त्यो कुरूप काँसघारी जहाँ ठडिँदैछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अर्को साल अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सक्छौं : धुर्मुस

दुई वर्षअघि त्यो कुरूप काँसघारीको स्वामित्वका लागि कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच जुहारी चल्दै थियो।

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहितको टिम रंगशाला निर्माणका लागि उपयुक्त जमिन खोज्दै हिँडेका थिए।

काठमाडौंदेखि मकवानपुर, रूपन्देही, दाङ, कास्की, मोरङ हुँदैझापासम्म पुगेर जमिन हेरेको यो टिमले त्यहीँ काँसघारीमा अन्तर्राट्रिय क्रिकेट रंगशालाको कल्पना गर्‍यो। भरतपुर महानगरपालिकाको अग्रसरतामा विश्वविद्यालयलाई अन्यत्रको जमिन सट्टाभर्ना गर्नेगरी २० विगाहा ६ कट्ठा जमिन रंगशालाका लागि उपलव्ध भएको थियो।

यो अवधिमा त्यो काँसघारीमा सुन्दर नमूना क्रिकेट मैदान तयार भएको मात्रै छैन, यहाँ राष्ट्रिय टिमका खेलाडीको खेल हेरेर दर्शकले भरपुर मनोरञ्जन लिन थालिसकेका छन्।

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदान र प्याराफिटको निर्माणकार्य अहिले धमाधम चलिरहेको छ। गत वर्षको मंसिरबाट बनाउन थालिएको क्रिकेटको नमूना मैदानमा भने केही दिनयता दिनहुँ खेल गतिविधि भइरहेका छन्।

राष्ट्रिय टिमका खेलाडीलाई ल्याएर खेल खेलाइसकेपछि धुर्मुसको लक्ष्य छ, ‘अर्को साल भित्रैमा मूख्य मैदान तयार पारेर अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने।’ धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका धुर्मुसले आर्थिक समस्या आइनपरे अर्को साल रंगशाला तयार हुने दाबी गरे।

‘क्रिकेट मैदानको काम ८५ प्रतिशत सकिएको छ, प्याराफिटका लागि २८६ वटा पिल्लर उठिसकेको छ,’ धुर्मुसले भने, ‘सबैको सहयोग मिल्यो र आर्थिक समस्याले काम रोकिएन भने आगामी वर्ष त अन्तर्राष्ट्रिय खेल नै खेलाउन सकिन्छ।’

उनकाअनुसार ३० हजार दर्शक बसेर एकसाथ हेर्न मिल्नेगरी प्याराफिट निर्माण भइरहेको छ। रंगशाला निर्माणको काममा अहिले २२ जना प्राविधिकसहित २५३ जना खटिएका छन्। ‘कोरोना भाइरसको महामारीका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कामलाई अगाडि बढायौं, दसैं, तिहार, छठजस्ता चाडपर्वमा पनि काम रोकिएन,’ उनले भने, ‘जसरी पनि रंगशाला उठाउनुपर्छ भनेर मनैदेखि काम गरेका कारण तोकिएकै समयभित्र तयार हुन्छ भन्ने विश्वास छ।’

गत साउन १ गते फाउण्डेशनले १८ महिना भित्रमा रंगशाला निर्माणको काम सम्पन्न गर्ने घोषणा गरेको थियो।

अर्को साल अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सक्छौं

धुर्मुसले खेलाडीले देशका लागि गरेको योगदानका कारण रंगशाला निर्माणमा ऊर्जा मिलेको बताए। ‘तपाईँको खेल हेरेर रमाउने क्रिकेटप्रेमी हामी तपाईहरुलाई बोलाएर हामीले बनाएको मैदानमा खेलाउन पाउँदा भावुक भएका छौं,’ राष्ट्रिय खेलाडीहरुलाई रंगशाला निर्माण स्थलको भ्रमण गराउँदै उनले भने, ‘यहाँहरुको मन्दिर तयार भइरहेको छ। अर्को साल यहीँ अन्तर्राष्ट्रिय गेम खेल्नुपर्छ।’

उनले खेलाडीहरूले नेपालीको शीर उचो पार्दिएका कारण द्रूत गतिमा रंगशाला तयार भइरहेको बताए।

