दाङ । मानसिक सन्तुलन गुमाएर १ बर्षको छोरीसँगै सडकमा वेवारिसे बनेकी रोल्पा त्रिवेणीकी महिलाको उद्धार गरिएको छ। पूर्व सभामुख कृष्णबहादुर महराको पहलमा रोल्पा त्रिवेणी गाउँपालिका- ५ जगरबोटकी बिट्टु विक र उनकी एक वर्षीय छोरीको उद्धार गरिएको हो।
लामो समयदेखि मानसिक सन्तुलन गुमाई रोल्पाका जुँगार, तिला, त्रिवेणी, नुवागाउँको सडक र गाउँमा दुधे बालकलाई च्यापेर हिड्ने बिट्टुलाई नीलसागर मानवसेवा आश्रमले जिम्मा लिएको छ।
पूर्वसभामुख महराले आफू अभिभावक रुपमा सिफारिसमा हस्ताक्षर गरी आमाछोरीलाई निलसागर मानवसेवा आश्रमलाई हस्तान्तरण गर्नुभएको हो। घोराहीमा आमाछोरीलाई बुझ्दै नीलसागर मानव सेवा आश्रमका सरिता खनालले आमाको उपचार र छोरीको पालनपोषणको सम्पूर्ण जिम्मेवारी आफूहरुको भएको बताउनुभयो।
दाङमा नीलसागरको आश्रम भए पनि बच्चासहितकी आमालाई नेपालगञ्जकै आश्रममा राख्नुपर्ने भएकाले आजै बिट्टुका आमाछोरीलाई नेपालगञ्ज लगिएको छ।
आफ्नो जन्म स्थान रोल्पामा दुधे बालकसँगै रहेकी महिला मानसिक सन्तुलन गुमाएर सडकमा बे B5ारिसे भए%Eो समाचार देखे÷पढेपछि आफूलाई निकै दुःख लागेर तत्काल उद्धारका लागि पहल गरेको पूर्वसभामुख महराले बताउनुभयो।
समाचारमा आएजस्तै बिट्टु बिक पूर्वमाओवादी कलाकार र जनमुक्ति सेना भए÷नभएको तथ्य पत्ता लगाउन आफूले स्थानीय कार्यकर्ताहरुलाई आग्रह गरेको पनि बताउनुभयो। कार्यकर्ता भए पनि नभए पनि मानवीय नाताले उद्धार गर्नुपर्छ भन्ने सोंचले आफूले तत्काल पहल गरेको महराको भनाई थियो।
पूर्वसभामुख महराले आफैले नीलसागरसँग समन्वय गरी पहल गरेपछि उक्त संस्थाले पनि सहजै उनको पालन पोषण तथा उपचारका लागि सहमति जनाएको थियो। दुधे बालक समेत भएको र आमाको मानसिक सन्तुलन गुमेको हुँदा उनीहरुको पालन पोषण र उपचारका लागि नीलसागर मानव सेवा आश्रम नै उपयुक्त स्थान हुने भएकाले त्यहाँ पठाइएको महराले बताउनुभयो।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनी र उनको छोरीको पालनपोषण गर्ने संस्थाका केन्द्रीय अध्यक्ष सरिता खनालले बताउनुभयो।
विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर मानिसहरुलाई सेवा गर्ने उद्देश्यले संचालन गरिएको सेवाश्रममा हाल २५० जना यस्तै बिरामी भएको खनालले जानकारी दिनुभयो। पूर्व सभामुख महराले अनुरोध गरेपछि र विट्टुको अवस्था देखेपछि आफूहरुले आमा छोरीलाई नै आश्रममा राख्न राजी भएको उहाँले बताउनुभयो।
खनालका अनुसार मानव सेवाका लागि ४ बर्ष अगाडि स्थापना गरिएको सेवाश्रमका हाल दाङ, नेपालगञ्ज, कोहलपुर, बर्दियाको मधुवन र गुलरियामा गरि पाँच वटा आश्रमहरु रहेका छन्। उहाँका अनुसार केही समयपछि पाल्पामा पनि संस्थाले आश्रम सञ्चालन गर्न लागेको छ।