मानहुँडाँडामा एकाएक भीड उर्लिदा व्यवस्थापनमा कठिन, सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचालन

पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने जो कोहीले तनहुँको दमौली आइपुग्दा आँखैमा ठोकिने कहालीलाग्दो भीर देख्न पाउँछन् । त्यो भीरको सिरानमा समथर भूभाग छ । राजमार्गमा गुड्नेले त्यहाँ समथर भूभाग भएको अड्कल समेत लगाउन सक्दैनन् । जबसम्म त्यो डाँडाको टुप्पैमा पुगिन्न, तबसम्म त्यहाँको भू बनोटबारे अड्कल काट्न कठिन छ । त्यही डाँडाको नाम हो–मानहुँ ।

तनहुँको ब्यास नगरपालिका–५ मा पर्छ मानहुँ । मानहुँको टुप्पोमा कोट पनि छ । त्यसैले कतिपयले त्यसलाई मानहुँकोट भनेर पनि चिन्छन् । त्यही मानहुँको डाँडामा घुम्न पुग्ने आन्तरिक पाहुनाको शनिबार थामिनसक्नु भीड लाग्यो । त्यो भीड अरु कुनै मेला वा भेलाका लागि थिएन, सदरमुकाम दमौली र आसपासलाई बादलले ड्याम्मै छोप्दा माथि खुलेको सूर्याेदय हेर्नका लागि उक्लिनेको भीड थियो । सूर्याेदय हेर्ने बाहेक डाँडामा रमाउन उक्लिनेको भीड मध्यान्हसम्म उस्तै थियो ।

‘शनिबार बिहान ३ बजेदेखि सडकमा मोटर गुडन् थालेका थिए । एकाएक भीड उर्लिदा व्यवस्थापनमा समेत कठिन भयो,’ ब्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन, ‘उर्लिएको भीड व्यवस्थापनमा १५ जना प्रहरी र ५ जना ट्राफिक प्रहरी नै परिचालन गर्नुपर्‍यो ।’ उनका अनुसार शनिबार मात्र करिब १५ हजार आन्तरिक पाहुना घुमघामका लागि मात्र मानहुँडाँडा उक्लेको अनुमान छ ।

‘म आफै डाँडामा उक्लिन नसकेर बीचबाटै फर्किनुपर्‍यो । सडकका दुवै किनारमा यत्रतत्र गाडी पार्किङ गरिँदा सकस भयो,’ उनले भने, ‘यस्तो भीड होला भन्ने त सोचेका पनि थिएनौ । भीड छिचोल्न सकस भएपछि बीचबाटै फर्केको हुँ ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार काठमाडौदेखि तराईसम्म र तनहुँ आसपासका जिल्लाका युवायुवती मानहुँ उक्लिन बिहानै सदरमुकाम दमौली आइपुगेका थिए । अधिक भीड हुँदा कतिपय त डाँडामा उक्लिनै नसकेर बीचबाटै फर्किनुपरेको उनले बताए । ‘सोच्दै नसोचेको भीडभाड भयो ।

कोरोनाको यो बेला सबैतिर घुम्न सहज नहुँदा मानहुँडाँडाले अवसर जुटायो,’ उनले भने, ‘यतिधेरै आन्तरिक पाहुना आउलान् भन्ने सोचेका पनि थिएनौ ।’ उनका अनुसार बिहान सबेरै जाने सूर्याेदय हेर्नका लागि थिए । त्यसबाहेक ठुलो संख्याका पाहुना शुक्रबार बेलुकी नै टेन्ट टाँगेर डाँडामा बसेका थिए ।

‘मानहुँकोटमा बास बस्ने ठाउँ नहुँदा सदरमुकाम दमौलीका सबै होटल शुक्रबार बेलुकीका लागि बुकिङ थिए । दमौलीका होटलमा बास नपाएपछि कतिपय पाहुना घाँसीकुवाका होटलमा समेत बास बस्न पुगेका थिए । ‘बास बस्ने ठाउँ नपाएर धेरै पाहुनाले शुक्रबार बेलुकी सकस खेपे,’ उनले भने, ‘यत्तिको भीडभाड पहिलो पटक भयो ।

सधैं पाहुना आउने निश्चत हुन्थ्यो भने त्यही अनुसार व्यवस्थापन हुन्थ्यो । तर, त्यो हुने अवस्था रहेन ।’ यो आगमनले आगामि दिनमा मानहुँलाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा बल पुगेको उनले बताए ।

मोटरसाइकल र निजी सवारीमा राजमार्गबाट उकालो लाग्नेको भीडभाड दिउँसो अबेरसम्म हुँदा जसोतसो उक्लिएकालाई फर्किन पनि उस्तै सकस भएका उनले बताए । युवापुस्ता बाहेक परिवारैसहित घुम्न आउने पाहुना पर्याप्त भएको उनले सुनाए ।