‘तपाईँहरुको उत्कृष्ठ खेलका कारण देशले एकदिवसीय क्रिकेट खेल्ने देशको मान्यता पाएपछि नै रंगशाला निर्माणको अभियान अघि बढेको थियो। यसपाली नमूना मैदानमा राष्ट्रिय खेल नै भयो, अर्को साल मूख्य मैदान नै तयार पारेर अन्तर्राष्ट्रिय खेल खेल्नुपर्छ,’ धुर्मुसले भने, ‘जसले हामी सबै नेपालीको छाति गर्वले ढक्क फुल्नेछ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले निर्माणाधिन रंगशालाले खेलाडीलाई हौसला बढाएको बताए। ‘यो समयमै बनेर खेल्न मिल्ने अवस्थामा पुग्यो भने नेपाली खेलमा धेरै सहयोग पुग्छ,’ उनले भने, ‘हामी आशावादी छौं सबै कुरा राम्रो हुँदै जानेछ।’

उनले अहिले तयार भएको नमूना मैदानले मूख्य क्रिकेट मैदान निर्माणका लागि माहोल बनाउने बताए। त्यसैका लागि यहाँ खेल्न आफूहरू आएको उनले बताए।

राष्ट्रिय खेलाडी विनोद भण्डारीले रंगशाला बन्दा खेल्नेलाई राम्रो, हेर्नेलाई झन् राम्रो अवसर मिल्ने बताए। ‘नेपालले क्रिकेटमा केही गर्न सक्छ भन्ने सबैलाई लागेको छ, त्यसैले पनि यो रंगशाला बनाउने माहोल बन्यो,’ उनले भने, ‘अब यसलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ, खेलाडीको सहयोग त यसै पनि भइहाल्छ।’

नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य तथा बागमती प्रदेश क्रिकेट संघका सचिव दुर्गाराज पाठकले नमूना मैदानसमेत राष्ट्रिय खेलका लागि उपयुक्त देखिएको भन्दै मूख्य मैदान निर्माणसँगै नेपालको क्रिकेट खेलले थप गति लिने विश्वास व्यक्त गरे।

‘यहाँ नमूना मैदान बन्यो भन्ने थाहा पाएपछि असोज २६ गतेको वोर्ड बैठकले नै चितवनमा एउटा राष्ट्रिय स्तरको खेल गरौं भनेर निर्णय गरेको थियो,’ उनले भने, ‘यहाँको अलोकन गर्दा उपयुक्त लागेपछि खेल खेलाइयो। सफल पनि भयो।’

फाउण्डेशनले नमूना मैदानलाई मूख्य मैदान निर्माणका लागि आर्थिक श्रोत जुटाउने संरचनाकोरुपमा विकास गरेको हो। ‘यहाँ खेल खेलाएर केही भने पनि स्रोत जुटाउन सकिन्छ कि भनेर यो बनाइएको हो,’ धुर्मुसले भने, ‘काँसघारीकोरूपमा रहेको क्षेत्रलाई सम्याउनेदेखि दुबो रोप्नेसम्मको काममा आफैंले मेहनत गरेर यतिको बनाइएको छ।’

डिपिआरअनुसार रंगशालाको निर्माण सम्पन्न हुँदा भने त्यो क्षेत्रमा सवारीसाधनको पार्किङस्थल बन्छ।

२०७५ सालको माघ १६ गते फाउण्डेशनमार्फत चितवनमा रंगशाला निर्माण गर्ने घोषणा गरिएको थियो। २०७६ सालको मंसिर १ गतेबाट औपचारिकरुपमा काम थालेको फाउण्डेशनले सर्वसाधारणबाट सहयोग जुटाएर निर्माण कार्यलाई निरन्तरता दिँदै आएको छ।

यो अवधिमा रंगशाला निर्माणस्थलमै धनधान्याचल महायज्ञ सञ्चालनगरी ६९ करोड ४० लाख ५६ हजार ९१९ रुपैयाँ जुटाउने बोलकबोल गरिएको थियो। तर त्यसमध्ये नगद करिब ९ करोड रुपैयाँ मात्रै उठेको धुर्मुस बताउँछन्।

