रुकुममा छ यस्तो नगरपालिका जसले गरिबका छोरालाई निशुल्क पाइलट बनाउछ

२६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीले एकै दिन विमान उडाउने नेपाली लाइसेन्स प्राप्त गरे। मंसिर २९ गते अन्तिम परीक्षा दिएका उनीहरूको नतिजा सोही दिन नै प्रकाशित भयो।

दुवै लकडाउनको समयताकै फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर स्वदेश फर्केका हुन्।

उताको कोर्ष पूरा गरे पनि यहाँका विमान उडाउन नेपाली लाइसेन्स नभई हुन्न। लकडाउनले गर्दा नेपालमा लाइसेन्स खुल्न ढिला भयो। तै केही, ढिलै भए पनि खुल्यो र उनीहरू दुवै उत्तीर्ण भए।

आधिकारिक रुपमा नेपाली विमान चलाउने लाइसेन्स प्राप्त गरेपछि दुवैसँग खुसीको सीमा छैन। आफन्त, साथीभाइ र शुभचिन्तकको बधाइ थाप्न भ्याइनभ्याइ छ।

दुबै जना रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका स्थानीय हुन्। केसीको घर आठबिसकोट-१० घारीखोला र भण्डारीको घर वडा नं. ५ गोतामकोटमा छ।

नेपालको विकट जिल्ला रुकुमपश्चिमको आठबिसकोट डोल्पा जिल्लाको सिमाना हो।

दुवैलाई आठबिसकोटले लगानी गरेर पाइलट बनाएको हो। दुई वर्ष पहिले केसी र भण्डारीलाई ५०-५० लाख लगानी गरेर आठबिसकोटले नै उनीहरूलाई अध्यनका लागि फिलिपिन्स पठाएको थियो। पाइलट भएर कमाउन थालेपछि मात्रै किस्तामा पैसा फिर्ता गर्ने सर्त छ।

‘हालसम्म हामीले एक रुपैयाँ पनि ब्याज बुझाउनु परेको छैन,’ केसीले भने, ‘जब हामीले काम सुरू गर्छौं, कमाउन थाल्छौं अनि मात्रै हाम्रो किस्ता सुरू हुन्छ।’

नेपाल एयरलाइन्सको पाइलट बन्न चाहेमा अझै उनीहरूले लोकसेवा दिनुपर्ने हुन्छ। लोकसेवाले कहिले आवेदन खोल्छ निश्चित छैन। इच्छा भए अब उनीहरू निजी विमान कम्पनीमा भने काम गर्न सक्छन्।

को हुन् केसी?

गोविन्द सामान्य परिवारमा जन्मिए हुर्किए। उनका बुवाआमा आज पनि खेतीपाती गर्छन्। ५३ वर्षीय बुवा कमल खत्रीले कक्षा ५ सम्म अध्ययन गरेका छन्। आमा बालमी खत्री साक्षर छैनन्।

केसी परिवारका दोस्रो सन्तान हुन्। उनकी एक दिदी, दुई भाइ र एक बहिनी छन्।

उनले गाउँकै विद्यालयमा कखरा सिके। आठबिसकोट-८ को जनविकास मावि घारीखोला जान ३० मिनेट र घर फर्किन एक घन्टा लाग्थ्यो। जाँदा ओरालो र फर्किंदा उकालो बाटो पर्छ। यातायातको सुविधा हुने कुरै भएन। झनै त्यसमाथि सरकारी विद्यालय। त्यो सुविधा अहिले पनि त्यहाँ उपलब्ध छैन।

केसी विद्यालय आउँदा-जाँदा डोल्पातर्फ उडिरहेका जहाज हेर्दै उत्साहित हुन्थे। सोच्थे, जहाज कसरी आकाशमा उड्छ होला? त्यसैगरी, आकाशमा उड्न पाए कस्तो हुन्छ होला? उनले बाल मस्तिष्कमा त्यतिखेरै आकाशमा उड्ने सपना सजाएका थिए।

