काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई का’रवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ ।
विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिए ।
बजारमा पछिल्लो समय प्याजको मूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ ।
आज मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५/५५ हजार जरिवाना गरिएको बताए ।
यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।
होलसेलमा ७० रुपैयाँमा किनेको प्याज १५० मा बिक्री
हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् ।
त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक-फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए । ‘गाडीमा प्याज बोकेर आउँछन्, बेच्छन्,’ दुलालले भने, ‘पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन् ।’
यति सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो कारोबारमा कसैले बिल लिएको वा दिएको छैन ।
तीनकुनेको कुषि बजारमा १ सय २८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुद्रा व्यापार हुन्छ ।
काठमाडौं महानगरपालिकाका कृषि शाखाका प्रमुख हरिबहादुर भण्डारीले हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता नभएको बताए । ‘स्टलमा परिचय पाटी पनि राखिएको छैन,’ उनले भने, ‘खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ । नापतौलको प्रमाण पत्रसमेत छैन । ’
दर्ता नगरी सञ्चालन गरिएकामध्ये बिहीबारबाट ३ वटा होलसेल पसलको कारोबार रोक्का गरिएको उनले बताए । रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्योतिनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमका स्टल हुन् । उलक सब्जी भण्डारमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।
महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब निरीक्षक विनोद विक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको हो ।
प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको त्यहाँका तीनकुनेका व्यापारीको भनाइ छ । बुधबार नै कालीमाटी र बल्खुमा अनुगमन भएको भनेर पछि थाहा पाएको व्यापारीहरु बताउँछन् । उनीहरुले आफ्नो बचाउ गर्दै भने, ‘प्याज पठाए तर बिल पठाएनन् । हामी आफैं अन्यौलमा छौं । उनीहरुले गर्दा हामी पो फस्यौं ।’