा आन्दोलनमा क्रियाशील हुन पर्‍यो। खोइ मानिसहरू। यसरी त हुँदैन। ओलीको कदम ‘कु’ हो। त्यस विरुद्ध हामी संवेदनशिल हुनुपर्छ भनेर उहाँले साथीहरूसँग छलफल गरिरहनु भएको थियो।’

पिसाब फेर्न निस्के, मन्त्री बनेर फर्किए

माइतीघर मण्डलामा आन्दोलन चर्किँदै थियो। यता प्रधानमन्त्री ओली मन्त्रीपरिषद् विस्तार गर्ने योजनामा थिए। प्रतिनिधिसभा विघटन गरेपछि ओली पार्टी भित्र अप्ठेरोमा परेका थिए। एकातिर पार्टीले कारबाही गरेर अध्यक्ष पदबाट हटाएको थियो। अर्को तिर पार्टी फुटाउन उनलाई आवश्यक पर्ने केन्द्रीय समितिका सदस्यहरूको सङ्ख्या अपुग थियो। प्रतिनिधिसभा विघटनको विरोध गर्दै सात जना मन्त्रीहरूले समेत सामूहिक राजीनामा दिएका थिए।

यस्तो अवस्थामा ओलीले जसरी पनि केन्द्रीय समितिका सदस्यहरूको सङ्ख्या पुगाउन प्रयास जारी राखेका थिए। उनले विभिन्न पदको प्रलोभन दिएर नेकपा अध्यक्ष द्वय प्रचण्ड-नेपाल पक्षका नेताहरूलाई फकाउने कोसिस तीव्र पारेका थिए। सोही क्रममा ओलीले आफू विरुद्ध सडकमा प्रदर्शन गरिरहेका नेता गौरीशंकर चौधरीलाई फोन गरे। पूर्वमाओवादी केन्द्रतर्फका नेता गौरीशंकर चौधरीलाई ओलीले आफूलाई सघाउन आग्रह गरे।

ओलीले आफूलाई सहयोग गरे मन्त्री बनाउने आश्वासन चौधरीलाई दिए। ओलीविरुद्ध सशक्त प्रदर्शन गर्न सडकमा जुटेको अवस्थामा अचानक ओलीको फोन आएपछि चौधरी एक छिन अलमलमा परे। यता सडकमा प्रदर्शन। उता मन्त्री पद। चौधरीले त्यही बेला साथीहरूसँग पिसाब फेर्न अनुमति मागे। र प्रदर्शन स्थलबाट बाहिर लागे।

चौधरीसँगै रहेका एक नेता भन्छन्, ‘ओलीको कदमबारे हामी छलफल गरिरहेका थियौँ। एक्कासि उहाँलाई फोन आयो। कसको फोन थियो, कसले के भने उहाँले हामीलाई भन्नु भएन। एक छिन पिसाब फेर्न भनेर निस्कनु भयो। त्यसपछि उहाँ फर्किनु भएन। साँझ उहाँलाई एक्कै पटक ब्रेकिङ्ग न्युजमा देख्यौं।’

पिसाब फेर्न निस्किएका चौधरी ओलीको प्रस्तावपछि सिँधै बालुवाटार निस्किए। प्रदर्शनमा लगाएकै पोसाकमा उनी साँझ शीतल निवासमा शपथ ग्रहणका लागि पुगे। ओलीविरुद्ध चर्को बहस गरिरहेका चौधरी मन्त्री पदको प्रस्ताव पछि स्खलित भए। अन्ततः तीनै ओलीको मन्त्रिपरिषदमा सामेल भए। सत्ताको स्वादमा आफ्नो वैचारिक धारतलाई छोडेर चौधरी पदमा बिक्री भएको उनी निकट नेताहरूको आरोप छ। चौधरी यसअघि पनि कृषि मन्त्री रही सकेका छन्।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…