दसैंमा घरमा टीका लगाउन नआइदिनुस् : कोरोनालाई खेलाँची ठान्नु गलत हुन्छ

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड-१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ ।

दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका थिए । दुवैजनाको पोजेटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरु आफ्नै निवासमा ‘आइसोलेट’ भएर स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले दुबैको स्वास्थ्य राम्रो रहेको हरिवंशले जानकारी दिए ।

‘पहिले देखिएका लक्षणहरु अहिले छैनन्, हामी दुवै सामान्य अवस्थामा छौं,’ उनले अनलाइनखबरसँग भने । आगामी आइतबार पुनः पीसीआर परीक्षण गराउने उनले बताए ।

संक्रमणमुक्त भइसकेपछि पनि पहिलेजस्तो निस्फिक्री भएर हिँड्ने मुडमा उनी छैनन् । नजिकै आएको दसैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नोमा नआउन आग्रह गर्ने हरिवंशको सोचाइ छ ।

उनले सबै नेपालीलाई यसपालिको दसैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न सुझाव दिएका छन् । उनले दसैंमा आफ्नो घरमा टीका लगाउन नआइदिन आग्रह समेत गरे ।

हरिवंशको कोरोना अनुभव, उनकै मुखबाट

७/८ महिनादेखि हामीले कोरोनाको विषयमा सुन्दै आयौं । वुहानदेखि इटलीसम्मका त्रासदी कथाहरु सुनिरहँदा हाम्रो देशमा त यो अवस्था नआउला भन्ने लागेको थियो । अन्ततः हाम्रो देशमा आयो । सुरुमा एक-दुईजना संक्रमित देखिँदा निकै डर थियो । अहिले आफैंलाई संक्रमण भएको छ ।

सुरुमा श्रीमती रमिलालाई जिउ दुख्ने समस्या भयो । ज्वरो पनि आउन थाल्यो । त्यसपछि खानेकुराको स्वाद र गन्ध थाहा महसुस गर्न छाडिन् । त्यो भएपछि चैं कोरोनाको आशंका बढ्यो । मलाई पनि १/२ दिन ज्वरो आउने र जिउ दुख्ने भयो ।

शंका बढेपछि हामीले एकैसाथ पीसीआर परीक्षण गरायौं । हुन त त्योभन्दा एक हप्ताअगाडि पनि हामीले पीसीआर गराएका थियौं । त्यसबेला कुनै लक्षण नभए पनि एउटा अस्पतालले हामीलाई ‘रोग प्रतिरोधात्मक क्षमता पनि थाहा हुन्छ र कोरोना संक्रमण भए-नभएको पनि एकिन हुन्छ’ भनेर बोलाएको थियो । मेरो र मदन दाइको परिवारका सबैजनाले परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको एक साताभित्र कहाँबाट हामीलाई संक्रमण सर्यो भन्नेमा अनभिज्ञ छु ।

म जरुरी अवस्थामा बाहेक घरबाहिर निस्केको थिइनँ । बाहिर निस्कँदा अनिवार्य मास्क लगाउँथेँ । सेनिटाइजर गोजीमै बोकेर हिँड्थे । मान्छेहरुसँग सकेसम्म दुरी कायम गर्थेँ । सबै सचेतता अपनाउँदा पनि सर्‍यो ।

दसैंमा म मेरो घरमा टीका लगाउन नआइदिनुस् र म पनि तपाईंकहाँ आउन सक्दिनँ भनेर सार्वजनिक अपिल नै गर्नेछु । सबैले परिस्थितिलाई बुझ्नुभएकै छ

रिपोर्ट पोजिटिभ देखिए पनि म डराउन चाहिँ डराइनँ । पहिलो त कडाखालको लक्षण थिएन । अर्को, हामी दुवैलाई कुनै दिर्घरोग थिएन । हामी आफ्नो स्वास्थ्यप्रति पहिल्यैदेखि सजक छौं । दैनिक एक-डेढ घन्टा आफ्नो शरीरका लागि दिन्छौं । बिहान शारीरिक अभ्यास र मर्निङवाक गर्छौं । खानपिनमा पनि सचेतता अपनाउँछौं । जंक फुडहरु खाँदैनौं । उमेरले धेरै बुढाबुढी भइसकेका पनि छैनौं । त्यसैले पोजिटिभ आयो भने पनि सामना गर्न सकिन्छ भनेर मानसिकरुपमा तयार थियौं ।