आम्दानी भन्दा ८ करोड बढी खर्च

रंगशाला निर्माणका लागि सहयोग रकम बोल्ने धेरै भए पनि नगद प्राप्त हुन नसक्दा केही समययता काममा समस्या आउने चिन्ताले सताएको धुर्मुस बताउँछन्।

फाउण्डेशनको लेखा शाखाले दिएको विवरणअनुसार रंगशाला निर्माणकाक्रममा अहिलेसम्म ३६ करोड ५० लाख ८६ हजार ३५३ रुपैयाँ खर्च भइसकेको छ। जबकी अम्दानी २८ करोड ३० लाख १८ हजार ४६५ रुपैयाँ मात्रै छ।

‘करोडौंका सामान उधारोमा ल्याइरहेका छौं, सहयोग बोलिएको नगद संकलन गर्न पनि सकिएको छैन,’ धुर्मुस भन्छन्, ‘अब त उधारो दिनेलाई पनि समस्या हुन थालिसक्यो।’ उनले आवश्यक सामानको जोहो गर्नै समस्या हुन थालेको बताए।

लकडाउन अघि सहयोग प्राप्त हुनेक्रम निकै भए पनि पछि कम हुँदै गएको उनले बताए। ‘लकडाउनले सबैलाई समस्यामा पारेका कारण बीचको केही समय त सहयोग आउनै रोकियो। अहिले वातावरण केही सहज बन्दै गएको छ, त्यहीँअनुरुप सहयोग पनि आउन थालेको छ,’ उनले भने, ‘तर पर्याप्त सहयोग आउन सकिरहेको भने छैन।’

उनले संघीय सरकारसहितका सरकारी निकायहरुबाट धेरै अपेक्षा रहे पनि आशातित सहयोग नपाएको गुनासो गरे। सहयोगका लागि पटक–पटक आग्रह गर्दा पनि संघीय सरकारबाट आर्थिक सहयोग हुन नसकेको र स्थानीय तहहरुबाट पनि मन फुकाएर आर्थिक सहयोग नभएको गुनासो उनले गरे।

‘भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएर ठूलो सहयोग गर्‍यो, साथै नगद ४ करोड रुपैयाँ पनि उपलब्ध गरायो। आवश्यक पर्दा अन्य सहयोगहरु पनि यहाँबाट पाइरहेका छौं,’ उनले भने, ‘देशकै गौरबको योजना भएका कारण संघीय सरकारबाट पनि ठूलो सहयोगको अपेक्षा गरेका थियौं तर पाउन सकिएको छैन।’

बागमती प्रदेश सरकारले ३ करोड, हेटौंडा उपमहानगरपालिकाले ३० लाख, इच्छाकामना गाउँपालिकाले ११ लाख र राप्ती नगरपालिकाले ५ लाख रुपैयाँ बाहेक सरकारी निकायको सहयोग प्राप्त नभएको उनले बताए।

‘हामी निकै अप्ठेरो अवस्थामा पुगेका छौं,’ उनले भने, ‘देशको गौरबको परियोजना बन्दैछ तर हामीसँग यसका लागि आवश्यक स्रोतको अभाव दिन प्रतिदिन बढ्दै गएका कारण समस्या आइरहेको छ।’

उनले अन्तर्राष्ट्रिय रंगशाला बन्दा नेपाली सबैले गर्व गर्न पाउने भन्दै मन फुकाएर सहयोग गर्न सबैलाई अपिल गरे। ‘हामीले त संयोजन मात्रै गरेका हौं, रंगशाला ठडिने त सबैको सहयोगमा हो,’ धुर्मुसले भने, ‘हामी सबै मिलेर योजनालाई सफल बनाऔं, तपाईहरुको सहयोगलाई हामी खेर जान दिँदैनौं।’

३ अर्ब रुपैयाँ खर्च लाग्ने भनिएको रंगशालालाई नेपालको कला, संस्कृति र वस्तुकलाअनुसार तयार गर्ने लक्ष्य राखिएको छ। सबै जिल्लालाई समेट्नेगरी ७७ कक्ष निर्माण गर्ने लक्ष्य छ। कमलको फूलको आकृतिमा बन्ने रंगशालामा ७७ वटा पत्ता र सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी ७ वटा गेटहरु निर्माण गर्ने तयारी छ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…