मेरो विरुद्ध कुनै कदम चालेको शंका मात्रै भयो भने त्योभन्दा कडा कदम चाल्छु

काठमाडौँ। मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि मुख्य नेताहरूबीच शक्ति संघर्ष सुरु भएको छ। यसअघि गत वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा र असार १४ मा लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर नक्सा जारी गरेकामा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि अकासिएको विवादले नेकपा फुटको संघारमा पुगेर फर्किएको थियो।

तर गएको भदौ २६ गते स्थायी कमिटी बैठकले पुरानो विवाद फेरि नदोहोर्‍याउने निर्णय गर्दै चैतमा पार्टी एकताको महाधिवेशन गर्ने भनी गरेको निर्णयको एउटा बुँदा पनि कार्यान्वयन नहुँदै उक्त पार्टीमा फेरि अर्को ताण्डव सुरु भएको हो। वैशाखयता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो।

पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर सुरु भएको किचलोले नेकपामा फेरि उग्र रूप लिएको हो। त्यसको विस्फोट अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबारको भेटघाट र आइतबार यी दुवै अध्यक्षले गरेको आफूपक्षीय नेताहरूको छुट्टाछुट्टै भेलामा भएको छ। ती छुट्टाछुट्टै छलफलमा दुवै अध्यक्षले पार्टीमा फेरि विभाजनको खतरा बढेको ब्रिफिङ गर्दै दोष अर्को पक्षको काँधमा थोपरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आफूपक्षीय नेताहरूसँगको छलफलमा आफू र अर्का अध्यक्ष दाहालका बीचमा गहिरो मतभेद भएको ब्रिफिङ गरे। उनले बिहान आफ्नै निवास बालुवाटारमा निकटस्थ नेताहरूलाई बोलाएर अब दाहालसँग थप मिलेर बस्न नसकिने अवस्था आएको भन्दै विभाजनका लागि तयार हुनुपर्ने बताए। ‘बिहान ओली आफ्ना सल्लाहकार समूहसहितको कोर टिमसँग बस्नुभयो, उहाँहरूका बीचमा अब मिल्नै नसक्ने अवस्थामा पुगिएको निचोड निस्किएपछि महासचिव विष्णु पौडेललाई पनि छलफलमा बोलाइयो,’ स्रोतले भन्यो, ‘पौडेलले पार्टी मिलाउनुपर्छ, त्यस्तो कुरा गर्नु हुँदैन भन्नुभयो तर प्रधानमन्त्रीले पार्टी फुट्ने नै भयो, तपाईं त्यहीअनुसार गर्नुस्, अरू कुरा नगर्नुस् भन्नुभयो।’

प्रधानमन्त्री ओलीसँगको भेटपछि नै महासचिव पौडेलले फेसबुकमा स्टाटस लेखेर पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको उल्लेख गरेका थिए। ‘राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो,’ पौडेलले लेखेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु दुई वर्षभित्र महाधिवेशन गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो। तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ उनले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने उल्लेख गर्दै आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

बालुवाटार ब्रिफिङमा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री छाड्न दाहालले प्रस्ताव गरेको र त्यो नमाने पार्टी एक हुन नसक्ने चेतावनीसमेत दिएको बताएका थिए। ‘प्रचण्डजीले अब सँगै जान सकिन्न कि के हो भन्नुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, ‘उहाँ आफैंले विभाजनको कुरा गर्ने र बाहिर ओलीले फुट ल्याउन खोजे भन्दै हिँड्नुभएको छ, कार्यकारीको कुरा बुझ्न सकिएन।’

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुई अध्यक्ष घण्टौं बसेर कुराकानी गर्दा अनेक खालका प्रसंग निस्किने भए पनि पार्टी फुटकै चरणमा भने नपुगेको बताए। ‘दुई जना अध्यक्ष दुई, अढाई घण्टा कुरा गर्छन्, यसरी नमिल्ने हो भने कि छुट्टिने पो हो कि भनेर ठट्टा पनि हुँदो हो,’ उनले भने, ‘त्यसैलाई पार्टी नै फुटाउने प्रस्ताव भन्न त मिल्दैन होला नि?’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार नै ओली पक्षका दुई मन्त्री हटाएर नेपालपक्षीय तीन सांसदसहितको नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गरेका थिए। जसको संकेत ओली पक्षबाट सामाजिक विकासमन्त्री बनेका दल रावलले फेसबुकमा लेखेर गरेका थिए । कर्णालीको यो खबर सुन्नेबित्तिकै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई फोन गरे। दाहालले बिहान खुमलटारमा आफूपक्षीय ५ जना सचिवालय सदस्यलाई बोलाएर गरेको ब्रिफिङअनुसार उक्त फोनवार्ता त्यति सौहार्द भएन। ‘उहाँले म केन्द्रीय कमिटीको निर्णय पनि मान्दिनँ, बाहुबली भएको स्थायी कमिटी निर्णय पनि मान्दिनँ, वामदेवजस्तो उद्दण्ड मान्छे भएको सचिवालय बैठकको निर्णय पनि मान्दिनँ भन्नुभयो,’ दाहालले भने, ‘त्यो ढंगले तपाईंहरूले कुनै कदम चाल्नुभएको शंका मात्रै भयो भने त्योभन्दा कडा कदम चाल्छु र म जे गर्नुपर्छ त्यो गर्छु भन्नुभयो।’ प्रधानमन्त्री ओलीले शनिबारको भेट र आइतबारको टेलिफोन संवादमा पनि पार्टी विभाजन गरेर आफ्नो बाटो लाग्न प्रस्ताव गरेको नेताहरूलाई दाहालले बताएका थिए।