भाग्यवस हामीलाई कडा लक्षण देखिएन । यद्यपि, रिपोर्टले भाइरसको कन्टेन्ट मेरो शरीरमा धेरै देखाएको छ । ल्याबका डाक्टरहरुले पनि मलाई बढी केयर गर्न भन्नुभएको थियो । मेरो नजिकका साथीभाईहरु चिकित्सा क्षेत्रमा हुनुहुन्छ । उहाँहरुले पनि आवश्यक सल्लाह-सुझाव दिनुभएको थियो । भाइरसको कन्टेन्ट बढी देखिए पनि ममा कडा लक्षण नदेखिनुले मेरो रोग प्रतिरोधात्मक क्षमता बलियो नै रहेछ भन्ने महसुस भएको छ ।

रिपोर्ट आएपछि टेकु अस्पतालबाट फोन आयो । प्राइभेटमा परीक्षण गरे पनि सबै सूचना एउटै सिस्टममा जाँदोरहेछ । त्यो राम्रो लाग्यो । वडा कार्यालयका कर्मचारीले पनि फोन गरेर विभिन्न सोधपुछ गर्नुभयो । अरु आफन्त र शुभचिन्तकको फोनहरु त उठाएरै साध्य भएन । त्यसैले मैले दुई दिन फोन अफ नै गरेँ ।

मलाई सबैभन्दा बढी चिन्ता मदन दाइको थियो । उहाँको स्वास्थ्यमा अन्य जटिलताहरु भएकाले कोरोना संक्रमण भएको खण्डमा गाह्रो पनि हुन सक्थ्यो । हाम्रो रिपोर्ट आएको तीन दिनपछि उहाँले पीसीआर परीक्षण गराउनुभयो । नेगेटिभ रिपोर्ट आयो । त्यसले मलाई ठूलो सन्तोष मिल्यो । मेरा छोरा र बुहारीको पनि नेगेटिभ आयो ।

मैले योबीचमा एउटा विज्ञापन फिल्ममा अभिनय गरेको थिएँ । त्यसमा काम गरेका सबैको रिपोर्ट नेगेटिभ आयो । आफूले अरुलाई सारेको रहेनछु भन्ने कुराले मलाई निकै राहत मिल्यो । आधा रोग नै ठीक भए झैं लाग्यो ।

रिपोर्ट आएपछि हामी पूर्णरुपमा घरभित्र आइसोलेट भएका छौं । घरको माथिल्लो तल्लामा छोरा र बुहारी बस्छन् । हामी श्रीमान-श्रीमती तल्लो तल्लामा बस्छांै । बेग्लाबेग्लै फ्ल्याट भएकाले बसाईको कुनै असुविधा छैन । भान्साकोठा माथिल्लो तल्लामा छ । छोराबुहारीले खाना बनाएर तल ल्याएर राखिदिन्छन् । हाम्रा भाँडाकुँडा छुट्टै छन् । खाइसकेर तलै वाथरुममा सफा गर्छौं । बाहिर निस्किएका छैनौं ।

खानपिन सामान्य नै छ । बेसारपानीलगायत झोल पदार्थहरु नियमित खाइन्छ । बाफ दैनिक लिने गरेका छौं । अहिले दुबैजनाको स्वास्थ्य राम्रो भएको छ । श्रीमतीले ज्वरो आउँदा सिटामोल खानेबाहेक अरु औषधि आवश्यक परेन । उनको घ्राण क्षमता पनि फर्किएको छ । अहिले सबै सामान्य छ । आइतबार अर्को पीसीआर गराउने छौं । नेगेटिभ आउने विश्वास छ ।

घरभित्र खासै पट्यारिलो लागेको छैन । बिहान उठेर एक घन्टाजति हल्का ब्यायाम गर्छु । श्रीमतीले पनि योग गर्छिन् । दिउँसो लेखपढको काम गरिरहेको छु । पछि काम लाग्छ भन्ने हिसाबले कथाहरु लेखिरहेको छु । बेलुकाचाहिँ दुईजना बसेर टीभी हेरिन्छ । टाइम पास सहजै भइरहेको छ ।