गोविन्द सानैदेखि पढाइमा अब्बल थिए। ५ कक्षादेखि लगातार कक्षामा प्रथम भए। २०६७ सालको एसएलसीमा सेन्टर नै टप गरे। उनले एलएसलीमा ७० प्रतिशत ल्याएका थिए।

प्लस टु पढ्न दाङ झरे। घोराहीस्थित सरकारी विद्यालय पद्मोदयबाट आइएस्सीसम्मको पढाइ पूरा गरे। बिएसस्सी अध्यनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेज गए।

त्यहाँको राजनीतिले गोविन्दलाई छोयो। उनी तत्कालीन नेकपा माओवादीनिकटको अखिल क्रान्तिकारीबाट कलेजको अध्यक्ष बने। राजनीतिमा लागेपछि पढाइमा आंशिक प्रभाव पर्छ।

तैपनि, उनी अब्बल विद्यार्थीले राजनीति गर्नुपर्ने ठान्छन्, जसले देशलाई केही दिन सकुन्। उनले बिएस्सी पढाइ पूरा गरिनसकेको बताए।

‘मैले फोर्थ इयरमा दुई वटा विषयको जाँच दिइनँ,’ केसीले भने, ‘बिएस्सीको त्यो अधुरो पढाइ अब पूरा गर्ने सोचमा छु।’ फिलिपिन्स जाने तयारी गर्दागर्दै पढाइमा थोरै असर परेको उनले बताए।

त्रिचन्द्रमा विद्यार्थी नेता भएपछि भने उनले एक पटक जहाज चढेर काठमाडौं जाने अवसर पाए। ‘ब्याचलर पढ्ने क्रममा त्रिचन्द्रको अध्यक्ष भइसकेपछि म नेपालगञ्जदेखि काठमाडौं पहिलो पटक प्लेन चढेको थिएँ,’ उनले भने, ‘त्यो यात्राका क्रममा मनमनै पाइलट बनेरै छोड्न् अठोट गरें।’

त्यो अठोट कसरी पूरा गर्ने त? घरको आर्थिक अवस्था थिएन। आपत-विपतमा मानिसले भगवान पुकार्छ। गोविन्द पनि त्यसै गर्थे।

त्यतिबेलै उनले आफ्नो नगरपालिकाको चुनावी घोषणा पत्र सम्झिए। अब्बल विद्यार्थीको शिक्षामा लगानी गरेर पाइलट, डाक्टर, इञ्जिनियर पढाउनेजस्ता कुरा घोषणापत्रमा लेखिएको थियो।

त्यो कुरा उनले मेयरलाई स्मरण गराए। नगरपालिका चुनावी प्रतिवद्धता अनुसार उनीहरूमाथि लगानी गर्न तयार भयो। नगरभरका अब्बल विद्यार्थीको शैक्षिक प्रमाण पत्र माग गर्‍यो। उनी छनौटमा परे।

नगरपालिकाको ५० लाख लगानीबाट १४ महिना फिलिपिन्समा बसेर पाइलटको कोर्ष पूरा गरी उनी नेपाल फर्किए। ‘काम गर्छु भनेको भए उतै पनि पाइन्थ्यो,’ केसीले भने, ‘तर, मलाई आफ्नै देशको विमान उडाउने सपना छ।’

मंसिर २९ गते नेपाली लाइसेन्स प्राप्त गरेको दिन सबैभन्दा पहिला उनले घरमा बुवाआमालाई फोन गरे। अनि मेयर गोर्खबहादुर केसीलाई। त्यसपछि नेकपा नेता जनार्दन शर्मालाई फोन गरे।

गोविन्दको खुसीमा सबैले दंग छन्। ‘मलाई पाइलट बनाउने श्रेय नगरपालिकालाई दिन चाहन्छु,’ गोविन्दले भने, ‘म जस्तो गरिबको छोराले सानोमा देखेको सपना विपनामा परिणत गराउने दायित्व नगरले नै पूरा गरिदियो।’

