एक किसान दम्पतिको घर रिसोर्ट भन्दा राम्रो

चितवन । घरमा बस्दाबस्दै दिक्दार लागेका कतिपय मानिसहरु ‘रिफ्रेस’ हुन भन्दै रिसोर्टमा गएर एक–दुई रात भए पनि बिताउन रुचाउँछन् । तर घर नै रिसोर्ट जस्तो बनाए कस्तो होला ? यो प्रश्नको उत्तर हो, चितवन माडीका प्रेम विष्ट र रत्नादेवी विष्ट दम्पतीको घर ।

माडी नगरपालिका वडा नं. ६ स्यालीबासमा आनन्ददायी रिसोर्टजस्तै लाग्ने उनीहरुको सानो र चिटिक्कको घर छ । विष्ट दम्पतीको घरमा पहिलोपटक पुग्ने जो कोही पनि रिसोर्ट नै भनेर झुक्किन्छन् र कसैले खाजा माग्छन्, कसैले बास ।

प्रेम र रत्नादेवीले मेहनतपूर्वक सजाएको घर देख्दा जो कोही पनि लोभिन्छन् । उनको घरमा प्रवेश गर्ने वित्तिकै साना–साना ढुंंगाहरु गाडेर ‘विष्ट निवास’ लेखिएको छ । टिनले छाएको दुई तले घर छ । घर नजिकै खरले छाएको गोलघर बनाएका छन् । उनीहरू घरमा आउने पाहुनालाई त्यही गोल घरमा राखेर सत्कार गर्छन् । कसैसँग नजिकै बनाइएको बाँसको बेन्चमा बसेर गफिन्छन् ।

अब १०/१२ फिट अग्लो मचान र सानो पिङ हाल्ने सोच छ, उनको । ‘घरमा सबैथोक होस्, सुखमय भएर जीवन बिताउने चाहना छ, पैसाले मात्रै सन्तुष्टि दिँदैन, सुख र खुसीले सन्तुष्टि दिन्छ,’ विष्ट भन्छन्, ‘यहीँ नै आनन्दसँग रमाउँछु, छुट्टै अनुभूति हुन्छ, हरेक दिन साँझ बिहान यहीँ डुल्छु, फूलहरुसँग भुल्छु, हाँस र बाख्राहरुसँग बात मार्छु यस्तो खुसी अन्यत्र कहाँ पाइन्छ ? घर नै स्वर्ग बनाउन सकिन्छ ।’

घरमा विभिन्न १०/१२ प्रजातिका फूलहरु छन् । सिजन अनुसार फूल्छन् । आँप, भुइँकटहर, रुख कटहर, लिची, कागती, निबुवा लगायत विभिन्न प्रजातिका फलफूलका बोट पनि छन् । सिजन अनुसारका फल फल्दा खुसी लाग्छ विष्टलाई ।

घर भएको ठाउँ नजिक उनको करिब दुई कठ्ठा जग्गा छ । ठाउँमा खेती लगाइएको करिब डेढ विगाहा छ । विहान ५ बजे नै उठेर नित्यकर्म गरेपछि विष्टले विहानको दुई–तीन घण्टा वस्तु भाउ र फूलबारीको स्याहार सुसारमा बिताउँछन् । उनलाई श्रीमती रत्नादेवी विष्टले पनि सघाउँछिन् । विष्ट दम्पतीका दुई छोराहरु मध्ये जेठो प्रदीप दुवईतिर गएर फर्किएका छन् भने कान्छो छोरा सन्दीप माडी नगरपालिकामा काम गर्छन् । छोराहरुले पनि भ्याएको बेलामा बाबु–आमालाई सघाउँछन् ।

विष्ट दम्पती शुद्ध किसान हुन् । खेती किसानी र वस्तुभाउको स्याहार सुहारमै दिन बित्छ । उनीहरूले घरमा ३५ बटा बाख्रा, कुखुरा, हाँस र भैंसी पालेका छन् । भैंसीको दूध–घिउ खान्छन्, खुवाउँछन् । आफैंले उत्पादन गरेको अर्गानिक तरकारी खान्छन् । बढी भएमा बेच्छन् पनि ।

