काठमाडौं, १० मंसिर : भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेलका क्रममा भारतीय टिमका अलराउन्डर रवीन्द्र जडेजाको हेल्मेटमा बल लाग्यो । उनको हेल्मेटमा ब्याटिङको क्रममा बल लागेको हो ।
हेल्मेटमा बल लागे पनि जडेजाले ब्याटिङ गर्न छाडेनन् । उनले हेल्मेटमा बल लागेपछि झन् आक्रामक ब्याटिङ गरे । उनले आज २३ बलमा पाँच चौका र एक छक्कासहित अविजित ४४ रन बनाए ।
उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स समाप्त गरेका जडेजा दोस्रो इनिङ्समा भने मैदानमा देखिएनन् । उनको स्थानमा कन्कसन सब्स्टीच्युट खेलाडीका रूपमा स्पिनर युजवेन्द्र चहल मैदान उत्रिए ।
म्याच रेफ्री डेविड बूनले आईसीसीको नयाँ नियमअनुसार चहललाई जेडजाको स्थानमा बलिङ गर्ने अनुमतिसमेत दिए । रेफ्रीको यो निर्णयले अष्ट्रेलिया टिम सन्तुष्ट देखिएन ।
भरतीय टिमले आईसीसीको नियमअनुसार जेडजाको स्थानमा चहललाई म्याचमा समावेश गरेको थियो । तर, अष्ट्रेलियाका कप्तान आरोन फिन्च भने भारतीय टिमको यो निर्णयप्रति खुसी थिएनन् ।
भरतले जडेजाको स्थानमा चहललाई खेलाएपछि अष्ट्रेलिया टिमका कप्तान फिन्च र प्रशिक्षक जस्टिन लेंग्गरले म्याच रेफ्री बूनसँग मैदानमै केही समय बहससमेत गरे । तर, रेफ्रीले आफ्नो निर्णय फिर्ता गरेनन् । र, चहललाई खेलाउनैपर्ने अडान राखे । रेफ्री आईसीसीको नियमअनुसार चहललाई खेलाउनैपर्ने पक्षमा अडिक थिए ।
अष्ट्रेलिया र भारतबीचको म्याच देखिएको यो रोमाञ्चक अवस्थालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रिया आएका छन् ।
इंग्ल्याण्ड क्रिकेट टिमका पूर्वकप्तान माइकल वार्नले पनि यो विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आफ्नो प्रतिक्रियामा भारतीय टिमप्रति असन्तुष्टि पोखेका छन् ।
माइकलले जडेजालाई चोट लाग्नेबित्तिकै चेकअपका लागि मैदानमा डाक्टर र फिजियो नआएकाले केही आशंका मिश्रित ट्वीट गरेका छन् ।
अष्ट्रेलियाका पूर्वक्रिकेटर टम मूडीले पनि यो विषयमा प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मलाई जडेजाको स्थानमा चहललाई सब्स्टीट्युट खेलाडीको रूपमा खेलाएकोमा कुनै आपत्ति छैन । मलाई आपत्ति त यो छकि जब जडेजाको हेल्मेटमा बल लागेको थियो, त्यो बेला किन मैदानमा डाक्टर वा फिजियो किन आएनन्? मलाई लाग्छ आजकल बनेको नयाँ नियममा मैले भनेको कुरा पनि उल्लेख छ ।’
अष्ट्रेलियाविरुद्ध भारतलाई १२ औँ खेलाडीले दिलाए जित!
भारतसँगको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया ११ रनले पराजित भएको छ । भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान आरोन फिन्चले ३५, मोइसेस हेनरिक्सले ३०, डार्सी सर्टले ३४, स्टिभ स्मिथ, मिचेल स्वीपसन र सन एबटले १२/१२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा थांगारासु नटराजन, युजवेन्द्र चाहलले ३/३ र दीपक चाहरले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
उसका लागि अलराउन्डर रवीन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे । उनले २३ बलमा एक छक्का र पाँच चौकासहित अविजित ४४ रन बनाए ।
टी-२० अन्तर्राष्ट्रिय करियरमा जडेजाको यो उच्च रन हो । यसअघि टी-२० मा उनको उच्च स्कोर २५ रन थियो ।
त्यस्तै, केएल राहुलले ५१, सञ्जु सामसनले २३, हार्दिक पाण्ड्याले १६, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ र शिखर धवनले १ रन बनाए ।
बलिङमा मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २, मिचेल स्वीपसेन र एडम जम्पाले एक/एक विकेट लिए ।
आजको जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । भारत र अष्ट्रेलियाबीचको दोस्रो टी-२० आइतबार हुनेछ ।