मानहुँमा घुम्न पुग्नेको संख्या अधिक भएपनि त्यहाँ खानपिन र बसोबासको अहिलेसम्म उचित व्यवस्था छैन । कुनैबेला ७० घर रहेको मानहुँडाँडामा अहिले ६ घर छन् । खानेपानीको चरम अभाव भएपछि त्यहाँका गाउँलेले घरबार छाड्न थालेका थिए ।

मानहुँ घुम्न जानेमा पोखराबाट समेत उस्तै भीड थियो । पोखराका पुर्ण गुरुङ बिहान ४ मानहुँका लागि हिडेका थिए । परिवारका सदस्य सहित निजी गाडिमा गएका उनलाई मानहुँको फेँदीमा पुग्न २ घण्टा लागेको थियो ।

पोखराबाट जम्मा ५० किलोमिटर दुरीमा मानहुँको फेँदी भएपनि मोटरसाइकल र निजी सवारीको भीडका कारण दुईघण्टा लागेको उनले बताए । ‘मैले पोखरामा देखेका निजी सवारी र मोटरसाइकल सबै मानहुँका लागि गएका रहेछन् । पोखरामा नयाँवर्षमा हुने सडक महोत्सवमा जस्तै सडकमा भीड थियो,’ उनले भने, ‘त्यो भीड छिचोलेर डाँडामा पुग्न निकै नै सकस भयो ।’

सदरमुकाम दमौलीदेखि सातकिलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो छ । त्यसमा पनि धेरैजसो खण्ड कालोपत्रे भईसकेको छ । ‘अधिक जामले गर्दा डाँडामा नपुगि फर्किए,’ उनले भने, ‘फर्किदा पनि उत्तिकै दुख भयो । सातकिलोमिटर दुरी छिचोल्न २ घण्टा लाग्यो । ८ बजे फर्किन सुरु गरे, राजमार्गमा झरिसक्दा सबा १० बजेको थियो ।’ डाँडाबाट तल हेर्दा कुहिरोले ड्याम्म छेकिने त्यही बेलाको सुर्याेदय हेर्न भनेर आफुहरु पोखराबाट हानिएर गएको गुरुङले सुनाए । ‘ट्राफिक व्यवस्थापनमै निकै नै सकस थियो,’ उनले भने, ‘त्यत्तिको भीड पोखराको सडक महोत्सवमा मात्र हुन्छ । हामी ओर्लिदै गर्दा उक्लिने पाहुनाको भीड अधिक बढिसकेको थियो । सडकमा तेर्साएर राखेका सवारी हटाउँदै हामी राजमार्गसम्म झर्‍यौ ।’

मानहुँकोटको यो मैदानले दसैंपछि आन्तरिक पाहुना पाउन थालेको थियो । अन्यत्रका चल्तिका गन्तव्यमा कोरोनाका कारण आउजाउमा सकस हुँदा मानहुँले भने पाहुनालाई स्वागत गर्ने अवसर पाएको थियो । ‘दिनमा दुईहजार जति पाहुना उक्लिरहेका थिए । तर, शनिबार कम्तिमा १५ हजार मान्छे त्यो डाँडामा पुगेका अनुमान छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘यो पटक मानहुँले आन्तरिक पाहुनाबाट न्यानो माया पायो । अब यो अवसरलाई सदुपयोग गरेर पर्यटनमा खर्चिनुपर्छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार रातीमा बास बस्नेगरि टेन्ट लिएर पनि ठूलो संख्यामा आन्तरिक पाहुना मानहुँ उक्लिरहेका छन् । त्यहाँ होटल र बसोबासका उत्तिसारो व्यवस्थापन नहुँदा बाहिरबाट जानेलाई केही समस्या छ । ठुला आकारका होटल नभएको र सिमित घरमा धेरैजना पाहुना अट्न सक्ने अवस्था नहुँदा बास बस्न चाहलेले टेन्ट सहित खाने बस्नेको जोहो गरेर उक्लिएको श्रेष्ठले बताए ।

अहिले ब्यास नगरपालिकाले मानहूँ पुगेका पाहुनाको सुरक्षाको लागि रेलिङ बनाईरहेको छ । त्यस्तै ४० लाख रुपैयाँ खर्चेर भ्यू प्वाईन्ट बनाउने काम थालिएको छ । डाँडामा रहेका पुराना घरलाई होमस्टे बनाउने तयारी छ ।

तनहुँको पर्यटनमा सक्रिय रहेको संस्था सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले पनि यो पटक कोरोनाले गर्दा अन्यत्रका गतिविधि ठप्प हुँदा मानहुँले पहिचान बनाउन सकेको बताए । ‘पूर्वाधार बनिरहेकोले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ ।

खाने र बस्ने व्यवस्थापन आफैले गर्नुपर्छ,’ उनले भने, ‘तर डाँडामा उक्लेपछिको रोमाञ्चकता बताईसक्नु हुँदैन ।’ समुन्द्री सतहदेखि ११ सय मिटर उचाइको यो डाँडाबाट अन्नपूर्ण, माछापुछ्रेदेखि मनास्लुसम्मका हिमश्रृंखला देख्न सकिन्छ । त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न सकिन्छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…