०००

मेरो विचारमा कोभिडलाई धेरै कमजोर ठान्नुहुँदैन र एकदमै डरलाग्दो पनि ठान्नुहुँदैन । संक्रमण नभएकाहरुले अत्यधिक सचेत रहनुपर्छ र संक्रमण भयो भने उच्च मनोबल राख्नुपर्छ ।

धेरैलाई लक्षण नै नदेखिने, कसैलाई सामान्य लक्षण देखिएर आफैं ठीक हुने भएकाले यो मामुली रोग रहेछ भन्ने पनि कतिपयलाई परेको छ । तर, त्यसो भनेर खेलाँची गर्न थालियो भने अप्ठेरो अवस्था पनि आउन सक्छ । किनभने यो ज्यानै लिनसक्ने रोग हो । नत्र संसारभर यति ठूलो त्रासदी किन हुन्थ्यो ।

हाम्रो देशको स्वास्थ्य प्रणाली कमजोर नै छ । अहिले अस्पतालहरुमा अक्सिजनको अभाव भएको, भेन्टिलेटर भरिएको जस्ता समाचारहरु आइरहेका छन् । त्यसैले यदि कडाखालको संक्रमण भयो भने सहज उपचार नपाउने अवस्था हुन सक्छ । तसर्थ, सचेत रहनुको विकल्प छैन । स्वास्थ्य मापदण्डहरु पालना गरेर कडा अनुशासनमा बस्न सबैलाई सुझाव दिन्छु ।

सरकारले अनुरोधसम्म गर्न सक्छ । त्यसलाई पालना गर्ने नागरिक आफैंले हो । सबै कुरामा सरकारको भर परेर पनि हुँदैन । यस्तोबेला जनताले सरकारभन्दा ठूलो भएर सोच्नुपर्छ
अहिले दिनानुदिन संक्रमितहरु बढिरहेका छन् । आगामी दिनहरुमा अझै बढ्ने खतरा किन छ भने ठूला चाडपर्वहरु नजिकिएका छन् । हामी नेपालीहरु चाडपर्व मनाउँदा सबै कुरा बिर्सेर फुक्काफाल भएरै मनाउँछौं । तर, यसपालि अवस्था जटिल छ । अघिल्ला वर्षहरुमा जस्तो घर-घरमा गएर टीका लगाउने परिस्थिति छैन । सकभर सबैले यो दसैं आफ्नै परिवारभित्र सीमित राख्नु उचित हुन्छ । मेरो आफ्नो योजना पनि त्यस्तै छ ।

म आफ्ना छोरा-बुहारीलाई टीका लगाइदिनेछु । संस्कृतिअनुसार दसैंमा निधार खाली राख्नुहुन्न भन्ने मान्यता छ । त्यसैले मेरा दिदीहरु र श्रीमतीका बुवाआमाको हातबाट टीका लगाउनेछौं । अन्यत्र कतै पनि जाने विचार छैन ।

म दसैंमा मेरो घरमा टीका लगाउन नआइदिनुस् र म पनि तपाईंकहाँ आउन सक्दिनँ भनेर सार्वजनिक अपील नै गर्नेछु । सबैले परिस्थितिलाई बुझ्नुभएकै छ । अरुलाई पनि यही तरिका अपनाउन सुझाव दिन्छु । यसपालि कोही टीका लगाउन तपाईंकोमा आएन भनेर नरिसाउनुस् । अनि, कसैले मकहाँ नआउनुस् भन्दा पनि नरिसाउनुस् । यो तपाईंकै स्वास्थ्यका लागि हो ।

सरकारले नै लकडाउन वा निषेधाज्ञा जारी गरेर दसैंलक्षित आवत-जावत बन्द गर्नुपर्छ भन्ने कुराहरु पनि कतिपय कोणबाट आएका छन् । मेरो विचारमा यसो गर्न सरकारले अलि हिम्मत नगर्ला ।

दसैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले यसबेला लकडाउन गर्दा एउटा तप्कामा आक्रोश पनि उत्पन्न हुन सक्छ । धर्म-संस्कृतिसँग जोडिएका कुराहरु संवेदनशील हुन्छन् । सरकारले अनुरोधसम्म गर्न सक्छ । त्यसलाई पालना गर्ने नागरिक आफैंले हो । सबै कुरामा सरकारको भर परेर पनि हुँदैन । यस्तोबेला जनताले सरकारभन्दा ठूलो भएर सोच्नुपर्छ ।

 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…