माग पूरा भए काठमाडौं फर्किन्छु, नभए यतै मृ’त्यु पनि हुन सक्छ : डा. गोविन्द केसी

१७ भदौ, काठमाडौं । हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट अवकाश लिँदा कुममा सानो झोला भिरेर बाहिरिएका थिए । क्वार्टरमा बिलासिताका सामग्री थिएनन् । केही थान कपडा, खुइलिएको ओच्छ्यान र बन्दोबस्तीका व्यक्तिगत समानहरु बोक्नका लागि अस्पताल अगाडि भाडाको भ्यान हाजिर थियो ।

१६ वर्ष निरन्तर टिचिङ अस्पतालको सेवापछि निवृत्त भएर फर्कंदै गर्दा केसीले भनेका थिए, ‘दुःख लाग्छ । मलाई यो अस्पताल र राज्यले धेरै दियो । तर, मैले राज्यका लागि केही दिन सकिनँ ।’

राज्यले डा. केसीलाई के–के दियो र उनले राज्यलाई के भुक्तान गर्न सकेनन् ? यो उनै गोविन्द केसीलाई थाहा छ, या त राज्यलाई । जनतालाई यत्ति थाहा छ कि सरकारी सेवामै रहेर सरकारलाई नै चुनौती दिँदै चिकित्सा क्षेत्र सुधारका लागि निरन्तर लड्ने अथक योद्धा हुन् डा. गोविन्द केसी ।

कुनै पनि कर्मचारीलाई सेवाबाट अवकाश किन दिइन्छ ? कुरा सामान्य छ – आरामसाथ जीवन बिताउन । थकित शरीरलाई दुःखको बोझबाट मुक्त गरेर परिवारलाई समय दिन । तर, जीवनभर चिकित्सकका रुपमा काम गरेका ब्रह्मचारी डा. केसी सेवानिवृत्त हुँदा उनको न बस्नका लागि निजी निवास थियो, न कुनै निजी सवारी साधन । केही दिनका लागि उनले आफन्त (भाइ) को घरमा आश्रय लिए ।

जागिरबाट अवकाश लिए पनि केसीलाई ६३ वर्षको उमेरमा पनि बिरामीको सेवा गर्ने भोक उस्तै छ । त्यसैले, अवकाश लिएको १० महिनापछि उनी अहिले जुम्लाको सदरमुकाम खलंगा पुगेका छन् । र, त्यहीँबाट सिंहदरबारलाई भन्दैछन्, ‘सरकारले खुल्लमखुल्ला भ्रष्टाचार, अपराध र लुटतन्त्र चलाउन बन्द गरोस् । शिक्षा र स्वास्थ्यको व्यापारीकरण बन्द गरेर सबैको समान पहुँच कायम गरोस् ।’

सरकारले आफ्ना माग पूरा नगरे कर्णालीमै सत्याग्रह बस्ने निर्णयमा पुगेका छन् डा. केसी । उनी आफंैलाई थाहा छैन– सत्याग्रहपछि उनका माग हुन्छन्÷हुँदैनन् ।

०००

डा. केसी १८ कात्तिक, २०७६ मा बस चढेर काठमाडौंबाट सुदुरपश्चिमतिर उक्लिए ।

उनी डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा अनसनरत अवस्थामा देखा परे । त्यो उनको १७ औँ पटकको अनसन थियो । तर, नक्साको विवाद चुलिएपछि सरकारलाई धन्यवाद दिँदै नवौं‌ दिनमा उनले अनसन स्थगित गरे ।

अनसन स्थगित गरेको करिब ४ महिनापछि २० फागुनमा डा. केसी पुनः डडेल्धुरा उपक्षेत्रीय अस्पतालमै देखिए । उही पाकेर खुइलिँदै गरेरको कपाल अनि कुमको सदावहार झोलाका साथ ।