दाहालको बयान सुनेका एक सचिवालय सदस्यका अनुसार ओली तत्काल सचिवालय बैठकसमेत डाक्ने मुडमा छैनन्। ‘प्रधानमन्त्रीजीले बैठक पनि डाक्दिनँ, निर्णय पनि गर्दिनँ, बरु पार्टी फुटाऔं भन्नुभएछ,’ ती सचिवालय सदस्यले भने, ‘हामीले पार्टी एकताको रक्षा गर्ने, बैठकहरू तुरुन्तै डाक्ने, निर्णय कार्यान्वयन गर्ने र महाधिवेशनको तयारीमा लाग्ने गरी एकजुट हुन फेरि एक पटक प्रधानमन्त्रीसँग आग्रह गर्ने निर्णय गरेका छौं।’ प्रधानमन्त्रीले औपचारिक रूपमै पार्टी विभाजनको प्रस्ताव ल्याएको ती नेताले बताए। ‘अहिले विनाशकाले विपरीत बुद्धि गर्नुहुँदैन, मिलेर जानुपर्छ भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वका बीचमा फेरि संकट चुलिएको भन्दै त्यसलाई समाधान गर्न संवादको माध्यमबाटै अघि बढ्नुपर्ने बताए। ‘नेतृत्वको आवेगका कारण उत्पन्न हुने दुष्परिणामबाट बचाउन फेरि सबैले प्रयास गर्नुपर्छ, हामी सबै जना पार्टीको विधि पद्धतिबाटै अघि बढ्नुपर्छ,’ उनले भने, ‘यो तातोपनलाई सेलाउनुपर्छ, हामी औपचारिक/अनौपचारिक संवाद गरेर निकास दिन्छौं।’ खुमलटारमा भएको भेलामा अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए। थापाले स्थायी कमिटी बैठकपछि पार्टी रूपान्तरण हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि त्यसको लक्षण नदेखिएकाले फेरि नयाँखाले रूपान्तरण आवश्यक परेको बताएका थिए।

पछिल्लो विवादको मूल जड कर्णाली प्रदेशको मामिला देखिएको छ । स्रोतका अनुसार नेपाल पक्षीय कर्णालीका नेता र मुख्यमन्त्री शाहीबीच शनिबार राति छलफल भयो । नेपाल पक्षीय नेताहरूले आफूहरूले अप्ठ्यारोमा साथ दिएर मुख्यमन्त्रीको पद जोगाइदिएको भए पनि मन्त्रिपरिषद् पुनर्गठन गर्न ढिलाइ गरेको भन्दै गुनासो गरेका थिए। ‘उता मन्त्रीहरू र मुख्यमन्त्री बसेर सल्लाह गर्ने, यताबाट माधव नेपालका तर्फबाट फोन गरेर छिटो मन्त्रिपरिषद् पुनर्गठन गरौं भनेर दबाब दिने भएपछि उहाँहरू मन्त्रिपरिषद् पुनर्गठन गर्न ठिक्क पर्नुभएको रहेछ,’ स्रोतले भन्यो, ‘यही विषयमा ओली र दाहालका बीचमा भएको टेलिफोनवार्ता झन् भाँडियो, फोनमा प्रधानमन्त्रीले कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गरे झन् अप्रिय निर्णय हुन सक्ने बताउनुभएको हो।’

स्रोतका अनुसार आइतबार कर्णालीका मन्त्रीहरू फेरिएको भए ओलीले केन्द्रमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, बिना मगरलगायतका मन्त्रीहरूलाई हटाउने तयारी गरेका थिए। तर महासचिव पौडेल र स्थायी कमिटी सदस्य नेम्वाङले दाहाललाई फोन गरेर अहिले कर्णालीमा मन्त्रिपरिषद् हेरफेर गर्ने मुख्यमन्त्रीको तयारीलाई रोक्न आग्रह गरेका थिए। आफूहरूको कुरा सुनेपछि दाहाल कर्णालीमा तत्काल केही कदम नचाल्न सहमत भएको नेता नेम्वाङले बताए। ‘मैले फोन गरें, महासचिवले फोन गर्नुभयो, अहिले कर्णालीमा केही निर्णय भयो भने त्यो बेठीक हुन्छ भनियो, उहाँले रोक्नु पनि भयो,’ उनले भने।

कर्णालीको कुरा सतहमा आएको भए पनि स्थायी कमिटी बैठकका निर्णयहरू कार्यान्वयनमा देखिएको उदासीनता नै अहिलेको प्रमुख समस्या भएको नेकपा नेताहरूको भनाइ छ। स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नहुँदा नेताहरूबीच समस्या आएको बताए। ‘हामीभित्रै पार्टी विभाजन हुनुपर्ने खालको कुनै वैधानिक समस्या देख्दिनँ, पार्टीको विधान र निर्णय मान्ने हो विभाजन आवश्यक र औचित्यपूर्ण छैन पनि,’ उनले भने, ‘विभाजनको कुरा आएको हो भने त्यो पार्टी कमिटीमा ल्याउनुपर्‍यो।’

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…