काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुन लागेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् ।
राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्दै छ ।
गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडा ‘डि-फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ।
आफैसँग राखेर खतिवडामार्फत चलाउने प्रधानमन्त्री ओलीको तयारी
नेपाल कम्युनिस्ट पार्टीभित्र अर्थमन्त्रीका धेरै दाबेदारहरु देखिएका छन् । सांसद नभएकाले अर्थमन्त्री डा. युवराज खतिवडा स्वतः पदमा नरहने भएकाले अर्थमन्त्रीका दाबेदारहरु धेरैजना देखिएका हुन् ।
अर्थमन्त्रालयको जिम्मेवारी पाउन उपाध्यक्ष बामेदव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु दौडमा छन् । जसमध्ये गौतमको बढी चासो छ । उनी सांसद बनेलगत्तै उक्त मन्त्रालयको दाबी गर्ने तयारीमा छन् । तर, गौतमलाई अर्थको साटो गृह या अन्य मन्त्रालयमा लान प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
बामदेव भने अर्थ मन्त्रीमै जोडबल गर्न रणनीति बनाएर लागेका छन् । ओली भने अर्थमन्त्रालय आफैसँग राखेर डा. खतिवडालाई सल्लाहकारका रुपमा राखेर चलाउन योजनामा रहेको बुझिएको छ ।
खतिवडालाई नै अर्थ मन्त्री बनाउने उपायबारे पनि ओलीले छलफल गरेको बुझिएको छ । यसका लागि उनले कानुनी परामर्श समेत गरेका छन् । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको छ ।