डा. केसीले डडेल्धुरा उपक्षेत्रीय अस्पतालकै छेउमा डेरा लिए र निःशुल्क स्वास्थ्य सेवा दिन थाले । उनी जहाँ पुग्छन्, त्यहीँ घर । त्यहीँ आफन्त । र, त्यहीँ शुभचिन्तक । उनी भन्छन्, ‘दूरदराजमा मानिसहरुले स्वास्थ्य सेवा पाइरहेका छैनन् । झोलामा केही औषधी बोक्छु । स्वास्थ्य संस्थामा उपलब्ध जे स्रोत साधन छन्, त्यसैबाट उपचार गर्छु ।’

डा. केसी डडेल्धुरा पुगेको एक महिना नबित्दै सरकारले लकडाउनको घोषणा गर्‍यो । तर, जनसेवामा हिँडेका उनलाई लकडाउनले छेकेन । सवारी नचलेपछि डा. केसीले पैतालालाई लठ्ठीको सहारा बनाए । अनि, सुदूरपश्चिमका कुना कन्दरा चाहार्न थाले ।

बझाङ, बैतडी, दार्चुला हुँदै असारको पहिलो हप्ता उनी बाजुरा पुगे । कहिले जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिए त कहिले जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुमा पुगेर बिरामीको सेवा गरे ।

चिकित्सकहरु दुर्गमबाट भिटो प्रयोग गरेरै भए पनि धमाधम सुगममा धाउने प्रतिस्पर्धा चलिरहेको यो मौसममा एउटा विशेषज्ञ डाक्टर यसरी बिरामी खोज्दै दूरदराजका घर–घरमा पुग्नु उल्टो गंगा बगेजस्तै लाग्नु स्वाभाविकै हो धेरै मानिसहरुलाई ।

सुदुरपश्चिपछि डा. केसीका पैताला कर्णालीतर्फ सोझिए । एक फिरन्ते जसरी । एक साधु जसरी । एक विशेषज्ञ, अनुसन्धाकर्ता जसरी । एक सुधारक र समाजका उत्प्रेरक जसरी । अनेक रुपमा एक्लै–एक्लै, लखरखर गाउँ हिँडिरहे उनी ।

‘मैले उपचार मात्र गरिनँ, जहाँ पुगें, कोरोनाबाट बच्नका लागि सावधानीका उपायहरुबारे सचेत गराएँ,’ डा. केसी अनलाइनखबरसँग भन्छन्, कोरोनाबाट त्रसित होइन, सचेत रहन आग्रह गरेँ ।’

डा. केसी जुम्लाबाट लगातार दुई दिन हिँडेर रोल्पा पुगे । त्यहाँ एउटा गाउँपालिकाको हेल्थपोस्टमा पुगेर उपचार गर्न तम्सिए । तर, प्रशासनले उनको उपचारमा रोक लगायो । जीवनमा प्रशासन र सरकारका अवरोधहरु पचाएका डा. केसीले यस्ता अवरोधका संख्या गन्न छाडिसकेका छन् ।

त्यहाँबाट उनी बिरामी खोज्दै गाउँ उक्लिए । डा. केसी भन्छन्, ‘अहिले मसँग टाइमको सुविधा छ । निश्चित समयमा अस्पतालमा हाजिर लगाउनुपर्छ भन्ने झञ्झट छैन । जहाँ, जति मन लाग्छ, आनन्दले बस्न सक्छु ।’

ग्रामीण भेगमा कोरोनाले यति धेरै त्रासदी मच्चाएको छ कि थुप्रै ठाउँमा डा. केसीले ओत लाग्ने छानोसम्म पाउन सकेनन् । लखर–खखर भोकै पेट हिँड्नुपर्‍यो । ‘कति ठाउँमा पानी पनि पिउन पाइनँ । धेरै ठाउँमा बास नै पाइएन’, डा. केसी भन्छन्, ‘मानिसहरुलाई सचेत बनाइनुपर्ने हो तर, त्रसित बनेका छन् ।’

गाउँबाट डा. केसी दुई दिन हिँडेरै पुनः जुम्ला फर्किए । पहिरो गएर सरकार नपुगेका ठाउँमा पुगेर उपचार गरे । कर्णालीका गरिवका झुप्रामा पाकेका रोटी, ढिँडो खाएर बाँचे । र, बिरामीहरुलाई सेवा दिए ।

