ताइवानको पक्षमा विज्ञापन प्रसारण गर्ने भारतीय च्यानललाई चीनले दियो यस्तो चेतावनी

नयाँदिल्ली । चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए ।

नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बुधबार साँझ जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको हुँदा अलग राष्ट्रको सन्देश दिने किसिमका ती सामग्री प्रकाशित/प्रकाशित गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न ‘चेतावनी’ दिएको हो । ‘ताइवानको तथाकथित राष्ट्रिय दिवसका बारेमा भारतीय मिडियाका साथीहरुलाई ताइवान चीनको अभिन्न अंग रहेको र भारतस्थित चिनियाँ दूतावास विश्वमा मात्र एउटा चीन रहेको जनवादी गणतन्त्र चिनियाँ सरकार मात्र पूरै चीनको प्रतिनिधित्व गर्ने एकमात्र सरकार भएको स्मरण गराउन चाहन्छ,’ दूतावासको प्रेस विभागद्वारा भारतीय मिडियालाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रमुख छापा माध्यममा प्रकाशित सामग्रीमा कोभिड–१९ महाव्याधीको रोकथाममा ताइवानले पाएको सफलतामा खुसी र गौरव मान्दै राष्ट्रिय दिवस मनाउन लागिएको उल्लेख छ । त्यसैगरी यो सफलताका पछाडि लोकतन्त्र, मानवअधिकार र विधिका शासन, निजी क्षेत्र र नागरिकहरुबीचको सहकार्यको नतिजा भएको समेत जनाइएको छ । केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए ।

त्यसैगरी दूतावासले चीनसँग कूटनीतिज्ञ सम्बन्ध रहेका सबै मुलुकहरुले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धताको दृढताका साथ सम्मान गर्न पनि सचेत गराएको छ । र, भारत सरकारले विगत लामो समयदेखि यही नीति अगींकार गर्दै आएको हुँदा भारतीय मिडिया पनि त्यसमा अडिग रहने र एक चीन नीतिको उल्लघंन नहुने अपेक्षा समेत दूतावासले गरेको छ ।

‘हामीलाई आशा छ भारतीय मिडिया ताइवानको सम्बन्धमा भाारत सरकारको नीतिलाई पालना गर्दै एक चीन नीति उल्लघंन गनेर् छैनन्,’ दूतावासले भनेको छ । दूतावासले भारतीय छापामा प्रकाशित विज्ञापनमा रहेका ‘ताइवानका राष्ट्रपति’ र ‘राष्ट्र’ जस्ता शब्दहरुप्रति आपत्ति जनाउँदै त्यस्ता शब्दले आममानिसमा गलत सन्देश प्रवाह भएको जनाएको छ ।

चिनियाँ दूतावासले उक्त विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै ताइवानले पनि जवाफमा कडा प्रतिक्रिया दिएको छ । ताइवानको विदेश मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट चीनले भारतमा सेन्सरसिप लाद्न खोजेको आरोप लगाएको छ । ‘भारत धरतीकै जीवन्त प्रेस र स्वतन्त्रता मन पराउने मानिसहरु भएको सबैभन्दा ठूलो लोकतन्त्र हो । तर, लाग्छ कम्युनिस्ट चीन यसमहाद्वीपमा सेन्सरसिप लाद्न चाहन्छ,’ ताइवानको विदेश मन्त्रालयको ट्वीटमा भनिएको छ ।

लद्दाख क्षेत्रमा सीमालाई लिएर भारत र चीनबीच विगत चार महिनादेखि तनाव कायमै रहेको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा ताइवानको राष्ट्रिय दिवसको प्रचारप्रसार गरिनुलाई निकै अर्थपूर्ण ठानिएको छ । चीनले आफ्नो प्रान्तका रुपमा दाबी गर्दै आएको भूभागलाई अलग राष्ट्रका रुपमा चित्रण हुने गरी सामग्री प्रकाशित गनुलाई उसमाथि दबाब सिर्जना गर्ने रणनीतिका रुपमा पनि हेरिएको छ ।

सीमा विवाद र जम्मू–कश्मीरको विषयमा संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा चीनले पाकिस्तानलाई समर्थन गर्दै आएको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा यस किसिमको सामग्री प्रकाशित र प्रकाशित हुनुलाई भारतको अप्रत्यक्ष ढंंगले चीनमाथि दबाब बढाउने रणनीति रुपमा समेत विश्लेषण गरिएको छ ।

साथै यसलाई आर्थिक र सामरिक दुवै हिसाबले विश्वशक्तिका रुपमा उदाउँदै गएको चीनलाई दबाबमा राख्न अमेरिकी रणनीति र हालका दिनमा भारत–अमेरिकाबीच बढ्दो निकटतासँग पनि जोडेर हेरिएको छ ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…