४५ वर्षपछि महावीर पुनको नयाँ सुट

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार महावीर पुनले आइतबार सेतो सर्ट, नीलो कोट, नीलै पाइन्टमा कालो जुत्ता लगाएर ठाटिएको तस्बिर फेसबुकमा पोस्ट गरे। त्यसमा पुनले लेखे, ‘लौ हेर्नुहोस्, मैले नि यो वर्षको दसैंमा ता नयाँ कपडा पायो बाई।’

उनले यति मात्र होइन, लामै स्टाटस लेखे। ‘सायद ४५ वर्षपछि मैले दसैंमा नयाँ कपडा पाएको होला। यो कपडा मलाई नै नापेर सिलाइदिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो। जुत्ताचाहिँ ६ वर्ष पुरानो हो। धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर कचकच गरिरहनुभएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्’, उनले लेखे, ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरे। दसैंका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नुहोला। केही महिनापछि मैले नै बताउनेछु। क्या रमाइलो हुने भयो यसपालिको दसैं त। कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला।’

उनले नयाँ सुट लगाएर फोटो पोस्ट् गर्ने रहर किन गरे ? दुई पटकको प्रयासमा उनले फोन रिसिभ गरे। उनले सोधे, ‘भन्नुस् त के काम थियो ?’ मैले (अन्नपूर्ण संवाददाता) कोटको प्रसंग निकालें, ‘खुब राम्रो फोटो अपलोड गर्नुभएछ नि ! कोट कति सुहाएको !’

उनले अन्नपूर्ण पोस्ट्सितको कुराकानीमा भने, ‘लुगा किन्ने पैसा नै हुन्न मसँग। सपिङ त कहिल्यै गएको छैन। फेसबुक साथीहरूले अति नै हैरान गरे। जहिले पुरानो लुगा लगाउने भन्दै म्यासेज गर्छन्। मलाई नयाँ लुगा लगाएको हेर्न चाहने साथीहरूका लागि फोटो पोस्ट गरेको हुँ। यो कोटको के काम ? कोट लगाएर काम गर्न मिल्दैन। फोटो खिचिसकेपछि पट्याएर राखेको छु। मसँग ३० वर्षअघि सिलाएको कोट पनि त छ। जुन ०४५ सालमा अमेरिका जाने बेला किनेको थिएँ।’

सानैदेखि अभावमा हुर्किएकाले नयाँ लुगा किन्ने बानी नपरेको हुन सक्ने उनले सुनाए। ‘रहर हुँदा पुगेन। अहिले रहर पनि लाग्दैन पैसा पनि पुग्दैन। लुगा किन्न नपरेपछि पैसा बच्छ नि ! अन्य अभर टार्न सकिन्छ। नयाँ लुगा नकिनेको त ४ दशक बढी भइसक्यो’, उनले भने ।

उनले भने, ‘मसँग अरूले दिएका जड्यौरी मात्रै टन्नै छन्। अरूले राम्रै लुगा दिन्छन् नि ! जुत्ता पनि किनिदिन्छन्।

यसअघि १० वर्षसम्म एउटै जुत्ता लगाएको थिएँ। कहिलेकाहीँ मात्रै लगाउँछु जुत्ता, त्यसैले पनि होला निकै टिक्छ। अहिलेको यो जुत्ता पनि हङकङ जाँदा साथीले किनिदिएको हो। अझै ६–७ वर्ष यसैले काम दिन्छ भने अर्को किन किन्नु पर्यो‍ ?’

उनी ०४५ सालमा पढाइका लागि अमेरिका गएका थिए। त्यहाँ होस्टलमा बस्दा अमेरिकी साथीहरू थिए। उनीहरू लुगा एक–दुई पटक लगाएर फाल्ने गर्थे। यस्तो देख्दा उनलाई दुःख लाग्थ्यो।

उनले ती लुगा धोएर पुनः प्रयोगमा ल्याए। त्यो देखेर अरू लुगा पनि दिन थालेको उनले सुनाए। ८–९ वर्ष अमेरिका बस्दा अमेरिकीले दिएकै कपडाले पुग्यो उनलाई। गाउँमा ल्याएर वितरणसमेत गरे।

उनलाई लुगा भनेको आङ ढाक्न पाए हुन्छ भन्ने लाग्छ। लुगाकै कारण कहीँ कतै पनि अप्ठ्यारो नपरेको अनुभव उनले सुनाए। ‘यो सोचाइको कुरा हो। ब्रान्डेड लुगा लगाएर को ठूलो भएको छ र ?’, उनले भने, ‘महँगा लुगा लगाउनेको मात्रै इज्जत हुने पनि त हैन। बेकारको खर्च हो यो।’

परिवारका सदस्यले पहिले–पहिले नयाँ लुगा किन्न जोड गर्थे। अहिले त केही भन्दैनन्। उनका अनुसार काममा केन्द्रित भएपछि लुगातिर ध्यान पनि जान्न। ‘अहिले झन २४ घण्टै व्यस्त हुन्छु’, उनले भने, ‘लुगा रोज्ने र खोज्ने फुर्सद नै छैन।’ सहृदयीहरूले आविष्कार केन्द्रका लागि मात्रै पैसा पठाउँछन्। ‘पैसाकै अभावमा तमाम काम अड्किरहेको हुन्छ। धेरैभन्दा धेरै काम गर्ने सपना मनमै अड्किरहेको छ’, उनले भने।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त म्यागासेस पुरस्कार विजेता नेपाली वैज्ञानिक पुनः लकडाउन भएयता आविष्कार केन्द्रमै तल्लीन छन्। केन्द्रले कोरोना संक्रमण न्यूनीकरणमा आवश्यक सामग्री उत्पादन गरिरहेको छ।

पीपीई, फेससिल्डदेखि पीएआरपी मास्क, डेड बडी ब्याग, सीपीएपी मेसिनलगायत उत्पादनदेखि अस्पतालमा गएर भेन्टिलेटर बनाउनेसम्मको काम गरिरहेको छ। आविष्कार केन्द्र दसैँभर पनि २४ सै घण्टा खुल्ने र आवश्यक सेवा दिने तयारीमा छ।

विभिन्न कलेजमा पढ्ने विद्यार्थीले केन्द्रमा स्वयंसेवकका रूपमा काम गरिरहेका छन्। ‘नयाँ–नयाँ आइडिया लिएर काम गर्न आविष्कार केन्द्र धाउने भाइबहिनी रातभर बसेर काम गर्छन्। यो नै मेरो संसार, खुसी र जिन्दगी हो’, उनले भने, ‘ठूलो विशेष आविष्कार तत्काल नभए पनि सिक्ने वातावरण बनाउनु नै अहिलेको उपलब्धि हो। सायद यसपालिको दसैं पनि यतै बित्छ।’

उनी म्याग्दीको विकट गाउँमा हुर्किएका हुन्। त्यसबेला दसंैमा नयाँ लुगा लगाउने चलन थिएन। गरिबी व्याप्त थियो। बाल्यकालमा कमिज, कट्टु लगाएर र भांग्रा ओढ्दै खाली खुट्टा हिँड्नुपथ्र्यो।

‘०२६ सालमा चितवन आएपछिको दसंैमा पहिलो पटक नयाँ लुगा पाएको थिएँ ’, उनले बाल्यकाल स्मरण गर्दै भने, ‘कक्षा ९ मा पढ्दा पहिलो पटक चप्पल लगाएको हुँ। २१ वर्षको हुँदा मात्रै फुल साइजको पाइन्ट लगाउने अवसर पाएँ।’

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…