मेयर गोर्खप्रति विशेष आभार व्यक्त गरे। ‘आज म एकदमै खुसी छु,’ केसीले भने, ‘अरू स्थानीय तहले पनि यस्तै प्लान र भिजनसहित अगाडि बढ्न सके म जस्तै धेरै गरिबका छोरा छोरीहरूको सपना पूरा हुने थियो।’

भण्डारीको बाल्यकाल

आठबिसकोट-५ का ललित भण्डारीले कक्षा ५ सम्म सरस्वती माविमा पढे। उतिखेर यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। त्यसपछि उनी ज्ञानोदय मावि चौतारीमा ६ र ७ कक्षा पढे। त्यहाँ पनि कक्षा ८ सम्म मात्रै पढाइ हुन्थ्यो। जहाँ जान २० मिनेट र आउँदा ४० मिनेट लाग्थ्यो। कक्षा ८ पढ्न उनी सूर्योदय मावि गए।

त्यहाँ जाँदा तीन घन्टा र फर्किँदा चार घन्टा जति समय लाग्थ्यो। हिँड्नुको विकल्प थिएन। विद्यालय भेरी नदीको नजिकमा छ। उनी बिहान साढे ७ बजेतिर नै विद्यालय हिँड्थे। आउँदा अँध्यारो भइसक्थ्यो। खाजा रोटी घरबाटै लगेका हुन्थे। गाउँबाट दुई जना मात्रै त्यहाँ पढ्न जान्थे।

‘हामी विद्यालय जाँदा जहिलै दौडिन्थिम्,’ भण्डारीले भने, ‘हिँड्दा म किताब पढ्थेँ।’

विद्यालय आउँदा-जाँदा आकाशमा जहाज उडेको देख्दा मनमा अनेक तर्कना उठ्थे। पाइलट भएर आकाशमा उडेको कल्पना गर्थे।

‘भविष्यमा के बन्न चाहन्छौं? भनेर सरले निबन्ध लेख्न लगाउँदा मैले प्राय: सधैं पाइलट बन्न चाहन्छु भनेर लेख्थें,’ भण्डारीले भने।

किशोरावस्था यस्तै जिज्ञासायुक्त हुन्छ। अनेक र अनौठा सपना देखिन्छ।

भण्डारी पनि अब्बल विद्यार्थी हुन्। उनी जहाँ गए पनि कक्षामा दोस्रो भए। ‘कक्षा १ देखि ९ सम्म म सकेन्ड भएँ,’ भण्डारीले भने।

२०६८ सालमा उनले ६४ प्रतिशत अंक प्राप्त गरी प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। जतिबेला त्यो विद्यालयका दुई जना मात्रै प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए।

भण्डारीले जिल्लाकै हिमालय मावि खोलागाउँमा प्लस टु पढे। सात सय विद्यार्थीमध्ये उनले कलेज टप नै गरे।

त्यसपछि २०७२ सालमा उनी राजधानीस्थित त्रिचन्द्र कलेजमा बिएस्सीमा भर्ना भए। अनि बल्ल गोविन्द र उनको चिनजान भयो। त्यसपूर्व उनीहरूको देखभेट त के चिनजान पनि थिएन। ललितले गोविन्दको जस्तो राजनीति पनि गरेनन्। ‘म आस्था भने राख्छु, तर, राजनीति गर्न मन लाग्दैन,’ उनले भने।

ललितले पनि बिएस्सी चौथो वर्षको एउटा परीक्षा दिन नपाएको बताए। अब त्यो पूरा गर्ने चाहना व्यक्त गरे।

घर आउँदा-जाँदा उनी बसमै जान्थे। रुकुम चौरजहारीमा प्लेन बस्थ्यो। तर, उनी कहिलै चढेनन्। ‘हामीसँग प्लेन चढ्ने पैसा कहाँ हुनु,’ ललितले भने।