पानीको असुविधा भएकाले सोचेजस्तो गर्न भने अझै नसकिएको प्रेम विष्टले बताए । ‘बस्तुभाउ र तरकारीबालीमा पानी नभई हुँदैन, यहाँ पानीको असुविधा छ,’ उनी भन्छन्, ‘नगरपालिकाले केही पहल गरिदिए सहज हुने थियो ।’ किसान हुँ भन्ने तर तरकारी किन्न बजार जाने गर्दा इज्जत नै गएको ठान्छन् उनी । ‘किसान हुँ भन्ने, मिले अनुदान पनि खाने तर सागसब्जी, लसुन, आलु, खुर्सानी, धनियाँ किन्न बजार जानेहरु देख्दा म आफैंलाई लाज लाग्छ,’ उनी भन्छन् ।

बटुवाहरु सोध्छन्– खाजा पाइन्छ ?

विष्ट दम्पतीको घर नजिक पुग्नेहरु रिसोर्ट नै भनेर झुक्किने गरेका छन् । कतिपयले दाजु खाजा पाइन्छ ? भनेर सोध्छन् । कतिपयले दाइ यहाँ रुम पाइन्छ ? भनेर पनि सोध्ने गरेको प्रेम विष्टले सुनाए । ‘बाहिरबाट आउनेहरुलाई थाहा हुँदैन, रिसोर्ट नै होला भनेर कयौंले सोध्ने गरेका छन्,’ विष्टले भने ।

घर भित्र पस्नेहरु जसले पनि फोटो र सेल्फी खिचेकै हुन्छन् । उनी आफैं पनि श्रीमतीसँग विहानको पाहारिलो घाममा बसेर चियाको चुस्कीसँगै सेल्फी खिच्न रुचाउँछन् । घर हेर्न आउनेहरुले कति राम्रो बनाउनु भएको भनेर विष्ट दम्पतीलाई हौसला दिन्छन् । कतिपयले ‘तपाईं भूपू आर्मी हो ?’ भनेर सोध्ने गरेको स्मरण विष्टले गरे । आर्मीको ब्यारेकहरुमा जस्तै कन्सेप्ट र सजावट देखेर यसो भन्ने गरेको उनको बुझाइ छ ।

उनले २०५२/०५३ सालबाट घरलाई चिटिक्क बनाउन थालेका हुन् । कहाँबाट यस्तो क्रियसन आयो भन्ने अनलाइनखबरको प्रश्नमा प्रेम विष्ट भन्छन्, ‘बुवाको प्रेरणाबाट सिकेँ, सानो–सानो कुरालाई पनि मिलाउँदा राम्रो देखिन्छ नै, तर हामी गर्दैनौं ।’

जतिसुकै जग्गा भए पनि धेरै जसोको घर भद्रगोल देखेको विष्टले बताए । ‘गाईको गोठ, बाख्राको खोर, हाँस, कुखुराको खोर नजिकै हुन्छ, गन्हाउँछ, शौचालय राम्रो हुँदैन तर त्यसलाई थोरै मात्रै क्रियटिभ बनाए घर नै रिसोर्ट जस्तो बन्छ,’ विष्ट भन्छन् ।

नगरपालिकाबाट पुरस्कृत

चिटिक्क परेको लोभलाग्दो घर र त्यसको सरसफाइबाट प्रभावित भएर माडी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा विष्टलाई नगद २५ हजारसहित सम्मान गर्यो । सामाजिक रुपमा उत्तिकै सक्रिय प्रेम विष्टले चितवन खुल्ला दिसामुक्त घोषणा अभियानमा पनि स्थानीय रुपमा अगुवा भई काम गरेका थिए । नगरपालिकाले अन्य ब्यक्तिहरुलाई पनि विष्ट दम्पतीको जस्तै सरसफाइयुक्त नमूना घर बनाउन भन्ने गरेको छ ।

विष्ट आफैंले पनि छिमेकीहरुलाई रचनात्मक र सिर्जनात्मक बन्न सिकाउने गरेका छन् । ‘जनचेतना अभिवृद्धिमा म आफैं लाग्ने गरेको छु,’ उनी भन्छन्, ‘छिमेकीहरुलाई पनि आफूले जानेको आइडिया दिन्छु ।’

माडी नगरपालिका प्रमुख ठाकुर ढकाल स्वयं बेलाबेलामा उनको घरमा आएर गोलघरमा बस्ने र रमाउने गरेको विष्टले सुनाए ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…