‘म आ’तंक’कारी होइन’

सुदुरपश्चिम र कर्णालीका १२ जिल्लामा पुगेका डा. केसीलाई जिल्ला अस्पतालहरुमा त्यति असहज भएन । स्वास्थ्यचौकीहरुमा भने कहीँ जनप्रतिनिधिले उनको सेवामा अंकुश तेर्साए त कतै प्रशासनले ।

१० भदौदेखि डा. केसीको पूर्वनिर्धारित सत्याग्रहको कार्यक्रम थियो । तर, उनी बसेको जुम्लाको रोयल होटेलमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति देखियो । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँगको वार्तापछि उनले सत्याग्रहलाई एक हप्ता पछाडि धकेले ।

सत्याग्रहका उनका माग यस्ता छन् –

कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन हुनुपर्ने ।
१० साउन, २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुका साथै विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्ने ।
अछामको बयलपाटा अस्पताललाई नियमित बजेट प्रवन्ध गरी दिगो निशुल्क सेवा सुनिश्चित गरिनिुपर्ने ।
सत्याग्रहको समय केही पछि सरेपछि सदरमुकाममा यत्तिकै बस्न मनले मानेन । त्यसैले, डा. केसी बिरामीको उपचारका लागि होटलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्ने निर्णयमा पुगे । तर, उनलाई प्रहरीले गेटमै रोकिदियो ।

सुरक्षाकर्मीले धरपकड गर्न खोजेपछि उनी जंगिए, ‘मलाई पक्राउ गर्ने भए खै पूर्जी पाउँ ।’

प्रहरीले भन्यो, तपाईलाई बाहिर निस्कन नदिने माथिको आदेश छ ।

केसीले स्वर अलि ठूलो बनाए, ‘आदेश त केपी ओलीकै पनि मानिँदैन । के कारणले पक्राउ वा धरपकड गर्न खोजेको हो, कागज त हुनुपर्‍यो । देश त्यसरी चल्दैन नि ! उपचार गर्ने मेरो अधिकार प्रयोग गर्न त संविधानले दिएको छ ।’

अन्ततः डा. केसी होटलको गेटबाट बाहिर निस्कन पाएनन् । ‘म टेररिस्ट होइन तर, हतियारसहित दर्जनौं प्रहरी आएर मलाई घेराबन्दी गरे’, डा. केसी आक्रोश पोख्छन्, ‘म सार्वभौम नागरिक हो । तर, मेरो अधिकार हनन गरेर यिनीहरुले विनाकारण बिहान ११ बजेदेखि राति १२ बजेसम्म बन्दी बनाएर राखे ।’

अर्को दिन उनी झोलामा केही औषधी राखेर बिरामीको उपचारका लागि १० बजे नै गुठीचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगे । उनले के उपचार गर्न खोजेका थिए, स्वास्थ्यचौकीका इञ्चार्जले दकस मान्दै भने, ‘काम गर्न नदिनू भन्ने आदेश छ । कृपया हामीलाई अप्ठ्यारोमा नपारिदिनुहोला ।’

उत्साह बोकेर स्वास्थ्यचौकी पुगेका डा. केसी घोसेमुन्टो लगाएर लुखुर–लुखर सदरमुकाम फर्किए । ‘लुटतन्त्र चलाउने सरकारले मलाई बाधाको रुपमा हेरिरहेको छ, दरिद्र मानसिकताले मेरो काममा दख्खल दिइरहेको छ’, केसीले अनलाइनखबरसँग भने ।

दुर्गमको आँखीझ्यालबाट देखिने देश

कर्णालीको अवस्था राणाकाल, पञ्चायत, प्रजातन्त्र र गणतन्त्र आउँदा पनि उत्तिकै उपेक्षित रहेको बताउँछन् डा. केसी ।