रुकुम खलंगाबाट बसमा काठमाडौंको यात्रा गर्दा कम्तीमा १८-२० घन्टा लामो यात्र गर्नुपर्छ। त्यो यात्राका क्रममा पनि उनी सोच्थे। पाइलट भए त यति समय किन लाग्थ्यो र? उनले पाइलट बन्ने सपना पछ्याइरहेकै थिए। ‘मेरो जीवनमा पनि भगवानले त सोच म पुर्‍याउँछु भने झैं भयो,’ ललितले भने।

ठिक त्यही समयमा नगरपालिकाकाले नगरभरिका जेहेन्दार विद्यार्थीबाट आवेदन माग्यो। ललितले पनि आफ्ना सबै शैक्षिक प्रमाण पत्र पेश गरे। उनी छनोटमा परे। अनि उनले नगरपालिकाले दिएको ५० लाख प्राप्त गरे। त्यसपछि उनी पढ्नका लागि फिलिपिन्स गए।

ललितको परिवार कृषिमा आश्रित छ। उनी कान्छा छोरा हुन्। फिलिपिन्सबाट फर्कनुभन्दा एक डेढ हप्ता पहिले उनका बुवा हिमलाल भण्डारीको ७३ वर्षको उमेरमा मृत्यु भयो।

‘बुवाले म पाइलट कोर्ष पूरा गरेर स्वदेश फर्किँदा खुसी साट्न पाउनु भएन,’ ललितले भने, ‘तर, ६८ वर्षीया आमा म पाइलट भएपछि निकै खुसी हुनुहुन्छ।’ ललितका बुवाआमा दुवै साक्षर हैनन्।

‘उहाँहरू कुनै काम पर्दा ल्याप्चे लगाउनु हुन्थ्यो,’ ललितले भने। दुई दिदी र तीन दाजुमध्ये जेठा दाइले मात्रै ५ कक्षासम्म अध्ययन गरेको ललितले बताए।

ललित अब त्यसै बस्नुभन्दा निजी कम्पनीका विमान भए पनि उडाउने कि भन्ने सोचमा छन्। लोकसेवा खुलेपछि नेपाल एयरलाइन्सको परीक्षा दिने योजना सुनाए। ‘हामी जस्तालाई केही नगरी काठमाडौंमा बाँच्न गाह्रो छ,’ ललितले भने ‘त्यसैले निजी एयरलाइन्सबाट काम सुरू गरूँ कि भन्ने सोच बनिरहेको छ।’

मंसिर २९ गते नेपाली पाइलटको लाइसेन्स प्राप्त गरेपछि उनले सबैभन्दा पहिला मेयर गोर्खबहादुर केसीलाई फोन गरेर खुसी साटेको बताए। त्यसपछि आमालाई र नेता जनार्दन शर्मालाई फोन गरेको उनले बताए।

‘आमाले परिवारको नाम राखिस्, कुल खानदानको इज्जत बढाइस् भनेर धन्यवाद दिनुभयो,’ ललितले भने ‘मेयरसापले हाम्रो लगानीले सार्थकता पायो, गाउँ-ठाउँको शिर उचो भयो भन्दै शुभकामना दिनुभयो।’

नेता शर्माले पनि जिल्लाकै प्रतिष्ठा बढाइदिएकोमा धन्यवाद दिँदै भविष्यमा थप मेहनत गर्न आग्रह गरेको उनले बताए।

गोविन्दले जस्तै ललितले पनि आफ्नो सफलताको श्रेय आठबिसकोट नगरपालिकालाई नै दिए।

डाक्टर, नर्स, इञ्जिनियरका लागि पनि लगानी गर्छौं: मेयर केसी

मेयर गोर्खबहादुर केसीले थप  २० जना युवालाई अनुदान दिएर प्राविधिक विषय पढाइरहेको जानकारी दिए। ‘लगनशील र आर्थिक अवस्था कमजोर भएका थप २० जनाजति युवायुवतीलाई हामीले अनुदानमा पढाइरहेका छौं,’ मेयर केसीले भने, ‘कोही भेरी प्राविधिक शिक्षालयमा पढिरहेका छन्, कोही बुटवलमा पढिरहेका छन् र कोही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढिरहेका छन्।’

उनीहरूका लागि तीनदेखि चार लाख अनुदान सहयोग नगरपलिकाले गरेको मेयर केसीले बताए। ‘रुकुमजस्तो बिकट ठाउँमा कर्मचारी सरुवा भएर आउन मान्दैनन्,’ मेयर केसीले थपे, ‘त्यही भएर आफ्नै ठाउँमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो सोच हो।’

आठबिसकोट नगरपालिकाले थप एक जनालाई डाक्टर पढाउनका लागि लगानी गर्न लागेको उनले जानकारी दिए।

‘लकडाउनले गर्दा केही ढिला भयो,’ उनले भने ‘अब निकट भविष्यमै एक जना डाक्टर पढ्न चाहने जेहेन्दार तर गरिब विद्यार्थीलाई हामी डाक्टर बनाउन लगानी गर्दैछौं।’

डाक्टर पढ्नका लागि नाम निकालिसकेपछि जोकोहीलाई पनि अवस्था हेरेर लगानी गर्न सकिने उनले बताए।

त्यसको लागि नगरपालिकाले कार्यविधि बनाएको छ। स्थानीय सहकारीसँग मिलेर काम गर्छ। सहकारीले जग्गा धितो राखेबापत सस्तो ब्याजदर (५ प्रतिशतसम्म)मा ऋण दिने गर्छ।

४०-५० लाख ऋण लगानी गरे पनि ऋणीले कोर्ष पूरा गरेपछि र जागिर सुरू गरेपछि मात्रै त्यो ब्याज किस्तामा तिरे हुन्छ। ‘सम्बन्धित व्यक्तिले कोर्ष पूरा नगर्दासम्म कुनै ब्याज तिर्नुपर्दैन,’ मेयर केसीले भने, ‘सम्बन्धित व्यक्तिले जागिर सुरू गरेपछि मात्रै किस्ता सुरू हुन्छ।’

उनीहरूले ब्याज बुझाउन थालेपछि अन्य गरिबका छोराछोरीमा त्यो पैसा लगानी गरेर छात्रवृत्ति प्रदान गर्ने कार्यविधि निर्माण गर्न लागिएको मेयर केसीले बताए।

‘कुनै पनि जेहेन्दार विद्यार्थीले चाहेको विषय पढ्न सकोस् र हाम्रै ठाउँमा दक्ष जनशक्ति तयार होस् भन्ने हाम्रो चाहना हो,’ मेयर केसीले भने, ‘भविष्यमा यसमा थप सजिलो कसरी गर्न सकिन्छ भनेर हामी सरसल्लाह गर्नेछौं।’

रुकुमबाट हालसम्म कति जना पाइलट भए?

रुकुमका पहिलो पाइलट प्रचण्डजंग शाह हुन्। उनी २०१८ सालमा बोर्ड फष्ट भएका थिए। उनले बेलायतमा पढाइ सकेपछि २०२३ सालदेखि विमाउन उडाउन सुरू गरेको शाहका भाइ तथा नेपाली कांग्रेसका नेता गोपालजीजंग शाहले बताए।

त्यसपछि कांग्रेस नेता शाहका छोरा उत्सवजीजंग शाहले अमेरिका पढेर २०५३ सालदेखि पाइलट भए। त्यसपछि रुकुमकै सम्राटविक्रम शाह र नरबहादुर नेपालीका छोरा शैलेश लम्साल पाइलट बनेको कांग्रेस नेता शाहले बताए।

उनीहरू सबै आफ्नै खर्च र लगानीबाट पाइलट बनेका हुन्।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…