‘देशमा तथाकथित प्रजातान्त्रिक, साम्यवादी पार्टी भन्नेहरुको शासन छ । तर, शिक्षा स्वास्थ्यमा खास कुनै परिवर्तन छैन’, उनी भन्छन्, ‘भोक, रोग र बेरोजगारीले यहीँकै मानिस मरिरहेका छन् । जसलाई यिनीहरुले निर्वाचित गरेर पठाए, उनीहरुले नै लखेटिरहेका छन्, बेइमानी गरिरहेका छन् । जनप्रतिनिधिमा यसको अलिकति पनि जिम्मेवारीबोध छैन ।’

डा. केसी जनप्रतिनिधिहरुलाई शिक्षा र स्वास्थ्य निशुल्क गर्छु भन्दै भोट मागेर आफैं व्यापार गर्ने व्यापारीको संज्ञा दिन्छन् । भन्छन्, ‘यिनीहरुले गाली गर्ने (पुँजीवादी) देशहरुले समेत शिक्षा र स्वास्थ्यमा व्यापार गरिरहेका छैनन् । तर, यिनीहरुका विरुद्ध हामी लडिरहनुपरेको छ ।’

डा. केसीका लागि ग्रामीण अनुभव नौलो होइन । धेरैवटा जिल्लामा पुगेर उनले बिरामी सेवा गरेका छन् । यसपटक सुदरपश्चिम र कर्णाली यात्रामा उनले कोभिडभन्दा अरु रोगबाट मानिसहरुले दुःख पाइरहेको अनुभूति गरे ।

‘लकडाउनले गर्दा बिरामीहरु अस्पताल वा हेल्थपोस्टसम्म पुग्न सकिरहेका छैनन् । गाडी रिजर्व गरेर अस्पतालसम्म पुग्ने अधिकांशको सामर्थ्य छैन’, उनी भन्छन्, ‘कोरोनाकेन्द्रित उपचारको निर्देशनले पनि अन्य बिरामीले मृत्युवरण गर्नु परिररहेको छ । त्यसैले, गाउँ–गाउँमा जो उपचारबाट बञ्चित भएका छन्, उनीहरुको उपचार गरिरहेको छु ।’

दुर्गम गाउँमा घुम्दा डा. केसीले अनुभूति गरेको कुरा के हो भने कोरोनाले भन्दा मानिसहरु हैजा र झाडा पखालाले मरिरहेका छन् । ‘कोभिडका ३५ हजार संक्रमित हुँदा मृत्यु हुनेको संख्या दुईसय हाराहारी छ’, डा. केसी भन्छन्, ‘तर, आज पनि गम्भीर खालको झाडा पखाला र हैजाबाट २० देखि २५ प्रतिशतको मृत्यु हुन्छ । निमोनियाबाट त्यत्तिकै जान गुमाइरहेका छन् ।’

छोयो कि कोरोनाले मरिहालिन्छ भन्ने मनोवैज्ञानिक त्रास बोकेर बसेका मानिसलाई डा. केसी यही तथ्य देखाएर भयभित नहुन सल्लाह दिन्छन् ।

‘माग पूरा भए काठमाडौं फर्किन्छु, नभए यतै मृ’त्यु हुन सक्छ’

जति नै अंकुश र पर्खाल लगाएर ठेगान लगाउन खोजे पनि सरकारलाई जवाफदेही बनाउने आफ्नो अभियान अन्तिम सास रहुन्जेलसम्म नरोक्ने अठोट छ डा. केसीको ।

उनको आक्रोश अझै मत्थर हुँदैन, ‘अहिले नियम र कानूनी राज छैन । ओलीजीले जे भन्यो, त्यही नै कानुन हो, यसको अन्त्य हनुपर्छ ।’

उनको भनाइअनुसार डा. केसी अब चाँडै सत्याग्रहमा देखिनेछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताकै हातमा सुम्पेर मात्र काठमाडौं फर्कने योजनामा रहेको उनी सुनाउँछन् ।

‘स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि यहीँ सत्याग्रह बस्छु । अरुको अधिकार हनन नगरी सत्याग्रह बस्न पाउने मेरो अधिकार हो’, डा. केसी भन्छन्, ‘माग पूरा भए काठमाडौं फर्किन्छु, नभए सत्याग्रहका बेला यतै मृत्यु पनि हुन सक्छ ।’

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…